साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जीवन अपेक्षाहरूको सगरमाथा हो, भ्रमहरूको पहाड पनि हो

जीवन एकातिर अपेक्षाहरूको सगरमाथा हो भने अर्कोतिर भ्रमहरूको पहाड पनि हो

जन्म र जन्मस्थान

गोपीकृष्ण ढुङ्गानाको जन्म मेची अञ्चलअन्तर्गत झापा जिल्लाको गौरादह गाउँ विकास समिति वडा नं. ७‚ हाँसखोरा (हाल : गौरादह नगरपालिका वडा नं २‚ गौरादह बजार) मा २०३१ माघ २ गते बुधबारका दिन भएको थियो । न्वारनको नाम गोविन्द भए पनि हाल उनी गोपीकृष्णका नामले प्रचलित छन् । विद्यार्थी कालमा साहित्य लेख्न सिक्दा ‘प्रतीक्षा’ र सिर्जना प्रकाशन थालेपछि ‘पथिक’ उपनाम राखे पनि मान्छेलाई चिनाउने मुख्य आधार नाम नै रहेछ भन्ने ज्ञात भएपछि हाल यी दुवै उपनाम लेख्न छाडेको कुरा उनी बताउँछन् । पिता दीनानाथ ढुङ्गाना र माता चन्द्रकला पराजुलीका जेष्ठ सुपुत्रका रूपमा जन्मिएका गोपीकृष्ण ढुङ्गानाका बालकृष्ण र टीकाराम दुई जना भाइहरू र एउटी बहिनी हिमा (दुर्गा) रहेका छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

बाल्यकाल र स्वभाव

ढुङ्गानाको बाल्यकाल जन्मस्थानमै बितेको पाइन्छ । उनी बाल्यकालमा साथीभाइसँग फुटबल र भलिबल खेल्न औधी मन पराउँथे । चार महिनाबाटै बामे सर्न थालेका ढुङ्गाना बाल्यकालमा चञ्चले स्वभावका थिए । गाउँमा साथीभाइसँग गाईबाख्रा चराउन जाने‚ ठुलोबुवा र माइलोबुवाका छोराछोरी र गाउँका दाजुदिदीसँग विभिन्न खेल खेल्दै र घरायसी काम गर्दै रमाइलो वातावरणमा उनको बाल्यकाल बितेको पाइन्छ । बाल्यकालदेखि नै सरल स्वभाव र हाँसेर बोल्ने बानी भएका ढुङ्गानालाई साइकल चलाउन खुब रहर लाग्थ्यो (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

गोपीकृष्ण ढुङ्गाना

शिक्षादीक्षा

गोपीकृष्ण ढुङ्गानाको गाउँकै सरस्वती प्रा.वि.बाट अक्षरारम्भ सुरु भएको थियो । ७ वर्षको हुँदा उक्त विद्यालयमा अक्षरारम्भ सुरु गरेका उनले कक्षा ३ सम्म सरस्वती प्रा.वि.बाट उत्तीर्ण गरेपछि अमर नि.मा.वि.मा कक्षा चारदेखि अध्ययन सुरु गरेका थिए । त्यस विद्यालयमा केही महिना पढेपछि जनता मा.वि.मा पुनः कक्षा चारमा भर्ना गरेर अध्ययन अघि बढाए । त्यही विद्यालयबाट २०४७ सालमा एस.एल.सी. दिएर २०४८ सालमा उत्तीर्ण गरेका थिए । त्यसबेलाको सन्दर्भअनुसार उनले कक्षा नौ दोहोर्‍याएर पढे ।

त्यसपछि गौरादह क्याम्पसबाट राजनीति र अर्थशास्त्र विषय लिएर प्रवीणता प्रमाणपत्र तह (पिसिएल/आई.ए.) उत्तीर्ण गरे । घरपरिवारबाट पहिलोपटक टाढिएर पढ्नका लागि धनकुटा पुगे । धनकुटा बहुमुखी क्याम्पसबाट २०५१–५३ को बि.एड.को ब्याच सम्पन्न गरे । बि.एड.मा भने अङ्ग्रेजी विषयलाई स्वैच्छिकमा छनोट गरी अध्ययन गरे । त्यसपछिका दुई वर्ष व्यावहारिक कारणले यसै अलमलमा बित्यो । उनका बुवा पनि शिक्षक भएका नाताले बि.एड. पढिसकेको छोरोलाई थप अध्ययनका लागि काठमाडौँ पठाइयो । काठमाडौँ आएर सुरुमा जागिर (पाथफाइन्डर बोर्डिङ स्कुल‚ पुरानो बानेश्वरमा कक्षा ५ सम्मलाई नेपाली विषय अध्यापन) खान थालेका ढुङ्गानाले २०५६ सालमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर अध्ययन गर्न थाले । २०५८ सालमा अङ्ग्रेजी विषयमा एम.एड. (स्नातकोत्तर तह) पूरा गरे । त्यसपछि पूरै दुई वर्ष साँझको कक्षा हुने आर.आर. क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर तहमा पनि कक्षा लिए । प्राविधिक कारणले त्यसको परीक्षा दिन नपाएको कुरा उनी बताउँछन् । २०५९ सालमा ‘एक्काइसौँ शताब्दी’ साप्ताहिक म्यागजिनमा काम गरे । त्यसपछि २०६१ सालदेखि अन्नपूर्णपोस्ट दैनिकमा जागिर खान सुरु गरेका ढुङ्गानाले २०६५ सालमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह पनि उत्तीर्ण गरे । यसअघि (२०६१) उनले १० महिने एन.पी.आई. को पत्रकारिताको कोर्स (स्नातकसरह) पूरा गरेका थिए । हाल पत्रकारिता विषयमा एम.फिल. गरिरहेका ढुङ्गाना पि.एच.डी गर्ने तरखरमा छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

वीरेन्द्र नेपाल

व्रतबन्ध‚ विवाह तथा सन्तान

पूर्वीय पद्धतिअनुसार ब्राह्मण जातिको उपयनयन संस्कार ८ वर्षको उमेरमा हुनुपर्ने भए पनि ढुङ्गानाको उपनयन २०४४ सालमा १३ वर्षको उमेरमा घरबाटै गरिएको थियो । भाइ बालकृष्ण र उनको सँगै उपनयन भएको थियो । हजुरबुवा पुष्पलालले मन्त्रदान गर्नुभएको थियो ।

ढुङ्गानाको शुभ–विवाह २०५९ साल फागुन २९ गते ब्राह्मण कुलकै गौतम परिवारकी कमलादेवी गौतमसँग सुसम्पन्न भएको थियो । सानै उमेरदेखि मृदुभाषी‚ सरल स्वभाव र सहयोगी भावना भएकी कमला वर्तमानमा उस्तै स्वभावकी रहेकी छन् । एउटा सफल व्यक्तिका पछाडि पत्नी वा पतिको उत्तिकै हात हुन्छ । जीवनसङ्गिनी कमलाले उनलाई पाइलैपिच्छे साथ दिइरहेकी छन् । कीर्तिपुर बसेर स्नातकोत्तर गरिरहँदा साहित्य लेखन तीव्र बनाउन थालेपछि उनले नेपाली विषयमा एक बर्से स्नातक (स्वाध्ययन) पनि सके । त्यसकै निरन्तरताका लागि भनौँ वा रुचिले नेपाली विषयमै स्नातकोत्तर अध्ययनमात्र भए पनि उनले गरे । एउटा विषयमा स्नातकोत्तर सकेर अर्को विषयमा पनि अध्ययनमात्र भए पनि पूरा गरेपछि तेस्रो विषयमा स्नातकोत्तर गर्नुपर्ने भयो । होस्टेमा जीवनसङ्गिनीको हैसे मिलेपछि अनेक व्यस्तता र चुनौतीका बाबजुद आमसञ्चार तथा पत्रकारिता विषयमा पनि स्नातकोत्तर पूरा गरेका थिए । ढुङ्गानाले समयको तानातानबीच पनि समयमै थेसिस लेख्न सक्नु उनकै घच्घच्याइको परिणाम भएको कुरा उनी बताउँछन् । काठमाडौँमा भाडामा बस्दा घरभेटीको कचकचलाई चुनौती ठानी ‘दुःखजिलो गरेरै भए पनि आफ्नै घर बनाउनुपर्छ’ भनेर आँट‚ उपाय र हौसला दिएकै कारण भक्तपुर (२०६४ फागुन) मा घर निर्माण कार्य सम्भव भयो नत्र कमाएर मात्र घर बनाउने मेरो सोच राखेका उनलाई हरकार्यमा श्रीमतीकै साथ र सहयोगले छिटो सफलता मिलेको कुरा उनी बताउँछन् । पहिले पहिले सन्तानले डाँडाकाँडा ढाकून् भनेर दसैँमा आशीर्वाद दिइन्थ्यो । केही दशकअघिदेखि दुई सन्तान ईश्वरका वरदान भनेर आशीर्वाद दिन थालियो । सोहीअनुसार समाज परिवर्तनको धारतिर अगाडि बढ्दै गयो । राम्रो गर्न सके एउटै काफी छ भन्ने मान्यतालाई अँगाल्न थालिएको छ । यसै अनुरूप उनका सन्तानका रूपमा २०६३ वैशाख १८ गते छोरो अञ्चित (काव्यराज) को जन्म भएको छ । उनी हाल कक्षा ९ मा अध्ययनरत छन् । गीत गाउनु र अभिनय गर्नु उनको सोख रहेको छ । सर्जक बन्ने प्रयासमा लागिरहेका उनले नाटक मञ्चनका क्रममा कक्षा सातमै बेलारुस र कक्षा ८ मा अस्ट्रेलियाको भ्रमण गरिसकेका छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

