ऊ पातलो बैजनी रङ्गको सादा सिफनको सारीमा हल्का बुट्टे ब्लाउजमा थिई। सानो हाते ब्याग, लामो तर छोडेको कपाल अनि हल्का मेकअपमा झट्ट हेर्दा नै अनुमान गर्न सकिन्थ्यो कि ऊ कुनै सभ्य परिवारकी शिक्षित महिला हुनुपर्छ । गहिरो र बाक्लो गाजल पोतिएका भयङ्कर लाग्ने उसका आँखा कुनै एम्बुसभन्दा कम थिएनन् । म वारिपट्टिको क्याफेको बरन्डाबाट नहेरेझैँ गर्दै हेरिरहेको थिएँ उसलाई।
घरी लाग्थ्यो ऊ कसैलाई पर्खिरहेकी छे तर घरी लाग्थ्यो ऊ कुनै कुराले अल्मलिएर उभिएकी छे । धेरैवटा ट्याक्सी ऊछेउ आउँदै अडिदै गए सायद कुनै ट्याक्सी प्रतीक्षारत महिला हुनपर्छ भन्ने अनुमान लगाएका हुन सक्छन् ती ट्याक्सी चालकहरू । मलाई भने यो दृश्यले एउटा प्रश्न उब्जाएर गयो यदि ट्याक्सी नकुरेकी हो भने कसलाई कुरिरहिछे यो झुक्किएर जमिनमा झरेकी अप्सरा?
मनमा एक किसिमको कौतुहलता जाग्यो । एकमनले त लाग्यो गएर सोधूँ “क्यान आइ हेल्प यु” भनेर तर तत्कालै अर्को सोच आयो । फेरि अर्को मनले सोचेँ ह्या कसलाई कुरेकी हो मलाई के को खसखस?
एकछिन मोबाइलमा केही हेर्न खोजेँ, पढ्न खोजेँ । फेरि मन फेसबुकका भित्तामा नअडिएर त्यही अनुहारको क्यानभासमा पुग्यो जहाँ अनेकौ अमूर्त चित्रहरू कोरिएका थिए । अहिले भने त्यो अनुहार अलि बेचैन देखिन्थ्यो सायद धेरैबेरको कुराइका कारण ऊ बेचैन छे या हुन सक्छ ऊ कुर्दा कुर्दै थाकिसकेकी छे। पुलुक्क घडी हेर्छे अनि मुख बिगार्छे । दिक्क मानेजस्तो लामो सास तान्छे ।
मलाई भने उसको अनुहारको आभाले बिहानको न्यानो घामले जस्तो एक किसिमको बेग्लै स्पर्श गरेजस्तो अनुभूति भइरहेथ्यो । उसले मोबाइल डायल गरी । भित्तातिर फर्किएर फुसफुस के कुरा गरी रिसाएजस्तो, थोरै झर्केजस्तो उसको बडी ल्याङवेजले बुझाउँथ्यो । बुझिनँ तर मलाई एक किसिमको भाउन्न भएर आयो । कोसँग के कुरा गरी होली भन्ने कुराले त्यस्सै ईर्ष्या उब्जिएर आयो । आफ्नै मनलाई गाली गर्दै भुतभुताएँ “तँ को हो र उसमाथि हैकम जमाउने”?
