तिमी एक निमुखा मास्टर न हौ
न त तिमी सेटिङमा चल्न जान्ने
न त तस्करी नै गर्न सक्ने
न त कमिसनको मेसो मिलाउन जान्ने
न त चन्दा दिने हैसियत नै राख्ने
न त झोले शिक्षक नै बन्न चाहने
अनि किन चाहियो र तिमलाई सुविधा प्रोत्साहन ?
तिमी एक निरीह मास्टर न हौ
न त तिमी चाकरी चाप्लुसी गर्न जान्ने
न त शासकको गुणगान नै गाउन सक्ने
न त गुन्डाराज गर्न सक्ने हैसियत राख्ने
न त शक्तिवाललाई खुसी पार्न सक्ने
न त विवेकबन्धक पाटी सेना बन्न चाहने
अनि किन गर्न पऱ्यो र तिम्रो प्रमोशन ?
तिमी त देशका कुना काप्चामा मात्र बस्न रुचाउने
भ्रष्टाचार तस्कर गरी सहरमा महल बनाउन नचाहने
कक्षाकोठामै सीमित भै बालबालिकासँग मात्र रमाउने
आफ्नै पेसा प्रति मात्र वफादार रहन चाहने
झूट नबोली आदर्शका मात्र दर्शन छाँट्ने
आफ्नो स्वार्थ कहिल्यै पूरा गर्न नजान्ने
तिमी एक निमुखा मास्टर न हौ !
किन चाहियो र तिमीलाई भ्रमण विदा
किन चाहियो र तिमीलाई शिक्षक अस्पताल
किन चाहियो र तिम्रा बच्चा पढाउने स्कुल
किन चाहियो र तिम्रो बढोत्तरी
किन चाहियो र तिम्रो जीवन वीमा
किन चाहियो र तिम्रो सामाजिक मान सम्मान
तिमी त गाउँबस्तीमा बस्ने निमुखा मास्टर न हौ !
दुनियाँका छोराछोरीलाई मात्रै पढाइरहने
जिन्दगीमा एक कार नि चढ्न नसक्ने
गाउँले पाराका तिमीलाई किन चाहियो र दर्जा
तिमले त आफ्ना बच्चाबच्चीलाई विदेश पढाउनु छैन
अनि किन चाहियो र तिमलाई सहुलियत कर्जा
तिमी त एक निरीह मास्टर न हौ
तिमी त एक निमुखा मास्टर न हौ !
तिम्रो दर्जा नै मास्टर न हो
खड्दारबाट सुब्बाझैँ तिम्रो प्रमोसन कहाँ गर्न मिल्छ र
तिम्रो दर्जा नै कोही स्थायी मास्टर त कोही अस्थायी
कोही राहत मास्टर त कोही करार
कोही निजी स्रोत त कोही बाल शिक्षक
बकबक गरे त्यो नि खोसिन सक्छ भन्ने हेक्का राख
त्यसैले चुपचाप सहेर बस ए निरीह मास्टर !
हाम्रो स्वार्थमा नाँच्ने तिम्रा भातृ सङ्घ–सङ्गठन छँदैछन्
तिनलाई ठाउँ दिएकै छौँ तिम्रै अगुवा झोलेको रूपमा
काज विदा भ्रमण विदाको सुविधा तिनले पाएकै छन्
हामीले जनताको ठेक्काझैँ उनीहरूले तिम्रो ठेक्का लिएकै छन्
चुपचाप उनीहरूको तालमा नाँच्न बाहेक
सुविधा र श्रेणी आश गर्ने अधिकार कहाँ छ र तिमीलाई
तिमी निमुखा र निरीह मास्टर न हौ !!
सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।