आर्थिक अवस्था

गोपीकृष्ण ढुङ्गानाको जन्म सामान्य निम्नमध्यमस्तरीय परिवारमा भएको थियो । परम्परित कृषि व्यवसायलाई नै अँगालेका उनीहरूको जग्जाजमिन प्रशस्त मात्रामा भए पनि  थोरै उब्जनी हुने किसिमको भएकाले घरको आर्थिक अवस्था मध्यम खालको नै रहेको देखिन्छ । पिता शिक्षण पेसामा आबद्ध भए पनि जागिरबाट थोरै तलब आयआर्जन हुने गरेकाले मुख्य पेसा कृषि नै रहेको थियो । घरमा हलीगोठाला राखेर खेतीपाती गर्दै आए पनि खेतीबाट पनि धेरै आयआर्जन गर्न नसकिने भएकाले उनीहरूको आर्थिक अवस्था मध्यम खालको नै रहेको तर तत्कालीन समय र परिवेशमा हेर्ने हो भने राम्रो हैसियतकै जनजीवनमा रहेबसेको पाइन्छ । हाल भने उनका पिताले पनि सहर (गौरादह बजारको डिपु चोक) मा गृह निर्माण गरी जीवनयापन गरिरहेका छन् ।

स्नानकोत्तर तह अध्ययनका लागि २०५५ सालमा काठमाडौँ छिरेका ढुङ्गाना भने यतै बसेर अन्नपूर्णपोस्टमा पत्रकारिता गर्न थाले । पत्रकारितालगायत शिक्षण पेसालाई पनि आंशिक रूपमा अँगालेका उनले सानोतिनो आयआर्जन गर्दै भक्तपुरको गठ्ठाघरमा तीनतले आवास निर्माण गर्न सफल भए । हालको उनको आर्थिक अवस्था सन्तोषजनक बनेको छ । घर आधुनिक प्रविधिका मिसनहरूले युक्त बनाएका ढुङ्गाना आफ्नो कर्मानुसारको आयआर्जनमा खुसी रहेको कुरा व्यक्त गर्दछन् । उनकी श्रीमतीले पनि विभिन्न समयमा विभिन्न सङ्घसंस्थामा आबद्ध भई आयआर्जन गरिरहेकी छन् । आफ्नो आर्थिक स्थितिलाई मजबुत बनाउन श्रीमतीको पनि ठुलो हात रहेको कुरा उनी बताउँछन् । हाल सानोतिनो वाहनलगायत एउटा छोरोलाई अङ्ग्रेजी माध्यमको विद्यालय पढाउन र आफ्ना घरायसी सम्पूर्ण अभावलाई टार्न सक्ने आर्थिक अवस्था रहेकाले उनी मध्यमस्तरीय आर्थिक अवस्थामा जीवन गुज्रिरहेका छन् । सहरिया परिवेशमा सुखसँग नै जीवन बितिरहेका छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

स्वभाव

गोपीकृष्ण ढुङ्गाना बाल्यकालमा अलि चञ्चलले स्वभाव भएका व्यक्ति थिए । सुलसुल गरिरहने‚ गाउँमा यताउति कुदिरहने भए पनि विद्यालय गएपछि लगनशील भएर पढ्ने बानी रहेको कुरा उनी बताउँछन् । बाल्यकालदेखि मिलनसार र असल स्वभावका ढुङ्गानाले हालसम्म पनि कसैसँग झगडा नगरेको कुरा बताउँछन् । बाल्यकालमा सिनेमा हेर्न खुब रहर भए पनि घरबाट अनुमति नपाएका कारण त्यति हेर्न पाइँदैनथ्यो । कहिलेकाहीँ फिल्म हेर्न जाँदा अर्कै दुनियाँमा पुगेजस्तो अनुभूति भएको कुरा पनि बताउँछन् । अर्काको कल्याण हुन्छ भने जस्तासुकै कुरामा नाइँनास्ति नगरी सहयोग गर्न सरल स्वभावका धनी ढुङ्गाना घरमा आएका मानिसको सोधीखोजी गर्न‚ झर्का नमानी बोल्ने‚ बिना कुनै काम कतै नभौतारिनेजस्ता स्वभावका व्यक्ति थिए र छन् । मसिनो स्वरमा मिठो बोल्ने उनी निकै चलाख र क्षमतावान् व्यक्ति छन् । उनी मान्छेलाई छिट्टै प्रभाव पार्न र काम लिनदिन सारै सिपालु छन् । कामप्रति लगनशीलता भएका ढुङ्गाना अत्यन्तै विनयशील‚ मृदुभाषी‚ नम्रस्वभाव‚ मिलनसार र स्वाभिमानी स्वभाव भएका शालीन व्यक्तित्व देखिन्छन् । महत्त्वाकाङ्क्षाभन्दा आफूलाई धेरै टाढा राखेर नेपाली साहित्यको सेवा गरी नेपाली साहित्यको समृद्धिका लागि मरिमेट्ने ढुङ्गानाको विशेष गुण रहेको देखिन्छ । सबैप्रति समान व्यवहार गर्नु‚ जातीयता वा अन्य कुनै आधारमा कसैमाथि भेदभावको दृष्टि नराख्नु‚ सदाचार र सत्कर्ममा संलग्न रहनुजस्ता चारित्रिक विशेषता उनमा भेटिन्छ । ढुङ्गाना अनावश्यक विवादबाट परै रहन चाहन्छन् । बोल्दाखेरि ढिलो‚ गमेर बोल्ने र भरसक कुनै विवादमा नफसिने गरी औपचारिक र सन्तुलित किसिमले तटस्थतापूर्वक बोल्ने स्वभाव उनमा देखिन्छ । जुनसुकै समयमा पनि साहित्य र सञ्चारका कुनै पक्षको अध्ययन–विश्लेषण तथा साहित्यको सिर्जनामा समय व्यतीत गर्नु नै श्रेयस्कर ठान्दछन् । पछिल्ला वर्ष उनको लेखन (साहित्य होस् वा सञ्चार) शैली उत्कृष्ट लाग्छ । समग्रमा भन्नुभर्दा शिष्टता‚ विनयशीलता‚ मृदुभाषी‚ लगनशीलता र सदाचारता उनका चारित्रिक विशेषता रहेका छन् (कमलादेवी गौतमसँग लिइएको मौखिक अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

रुचि

बाल्यकालमा भलिबल‚ फुटबल र डन्डीबियो खेल्न अनि सिनेमा हेर्न औधी मन पराउने ढुङ्गानाका हालका रुचिका मूलक्षेत्र पत्रकारिता‚ शिक्षण सेवा र साहित्य सिर्जना नै हुन् । ढुङ्गाना हरसमय आफ्नो मुख्य पेसा पत्रकारिताको कामबाहेक अन्य समयमा साहित्यको अध्ययन–विश्लेषण तथा सिर्जना गर्न मै व्यस्त रहन्छन् । यसका साथै अनुसन्धानमूलक लेख र किताब लेख्नमा समय छुट्याइरहेका छन् । जुनै काम गर्दा पनि अनवरत रूपमा एकै बसाइमा गर्न सक्ने ढुङ्गाना सङ्ख्यात्मकभन्दा गुणात्मक लेखन कलालाई महत्त्व दिन्छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

धर्ममा त्यति गहिरो आस्था नराख्ने ढुङ्गाना सामान्य रूपमा भने धर्म मान्दछन् । उनी परम्परागत रूपमा कट्टरताका आधारमा धर्म नमानी समसामयिक परिस्थितिअनुरूप धर्मलाई पनि परिमार्जित गरेर मान्न रुचाउँछन् । मौसमअनुसार मिल्दोजुल्दा पोसाकमा हिँड्न रुचाउने उनी प्रायः सादारण सामान्य र सजिलाखाले लुगाहरू लगाउन मन पराउँछन् । घरमा धेरै मानिस बोलाएर गफ तथा भोजन गराउन रुचि राख्ने ढुङ्गाना मानव भएर स्वतन्त्र भएर बाँच्नुपर्दछ‚ मानवले मानवको कर्तव्य पालना गर्नुपर्दछ‚ सादा जीवन उच्च विचार लिएर जीवनयापन गर्नुपर्दछ र मानिसले आफ्नो भाग्य आफैँ बनाउनुपर्दछ भन्दछन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

कार्यक्षेत्र

अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेर पत्रकारिता क्षेत्रमा प्रवेश गरेका ढुङ्गानाले अन्नपूर्णपोस्ट दैनिक पत्रिकाको रिपोर्टिङ डिपार्टमेन्टमा विकास‚ संस्कृति‚ सम्पदा र साहित्य विषयमा १२ वर्षसम्म समाचार र आलेखहरू लेख्दै बिताए । भनिन्छ‚ १२ वर्षमा खोलो पनि फर्कन्छ‚ नभन्दै उनको जीवनमा पनि १२ बर्से यो समयले जीवनमा कायापलट नै ल्यायो । जीवन जिउने कलादेखि जनसम्पर्क विस्तार गर्ने हुँदै लेखनको गुणस्तरसम्ममा ठुलै परिवर्तन ल्यायो । त्यसपछि केही महिना अन्नपूर्णपोस्ट डट कम अनलाइन डेस्कमा कार्य गरे । त्यसपछि अन्नपूर्णपोस्टमै न्युज डेस्कको जिम्मेवारी रहेर अढाई वर्ष काम गरे । हाल अन्नपूर्णपोस्ट दैनिकको साप्ताहिक परिशिष्टाङ्क फुर्सदमा संयोजक एवं सम्पादक पदमा कार्यरत रहेका छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) । ।