जब एउटै स्थितिमा धेरै बेर कुरिरहेको देखेपछि एकाएक बिजुली चम्केजस्तो एउटा विचार मेरो दिमाग झनझनाएर गयो । कतै कल गर्ल त हैन? तत्काल गाली गरेँ आफैँलाई । “हत! कहाँ हुन्छे यति भद्र लाग्ने महिला? हरेक साँझ ठमेलमा दुईतिन घण्टा बिताउने मलाई राम्रोसँग थाहा थियो कल गर्लहरूको हाउभाउ र कटाक्ष । फेरि उसको “बडी ल्याङ्वेज” र “ड्रेसअप”ले पनि यो कुरालाई प्रमाणित गर्न सक्दैनथ्यो तर रात जति छिप्पिँदै जान्थ्यो म उसका लागि बेचैन हुँदै थिएँ सायद सडकछेउ त्यति लामो समयदेखि कुरिरहेकी ऊ थिइन, जति बेचैन म थिएँ ।
उसले पूर्वतिरबाट आइरहेको ट्याक्सी रोकी । ट्याक्सी पिरो धुवाँ फाल्दै अघि बढ्यो । मलाई भने गाडी हुत्तिँदा निस्केको हावाले गालामा झापड हानेर गएजस्तो भयो ।
सुकुटीको एउटा टुक्रा मुखभित्र हालेँ र चपाएँ र बियरको घुटकाले निलेँ । खै किन हो एकाएक बियरको स्वाद हराएजस्तो भयो । नजानिँदो किसिमको बेचैनीले झ्याप्प छोपेर आयो । चुरोट सल्काएँ र लामो-लामो सर्को छोड्न थालेँ र उक्त सुन्दरीको सोचको परिधिबाट बाहिरिन खोजेँ तर अहँ उसको मासुम अनुहार आँखाभरि घुमिरह्यो । को होली त्यो? को होला त्यो ट्याक्सीमा? उसको श्रीमान् या ब्यायफ्रेन्ड चाहिँ अवश्य होइन किनकि एउटा श्रीमान् या प्रेमीले आफ्नी पत्नी या प्रेमिकालाई यतिबेर सम्म ठमेलजस्तो ठाउँमा रातको समयमा अवश्य पर्खाउने थिएनन् । यसबेला सडकछेउ उभिने महिलाहरूलाई हेरिने दृष्टिकोणबाट अवश्य अनभिज्ञ नहुनु पर्छ । बर्सौँदेखि यही टेबलमा कति तमासा हेरियो । कतिलाई जिस्क्याइयो । कतिलाई इसारा गरेर बोलाएर गफ गरेर समय बिताइयो । कति मन जित्नेहरूसँग क्याबिनसम्म पुगियो तर यो एउटा यस्ती महिला थिई जसले मजस्तो बेपरवाह मान्छेको मनको कतै मुलायम भित्ता कोतरेर गएकी थिई । एकछिन त म आफैँप्रति दया लागेर आयो । मभित्रको अर्को “म” ले उल्याउँदै प्रश्न गऱ्यो “ओइ! प्रेम त भएन ए तँलाई? तँलाई पनि प्रेम गर्न आउँछ र? तेरो नि प्रेम गर्न सक्ने मुटु छ? प्रेम के ले गर्छस्? केलाई गर्छस्”?
फेरि अर्को चुरोट सल्काएँ । मनोजले भित्र आउने इसारा गऱ्यो। म चुरोट एस्ट्रेमा ठोसेर काउन्टरतिर लागेँ । भित्र ग्राहकहरूको भिडभाड थियो । साल्मली मलाई देखेर चम्कँदै आई र हात तान्दै भनी “के हो के? कता हराएको यतिन्जेल? आज तपाईँ नआएर भित्र माहोल नै बनेको छैन आउनू न? मैले उसको हात झट्कारेर भनेँ, “छाड् मलाई नचला । जा नाच अरूहरूसँग मलाई मुड छैन आज ।” उसले रुन्चे अनुहार लगाएर फर्किई । म एकछिन मनोजसँग काउन्टरमा बसेँ । कहिल्यै मौन र उदास नदेख्ने मलाई आज चुपचाप देखेर मनोजले भन्यो के भयो यार तँलाई? सन्चो छैन हो? खाना खाइस्? घर जान्छस् कि यतै बस्छस् आज? उसका कुनै पनि प्रश्नको उत्तर दिइरहन जाँगरसम्म पनि चलेन । “म निस्केँ है” भन्दै म भऱ्याङबाट तल झरेँ । मनोज पक्क पर्दै मतिर हेरिरहेको थियो ।
घर जाने मुड पनि भएन । “म आज अफिसतिरै बस्छु है मम नकुर्नू” भन्ने एउटा म्यासेज छाडिदिएर म कोठामा गएर बर्लङ्ग पल्टिएर उत्तानो परेँ।
