साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नाटक : महर्षि व्यास

 

नाटक:- “महर्षि वेदव्यास” का पात्रहरू।
१) पराशर ऋषि:-
२) माझी-(मत्स्यगन्धाको बाबु)
३) माझीकी श्रीमती।
४) मत्स्यगन्धा:-
५) वेदव्यास:-
६) चेदी देशका राजा:-
७) चेदी देशकी रानी:-
८) सिपाहीहरू:-

दृश्य:-(१)
( मनोरम हरियाली वातावरण र वरपर नदीको सुसाहट छ! कलकल पानी बगेको आवाज, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज, पृष्ठभूमिमा माहिन्द्री नदी परसम्म फैलिएको नदीको तट । नदी किनारमा बाबियाको डोरीले बाँधिएको डुङ्गा देखिन्छ सायद डुङ्गामा  छिद्र परेको हुनुपर्छ । डुङ्गामा युवती देख्न सकिन्छ । सायद डुङ्गाको छिद्रबाट पसेको  पानी आफ्नो अँजुलीले उबाउँदै डुङ्गाबाहिर फ्याँक्दै छिन् ति युवतीले । नदी किनार किनारै भएर नदी तर्न आएका बटुवा योगीको भेषमा देखिन्छन्। लामो दाह्री, लट्टा परेको कपाल हातमा कमण्डलु भिरेका पुरुष  डुङ्गामा पानी उबाउँदै फ्याँक्दै गरेकी युवतीनजिकै जान्छन् ।)

बटुवा /योगी:- हे रूपवती सुन्दरी! रित्तो डुङ्गामा बसेर अँजुलीले पानी उबाउँदै छौ । यो डुङ्गाको माझी कता गएछ? माहिन्द्री नदी पार गरेर कुटिमा जान मलाई हतारो थियो ।
(योगी एकदुई पाइला दायाँबायाँ बढाउँछन् परसम्म नजर घुमाउँछन् तर कतै कोही नदेखे पछि पुनः तिनै सुन्दरी युवतीलाई घोरिएर नियाल्छन् । )

युवती:-(अँजुलीले  पानी फ्याँक्दै गर्छिन्) हजुरलाई नदी पार गर्नु छ भने आउनुहोस् महोदय! म हजुरलाई नदी पार गराइदिन्छु । आज मेरो काम नै यात्रुहरूलाई डुङ्गामा वारपार गराउने हो । मेरा पिताजीको कार्यव्यस्तताका कारण यात्रीहरूको सेवासुविधाका लागि डुङ्गा खियाउने कार्य केही दिनदेखि मैले नै सम्हालेकी छु महोदय!

योगी :- (आश्चर्यपूर्वक सुन्दरी युवतीलाई एक टकले हेर्छन्) हे सुन्दरी! म कसरी तिमीउपर विश्वस्त होऊँ त? यसभन्दा अघि कहिल्यै पनि तिमीलाई डुङ्गा खियाउने कार्य गरेको त देखिनँ त! पहिला पनि यही तटबाट थुप्रैपटक नदी  वारपार गरेको छु मैले तिमीलाई कहिल्यै पनि भेटिनँ त ! पहिलोपटक तिमीलाई भेट्दै छु त! खासमा तिमी को हौ सुन्दरी ?

युवती:-(पानी उभाउन छाडेर) म को हुँ? के हुँ? यी सम्पूर्ण सवालभन्दा पनि यात्रुहरूको सुविधाका लागि म   यहाँ उपस्थित भएको हुँ । हे महर्षि! हजुरको नदी पार  गर्ने उद्देश्य हो भने म सेवामा तयार छु ।

योगी:- (केही पाइला अगाडि बढाउँदै डुङ्गामा आफ्नो दाहिने हत्केलाले ढोग्छन् ढोगिसकेपछि फेरि सुन्दरीको अनुहारमा घोरिएर हेर्छन्) सुन्दरी! आखिर तिमी को हौ त? शरीरको चालढाल, सुन्दरता र तिम्रो वदनमा रहेको तिम्रो यो वस्त्र अनि  शरीरबाट आइरहेको चारकोषसम्म फैलिएको गन्धले मेरो अन्तर्हृदयमा कौतुहलता जागेर आएको छ सुन्दरी! एवम् प्रकारले मभित्र अनेकौँ जिज्ञासा उत्पन्न भएका छन् । तसर्थ मेरा जिज्ञासाहरूको समाधान गर्नु तिम्रो कर्तव्य हुन्छ । आखिर तिमी को हौ त? सुन्दरी?

