साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भुत चित्रकला ४०

आज हामी संसारका अद्भुत चित्रकलामा एउटा यस्तो चित्रका बारेमा चर्चा गर्न गइरहेका छौँ, जसले शुरुमा खासै चर्चा पाएन । खासमा भन्ने हो भने चित्रकार एडुआर्ड मनेटको यो चित्रका बारेमा समीक्षकहरुले पूरै धज्जी उडाएका थिए । फ्रान्सेली चित्रकलामा नग्नता कुनै नयाँ कुरा होइन । सार्वजनिक थलोमा यसअघि पनि कयौँ नग्न र आशक्ति जगाउने इरोटिक चित्रहरु प्रदर्शनमा राखिएका थिए । यो चित्र भने एउटी चिसी स्त्रीका बारेमा थियो । यो स्त्री न हेर्दाकी सुन्दर छे, न यसलाई हेर्दा दर्शकको मनमा कुनै हलचल नै मच्चिन्छ ।

हेर्दाकी खासै नराम्री एउटी मोडललाई आदर्श बनाएर चित्रकार मनेटले यसलाई बनाएका थिए । त्यो बेला समीक्षकहरुले यस चित्रलाई अति आधुनिक, अति कुरुप, अति वास्तविकतामा आधारित चित्र भनी व्याख्या गरेका थिए ।

१९ औँ शताब्दीताका चित्रकारहरुले सलोनमा आफ्ना चित्रहरु प्रदर्शन गराउन हत्ते गर्थे । हुन पनि सलोन (आधिकारिक प्रदर्शनी थलो)मा प्रदर्शन गर्न पाएका चित्रकारले एक किसिमको मान्यता पाउँथे । तिनीहरुले एक किसिमको सर्वस्वीकृति पाउँथे । जसले सलोनमा प्रदर्शन गर्न पाउँथे, तिनलाई राम्रा चित्रकारका रुपमा मानिन्थ्यो । त्यसका लागि चित्रकारहरु हुरुक्क हुन्थे । कतिपय चित्रकारले भने त्यसको विरुद्ध आफैँ प्रदर्शनी पनि नगरेका होइनन् तर यो चित्रले भने त्यस बेला सलोनमा प्रदर्शन गर्ने मौका पायो । सन् १८६५ मा यो चित्र प्रदर्शन पाउँदा खासै चर्चा भने पाएन । यो चित्र इटालेली पुनर्जागरणताकाका प्रख्यात चित्रकार गुस्ताभ कोबर्टको एउटा चित्रबाट प्रभावित भएर बनाइएको थियो । त्यसलाई वास्तविकताको लेपनले यसलाई बेग्लै र आधुनिक चित्र बनाइदियो ।

को हुन् एडुआर्ड मनेट ?
रियलिज्ममा निकै ठूलो नाम बनाएका एडुआर्ड मनेट १९ औँ शताब्दीका ठूला चित्रकारमध्येमा गनिइन्छन् । सन् १८३२ मा जन्मिएका उनले त्यस बखतका सफल एकेडेमिक कलाकार थोमस कोटुरको चेला भएर काम गर्ने अवसर पाए । कोतुरले पुराना र प्रख्यात कलाकारका कामलाई बारिकीसँग ख्याल राख्थे र तिनका असलपनालाई टपक्क टिप्थे । त्यो बेला सलोन (प्रदर्शनी थलो)मा कुनै चित्रकारले ठाउँ पाएर आफ्ना कला प्रदर्शन गर्न पाउनु ठूलो भाग्यको कुरा हुन्थ्यो । उनी त्यही सलोनका संरक्षक थिए । उनी शास्त्रीयता रुचाउँथे तर मनेट भने उनको शास्त्रीयतालाई अर्कै रंगमा ढालेर नयाँपन दिन उद्यत थिए ।

उनका सिर्जना शुरुवाती समयमा त्यति रुचाइएन । उनका गुरुले पनि उनलाई खासै महत्त्व दिएनन् तर उनी पछि विद्रोही चेतनाका युवाहरुको गुरु बन्न पुगे, जसलाई इम्प्रेसनिस्टहरुको समूह भनी चिनियो ।