यसबीचमा करिब दुई वर्ष बुधबार प्रकाशित हुने अन्नपूर्णपोस्टकै बुधबारे साप्ताहिक परिशिष्टाङ्क ‘शैली’ को संयोजक र त्यसपछि दुईपटक कार्यवाहक चिफ रिपोर्टरको अभिभारा पनि उनले निर्वाह गरिसकेका छन् । । यही अवधिमा स्वशासन अध्ययन प्रतिष्ठान काठमाडौँबाट प्रकाशित हुने ‘स्वायत्त शासन’ त्रैमासिक पत्रिकाको सम्पादक बनेर उनले करिब तीन वर्ष काम गरे । कार्य गर्न सिलसिलामा वर्तमान समयमा पशुपति क्षेत्र विकास कोषको द्वैमासिक पत्रिका ‘पाशुपत दर्पण’ (२०७६ फागुन–चैतदेखि) कार्यकारी सम्पादकको भूमिकासमेत निभाइरहेका छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

विकास पत्रकारिताको झन्डै दसकको अनुभवपछि सुरुमा स्थानीय विकास पत्रकार मञ्च (फोल्डेज)‚ नेपाल (२०६७) मा संस्थापक अध्यक्ष र त्यसपछि परिमार्जित रूपमा दर्ता गरेको विकास पत्रकार मञ्च (फोडेज)‚ नेपालको अध्यक्ष भएर कार्य गरिरहेका छन् । यस संस्थाबाट प्रकाशित ‘विकास–सञ्चार’ को पनि सम्पादन र प्रकाशनको नेतृत्व र जिम्मेवारी पनि पूरा गरेका छन् । झापा गौरादहमा आई.ए. पढ्दा आठजना साथी मिलेर भित्ते पत्रिका ‘जोसिला युवा’ प्रकाशन गरे । उनको पत्रकारिताको औपचारिक सुरुआत यही नै हो । आई.ए. सकेपछि नेपाल गोबरग्याँस कम्पनी‚ दमक झापामा सुपरभाइजर पदमा रहेर काम गरेका ढुङ्गानाले काठमाडौँ आउनेबित्तिकै २०५५ सालमा पाथफाइन्डर बोर्डिङ स्कुल‚ पुरानो बानेश्वरमा प्राइमरी कक्षाबाट शिक्षण  पेसा सुरु गरेका थिए । त्यसपछि इनोभेटिभ इङ्लिस स्कुल‚ गोठाटार‚ काठमाडौँमा सेकेन्डरी कक्षामा दुई शैक्षिक सत्र अङ्ग्रेजी विषय‚ एसभी एकेडेमी शङ्खमूल‚ नयाँ बानेश्वर काठमाडौँमा स्नातक तहमा पत्रकारिता विषयमा एक शैक्षिक सत्र र  लोकन्थली‚ भक्तपुरस्थित एरुडाइट एकेडेमीमा प्लस टुलाई पनि एक शैक्षिक सत्र पनि पत्रकारिता विषय नै अध्यापन गरेका थिए । उनी बोडे उच्च माध्यमिक विद्यालय‚ भक्तपुरमा २०६२ सालदेखि हालसम्म उपप्राध्यापकका रूपमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन गरिरहेकै छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

भ्रमण

गोपीकृष्ण ढुङ्गानाले विभिन्न समयमा व्यक्तिगत र संस्थागत रूपमा स्वदेश र विदेशको भ्रमणसमेत गरेका छन् । नेपालका झन्डै ६० वटा जिल्ला भ्रमण गरिसकेका उनले सिङ्गापुर‚ थाइल्यान्ड‚ मलेसिया‚ बङ्गलादेश‚ चीन  र भारतका विभिन्न स्थलको भ्रमण गरिसकेका छन् ।

ढुङ्गानाका कतिपय भ्रमण संस्थागत रूपबाट गरिएका थिए भने कतिपय भ्रमण शुद्ध यात्रामा आधारित देखिन्छन् । यिनले गरेका स्वदेश तथा विदेशको भ्रमणका क्रममा त्यहाँको प्राकृतिक सौन्दर्य र आधुनिक विकासको दृश्यावलोकन गर्न‚ भाषा र संस्कृतिको अध्ययन गर्न र त्यसैका आधारमा साहित्य सिर्जना गर्ने गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउन भ्रमणले थप ऊर्जा प्रदान गरेको कुरा पनि उनी बताउँछन् । तुलनात्मक विचार र द्वन्द्व सिर्जना गर्नदेखि फरक भूगोल र परिवेशका पात्रहरूमाफर्त पाठकलाई भरपूर खुराक दिन सकिन्छ । यात्राका भोगाइ र बुझाइले लेखनलाई थप फराकिलो पार्छ । पाठकले पनि एउटै सिर्जनामा धेरैवटा समाज‚ भूगोल र त्यहाँको रहनसहन‚ जीवन‚ संस्कृति पढ्न पाउँछन् । त्यसैले यी भ्रमणहरूले आफूलाई साहित्यलेखनमा थप ऊर्जा प्राप्त गरेकाले भ्रमणहरू फलदायी रहेको कुरा उनी बताउँछन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

धारणा/मान्यता

आफ्नो जीवन पत्रकारिता‚ साहित्य‚ समाजसेवा र शिक्षाजस्ता अनेक क्षेत्रमा सक्रिय बनाएका ढुङ्गानाका सम्बद्ध हरेक क्षेत्रका बारेमा आफ्ना मौलिक धारणा वा मान्यता छन् । शिक्षाबिनाको जीवन उज्यालोबिनाको संसार हो । जीवनलाई उज्यालो बनाउँदै उन्नति प्रगतिको पथमा लैजान र गुणस्तरीय जीवन जिउन शिक्षा नै पहिलो माध्यम हो । सबैको लक्ष्य सुखी र खुसी जीवन हो जसलाई शिक्षाले सम्भव तुल्याउँछ । शिक्षाले भरिपूर्ण जीवन नै सभ्य हुन्छ । सभ्य जीवन हरेक मानिसको परिचय हो । सभ्य जीवन मानव जीवन बुझ्ने आधार हो । संस्कृतिबिनाको सभ्यता र सभ्यताबिनाको संस्कृति अपूर्ण रहन्छ । उच्च संस्कार हुने मान्छे सभ्य हुन्छ । जो सभ्य हुन्छ उसले संस्कृति बचाउँछ र आफू त्यही संस्कृतिभित्र बाँच्छ आदिजस्ता उनका भनाइले उनी विचारमा गहन र तार्किक लाग्छन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

त्यसैगरी‚ जीवनभित्र एउटा आदर्श जीवन हुन्छ । जीवन एकातिर अपेक्षाका खातहरूको सगरमाथा हो भने अर्कोतिर भ्रमहरूको पहाड पनि हो । भ्रमभित्र पनि जीवनका थुप्रै मिठा स्वाद हुँदा रहेछन् । जब भ्रम तोडिन्छ तब जीवनको रसरङ्ग हराउँदछ । अर्कातिर भ्रम तोडिएपछि मात्र वास्तविक जीवन सुरु हुन्छ भन्ने बुझाइ र भोगाइमा छु । जीवन प्रकृतिको सुन्दरतम उपहार हो । जीवन सङ्घर्षको अर्को रूप पनि हो तर जीवन जानेर‚ बुझेर र भोगेर नसकिने यथार्थ पनि हो । जीवन जगत्‌सँग जोडिएको हुन्छ । त्यसैले जीवन बुझ्न जगत् बुझ्नुपर्छ अनि जगत् बुझ्न जीवन पनि बुझ्नुपर्छ ।

साहित्य जीवन र जगत्को प्रतिविम्ब हो । जीवन धेरै तरिकाबाट बुझ्न सकिन्छ‚ साहित्यले पृथक् ढङ्गबाट साहित्य बुझाउँछ । साहित्यको अध्ययनमार्फत जीवन बुझ्नले अरू जीवनलाई समेत परिवर्तन गर्ने हैसियत राख्दछ । साहित्यले संसार समेट्छ अर्थात् साहित्यले नसमेटेको कुनै विषय वा क्षेत्र छैन । विविध विधामार्फत सृष्टिदेखि संहारसम्म लेख्छ साहित्य‚ जुन कालक्रमसँगै इतिहास बन्दछन् । तत्कालीन समाजको ऐना नै साहित्य हो । जीवन र जगत्‌लाई गहिरो ढङ्गले बुझ्न पाउने डबली साहित्य हो । दुःख र सुखको चौतारी नै साहित्य हो । साहित्यमा नसमेटिएका जीवन र जगत् मसीबिनाका कलम हुन् ।