आकाश अधिकारी

युवती:-(भावुक हुँदै) हे महर्षि! कुनै  पनि यात्रुको उद्देश्य भनेको निश्चित गन्तव्यसम्म हुन्छ। बारबार मेरो आन्तरिक परिचय मागिरहनुको उद्देश्य मैले बुझ्न सकिनँ । किन सोधिरहनुहुन्छ महर्षि?

महर्षि:- हे सुन्दरी! तिम्रो अभिनय, अभिव्यक्ति कला देखेर मलाई तिम्रा बारेमा जान्ने जिज्ञासा उठिरहेको छ। तसर्थ यसलाई अन्यथा नसोची मेरा जिज्ञासाको समाधान गर्नु तिम्रो कर्तव्य हुन आउँछ।

युवती :- ( गम्भीर मुद्रामा युवती देखिन्छिन् ) तपाईँ एउटा् बटुवा हो तर तपाईँको स्वरूप देख्दा महर्षि  जस्तो लाग्दछ । यसरी एउटी नारीको आन्तरिक परिचय मागिरहनु अलि अशोभनीय कुरा भएन र ऋषिवर?

महर्षि :- (भावुक हुँदै) तिमीले गरेको अनुमान केही हदसम्म ठिकै पनि हो तर मलाई लोकले सिद्धपुरुष पराशर भनेर चिन्दछन् सुन्दरी।

युवती:- ( बसिरहेको स्थानबाट जुरुक्क उठेर प्रणाम गर्छिन् )अहो! महर्षि पराशर पो हुनुहुँदो रहेछ । क्षमा गर्नुहोस् महर्षि,  संवादका क्रममा मबाट गलत अभिव्यक्ति भएको भए मलाई क्षमा गर्नुहोस्।

महर्षि:-(आफ्नो हातमा रहेको कमण्डलु कुहिनातिर सर्काउँदै आशीर्वाद मुद्रामा ) हैन!हैन ! सुन्दरी! मेरो अभिप्राय त्यसो हैन! केवल आफूभित्रको कौतुहलता मेटाउने उद्देश्य हो ! मभित्र किन किन आज तिमीलाई देखेपछि अनौठो प्रेरणा जागृत भैरहेको छ। चालढाल स्वरूप र यो अनौठो गन्धले म तिम्रा बारेमा जिज्ञासा राख्न प्रेरित भैरहेको छु सुन्दरी!

युवती:-(भावुक हुँदै) हे महर्षि हजुरको यस्तो जिज्ञासा हो भने मलाई जानकारी भएसम्मको मेरो परिचय सुन्नुहोस् …ऋषिपराशर! आजभन्दा झन्डै ३/४ वर्ष पहिलेको कुरा हो! झम्के साँझ परेको थियो । मेरा बुबाआमा घरबाहिर पिँढीछेउमा रहेको चुलाको आडैमा आमा खाना पकाउँदै हुनुहुन्थ्यो।
क्रमशः……………दृश्य परिवर्तन …………!!!!

दृश्य -२
(झम्के साँझको समय अगेनाको छेउ बसेका अधबैँसे पुरुष अगुल्टो धचेट्दै गरेका हुन्छन् । माटाको हाँडीमा बाँसका सिन्काले मकै भुट्दै गरेकी अधबैँसे महिला पनि देखिन्छिन् केही पल्तिर काठको टाँडमा बिमारी भएर सुतिरहेकी  किशोरी युवती देखिन्छिन्)

पुरुष/माझी:- (हातले अगुल्टो धकेल्दै) “हेर! बुढी!

मत्स्यगन्धा हेर्दाहेर्दै तरुनी भैसकेकी छ। छोरी भएर जन्मिएपछि एक न एकदिन अर्काको घरमा जानैपर्छ । छोरीको जात हुर्केपछि बाबुआमालाई चिन्ता त थपिने रहेछ है?
माझीकी श्रीमती :- हाँडीको मकै सिन्काले चलाउँदै)
हो त भन्या हेर्दाहेर्दै कसरी हलक्क बढेकी भन्या! हेर्दा  पनि कलकलाउँदी वरपरका सबैले डाहा गर्छन् भन्या उसको त्यो हँसिलो रसिलो ज्यान देखेर ।

(एउटा हात थाप्लोमा राख्दै) मात्रै उसको शरीरबाट निस्कने त्यो अनौठो गन्धले मत्स्यगन्धाको चिन्ता अलि बेसी नै लाग्छ भन्या !
माझी:-(चिन्तित स्वभाव मुद्रामा) भगवान्‌ले हाम्रै लागि यिनको जिम्मेवारी सुम्पेकारहेछन् त भनेर सम्झनुपऱ्यो क्यार्छेस् त बुढी?
(पिँढी छेउको टाँडमा सुतिरहेकी किशोरीले सबै कुरा चाखलाग्दो तरिकाले सुनिरहेकी छ।)

माझीकी बुढी:-(केही छिल्लिएझै गर्दै) हाम्रोकोखबाट नभै माछाको पेट चिर्दा  मत्स्यगन्धा र मत्स्यकुमारको जन्म भएको र मत्स्यकुमार दरबारमा राजपुत्रका रूपमा हुर्के बढेको कुरा उसले भेउ पाई भने के होला त्यो दिन? हैन बुढा?