यस चित्रमा के हेर्ने ?
१. भिक्टोरिन लुइस मुरेन्ट
नग्न सुतिरहेकी मोडल भिक्टोरिन लुइस मुरेन्ट हुन् । यो चित्रभन्दा ठीक अगाडि मनेटले उनलाई नग्न रुपमा नै अर्कै चित्रमा प्रस्तुत गरिसकेका थिए । त्यसैले यसमा उनी देखिनु त्यो बेलाका कला पारखीका लागि नयाँ कुरा थिएन । मुरेन्ट कुनै मुग्ध बनाउने सुन्दर युवती थिइनन् । उनको हाउभाउ र चालढाल भने त्यस बेलाका युवकहरुलाई भुतुक्क पार्ने किसिमको थियो । रोचक त के भने मुरेन्ट आफैँमा एक चित्रकार थिइन् । उनका कयौँ चित्र त्यो बेला सलोनमा प्रदर्शनमा पुगेका थिए तथापि उनले नयाँ पुस्ताका साथीका लागि नग्न चित्र बनाउने छुट दिएकी थिइन् ।

२. युवतीको जिउ
लम्पसार परेकी युवतीको जिउ त्यो बेलाको एउटा आदर्श युवतीको जिउजस्तो थिएन । न त शरीरको रंग नै रुचिकर थियो । शास्त्रीय चित्रहरुमा ओलम्पियालाई सुन्दरताकी देवीका रुपमा चित्रांकन गरिएको थियो । यहाँ सुन्दरताकी देवीको मानकका रुपमा केही पनि छैन । बरु यहाँ एउटी यस्ती दुई पैसे नग्न मोडल देखिन्छे, जो फ्रान्सका गल्लीगल्लीमा थोरै पैसाका लागि पनि नग्न मोडल बन्न तयार हुन्छन् ।

३. नग्नता छोप्ने हात
शास्त्रीय चित्रहरुको नक्कलमा यहाँ मोडलले आफ्नो गुप्तांग छोपेकी छन् । शास्त्रीय चित्रहरुमा पनि विभिन्न देवीका चित्र बनाइँदा माथिको भाग खुला राखिए पनि तल्लो भागलाई कि त लुगाले छोपिएको हुन्थ्यो कि त यसलाई हातले छोपिएको हुन्थ्यो । शास्त्रीय देवीहरुको झल्को दिलाउन एउटी ठीकै अनुहार भएकी मोडललाई त्यही स्तरमा राख्नु चित्रकारको सुन्दरतम अभिव्यक्ति बन्न पुग्यो ।

४. चप्पल
यहाँ मोडलले सिल्कले बनाइएको चप्पल लगाएकी छन् । रोचक त के छ भने उनले अर्को गोडामा यस्तो चप्पल लगाएकी छैनन् । चित्रकारले अनैतिकता उजागर गर्न यस किसिमको प्रयोग गरेको केही टिप्पणीकारको भनाइ छ ।

५. फूलको उपहार
एक जना कालो वर्णकी नोकर्नीको हातमा फूलको उपहार देखिन्छ । ओछ्यानमा पल्टिएकी युवती कुनै पुरुषको प्रतीक्षामा छे र उसलाई कसैले त्यो उपहार दिएको छ भन्ने सन्देश यहाँ दिइएको छ ।

६. बिरालो
सन् १५३८ मा फ्लोरेन्सका चित्रकार टिटियनले बनाएको शास्त्रीय चित्र भेनस अफ उर्बिनोमा एउटा श्वेत बिरालो ओछ्यानमा पल्टिरहेको देख्न सकिन्छ । त्यसैको प्रेरणास्वरुप यहाँ चित्रकारले बिरालोलाई ठाउँ दिएका छन् तर यो बिरालो कालो छ । उसका आँखा डरलाग्दा देखिएका छन् ।

७. हरियो पर्दा
टिटियनको चित्रमा पछाडिपट्टि हरियो पर्दा झुण्डिएको देख्न सकिन्छ । ठीक त्यसैगरी यहाँ पनि चित्रकारले हरियो पर्दालाई उठाएका छन् तर टिटियनको चित्र एउटा भव्य कोठामा देखिएको हरियो पर्दालाई यहाँ कोप्चो कोठामा राख्दा तस्बिर निकै भयावह प्रतीत हुन पुगेको छ ।

यसरी यो चित्र शास्त्रीय चित्र भेनस अफ उर्बिनोबाट प्रेरित भएर भव्यतामा भन्दा पनि वास्तविकतामा आधारित बनाई चित्रकारले वाहवाही कमाएका छन् ।

आउनुस्, यस चित्रलाई पुनः एक पटक गहिरो गरी हेरौँः

प्रतिक्रिया
Loading...