साहित्यले जीवन र जगत्‌को ऐना बन्नुपर्छ । त्यहाँ कुनै एनिमेसन हुनुहुन्न । वास्तविकताभन्दा बाहिर गएर अनावश्यक लेपन नगरिएको साहित्य आदर्श साहित्य हो । यसको अर्थ साहित्यमा स्वैरकल्पना हुन्न भन्ने होइन । कुनै मानिस साधु होला कुनै चोर वा डाका‚ चोर‚ डाका होस् वा साधु दुवै पक्ष साहित्यमा आउनुपर्छ । सेवाकर्मी होस् वा लुटाहा/ढटुवा‚ वेश्या होस् वा गृहिणी‚ धनाढ्य होस् वा सडक बालबालिका सबै पात्र साहित्यका विधामा अटाउनुपर्छ‚ यी सबैको चित्रण गरिनुपर्छ । यी सबैलाई समाजसँग जोडेर हेर्नुपर्छ । जगत्‌मा हुने सबै पात्र‚ तिनको सोचाइ–बुझाइ‚ द्वन्द्व‚ सकारात्मकसँगै नकारात्मक पक्ष‚ सशक्त र कमजोर पक्ष सबै समेट्नुपर्छ । भगवान् दत्तात्रेयले माकुरादेखि वेश्यासम्मलाई गुरु थापेका प्रसङ्गबाट थाहा हुन्छ कि मानिसले जोसुकैबाट पनि सिक्न सक्छ र जीवनमा लागु गरेर आदर्श जीवन बनाउन सक्छ । जीवनहरूका यावत् भोगाइ नै साहित्य बन्छन् भने त्यो साहित्य आदर्श बन्छ ।

साहित्यमा पनि भोगाइ मुख्य रूपमा व्यक्त हुनुपर्दछ । जीवन्त प्रस्तुतिले पाठकलाई छुन्छ । सिर्जनामा म मात्र होइन‚ हरेक नागरिकको वास्तविक जीवन भोगाइ हुन्छ । उनका लेखनमा सुखभन्दा दुःखले बढी स्थान पाउँछन् । जसरी संसारमा दुःखले बढी स्थान पाइरहेको हुन्छ । सुख सबैको जीवनमा नआउन सक्छ तर दुःख अवश्य आउँछ । सुख मानिसमा बेलाबेला आउँछ भने दुःख हरदम आउँछ भन्नेजस्ता थुप्रै जीवन्त तर्क र प्रस्तुति  ढुङ्गानाका छन् । त्यसैले साहित्यमा जीवनका ती बिर्सन नसकिने क्षण‚ घटना र सन्दर्भलाई विषयवस्तु बनाएर साहित्य गर्न उनको बानी रहेको छ । बालसाहित्यमा भने यो पक्ष कम रूपमा समेटेको तर बालबालिकाका लागि जीवन र जगत्‌लाई अर्थ्याएर लेख्ने गरेको र जुन बालबालिका जीवन र जगत्‌सँग नजिक पुग्छन् ती योग्य नागरिक हुन्छन् भन्ने उनका धारणा वा मान्यता रहेका छन् ।

यसैगरी उनी त्यस्तो साहित्य होस् भन्ने चाहन्छन् जुन पात्र‚ पक्ष वा परिवेशबाट मानिसले ती विषय वा सन्दर्भ सिक्न सकोस् । भोगेजस्तो यथार्थ जीवन त केही गरे पनि हुन्न तर कतिपय सिकाइ भोगाइ बिनै प्राप्त भए भने मानिसले गुमाउँदैन वा कममात्र गुमाउँछ । जीवनमा कतिपय कुरा परेर होइन पढेर जान्नु उत्तम हुन्छ ती कुरा व्यक्तिका मनस्थितिबाट बुझ्नु सही हुन्छ । त्यस्ता सही र खराब मनस्थितिका पात्र साहित्यका विधामा उभ्याएर पाठ सिकाएमा कसैले अनावश्यक दुःख वा दबाबको जिन्दगी पर्दैन भन्ने उनको विचार रहेको छ (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

सुखदुःखका क्षणहरू

सुखसँग जीवन जिउँदै गरेका ढुङ्गाना जीवन सुखमय नै बितिराखेको छ भन्दछन् । विद्यार्थीकालमा स्वास्थ्य नै धन हो भनेर पढेको स्मरण गर्दै उनी अहिले स्वास्थ्यको महत्त्व गहिरिएर बुझेको र स्वास्थ्य किन धन हो भनेर महसुस गरेको बताउँछन् । बाल्यकालमा आर्थिक स्थिति मजबुत नभएका कारणले अध्ययन गर्नका निम्ति केही सङ्घर्ष गर्नुपरेको देखिन्छ । जीवन सङ्घर्ष हो‚ कुनै कार्य गर्दा अविचलित भएर गर्नुपर्दछ त्यसैले मानिस आफ्नो भाग्यको निर्माता आफैँ हुनुपर्दछ भन्ने ढुङ्गानाले जस्तासुकै दुःखद क्षणहरू जीवनमा आइपरे तापनि ती दुःखद क्षणहरूलाई आत्मसात् गर्दै जीवन अगाडि बढाएको पाइन्छ ।

जीवन चक्रमय हो‚ कहिले सुख त कहिले दुःख मानवले भोग्नुपर्दछ भन्ने ढुङ्गानाले जीवनमा अनेक प्रकारका सुख–दुःखका क्षणहरूलाई पार गर्दै दुःखका क्षणहरूसँग सङ्घर्ष गर्दै जीवन अगाडि बढाएको कुरा बताउँदछन् । आफूले जीवनबोध गरेदेखि यता जति आफन्त‚ इष्टमित्र‚ बन्धुबान्धवको मृत्यु भयो । सबैका मृत्युमा क्षणिक शोक हुनु मानवीय स्वभाव नै हो तर हजुरबुवा पुष्पलाल र हजुरआमा बाटुलादेवीको निधन चाहिँ मेरा लागि इतिहास ढलेको दिनझैँ अनुभूत भयो । उहाँहरूले आफूलाई दिएको साथ र मायाको अभाव अहिलेसम्म पनि भइरहेको छ । हाम्रो परिवारका सबै सदस्यभन्दा आफूले उहाँहरूबाट धेरै माया पाएको महसुस आफूले गरेका कारणले पनि यस्तो भएको हुन सक्छ । जेठी फुपु कमलादेवी दाहालको किड्नीमा समस्या देखियो । हातमा फिस्टुला बनाउँदा नशा फुलेर नाडीजत्रै भयो । डेढ वर्षको दु:खाइ सहेपछि गरेको शल्यक्रियापछि झन्डै दर्जन रोगहरू देखिए । २०७७ सालको तिहारमा भाइटिका लगाएँ । त्यसको भोलिपल्ट अस्पताल भर्ना भएकी दिदी २१ दिनमा सबैलाई छोडेर जानुभयो ।

यसैगरी युवा उमेरमै निधन भएका दिदीभाइ र ज्वाइँको अपूरणीय क्षतिले सधैँ आफूलाई सतारहने कुरा पनि उनी बताउँछन् । आमाका दुई दाजुभाइ र पाँच दिदीबहिनी हुनुहुन्छ । काइली सानीआमा गोमा भट्टराईको छोरो हरि भाइ (बुहारी उर्मिला)‚ माइली ठुलीआमा दुर्गादेवी भट्टराईकी छोरी मीना भट्टराई दिदी (भिनाजु महेश अर्याल)‚ ठुलोबुवा लक्ष्मीप्रसाद ढुङ्गानाको कान्छोछोरो तोयनाथ भाइ (बुहारी गीता)‚ कान्छी सानिमा हर्कमाया भट्टराईको जेठो ज्वाइँ भोला निरौला (बहिनी कमला) र ठुलो मामा सीताराम पराजुलीको जेठो ज्वाइँ टिकादत्त निरौला (बहिनी गीता) को निधनले उनी र उनका आफन्तका लागि अस्वाभाविक बन्यो । यी सबै निधनले जता गए पनि जे घटना–सन्दर्भ भए पनि पाइलैपिच्छे ठेस लागिरहेको छ (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

लेखन

लेखनको प्रेरणा र लेखनारम्भ: ढुङ्गाना रेडियो नेपालबाट बज्ने र नाटक नै आफ्ना लागि लेखनको प्रेरक बनेको कुरा  बताउँछन् । पत्रपत्रिकामा छापिएका लेखरचनाबाटै साहित्यतर्फ लाग्न आफूले प्रेरणा पाएको र विद्यार्थी जीवनमा सँगै पढ्ने जेठी ठुलीआमा राधा काफ्लेका छोरा दाजु देवराजको प्रयास‚ गौरादह क्याम्पसमा आई.ए. पढ्दा हामी आठजनाको समूहले निकाल्ने भित्ते पत्रिका ‘जोसिला युवा’ का अङ्कहरू‚ धनकुटा बहुमुखी क्याम्पसमा बि.एड. पढ्दा पाख्रीबासबाट प्रकाशित हुने पत्रिकामा छापिएका सिर्जना आदिबाट प्रेरणा ग्रहण गर्दै साहित्यप्रति आकषिर्त भएको कुरा उनी बताउँछन् ।

पहिलोपटक २०४७ सालमा काठमाडौँ आएका ढुङ्गानाले त्यहीँ समयमा ‘साँचो माया’ शीर्षकको कथालेखनबाट आफ्नो साहित्यिक यात्राको औपचारिक सुरुआत गरेका थिए तर त्यो कथा प्रकाशित हुन पाएन कारण मलाई कहाँ कसरी प्रकाशन गर्ने भन्नेसम्म जानकारी थिएन । पहिलोपटक राजधानी आउँदा उनका लागि सबै अपरिचित थिए । कान्छो मामा पुरुषोत्तम पराजुलीको कोठामा बस्दा त्यस कोठामा भएका केही साहित्यिक किताबहरू पढेर उक्त कविता रचना गरेको कुरा उनी बताउँछन् (ढुङ्गानासँग लिइएको लिखित अन्तर्वार्ताबाट प्राप्त जानकारीअनुसार) ।