माझी:-(अझै भावुक मुद्रामा) आखिर यो लोकलाई जानकारी भएकै कुरा हो क्यारे! हामी पनि उसलाई (पिँढीको टाँडमा सुतेकी किशोरीतर्फ सङ्केत गर्दै) कति दिनसम्म कुरा लुकाएर राख्न सक्छौँ त? आखिर लोकले जानेकै कुरा हो क्यारे!
(टाँडमा सुतेकी किशोरी “मत्स्यगन्धा”उत्सुकताका साथ कान ठाडो पारेर सुनिरहेकी हुन्छे)

माझी:-(भावुक बन्दै) बुढी!! तिमीलाई थाहा छ? (प्रश्नवाचक शैलीमा आफ्नी श्रीमतीतिर फर्की सोध्छन्) यी शिशुलाई  “बसु राजाको नजरमा चढाउन जाँदा राजा कति बाठा भाका!! छोरो आफूले राखेर छोरीचाहिँ तँ आफैँले पाल भनेर जिम्मा दिए । खै किन हो कुन्नि छोराको शरीरबाट माछाको गन्ध नआएर पो हो कि कुन्नि? केही थाहा छैन।

माझीकी बुढी:-(भुटिरहेको मकैको घान नाग्लामा खन्याएर) यो कुरा त पहिले नै मेरा मनमा लागेको कुरा हो बुढा! नजाने भगवान्‌ले हामीलाई छोरी नै दिएको पो हुन् कि। अनि साँच्चै!! कसरी माछाबाट पनि मान्छे जन्मेका होलान् है बुढा?

माझी:- (बहुत चलाख हुँदै) आच्या! तिमीले बिर्सेकी? मैले भनेकै थिएँ त तिमीलाई । त्यो दिन अकस्मात् जाल खिच्न मलाई हम्मे-हम्मे परेपछि बढा मुस्किलले बाहिर ल्याए! अनि घरमा ल्याएर चिरेको तिमीले बिर्सियौ? त्यसपछि मैले दुवै शिशुलाई राजाकहाँ लगेको त हो नि!

माझीकी श्रीमती:- (जिज्ञासु शैलीमा ) हैन! माछाले  पनि मान्छे पेटमा कसरी बोक्यो होला है बुढा?

माझी:- (उत्साही हुँदै) आच्या! तिमीलाई थाहा छैन र?चेदी देशका राजा बसु एकदिन……………!!

दृश्य- ३
(चेदी देशको दरबारको प्रङ्गगण… अधबैँसे पुरुष धनुषवाण भिरेर उभिएका छन् दायाँबायाँ केही सुरक्षाकर्मी खडा छन्! त्येसै बीचमा एक महिलाको  प्रवेश हुन्छ )

महिला :- (अस्वाभाविक शैलीमा) महाराज !!!

अचानक कता सवारी हुँदै हुनुहुन्छ! धनुषबाण भिरेको देखेर आएकी म त! कतै शिकार खेल्न निस्कनुभएको हो कि भनेर।

राजा:-(दायाँबायाँ तैनाथ जवानहरूलाई नियाल्छन् ) हो महारानी! तिमीले अड्कल गरेको कुरा सत्य हो। म शिकारकै लागि निस्कन लगेको हुँ!

रानी:-(आश्चर्य भावमा) अहिले नै? हतारमा किन?