निदाउने प्रयास गरेँ तर आँखाअगाडि त्यही अपरिचित महिलाको तस्बिर नाचिरह्यो । को होली? कोसँग गई होली? मैले किन बोलाउन सकिन होला? यस्तै तन्द्रामा कोल्टे फेर्दाफेर्दै कतिखेर निदाएछु पत्तो पाइन ।
अबेर गरेर अफिसतिर गएँ अफिस जाने क्रममा हिजोराति ऊ उभिएको ठाउँतिर हेरेँ सुनसान थियो ।
दिनभर नयाँ टुरिस्टहरूको ट्राभल र क्याम्पिङका लागि तयारी, टिकट र व्यवस्थापनले निकै व्यस्त भएँ । साँझको सात बजिसकेको थियो । काम सकिएपछि बल्ल भोक लागेको महसुस भयो । अफिस बन्द गर्न लगाएर म मनोजको क्याफेतिर लागेँ । साँझको चहलपहल भर्खर सुरु भएको थियो बिदेशी पर्यटकले माथिल्लो कौसी टन्न भरिएको थियो । म सधैँ बसिरहने ठाउँ खाली नभएकाले म काउन्टरअगाडिको खाली टेबलमा बसेँ किनकि मलाई चौबाटो हेर्नु थियो । हिजोको दृश्यको तलतल आँखाभरि थियो भने उसको यादको रमरम मनभरि थियो । मैले एउटा टुबोर्ग बियर, एउटा नेवारी खाजा सेट र एउटा शिखर चुरोट मगाएँ र खान थालेँ ।
सडकमा मान्छेको चहलपहल बढ्दो थियो । मलाई सधैँझैँ यो चहलपहलले रोमाञ्चक बनाउन सकिरहेको थिएन । एक किसिमको तनावपूर्ण छट्पटीले मलाई उद्वेलित बनाइरहेको थियो । अत्यन्त भोक लागेकाले म एकछिन खानेकुरामै भुलेँ । क्याफेबाट टाइटानिक फिल्मको सुमधुर प्रेमिल गीत बजिरहेको थियो । मनोजलाई भ्याइ नभ्याइ थियो । टुरिस्टहरू आ-आफ्नै तालमा थिए । पल्लो छेउको एउटा कर्नरमा एउटी युरोपेली जस्ती लाग्ने खैरा आँखा भएकी युवती एक्लै वाइन पिइरहेकी थिई । अरू दिन हुँदो हो त लाइन मार्न म त्यहाँ पुगिसक्या हुन्थेँ । केटीमात्रै एक्लै भएको टेबलमा गएर “एक्सक्युज मि मे आइ सिट हेयर” भन्दै नजिक हुने बहाना बनाउँदै गफिनु मेरो प्यासन थियो भने फ्लर्टिङ मेरो पार्टटाइम अनपेड जब थियो तर आज म मणि हराएको नागजस्तै थिएँ । मलाई एक्लै टोलाएको देखेर मनोज म बसेको टेबलमा आयो मुड्कीले मेरो पाखुरामा हिर्काउँदै बोल्यो । के हो बड्डी आज तैँले कोही सुन्दरी भेटिनस्? कोही आएन आज यो चराको मन चाहार्ने? मनोजले इत्रिँदै भन्यो तर ऊ कसरी बुझोस् मेरो मनोदशा? ऊ फेरि उत्तेजित हुँदै भन्यो “ओए हिरो जा माथि डान्स सुरु भइसकेको छ । आजको कार्यक्रम अरू दिन भन्दा विशेष छ । आज पाकिस्तानबाट आएकी एक विशेष नतर्की छे । अनि तिमीहरूको टेवलमा सर्भ गर्न एउटी नयाँ केटी पनि आएकी छे । आजैदेखि काममा लगाइदिएको हो उसलाई मैले । भर्खर मार्फाबाट झरेकी स्याउ हो यार । मेरो सोकेसको कोहिनुर हो ऊ कोहिनुर । ऊ भर्जिन हो भन्ने कुरामा कुनै डाउब्ट छैन यार तर मैले उसलाई डिलक्स क्लासमा मात्र सर्भ गर्न पठाउँने सोच्या छु । उसलाई छोएरै मात्रै पनि पैसा बर्साउनेहरूको ओइरो लाग्ने छ । मलाई ऊबाट धेरै आशा छ । केही समय मैले उसलाई जोगाएरै राख्नु छ । तँलाई थाहा छ उसको भर्जिनिटि मेरा लागि तासको एक्का हो, ठुलो दाउ मार्ने सोच छ यार । हेर भन्द्या छु है त्यो बिचरीमाथि चाहिँ नजर नलगाएस् है । यदि तैँले लैजाने हो भने तेरी मन पर्ने सोफिया आएकी छे आज, लान्नस्?”
ऊ एकोहोरो बोलिरह्यो म सुनिरहेँ । मलाई यस्तो मरेको बिरालाजस्तो देखेर मनोज उत्तेजित हुँदै बोल्यो, “हेल्लो ड्युड के भयो तँलाई? आर यु ओके?”