प्रकाशित पुस्तकाकार कृति‚ सम्पादन‚ भूमिकालेखन आदि : २०४७ सालमा कथा विधाबाट साहित्यिक यात्रा सुरु गरेका ढुङ्गानाले त्यसपछि गजल विधामा कलम चलाउन थालेको देखिन्छ । उनले २०५८ सालदेखि सिर्जना गर्न थालेका गजलहरूलाई मौनताका रातहरू गजलसङ्ग्रहमा समावेश गरी २०६० सालमा पुस्तकारकार कृतिका रूपमा प्रकाशन गर्न सफल भए । जुन कृति २०६० चैत्रमा विवेक सिर्जनशीलबाट प्रकाशित भयो र यही नै उनको पहिलो साहित्यिक पुस्तकाकार कृति हो । त्यसपछि ‘आफैँभित्र’ (२०७१) वैशाखमा तन्नेरी प्रकाशनबाट दोस्रो गजलसङ्ग्रह प्रकाशित गरे । दुई गजल कृति प्रकाशन गरेपछि उनको कलम बालसाहित्यमा दौडिन पुग्यो । उनले कमिलाको डाक्टर नामक बाल कथासङ्ग्रह २०७० सालमा साझा प्रकाशनबाट प्रकाशित गरे । यसपछि फुच्चे—हात्ती (सचित्र बालकथा कृति–२०७० : रुम टु रिड)‚ सानो जुली (बालकथासङ्ग्रह–२०७१ : रत्न पुस्तक भण्डार)‚ बेहुला–बेहुली (सचित्र बालकथा कृति–२०७१ : भुँडीपुराण प्रकाशन)‚ डिकोडेबल राइटिङसम्बन्धी १७ सचित्र कृति (१५ जनाको सहलेखन–२०७१ : रुम टु रिड)‚ वैशाख १२ (भूकम्पसम्बन्धी बालकथा सङ्ग्रह–२०७२ : स्वदेश प्रकाशन)‚ 12 Baishakh (अङ्ग्रेजीमा भूकम्पसम्बन्धी बालकथासङ्ग्रह–२०७२ : स्वदेश प्रकाशन)‚ मेरा राम्रा बानी (सचित्र बालकविता कृति–२०७३ : स्वदेश प्रकाशन)‚ घ्यार्र–घुर्र (सचित्र बालकथा कृति–२०७४ : परिचय पब्लिकेसन)‚ Doctor या बल ब्लत (बालकथासङ्ग्रह–२०७४ : ट्रिनिटी प्रकाशन)‚ कारको कल्पना (बाल—एकाङ्की–२०७५ : साङ्ग्रिला पब्लिकेसन)‚ सजनाको साहस (सचित्र बालकथा कृति–२०७५ : साङ्ग्रिला पब्लिकेसन) र दाइँ गर्ने दिन (सचित्र बालकथा कृति–२०७५ : साङ्ग्रिला पब्लिकेसन) प्रकाशित भइसकेका छन् । यसबीच उनले झन्डै तीन दर्जन बालकृतिको सम्पादनसमेत गरिसकेका छन् भने आधा दर्जन कृतिमा भूमिका/शुभकामना मन्तव्यसमेत लेखिसकेका छन् । नियात्रा‚ कविता‚ हाइकु र गीत आदि विधामा सङ्ग्रह हुने गरी रचनाहरू तयार पारिसकेका छन् भने झन्डै एक दर्जन बालकृतिको पाण्डुलिपि तयार भएका छन् । गीत‚ कविता‚ नियात्रा‚ हाइकुको कृतिका लागि पाण्डुलिपि तयार छ ।

यी कृतिहरूबाहेक कक्षा १ देखि ६ सम्मका नेपाली र सामाजिक विषयमा कथा‚ कविता‚ एकाङ्की‚ निबन्ध‚ जीवनी आदि प्रकाशित भएका छन्‌‚ जुन विद्यालयहरूमा अध्ययन अध्यापन गरिन्छन् । २०६३ सालमा दीपक लिम्बूको स्वर र विजय खालिङको सङ्गीतमा पहिलोपटक आधुनिक गीत रेकर्ड गरिसकेका ढुङ्गानाले त्यसभन्दा दुई वर्षअघि ‘बढौँ अघि मिलिजुली…’ भाइबैनीको स्वरमा कन्क्राइस्ट राईको सङ्गीतमा अर्का गीत पनि रेकर्ड गरिसकेका छन् । बढौँ अघि मिलिजुली…(बाल गीत‚ सङ्गीत : कन्क्राइस्ट राई—२०६१)‚ खुलाउँदै ओठमा…स्वर: दीपक लिम्बू‚ सङ्गीत : विजय खालिङ (आधुनिक गीत—२०६२)‚ काँडेढुङ्ग्री ल्याइदिए…स्वर : अञ्जु पन्त‚ सङ्गीत : विजय खालिङ (लोकआधुनिक गीत—२०६३)‚ झरी पर्‍यो आँखाभरि…स्वर : तेज आले‚ सङ्गीत : शक्ति बल्लभ (आधुनिक गीत—२०६८)‚ बलेसीमा ओत लागेर…स्वर : तेजमान गुरुङ‚ सङ्गीत : रत्नबहादुर (आधुनिक गीत–२०६८)‚ तिम्रो मन कस्तो कस्तो…स्वर : प्रदीपराज पाण्डे‚ सङ्गीत : रत्नबहादुर (आधुनिक गीत–२०६९) र पाउजु मेरो छम छम छम… स्वर : प्रतिस्ना केसी‚ सङ्गीत : हरि लम्साल –आधुनिक गीत–२०७०) जस्ता उनका गीतहरू रेकर्ड भइसकेका छन् । जस्केलो मै ल्याएकी छु…(स्वर/सङ्गीत : सुजाता बर्मा) र रुनु हुन्न भन्ने तिमीले…(स्वर : देवनारायण प्रधान‚ सङ्गीत : सुरेश अधिकारी—रेकर्ड हुँदैछन् । केही गीत रेकर्डिङका लागि तयारीमा छन् ।

उनले प्रा.डा. माधव भट्टराईको जीवनी ‘उन्मुक्त’‚ डा. योगी विकासानन्दको कृति ‘सुपरलर्निङ—१’‚ पूर्ण बन्धनको कृति ‘सफलता’‚ शान्ता गौतमको कृति ‘हाम्रा गीतहरू’‚ शान्ता गौतमको कृति ‘फाटेको मन’ (प्रकाशक : काव्यकुञ्ज डट कम)‚ राधिका दाहालको कृति ‘परेलीका साँध’‚ इन्दिरा काफ्ले ‘विरागी इन्दु’ को कृति ‘समर्पण’‚ रामनाथ अधिकारी ‘संगी’ को ‘माधव’ महाकाव्यजस्ता एकदर्जनभन्दा बढी विशिष्ट लेखकहरूका कृतिहरूमा भूमिका तथा शुभकामनासमेत लेखिसकेका छन् ।

सुरुमा साहित्यमा प्रवेश गर्दा साहित्य रचना प्रकाशन गर्न निकै गाह्रो भएको छ । प्रकाशकहरूले नाम चलेका साहित्यकारहरूका कृतिहरूमात्रै प्रकाशन गर्न परिपाटी भएकाले साना लेखकहरूले साहित्य सिर्जना गरे पनि प्रकाशन गर्नु भनेको सगरमाथा उक्लिनुजस्तै कठिन हुने गरेको उनीसँग अनुभव छ । विषयवस्तु र प्रस्तुति हेरेर कृति निकाल्ने प्रकाशक औँलामै मात्रै छन् । आपसमा स्वार्थ पूरा हुने भयो वा जसको पहुँच छ वा जसले तानात्रिकुटा जोडेर प्रकाशकलाई विश्वस्त बनाउन सक्यो उसकै पुस्तक प्रकाशन हुने परम्परा नतोडिएसम्म पाठकले उत्कृष्ट कृति पाउँछन् भन्नेमा शङ्का नै छ भनी उनी गुनासो व्यक्त गर्दछन् ।

सबै लेखक नाम चलेकै हुन्छन् भन्ने छैन । यसै वर्ष मदन पुरस्कार पाउने कृति महारानीका लेखकले पनि प्रकाशक पाउन गरेको प्रयास नेपाली साहित्यमा नजिर बनिसकेको छ । प्रकाशक तयार भए भने पनि त्यसको पछि (चित्र‚ आवरणलगायतमा) नलागे पुस्तक प्रकाशन गर्न महिनौँ अझ बर्सौँ पनि लाग्छ । प्रकाशन भइहाले पारिश्रमिक पाइँदैन‚ दिने प्रकाशकले पनि सही गणना गरेर दिँदैनन्‌‚ त्यही थोरै पारिश्रमिक लिन पनि पटकपटक धाउनुपर्छ । उचित पारिश्रमिक पाउने नियम, कानून र अवस्था नै छैन जो समयमै र बिना चाकडी पाइयोस् । यस्तै यस्तै विविध सङ्घर्षका कारण ढुङ्गानाका करिब डेढ दर्जन कृति (प्रौढ र बाल) प्रकाशनको पर्खाइमा छन् ।