राजा:- (भावुक हुँदै) महारानी! मैले राति सपनामा पिताजीलाई देखेँ! पिताजी भन्दै हुनुहुन्थ्यो! पितृ उद्धारका लागि यज्ञ सम्पन्न गरिदेऊ। परलोकमा हामी सबै पितृलाई साह्रै नै कष्ट भैरहेको छ! सपनामा पिताजीले यसो भनेपछि म अहिले नै पितृ उद्धारका लागि शिकारमा जान लागेको  हुँ। पितृ उद्धारका लागि हरिणको मांसलाई पवित्र मानिन्छ तसर्थ म हतारमा शिकार गर्न निस्केको हुँ।

रानी:- (लामो लामो श्वास फेर्छिन्) महाराज कस्तो संयोग पऱ्यो! आज नै असल पुत्ररत्न प्राप्तिका लागि शुभ मुहर्त रहेको कुरा विद्वान्‌हरूले  बताएका छन् । त्यसकारण पितृ यज्ञका लागि अर्कै दिन अनि समय निर्धारण गर्नुहोस् । समयले कसैलाई पर्खदैन आफैँ विचार गर्नुहोस् महाराज ।

राजा :- महारानी ! असल पुत्र प्रप्त गर्ने शुभ मुहुर्त फेरि पनि आउन सक्छ! मैले सङ्कल्प गरिसकेँ मलाई यात्रामा अवरोध नगर । प्यारी।

रानी:- (अनुहारमा निराशा पैदा भएको  स्पष्ट देख्न सकिन्छ) महाराज! मेरो लामो समयदेखिको प्रतीक्षा आज पूर्ण हुने विश्वास थियो। तर महाराजले मेरो अभिप्रायः  बुझिबक्सेन! ( चिन्तित हुँदै लज्जित हुँदै दृश्यबाट बाहिरिन्छिन्! राजा आफ्नो गन्तव्यतर्फ लाग्दछन्  सिपाही र सहयोगीहरू दृश्यबाट ओझेल पर्छन्)

दृश्य- ४
(माझी र  माझीकी बुढी उही अवस्थामा देखिन्छन्।)
माझीकी बुढी:-(आश्चर्यपूर्वक ) अनि राजा शिकारका लागि निस्केपछि के भएछ त बुढा?

माझी:-(हात नचाउँदै पार लाउँदै ) “राजा त दरवारबाट सिधै शिकारका लागि जङ्गल पुगेपछि त्यहाँको मनमोहक वातावारण पक्षीहरूको चिरबिर चिरबिर आवाज, मन्द, सुगन्ध हावा खोल्सीहरूको कलकल  आवाजले राजाको मन अकस्मात् बिच्चली हुन पुगेछ! उनीभित्र काम वासनाको चाहना  बढेर आएछ!

माझीकी बुढी:- (उत्सुकता देखाउँदै) अनि के गरेछन् त राजाले?

माझी:-(मन्द मुस्कानमा) त्यसपछि रानीको आग्रह सम्झी काम वासनाको वेग उनीभित्र बढेछ त्यो वासनाको बीजलाई उनले पातमा पोको पारेर मन्त्र उच्चारण गरेर बाज पक्षीमार्फत रानीलाई दिन पठाएछन्। बाज  आकाशमा उड्दा उड्दै अर्को बाजले बीचैमा हुलाकी बाजलाई  झम्टेछ! त्येति नै खेर  त्यो वासनाको पोको तल नदीमा खसेछ । त्यसलाई त्यही नदीको माछाले खाइछ। खाइसकेपछि त्यो वासनाको वीर्य खाएर तिनै माछाको गर्भबाट मत्स्यगन्धा र मत्स्यकुमारको हुर्केका रहेछन्।मेरो जालमा फसेपछि त्यो दिन घरमा ल्याएर चिरेर निकालेको बिर्सिएकि तिमीले?लाटी!!

मझी कि बुढी :- ( आफ्नो टाउको हल्लाउँदै ) हो त है अस्तिजस्तै लाग्छ यत्तिका वर्ष बितिसक्यो बिर्सिसकेकी मैले त! अनि सुन न बुढा! सबै माछाले त्यसरी नै खाए भने मान्छे नै जन्माउँछन् त?(मुख छोपेर लाज मान्दै )

माझी:- (अझै चनाख बन्दै) सुन बुढी  त्यसको पनि रहस्य अर्कै रहेछ बुढी सुन्छ्यौ?
माझीकी बुढी :- (उत्सुक हुँदै) सुनाऊ न सुनाऊ बुढा! बरु मत्स्यगन्धालाई भोक पनि लागिसक्यो कि? (टाँडमा सुतेकी मत्स्यगन्धातर्फ दुवैले नजर लगाउँछन् । मत्स्यगन्धा भने ओढ्नेभित्रबाट सबै कुरा सुनिरहेकी हुन्छे)

