साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोठामै सहर

बेलायतस्थित मिडिलबोरो निवासी एक कलाकारले नौ वर्षभन्दा बढी समय लगाएर ससानो सहर बनाएका छन् । यस किसिमको सोखलाई मिनिएचर भनिन्छ । जसमा ससाना आकारका सबै वस्तुहरु बनाइन्छन् । पछिल्लो समय मिनिएचर निकै लोकप्रिय खेलका रुपमा विकसित भइरहेको छ ।

स्टिभ वालरले सेन्ट हिल्डा क्षेत्रको नक्कल बनाएर त्यसलाई १८३० को दशकको शहरलाई आकार दिएका हुन् । खासगरी पछिल्लो समय सरकारले १९ औँँ शताब्दीताकाको सो सहरको मुख्य भाग तोडफोड गरेपछि त्यस क्षेत्रको प्रेमीका रूपमा आफूलाई चिनाउन उनले यो मिनिएचर बनाएका हुन् ।

उनको यो सोखलाई देखेर केहीले उनलाई मिडिलबोरोका माइकेलेन्जेलो भनेर नामकरणसमेत गरेका छन् । दिनको १२ घण्टाभन्दा बढी समय उनी ससाना सहर बनाउन समय खर्चिने गरेका छन् ।

खासमा उनकी आमालाई यस्तो गर्न खुबै रहर लाग्थ्यो । उनकी आमा अल्जाइमर्स रोगबाट गम्भीर रुपमा बिरामी पर्दा उनले कार्यालयबाट लामो बिदा लिएका थिए । आमाको रेखदेख गर्दा बचेको समय उनले यसलाई दिने गर्थे । त्यो बेला उनले यसलाई मूर्त रुप दिन सकेनन् । तर जब उनकी आमाको सन् २०२० मार्चमा देहान्त भयो, उनका लागि गर्न लायक काम अरु केही बाँकी रहेन । त्यसपछि उनले पूर्णकालीन रुपमा यसैलाई बनाउन लगाए ।

जब उनले ससानो सहर नै बनाइसिध्याए, त्यो हेर्नका लागि उनकी आमा ज्यूँदो भने रहिनन् ।

उनले ८ फिट बाई चार फिटे आफ्नो सुत्ने कोठामा पूरै सहर बसाएका छन् । जसमा उनले तीन सय घरधुरी बनाएका छन् । उनले विभिन्न किसिमका काठहरु प्रयोग गरेर यस्तो सिर्जना गरेका हुन् । यति मात्र होइन, यी सबै घरलाई उनले आफैँले रंग्याएका हुन् ।

६१ वर्षे वालरले यस्तो बनाउन सन् २०१२ बाट थालेका थिए ।

स्थानीय मेयर एन्डी प्रेटसनले भने उनको यो सिर्जना देखेपछि यसलाई प्रदर्शनीमा लगाउनुपर्ने धारणा राखिरहेका छन् । वालरको घरबाट यसलाई अलि ठूलो स्टुडियोमा सार्नका लागि सहयोग गर्न पनि मेयर एन्डी प्रेटसन तयार भएका छन् ।

उमेर र स्वास्थ्यले साथ दिए, यसलाई अझ विस्तार गर्ने योजना वालरको छ ।

प्रतिक्रिया
Loading...