एउटा गीत‚ एउटा नियात्रा‚ एउटा कविता (नेपाली र अङ्ग्रेजी)‚ एउटा हाइकु र एउटा बाल्यजीवनको भोगाइ सिर्जना कृतिका रूपमा तयार भइसकेका छन् । यसैगरी बालकृतिमा एकभित्र अनेक (बाल—एकाङ्की)‚ कम्पन (भूकम्पसम्बन्धी बालकथासङ्ग्रह)‚ आमाको माया (बाल—एकाङ्की)‚ अक्षरहरूको सभा (सचित्र बालकथा कृति)‚ म कि हामी (सचित्र बालकथा कृति)‚ कमिलाको डाक्टर (असमीज भाषामा)‚ टुनाको टमी (सचित्र बालकथा कृति)‚ आमाको अनुहार (सचित्र बालकथा कृति)‚ हँसाउने रात (सचित्र बालकथा कृति) र बाटो (सचित्र बालकविता कृति) आदिका पाण्डुलिपिहरू प्रकाशनको पर्खाइमा बसिरहेका छन् । यी सिर्जनाहरूबाहेक उनका कैयौँ फुटकर लेखहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका अवस्थामा छन् ।

गोपीकृष्ण ढुङ्गानाको व्यक्तित्व

मान्छेको व्यक्तित्व उसका जीवनमा आइपर्ने विभिन्न आरोह–अवरोह‚ पीर–वेदना‚ हर्ष–खुसी तथा क्रिया–प्रतिक्रियाबाट निर्धारित भएको हुन्छ । साथै व्यक्तित्व निर्माणमा पारिवारिक सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक तथा वातावरणीय प्रभावले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसरी निर्माण भएको व्यक्तित्व व्यक्तित्वका समस्त आर्जित विन्यास एवं प्रवृत्तिहरूको समूह हो (उपाध्याय‚ २०३९ : २६) । यिनका अतिरिक्त शिक्षादीक्षा‚ रुचि‚ पेसा‚ साथसङ्गत र जीवनजगत्‌प्रतिको दृष्टिकोणले पनि व्यक्तित्व निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुन्छ । व्यक्तित्व बाह्य र आन्तरिक गरी दुई किसिमको हुन्छ । बाह्य व्यक्तित्व उसको रूप‚ रङ‚ बनोट अर्थात् शारीरिक व्यक्तित्वसँग सम्बद्ध हुन्छ भने आन्तरिक व्यक्तित्व उसमा अन्तर्निहित गुण‚ स्वभाव र समग्रमा उसले जीवनमा गरेका महत्त्वपूर्ण कार्यहरूसँग सम्बद्ध हुन्छ        (बोगटी : २०६० : १८) ।

गोपीकृष्ण ढुङ्गानाको व्यक्तित्व उपर्युक्त प्रक्रियाअनुसार नै निर्माण भएको देखिन्छ । उनको व्यक्तित्व निर्माणमा विशेषतः पारिवारिक‚ सामाजिक‚ आर्थिक तथा शैक्षिक पक्षले महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले नेपाली साहित्यको समुन्नतिका लागि अथक मिहिनेत गरेका छन् । विभिन्न क्षेत्रमा विभिन्न पदमा बसेर कार्य गरेका ढुङ्गानाले आफ्नो गाउँघरदेखि स्वदेश र विदेशका विभिन्न ठाउँको भ्रमणका समयमा अनुभव गरेका विषय‚ त्यहाँको साहित्यिक वातावरण एवम् आफ्नो जीवनयात्राका सन्दर्भमा विभिन्न ठाउँका सामाजिक‚ राजनीतिक‚ आर्थिक‚ सामाजिक‚ सांस्कृतिक‚ भौगोलिक‚ साहित्यिक वातावरणका अतिरिक्त छरछिमेक‚ साथीभाइ‚ परिवार‚ विद्वान्‌‚ इष्टमित्र‚ गुरुहरू पिता आदिको प्रभाव र प्रेरणा ग्रहण गरेका छन् । यी प्रभाव र प्रेरणाबाट निर्मित ढुङ्गानाको व्यक्तित्वका विविध पक्षहरूलाई निम्नानुसार चर्चा गरिएको छ :–

(क) शारीरिक व्यक्तित्व

गोपीकृष्ण ढुङ्गाना करिब साढे पाँच फुट उचाइ भएका मिलनसार व्यक्तित्वका रूपमा छन् । गहँगोरो वर्ण‚ हिसी परेको अनुहार‚ न मोटो न दुब्लो ठिक्कको शरीर‚ तिलचामले कपाल‚ गोलाकार नाक‚ ठुलो निधार‚ अग्लो कद‚ गम्भीर मुखाकृति‚ मिठो मसिनो बोली‚ सालाखालामा खाइलाग्दो चिटिक्क परेको निकै आकर्षक र प्रभावकारी व्यक्तित्वबाट ढुङ्गानाको शारीरिक बनोट निर्माण भएको देखिन्छ । कुनै पनि व्यक्तित्वलाई सहज रूपमा आकर्षक गर्न सक्ने गुण उनको शारीरिक बनावटमा पाइन्छ । वर्तमान समयमा ढुङ्गानाका कपालका रौँहरू फुल्न थालेको देखिन्छ । जीवनको सञ्चालनमा दैनिक योगध्यान गर्ने र दैनिक खानपिन शाकाहारी खाने साथै खानपिनमा विशेष ध्यान दिने ढुङ्गानालाई सामान्य प्राकृतिक विपरीतका समयमा आइपर्ने ज्वरो‚ रुघा‚ खोकी आदि रोग केही दिन लागे तापनि कुनै गम्भीर रोग भने लागेको छैन । सरल‚ विनम्र‚ मृदुभाषी र मिलनसार स्वभावका ढुङ्गाना त्यत्तिकै गम्भीर र मनोबलयुक्त देखिन्छन् । उनी कुनै पनि काम गर्दा अत्यन्त धैर्यका साथ कार्यप्रति लगनशील देखिन्छन् । आफ्नो हैसियतभन्दा माथिको कार्य नगर्न तथा हात हालेको कार्य फत्ते गरेरै छाड्ने प्रवृत्ति उनमा रहेको देखिन्छ (कमलादेवी गौतमसँग लिइएको मौखिक अन्तर्वाताका अनुसार) ।

(ख) साहित्यिक व्यक्तित्व

गोपीकृष्ण ढुङ्गानाले शिक्षा आर्जन गर्दागर्दै २०४५ सालदेखि नै साहित्यिक लेखन प्रारम्भ गरेका हुन् । यिनको साहित्यिक व्यक्तित्व कुनै एक विधा विशेषमा केन्द्रित नरही साहित्यका विभिन्न विधामा फैलिएको देखिन्छ । यिनको व्यक्तित्व बहुआयामिक रहेको छ । कथा विधाबाट साहित्यका क्षेत्रमा प्रवेश गरेका ढुङ्गानाले बालकथा‚ नियात्रा‚ समालोचना‚ गजल‚ मुक्तक‚ गीत‚ ताङ्का‚ हाइकु‚ एकाङ्की‚ नाटक‚ जीवनी र कथा आदि विविध विधामा कलम चलाइसकेका छन् ।

ढुङ्गानाले मनोवैज्ञानिक तथा सामाजिक विषयलाई आधार बनाएर बालकथाहरू रचना गरेका छन् । उनका बालकथाहरूमा बालबालिकाका विभिन्न मनोदशाको चित्रण गरिएको पाइन्छ । बालबालिकाको भित्री तहमा पुगेर उनीहरूका दुःख‚ पीडा‚ हर्ष‚ सुख र इच्छाहरूलाई बालकथाहरूमाफर्त दर्साउन उनी सफल भएका छन् ।

यसरी नै उनले आफ्ना गीत‚ गजल‚ मुक्तक‚ तान्का र हाइकुहरूमा पनि प्रायः सामाजिक विकृति तथा विसङ्गतिहरूको चिरफार गर्दै समतामूलक समाजको निर्माणमा लाग्नुपर्ने कुरालाई जोड दिएका छन् । समाज स्वस्थ हुनु भनेको देश समृद्ध हुनु हो । देश समृद्ध भएमा देशका नागरिकहरू सभ्य र सुसंस्कृत हुन्छन् भन्ने मान्यतालाई उनले यी रचनामा व्यक्त गरेका छन् । गरीबी‚ हत्या‚ हिंसा‚ काटमार‚ मृत्युको अपरिहार्यता‚ युवा बेरोजगारको पीडा‚ वर्गीय चेतना र शोषणका अन्त्यको चाहना‚ काठमाडौँको दुरवस्था‚ सञ्चारजगत्‌को पीडा आदिको अभिव्यक्ति उनका रचनामा पाइन्छ । यसैगरी उनले केही गजल र गीतहरूमा प्रेमका विविध आयामलाई समेत समेटेका छन् । वर्तमान समाजमा प्रेमका विषयमा देखिएका विविधखाले विकृतिहरूलाई हटाउन लागि प्रेम स्वार्थरहित हुनुपर्दछ । संसारमा विशुद्ध प्रेम नै अजर र अमर हुन्छ । प्रेम भनेको आत्मिक भावनाको मिलन हो । स्वार्थमय प्रेम धेरै दिन टिक्दैन भन्ने भाव नै यी रचनाहरूमा ढुङ्गानाले व्यक्त गरेका छन् ।