माझी :- लौ त लौ सुन । स्वर्गमा अद्रिका नामकी अप्सरा रहिछन् । उसलाई पृथ्वीको प्राकृति मनोरम दृस्य हेर्ने इच्छा जागेछ अनि ती अप्सरा यो लोकमा आइछन् यही माहिन्द्री नदीको दोभानमा एकदिन एक युवा ऋषिकुमार मध्याह्न स्नान गर्नका निम्ति यही बेनीमा आएका रहेछन् ती अप्सराले ऋषिकुमारको यौवन अवस्था देखेर ती अप्सरा साह्रै नै मोहित भइछन्! अगाडि नै गएर आफ्नो इच्छा पूरा गर्न प्रस्ताव राख्न डराएर माछाको रूप लिई ती ऋषिकुमार नदीमा डुबुल्की लगाउन लागेको मौका पारेर ती माछारूपी अद्रिकाले ऋषि कुमारको पाउ आफूतर्फ तानेर पानीमा लडाइदिइछन्। अनि ऋषिकुमार क्रोधमा आई ” तँ” ! अप्सरा भएर माछाको रूप धारण गरी यस्तो निन्दित कार्य गरेकी छस् जा!! तँ माछा नै भै जा!! भनेर श्रप दिएछन् त्यसपछि अप्सराले धेरै विलाप  गरेपछि तैँले जुम्ल्याहा मानव शिशु जन्माएपछि तँ फेरि आफ्नै रूप अप्सरा बनेर आउने छेस् भनी वरदान दिएर ऋषिकुमार गएछन् । ती मानव शिशु जन्माउने तिनै अद्रिका नामकी अप्सरा हुन्! कुरा बुझिस् बुढी!
माझीकी बुढी :- (आश्चर्यचकित मुद्रामा ) ओ हो!!! है!!यस्ता अनौठो रहस्यमय कुरा कहाबाट जान्यौ बुढा??

माझी :- (मुसुक्क हाँस्दै) विभिन्न घार्मिक समारोहमा विद्वान्‌हरूको मुखबाट सुनेको हुँ! बुढी!
(पिँढीको पल्लो छेउको टाँडमा सुतिरहेकी मत्स्यगन्धा केही चलमलाउँछिन् माझी र माझीकी बुढी दुवै जना मत्स्यगन्धा तर्फ दृस्टि पुऱ्याउँछन्)
क्रमशः-……………!!!

दृश्य:-५
(महिन्द्री नदीमाथि तैरिएको काठको डुङ्गाको दृश्य देखिन्छ । मत्स्यगन्धा र पराशर ऋषि डुङ्गामा देखिन्छन् । मत्स्यगन्धा लामो श्वास लिन्छिन् पराशर भने ध्यानपूर्वक सुनिरहेको दृश्यमा देखिन्छ।)

पराशर:- (भावुक हुँदै) आखिर मेरो मनभित्रको खुल्दुलीको रहस्य तिमीले खोलिदियौ मत्स्यगन्धा।

मत्स्यगन्धा:-( पराशरतर्फ इसारा गर्छिन्) महर्षि! सवार होस् डुङ्गामा हजुरालाई नदी पार गराइदिन्छु।
(हातको कमण्डलु कुहिनोतिर सर्काउँछन्! नाङ्गो ज्यान,कम्मरमा बाँधेको लँगौटीको फेरो समाल्दै ।)

पराशर:-(डुङ्गालाई ढोग गरेर पराशर आफ्नो पाउ राख्छन् ।) “आँटिली रहिछौ मत्स्यगन्धा तिमी!
(डुङ्गा चढेर आसन लिइसकेपछि कन्याको अनुहार  नियाल्छन् ।)

मत्स्यगन्धा:- (लजाउँछिन्)” ऋषिवर! किन यसरी घोरिएर हेर्नुभाको?
(आफ्नै लयमा डुङ्गा खियाउँदै गर्छिन्! पराशर भने शिरदेखि पाउँसम्म घोरिएर हेरिरहन्छन्)

परशर:-“कन्या! तिमी सुशील छौ सुन्दर छौ यति हुँदाहुँदै पनि तिम्रो वदनबाट निस्केको यो गन्धबाट के तिमी सन्तुष्ट छौ?

मत्स्यगन्धा:- (लजाउँदै) “आमाको निशानी स्वरूप मैले स्वीकार गरेकी छु ऋषिवर! हुन त कहिलेकाहीँ आफैँलाई विरक्त लाग्छ तर मेटेर नमेटिने पखालेर नपखालिने यो गन्धलाई भगवान्‌को वरदान सम्झेर स्वीकार गरेकी छु ।