म अलि दिक्क मान्दै भन्छु, “केही भएको छैन यार आज मलाई मुड छैन । म भित्र जान्न यार म यहीँ बस्छु तँ जा । मलाई मन लाग्यो भने पछि आउँछु ।”
म आफैँलाई अनौठो लागिरहेथ्यो आफैँलाई देखेर । बुझ्नै सकिरहेको थिइनँ मजस्तो बिन्दास मान्छे कसरी जाबो एउटी केटीले यसरी ध्यान खिचिरहेकी थिई । म किन ऊ गएतिरै तानिइरहेको थिएँ मानौँ मेरो मनको डोरी उसैले तान्दै हिँडिरहेकी छे ।
सधैँ नयाँ केटी आएकी छ भन्ने थाहा हुँदा दसहात उम्लँदै हेर्न जाने मान्छे म आज एकाएक दाँत झरेको बाघजस्तै भएको छु । नसामा चिसो रगत बगेजस्तो भइरहेछ । फेरि ऊ हिजो उभिएको ठाउँमा हेर्छु फूल फाँडेको फूलबारीजस्तो उजाड देख्छु ।
फेरि अर्को चुरोट सल्काएँ । कहिल्यै चुरोटको अन्तिम सर्कोसम्म नतान्ने मान्छे म आज किन हो अन्तिम सर्को तान्दासम्म धित नमरेजस्तो भइरहेथ्यो । जति तान्यो झन् एक किसिमको तलतल एक किसिमको खालीपन र उदासीनताले गाँजिरह्यो ।
टेबलमा भएको सुकुटी र बोतलको बियर सक्काएँ । एक किसिमले हिजोकी त्यो युवती कतै टुप्लुक्क आइपुग्छे कि भन्ने झिनो आशको त्यान्द्रोमा मन झुन्डिरहेको थियो । खाजा सकिएपछि म कोचमा अडेस लागेर चुरोट तान्न थालेँ । आकाश खुल्ला थियो । असोज महिनाको रात काठमाडौँमा साँझ परेपछि हल्का चिसो सुरु हुन्छ । यो समय पर्यटकको पिक समय हो । मेरो ट्राभल एजेन्सीको काम राम्रै चलिरहेको थियो । मनोजले केटी पट्टाउन तँलाई कसैले भेट्दैन भनेर बारबार जिस्काइरहन्छ । यही सोखले मेरो कमाइको ठुलो हिस्सा खर्च गरिरहेको हुन्थेँ भने कति नयाँ ग्राहकका लागि लिङ्क पनि पाइरहेको हुन्थेँ । दिउँसो मैले मुस्ताङका लागि टिकट बनाइदिएकी केटीले मलाई बेलाबेला पुलुकपुलुक हेर्दै थिई सायद उसलाई मलाई कता देखेजस्तो लागेर हेर्दै थिई होला । मलाई भने आज कसैसँग कुराकानी गर्ने उत्साह थिएन ।
घडी हेरेँ आठ बजेछ । आँखा चिम्म गरेर कोचमा अडेस लागेर सङ्गीतको धुनमा हराइरहेँ । न खुसी न दुखी । कस्तो धुम्मिएको आकाशजस्तो थियो मन आज । घर चाँडै जाने मन पनि थिएन न त भित्र बारतिर गएर रमाउने मुड नै थियो आज । यसै टोलाइरहेँ । कसोकसो पल्लो सडकमा आँखा पुग्यो । उही केटी उभिएकी थिई । अर्को कलरको उस्तै सारीमा हल्का मेकअप । हिजोभन्दा अझ सुन्दर देखिएकी थिई ऊ आज । उसको अनुहारमा खुसी र चमक म कतै देखिन तर पनि उसको अनुहारको प्रकाशले मेरो मनमा यतिबेर मडारिरहेको बादल छ्याङ्ग खुलेको थियो । मेरो शरीरमा एक किसिमको तागत र ऊर्जा सञ्चार भएर आयो । खुसीले मन तरङ्गित भयो मानौँ ऊ मलाई नै पर्खेर बसिरहेकी छे तर एकैछिनमा हुरीजस्तै आएको सोचले मेरो मस्तिष्कमा मथिङ्गलमा मच्चाएर गयो । अब एउटा कालजस्तो तीव्र गतिमा घ्वार्र एउटा ट्याक्सी आउनेछ ऊ फटाफट ढोका खोलेर इन्द्रेणी हराएजस्तै हेर्दाहेर्दै विलीन भएर जानेछे, मेरा मनका रङ्गहरू जति सिनित्तै पुछेर । यो सोचले मलाई एकदम हतास बनायो । पर्खने सक्ने सामार्थ्य गुमाएँ र मनलाई थाम्नै सकिनँ । एकाएक उठेँ टेबलबाट र लागेँ त्यो युवती भएतिर ।
एकस्क्युज मि । यहाँ धेरैबेरदेखि उभिरहनुभएको छ मैले केही सहयोग गर्न सक्छु कि?