समाज‚ पारिवारिक एवं बाल मनोवैज्ञानिक विषयलाई आधार बनाएर उनले केही बालनाटकहरूसमेत रचना गरेका छन् । समाजमा हुने गरेका ससाना घटना‚ परिवारिक बेमेल र बालबालिकाका मानसिक एवं शारीरिक पीडालाई उनले बालनाटकमाफर्त प्रस्तुत गरेका छन् । बालकहरूलाई सही मार्ग देखाउन सके मात्र उनीहरू भविष्यमा गन्तव्य चुम्न सफल हुन्छन् नत्र कागको कुहिराझैँ बीच बाटामै अलमल्ल हुन्छन् भन्ने भावनालाई उनले यी बालनाटकहरूमा व्यक्त गरेका छन् ।

त्यसरी नै उनले केही कथा र नाटकहरू पनि रचना गरेका छन् । समाजका समस्या‚ समाजमा तल्लोस्तरका व्यक्तिहरूले भोग्नुपरेका पीडा‚ अपाङ्गहरूलाई समाजले हेर्न दृष्टिकोण आदि विविध विषयलाई उनले यी कथा र नाटकहरूमा समेटेका छन् । सामाजिक संरचना परिवर्तन गर्न सर्वप्रथम मानवले आफ्नो सोचाइ बदल्न सक्नुपर्छ । मानवका सोचाइ बदल्न सके समाज आफैँ परिवर्तन हुन्छ । समाज परिवर्तन हुनु भनेको राष्ट्र परिवर्तन हुनु हो । पुराना विचारधारा र सङ्कीर्ण सोचाइलाई फालेर आधुनिक समुन्नत समाजको परिकल्पना मानवबाट मात्र सम्भव हुन्छ भन्ने विचारलाई उनले विभिन्न कथा र नाटकमाफर्त व्यक्त गरेका छन् ।

समग्रमा साहित्यिक रचनाहरूमा ढुङ्गानाले आफूले जीवनमा पढेका‚ देखेका‚ भोगेका वा अनुभव गरेका कुरालाई नै प्रस्तुत गरेका छन् । पहिल्लो समयमा संस्कृति र सम्पदाप्रति बढी आकषिर्त भएका ढुङ्गानाका रचनाहरू समाजका ऐना बनेका छन् । साहित्यमाफर्त देशको विकास गर्न सकिन्छ भन्ने मान्यता राख्ने उनी देश विकासमा सम्पदा र संस्कृतिले महत्त्वपूर्ण स्थान ओगट्न सक्ने विचारलाई यसरी पोख्छन्‌‚ “इतिहासलाई अक्षरमा समेटेमा शताब्दीसम्म सुरक्षित हुन्छ । यसकै माध्यमबाट देश विकास गर्न  सकिन्छ । विकासबिना जीवनको अस्तित्व हुँदैन । जीवनलाई जीवन्त राख्ने प्रमुख चिज नै विकास हो । विकासका हरेक आयाम जीवनसँग जोडिएका हुन्छन् । विकासले मानिसलाई बाँच्ने आधार दिन्छ । विकास साहित्यको प्रमुख अङ्ग पनि हो । संस्कृति र सम्पदा पनि विकास र साहित्यसँग जोडिएका हुन्छन् । सम्पदा र संस्कृतिले पनि समाजको चित्र उतार्दछ । सम्पदा र संस्कृतिबाट राष्ट्रलाई चिनाउन सकिन्छ । यी देशका मुख्य सम्पत्ति हुन् ।”

ढुङ्गाना र उनको लेखनबारे विभिन्न व्यक्तित्वका दृष्टिकोण

बहुमुखी प्रतिभाका धनी ढुङ्गानाले विविध विधामा कलम चलाएका छन् । आफ्नो मुख्य कर्म पत्रकारिता र परिकारिताकै शिक्षण गर्दै अतिरिक्त समयमा उनले डेढ दर्जनभन्दा बढी विभिन्न विधाका कृतिहरू प्रकाशन गरिसकेका छन् भने करिब तीन दर्जनभन्दा बढी कृतिहरू सम्पादन पनि गरिसकेका छन् । यसैगरी विभिन्न विषयका सयभन्दा बढी खोजमूलक लेख र आधा दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख पनि प्रकाशित गरिसकेका छन् । उनका साहित्यिक कृति र साहित्यलेखनका विषयमा विभिन्न समालोचकहरूले आआफ्ना दृष्टिकोणसमेत व्यक्त गरेका छन् । यस्ता दृष्टिकोणहरुखध्ये केही प्रतिनिधि दृष्टिकोणलाई यहाँ प्रस्तुत गरिएको छ :–

ढुङ्गानाको साहित्य लेखनका विषयमा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल लेख्छन् : “नेपालीमा पछिल्लो समयमा गजल लेख्नेहरूका ताँतीमा गोपीकृष्ण ढुङ्गानाको नाम पनि आउँछ । २०३१ साल माघ २ गते पूर्वी नेपालको झापा जिल्लाको गौरादहमा जन्मिएका उनी हाल भक्तपुरको गठ्ठाघरमा बसोबास गर्दछन् । विभिन्न उच्च माध्यमिक विद्यालयमा पत्रकारिता अध्यापन गराउँदै आएका ढुङ्गानाको मुख्य पेसा पत्रकारिता हो । काव्यकुञ्ज डट कम नामक अनलाइन साहित्यिक पत्रिकाको सम्पादक र सञ्चालकका रूपमा कार्यरत यिनी महाकवि देवकोटा शताब्दी सम्मान (२०६६) बाट सम्मानित भएका छन् । वर्तमान युगीन परिवेशमै केन्द्रित रही मूलतः विविध रूपको सहज प्रस्तुति गोपीकृष्णका गजललेखनको मूल उद्देश्य रहेको देखिन्छ । सरल‚ सहज र सुबोध भाषाशैलीय विन्यासमा आबद्ध गोपीकृष्णका गजलमा भाषिक क्लिष्टताको गन्ध पाइँदैन । यिनका गजलमा प्रयुक्त लोकोक्ति‚ उखान‚ तुकबन्दी आदि भाषिक मिठास थपेको छ (लुइटेल‚ २०७१ : भूमिका) ।”

ढुङ्गानाको गजललेखनलाई प्रस्ट पार्दै डा. कृष्णहरि बराल लेख्छन् : “गजलकार गोपीकृष्ण ढुङ्गानाले देशभक्ति तथा प्रेमका संयोग अनि वियोग भावका साथै मानवतावादी विचारलाई व्यक्त गर्न खालको गजल पनि लेखेका छन् । यस्तै उनले जीवनको निराशालाई व्यक्त गर्न गजलका साथै अतीततिर फर्कँदै आफ्नो पहिलेको थलोलाई बिर्सन नसकेको भावको अभिव्यक्ति पनि प्रस्तुत गरेको पाइन्छ । उनले कतिपय सामाजिक तथा समकालीन विकृतिहरूप्रति व्यङ्ग्य गरेर पनि गजल सिर्जना गरेका छन् (बराल‚ २०७१ : भूमिका) ।”

यसैगरी ढुङ्गानाको गजल लेखनका बारेमा डा. लक्ष्मणप्रसाद गौतम भन्छन् :  “गजलकार ढुङ्गानाको प्रस्तुत आफैँभित्र शीर्षकको गजलसङ्ग्रह हो । यस सङ्ग्रहका अधिकांश गजलहरू अधिकांश जीवनीपरक र प्रणयपरक छन्‌  । यी गजलहरू खास गरेर मानवीय संवेदनालाई अभिव्यक्त गरेका छन् । हरेक गजलको पहिलो अंशका पदपदावलीबाट शीर्षकीकरण गरिएको यस गजलसङ्ग्रहका गजलको मूल अन्तर्वस्तु जीवनका विविध भावको अभिव्यक्ति हो र प्रणयपरक रागात्मक चेतनासमेत हो तापनि गजलमा युगीन वा वर्तमान चेतना पनि अभिव्यञ्जित छ (गौतम‚ २०७१ : भूमिका) ।”

पत्रकारितालाई मुख्य पेसा बनाएका ढुङ्गानाको साहित्यिक व्यक्तित्वका बारेमा ज्ञानुवाकार पौडेल यसो भन्छन् : “पत्रकार हुनुको अनुभवले आर्जित जीवन र जगत्‌बारे गोपीकृष्णले केही गजलमा खन्याएको आफ्नो उमेरअनुसारको भाव र अनुभूतिले मलाई पनि छोएको छ‚ घोच्ने गरी होइन‚ मिठो दर्द हुने गरी । समाज र यो समाजमा बस्ने मान्छेबारे राम्रो बुझिसकेका हुनाले कविताभन्दा बढी गजलमा यिनको रुचि ज्यादा रहेछ । यसअघि पनि २०६० सालमा यिनको पहिलो गजलसङ्ग्रह मौनताका रातहरू पढिसकेको थिएँ । त्यत्तिमै सन्तुष्ट नरही यिनले २०६१ सालमा संयुक्त रूपमा आफ्नो सहसम्पादनमा काठमाडौँ गजलसङ्ग्रह पनि छपाइसकेका छन् । पत्रपत्रिकाहरूमा फुटकर गजलहरू र साहित्यिक विषय लेखनिबन्धहरू प्रकाशित गरेर आफ्नो सृजनधार्मिकता देखाउन पनि छाडेका छैनन् यिनले आजका मितिसम्म । अनि गोपीकृष्णको यो गजलसङग्रह आफैँभित्रका केही रोमान्टिक गजल पढेपछि यिनको रचनात्मक यात्रा उकालोतिर लाग्दै गरेको अनुभव गरिरहेछु म यतिखेर (पौडेल‚ २०७१ : भूमिका) ।”