पराशर:-“मत्स्यगन्धा! म तिम्रो शरीरबाट निस्केको यो  गन्धबाट मुक्ति प्रदान गर्न चाहान्छु यदि तिमीले स्वीकार गर्छ्यौ भने।
(कामुक दृष्टिले एकोहोरो हेरिरहन्छन् ऋषिले कन्यालाई ऋषिको यो हेराइले मत्स्यगन्धा असिनापसिना हुन्छे डुङ्गाको गति विचलित हुन पुग्छ भित्रभित्रै अतालिएकी मत्स्यगन्धाको हात गोडा काम्न थाल्छ बिस्तारै डुङ्गाको गति कम हुन्छ ।)

मत्स्यगन्धा:-“महर्षि म कन्या हुँ किशोरी हुँ! तपाईँले जसरी मलाई नियालेर हेर्दै हुनुहुन्छ मलाई कताकता डर र त्रासले भयभीत बनाएको छ।

पराशर:- (लामो श्वास लिन्छन् कामुक नजरले कन्यालाई हेरिरहन्छन् अनि मुख फोरेर प्रस्ताव राख्छन्)
पराशर:-“मत्स्यगन्धा तिमी कुमारी छौ, सुकोमल अनि सुन्दर छौ तिम्रो रूपले म मोहित भएँ मत्स्यगन्धा! किनकिन मभित्र अनौठो अभिलाषा जागेर आयो । मलाई वासनाले गाँज्यो मेरो वासना तिमीले  मेटाऊ मत्स्यगन्धा!

मत्स्यगन्धा:-(डरले अतालिँदै)”ऋषिवर हजुर के भन्दै हुनुहुन्छ? म किशोरी हुँ शारीरिक रूपमा सम्भोगका लागि मेरो तन परिपक्व छैन फेरि म त कन्या हुँ मेरो कुमारित्व लुटेर  हजुरको वासना तृप्त गर्न सक्ने सामर्थ्य राख्न सक्दिनँ । यो समाज, संस्कृति र लोकका सामुन्ने कसरी शिर ठाडो बनाएर बाँच्न सक्छु महर्षि?

पराशर:- (कन्याको चिउँडो आफ्ना हातले उठाउँछन्)  तिमी निश्चिन्त भए हुन्छ कन्या! म तपस्वी पराशर ऋषि हुँ ढुक्क भए हुन्छ । यो गन्धबाट मुक्त बनाएर सुगन्ध नै सुगन्ध भरिदिन्छु तिम्रो वदनमा! सम्भोगपछि तुरुन्तै तिम्रो गर्भबाट महापुरुषको जन्म हुनेछ । जसले यो जगत्‌को भलो गर्नेछ । त्यसपछि तिमी कन्या कुमारीकै स्वरूपमा रहने म वरदान दिनेछु मत्स्यागन्धा।
सहवासका लागि स्वीकार गर मत्स्यगन्धा।

मत्स्यगन्धा:- (त्रासले आवाज कम्पित हुन्छ ।) एकपटक कुमारित्व लुटिइसकेपछि पुनः कसरी कुमारी  बन्न सक्छु र ऋषिवर फेरि तपाईँको सन्तानका रूपमा क्षणको क्षणमै जन्माएर हुर्काउन पनि सम्भव छैन ।  हुनै नसक्ने कुरा म कसरी विश्वास गरूँ ?
(भयभीत भएकी मत्स्यगन्धाको हात पाउ काम्छन् ।)

परशर:- (लामो श्वास लिन्छन् ।) कन्या! तिम्रा सम्पूर्ण शङ्काको निवारण गर्ने सामर्थ्य म राख्दछु । तिम्रो गर्भबाट  द्वैपायन महर्षि व्यासको जन्म गराउने जिम्मेवारी सृष्टिकर्ताले आज यही समय यहीँ स्थानमा जिम्मेवारी दिनुभएको छ सृष्टिकर्ताकै चाहना अनरूपनै यो परिस्थिति साधक बनेको छ कन्या । तिमीले स्विकार्नु नै यो जगत्‌को हितकर हुनेछ।
(अत्तालिँदै डुङ्गा खियाइरहेकी छन् मत्स्यगन्धा ।)

मत्स्यगन्धा:- (नजर झुकाएर ।) यो छकाल समय चारैतिर उज्यालोको साम्राज्य छ गाई गोठालाहरू ऋषि तपस्वीहरू साथै सयौँ गोठालाहरू  नदी किनारामा छन् । माझीहरू नदीमा माछा मार्न आएका छन् । कसरी सम्भावना छ र ऋषिवर यो छकालमा मैले यो देह हजुरलाई कामवासनाका लागि सुम्पन? फेरि म त मरेतुल्य भएर बाच्नुपर्छ यो जगत्‌मा कसरी स्वीकार गरूँ? हजुरको यो प्रस्तावलाई ऋषिवर?