ढुङ्गानाका बारेमा बूँद राना यसो भन्छन् : “बाटो बिराएकालाई बाटो देखाउनु‚ असचेतलाई सचेत गराउनु एउटा सचेत स्रष्टाको कर्तव्य नै हो । यस अर्थमा गोपीकृष्ण ढुङ्गानाले आफ्नो जिम्मेवारी र खुबी निर्वाह गर्नुभएको छ (राना‚ २०७१ : भूमिका) ।” ढुङ्गानाको बालसाहित्यका बारेमा कृष्णप्रसाद पराजुली यसो भन्छन् : “गोपीकृष्ण ढुङ्गाना लगनशील पत्रकार‚ गीतकार र सशक्त बालसाहित्यकार हुन् । बालकथाको सङ्ग्रह ‘सानो जुली’ मा बालबालिकाको मनोविज्ञानलाई राम्ररी केलाइएको छ । हेर्दा सूक्ष्म लाग्ने कतिपय कुरालाई बालबालिकाले कति गम्भीरताका साथ लिएका हुन्छन् भन्ने यथार्थ यसमा भएका कथाहरूले प्रस्ट्याएका छन् । प्रस्तुत कथाहरू पढेर बालबालिकाले रमाइलो त मान्नेछन् नै‚ साथै असल बानी र नवीन ज्ञान पनि हासिल गर्नेछन् भन्ने विश्वास लिएको छु (पराजुली‚ २०७१ : भूमिका)।’’

निष्कर्ष

गोपीकृष्ण ढुङ्गाना जीवनको यात्रामा अनेक क्षेत्रमा संलग्न भई महत्त्वपूर्ण कार्यहरू गर्दै आइरहेका छन् । तिनै महत्त्वपूर्ण कार्यहरूले ढुङ्गानाको व्यक्तित्व सामान्य व्यक्तिभन्दा भिन्न राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित हुन पुगेको छ । उनले गरेका कार्यहरूबाट निर्मित उनको राष्ट्रिय व्यक्तित्व र उनीद्वारा लिखित कृतिहरूका बीच परस्पर निकटता र सम्बन्ध भेटिन्छ । मूल कार्यक्षेत्रका रूपमा पत्रकारिता पेसा अँगालेका ढुङ्गाना साहित्यिक लेखनमा उत्तिकै सक्रिय रहेका सर्जक हुन् । पत्रकारितामा देखिएको उनको उत्कृष्ट काम र मिहिनेत लाखौँ पाठकले मूल्याङ्कन गरिरहेकै हुन्छन् । पछिल्लो समय अन्नपूर्णपोस्टको शनिबारे परिशिष्टाङ्क ‘फुर्सद’ ले उनको कामको गुणस्तरको पुष्टि गरिरहेछ । पछिल्ला वर्ष उनी अनुसन्धानात्मक लेखमा अभ्यस्त छन् । उनी अनेक क्षेत्रसँग सम्बद्ध रहेकाले प्रायः व्यस्तै रहेका देखिन्छन् ।

परिमाणात्मक रूपमा उनका जे जति कृतिहरू प्रकाशित भएका छन् ती गहन देखिन्छन्‌; पठनयोग्य छन् । ढुङ्गानामा भावनाको विपुलता र कल्पनात्मक शक्तिको प्रचुरताको परिमाणस्वरूप उनले साहित्य सिर्जना गर्न सकेका हुन् । उनका कृतिहरूको अध्ययनबाट उनी एक सिर्जनशील व्यक्तित्वका रूपमा देखा पर्दछन् । बालबालिका होस् वा प्रौढ अनि वृद्धवृद्धा सबैको मन जित्ने र व्यावहारिक ढङ्गको लयात्मक शैलीले लेख होस् वा आलेख‚ पढिरहूँ लाग्नुले पनि लेखन खारिएको छ भन्न सकिन्छ । खासगरी बालमनोविज्ञानलाई सहज प्रस्तुतिका साथ लेखिने उनका बालकृतिले बालबालिकालाई भोलिको नेतृत्व सम्हाल्न सक्ने क्षमताको विकास सानै उमेरदेखि गर्न सक्नेमा दुई मत छैन । व्यावहारिक जीवनका सन्दर्भमा पनि सरल र सहयोगी व्यक्तित्व उनी समाज सेवामा उत्तिकै भिजेका छन् । लिनुमा भन्दा दिनुमा खुसी देख्ने उनको स्वभाव आफू होइन‚ अरू खुसी हुनुमा सुन्तुष्ट हुने खालको छ । समग्र जीवनका पक्षहरू‚ महत्त्वपूर्ण कार्यहरू र तिनबाट बनेको उनको साहित्यिक व्यक्तित्वले उनी एक गहन तथा अत्यन्त परिश्रमी व्यक्ति हुन् भन्न सकिन्छ ।

==============================

सन्दर्भसामग्री सूची

उपाध्याय‚ केशवप्रसाद‚ (२०३९)‚ “मोतीरामको व्यक्तित्व र योगदान”‚ मोतीस्मृति ग्रन्थ‚ काठमाडौँ : नेपाली शिक्षापरिषद् ।

गौतम‚ लक्ष्मणप्रसाद‚ (२०७१)‚ ‘गोपीकृष्णको ‘आफैँभित्र’ मा कथ्यविम्ब’‚ आफैँभित्र‚ काठमाडौँ : तन्नेरी प्रकाशन ।

ढुङ्गाना‚ गोपीकृष्ण‚ (२०६०)‚ मौनताका रातहरू‚ काठमाडौँ : विवेक सिर्जनशील प्रा. लि. ।

……………………‚ (२०७१)‚ आफैँभित्र‚ काठमाडौँ : तन्नेरी प्रकाशन ।

……………………‚ (२०७०)‚ कमिलाको डाक्टर‚ ललितपुर : साझा प्रकाशन ।

……………………‚ (२०७०)‚ फुच्चे—हात्ती (सचित्र बालकथा कृति)‚ काठमाडौँ : रुख टु रिड ।

……………………‚ (२०७१)‚ सानो जुली (बालकथासङ्ग्रह)‚ काठमाडौँ : रत्न पुस्तक भण्डार ।

……………………‚ (२०७१)‚ बेहुला–बेहुली (सचित्र बालकथा कृति)‚ काठमाडौँ : भुँडीपुराण प्रकाशन ।

……………………‚ (२०७१)‚ डिकोडेबल राइटिङ (सहलेखन)‚ काठमाडौँ : रुम टु रिड ।

……………………‚ (२०७२)‚ वैशाख १२ (बालकथासङ्ग्रह)‚ काठमाडौँ  : स्वदेश प्रकाशन ।

……………………‚ (२०७२)‚ 12 Baishakh (बालकथासङ्ग्रह) काठमाडौँ : स्वदेश प्रकाशन ।

……………………‚ (२०७३)‚ मेरा राम्रा बानी (सचित्र बालकविता) काठमाडौँ : स्वदेश प्रकाशन ।

……………………‚ (२०७४)‚ घ्यार्र–घुर्र (सचित्र बालकथा)‚ काठमाडौँ : परिचय पब्लिकेसन ।

……………………‚ (२०७४)‚ Doctor of an Ant (बालकथासङ्ग्रह)‚ काठमाडौँ : ट्रिनिटी प्रकाशन ।

……………………‚ (२०७५)‚ कारको कल्पना (बाल—एकाङ्की)‚ काठमाडौँ : साङ्ग्रिला पब्लिकेसन ।

……………………‚ (२०७५)‚ सजनाको साहस (सचित्र बालकथा)‚ काठमाडौँ : साङ्ग्रिला पब्लिकेसन ।

……………………‚ (२०७५)‚ दाइँ गर्ने दिन (सचित्र बालकथा)‚ काठमाडौँ : साङ्ग्रिला पब्लिकेसन ।

पराजुली‚ कृष्णप्रसाद‚ (२०७१)‚ ‘सानो जुलीका बारेमा…’‚ सानो जुली‚ काठमाडौँ : रत्न पुस्तक भण्डार ।

पौडेल‚ ज्ञानुवाकार‚ (२०७१)‚ ‘गोपीकृष्णको सृजन सन्दर्भ’‚ आफैँभित्र‚ काठमाडौँ : तन्नेरी प्रकाशन ।

बराल‚ कृष्णहरि‚ (२०७१)‚ ‘यी मौनताका रातहरूमा…’‚ आफैँभित्र‚ काठमाडौँ : तन्नेरी प्रकाशन ।

बराल‚ कृष्णहरि‚ (२०७१)‚ ‘यी मौनताका रातहरूमा…’‚ आफैँभित्र‚ काठमाडौँ : तन्नेरी प्रकाशन ।

बोगटी‚ रामबहादुर‚ (२०६२)‚ बल्लभमणि दाहालको जीवनी‚ व्यक्तित्व र कृतित्व‚          (अप्रकाशित शोधपत्र) त्रिभुवन विश्वविद्यालय‚ कीर्तिपुर ।

राना‚ बूँद‚ (२०७१)‚ ‘मोहनी लागिरहोस्‌’‚ आफैँभित्र‚ काठमाडौँ : तन्नेरी प्रकाशन ।

लुइटेल‚ खगेन्द्रप्रसाद‚ (२०७१)‚ ‘प्रेममूलक गजलको सँगालो : ‘आफैभित्र’‚ आफैँभित्र‚ काठमाडौँ : तन्नेरी प्रकाशन ।

प्रतिक्रिया
Loading...