परशर :-(केहीबेर सोचाइमा घोत्लिन्छन्।) बालिके! म सिद्ध पुरुष, तपस्वी पराशर ऋषि हुँ । तिमी मेरो प्रस्तावलाई स्वीकार गर सबै प्रबन्ध मेरो एक मन्त्रोच्चारणमै सम्भव छ कन्या । ल तिमी हेर्दै जाउँ म यो शुक्ला माहिन्द्री क्षेत्रको सेरोफेरोमा भर्खरका भर्खरै कुहिराको उत्पत्ति गरेर तिमीलाई विश्वास्त पार्नेछु!

( दुवै हात आकाशतर्फ पसारेर महात्मा पराशर आँखा चिम्म गर्छन् । आँखा चिम्लेर टाउको र हात यता उता गर्दै मन्त्र उच्चारण गर्छन्
ॐ ………..!!!!!!
ॐ………….!!!!!!!!!
ॐ………………!!!!!!!!
(मन्त्र उच्चारण गर्दा गर्दै ।)
(माहिन्द्री नदीको आसापास बिस्तारै कुहिराको उत्पत्ति हुन्छ हेर्दाहेर्दै नदीबीचमा डुङ्गा कुहिरोले छोपिन्छ शुक्ला माहिन्द्री नदी आसपासको उपत्यकाभरि बाक्लो कुहिरोले ढाक्छ पूरै जगत्‌मा अँध्यारो छाउँछ ।  डुङ्गामा सवार मत्स्यगन्धा अनि पराशर बिस्तारै बिस्तारै छायामा पर्छन् सोही दिशाबाट अनौठो आवाज आएको सुनिन्छ ।)

मत्स्यगन्धा:- ऋषिवर यो कस्तो आश्चर्य ? अनि कस्तो चमत्कार? भर्खरको भर्खरै मेरो शारीरमा कस्तो परिवर्तन आएको? अनि बाहिरी पर्यावरणमा अचानक यो सेतो बादलझैँ कुहिरो कहाँबाट उत्त्पति गराउनुभयो ऋषिवर?

पराशर:- (दृश्य बिस्तारै धमिलो देखिन्छ ।) यो युग पुरुषको द्वैपायन महर्षि व्यासको जन्म अर्थात् अवतरण हुने समय हो । तिमी ढुक्क अनि निश्चिन्त भएर आफूलाई समर्पण गर कन्या । आऊ हामी एकाअर्कामा समाहित भएर एउटा पुण्य कर्म गरौँ! आऊ कन्या!! आऊ मेरो अँगालामा आऊ!!!!

(दृश्य पूरै धमिलो देखिन्छ चारैतिर कुहिरै कुहिराले ढाकेको हुन्छ मञ्चको मध्यभागबाट अनौठो आवाज आइरहन्छ केहीबेर।)

आँ!!हा!!!उ उ उ ई ईई!!!!
आ हा आहा!!!!!!!

(काम वासनामा मस्त आवाज माहिन्द्री नदीको सुसाईसँगै वरपर तरङ्गित हुन्छ केहीबेर ।)
(मञ्चमा केहीबेर कामुक ध्वनि तरङ्गीत हुन्छ।)
……………××………………×××……………
क्रमशः

दृश्य (६।)
(बाक्लो कुहिरोका बाबजुद पनि शुक्ला नदी र महिन्द्री नदीको तटको दृश्य मधुरो देखिन्छ । माहिन्द्री नदीको किनारमा डुङ्गा तैरिएको छ । पराशर ऋषि डुङ्गाबाट नदी किनारमा ओर्लिएको धमिलो दृश्य देखिन्छ । डुङ्गाबाट ओर्लिएर डुङ्गालाई काबुमा राख्ने डोरीलाई नदीकिनाराको वृक्षको फेदमा पराशर ऋषिले फनफनी बेरिसक्छन् । डुङ्गा नदीमै तैरिरहेको छ। डुङ्गाबाट मत्स्यगन्धा उत्रिन्छिन् । पराशर सबै गतिविधि सकेर मत्स्यगन्धातर्फ फरक्क फर्केर कुटिल दृष्टि लगाउँछन् अनि आफ्नो दायाँ हात उठाएर आशीर्वाद दिन्छन्।)
पराशर:- “ॐ नम शिवय् !!!!!२  तथास्तु!!!!!!!!! !!!!  हे मत्स्यगन्धा तिम्रो मनमा उब्जिएको सबै शङ्काको निवारण गरेर बाकी अधुरा कार्य सम्पादन गर्न मार्ग प्रशस्त गरेर बिदा हुन्छु । ॐ नम् शिवाय्।!!!!।
मत्स्यगन्धा सृष्टिको सुन्दर अनि अनुपम उपहारका साथै यो जगत्‌कै महत्त्वपूर्ण सृजना गर्न तिमी सफल हुनेछौ ।  तिमीभित्र निहित सबै भ्रम शङ्का  निवारण गर्न अद्भुत वरदान दिँदै बिदा हुन्छु तथास्तु!!!
(पराशर ऋषि बिस्तारै मञ्चबाट बाहिरिएको दृश्य देखिन्छ ।)
(मञ्चको वातावरणमा केही सन्नाटा छाउँछ डुङ्गाबाट  मत्स्यगन्धा नदी किनारमा थचक्क बसेर परशर ओझेल परेको दिशातिर नियाल्छिन् ।)
मत्स्यगन्धा:- महर्षि! मलाई यो अवस्थामा एक्लै छाडेर कहाँ सवार हुँदै हुनुहुन्छ ??? ऋषिवर?
(दृश्यमा केही अस्पष्ट हलचल हुन्छ! मत्स्यगन्धा आफ्ना दुवै हातले आफ्नो पेट छाम्छिन् । आफ्ना दृष्टि आफ्नै शरीरमा नियाल्छिन् । अकस्मात् मत्स्यगन्धा  असहज महसुस गर्छिन् । प्रसव वेदनाले क्षणभरमै मत्स्यगन्धालाई सताउँछ । नदीछेउको काँस घारीमा थचक्क बस्छिन् । केही मिनेटमै आश्चर्य चकित हुन्छिन् मत्स्यगन्धा! घटनाक्रमहरू सपना हो कि बिपना हो अन्योलमा पर्छिन् ।)
मत्स्यगन्धा:-(आश्चर्यजनक ढङ्गले।)
हे! ईश्वर भगवान्‌ !!! मैले के भोग्दै छु के देख्दै छु??? के यो सपना हो कि बिपना हो मैले  छुट्टाउन सकिनँ भगवान्‌ !!!
(दुवै हात जोडेर प्रार्थना गर्छिन् आफ्नै कोखबाट प्रकट भएको अद्भुत युवा आफ्नै अगाडि खडा देखेर अचम्मित हुन्छिन् ।  मत्स्यगन्धा आफ्नो दुवै हात फैल्याउँदै आफ्नै कोखबाट जन्मेको त्यो अद्भुत चमत्कारीलाई अङ्कमाल गर्न खोज्छिन् तर!!।)
अद्भुत युवा:-(मत्स्यगन्धाको दुवै हात समाएर आफ्नो ललाटमा लगेर ढोग गर्छन्।)  ” आमा! यो जगत्‌को हितका लागि मैले हजुर र पराशर ऋषिको गर्भबाट माहिन्द्री नदीको तटमा  (जन्म लिएको छु म “व्यास हुँ! माता!! सृष्टि र जगत्‌को भलाइका लागि लागि मेरो अवतरण भएको माता! म व्यास हुँ व्यास!! तसर्थ म मेरो कर्तव्य पथमा ढिलाइ नगरी निस्कन्छु माता!!
(मत्स्यगन्धाको दुवै हातमा फेरि ढोग गर्छन् ।)
मत्स्यगन्धा:- (भावुक हुँदै।) हे पुत्र! मेरो मुटुको धड्कन कहाँ जान्छौ तिमी पुत्र? मलाई यहाँ यो अवस्थामा छाडेर??? (सुँक्क सुँक्क गर्छिन् मत्स्यगन्धा ।)
व्यास:- (भावुक भएर ।) माता मलाई आशीर्वाद दिनुहोस् । म कर्तव्य पथमा जान हतार भैसकेको छ ।
मत्स्यगन्धा:- (भावुक हुँदै।) आफ्नो जिम्मेवारी पूरा गर्नू पुत्र शुभ यात्रा । मैले सम्झेका बखत मेरो सेवामा उपस्थित भएस्!
(व्यास सोही स्थानबाट ओझेल पर्छन् व्यस अन्तर्ध्यान भएको दिशातर्फ हेरिरहन्छिन् मत्स्यगन्धा।)
×…… मञ्चमा अँध्यारो छाउँछ पर्दा झर्छ।……×
“शुक्ला माहिन्द्री नदीको तटमा मेरो सानो कुटि!
यो जगत्‌मा अबदेखि सबै प्राणी रहने छन् खुसी”!
(बिस्तारै मञ्चमा अँध्यारो छाउँछ।)

××…… …××………पर्दा बन्द ……××……××

 

प्रतिक्रिया
Loading...