अनायास मेरो उपस्थिति र प्रश्नले ऊ अल्मलिई ।
म अझ नम्रतापूर्ण औपचारिक तर आत्मीयता दर्साउँदै भने “”यहाँ यत्तिकै उभिनुभन्दा आउनुस् न म ऊ त्यो छेउकै टेबलमा छु सँगै बसौँ । तपाईँको मान्छे आइपुगेपछि जानुहोला । उसले मोबाइले हेरी अनि एकचोटि मेरो अनुहारलाई पढ्ने कोसिस गर्दै भनी, “भयो हजुर ठिक छ यहीँ, केही छैन। आइ एम ओके। थ्याङक्यु फर योर ग्रेटनेस ।” मैले अझ विनम्रतापूर्वक भनेँ, “यहाँले अन्यथा नसोच्नुहोला । अझ पनि भन्छु यहाँ पर्खने समय यता बसेर पर्खनुस् न।” यति कर गरेपछि उसले नाइँ भन्न सकिन र मसँगै आई । मैले उसलाई कुर्ची तानेर बस्न भनेँ ऊ असजिलो मान्दै बसी र चारैतिर नजर दौडाई अनि हजारौँ प्रश्नहरूसहित मेरो अनुहारमा हेरी । अब उज्यालो प्रकाशमा उसको अनुहार प्रस्टसँग देखिरहेको थिएँ । कति निर्दोष अनुहार । कति गहिरा आँखाहरू । कति मृदुल बोली।
शून्यता भङ्ग गर्दै बोलेँ म । के लिनुहुन्छ? उसले अप्ठेरो मान्दै भनी “नो थ्याङ्स म केही लिन्न” । मेरो गिलासको आधा बियर देखेर होला उसले फेरि बोली, हजुरले लिनुस् प्लिज । उसले आफ्ना आँखा भित्रपट्टिको बारतिर दौडाउँदै थिई । मैले भने यही मौका पारी उसको सर्वाङ्गको नक्सा खिचेँ ।
उसको अनुहारको गाम्भीर्यपन उसको उमेरलाई नजच्ने खालको लाग्थ्यो । झट्ट हेर्दा ऊ एक्काइस बाइसभन्दा बढी थिइन भन्ने कुरा मलाई लख काट्न गाह्रो कुरो थिएन, स्त्री भूगोलको नामी पर्यटक जो थिएँ ।
उसलाई फेरि आग्रह गरेँ प्लिज केही लिनुस् न है! कुनै सफ्ट ड्रिङ्स। उसले हलुका र नर्भस आवाजमा बोली, “हजुरको मन राख्नका लागि मात्र एउटा स्लाइस मगाइदिनुस् न त ।” म खुसीले गद्गद भएँ । वेटरले उसका अगाडि स्लाइसको ग्लास राखेर गयो । मनोज भने काउन्टरबाट मलाई हेर्दै थम्प्स अप गर्दै थियो म भने उसले कतै देख्ली भन्ने डरले आँखा झिम्क्याएँ र उसको अनुहारमा हेरेँ ।
मौनता चिर्दै म बोलेँ, “यहाँ कता जान आउनुभएको कि कसैलाई कुर्नुभएको?”
भावुक हुँदै भनी, “कुर्न त आफ्नै जिन्दगीमा आफैँलाई कुरिरहेछु । लाग्छ यो सन्तुलन गुमाएर उडिरहेको आफ्नै जिन्दगीलाई कतै लगेर सेफ ल्यान्डिङ गरूँ । खासमा मैले मबाहेक अरू कसलाई कुरिरहेछु मलाई नै थाहा छैन र त सायद जसले खोज्यो उसले भेटाउँछ जसरी तपाईँले भेट्नुभयो ।” यति भन्दै गर्दा उसले थोरै मुस्कुराउने प्रयास गरी तर कस्तो व्यङ्ग्य मिसिएको मुस्कान, कस्तो अपुरो र मलिन ऊर्जाविहीन हाँसो? एकछिन सोचेँ यति सुन्दर मान्छे मनैदेखि मुस्कुराउँदी हो त कति सुन्दर देखिँदी हो सायद सुनगाभा फक्रेजस्तो तर हतपत्ति मुस्कुराउँदी रैनछे ऊ । मैले अप्ठेरो मान्दै फेरि भनेँ, “एउटा कुरा भन्छु अन्यथा नमान्नुस् है?”
उसले आफन्ती जस्ता नजरले पुलुक्क मेरो अनुहारमा हेर्दै भनी किन अन्यथा लिनु मैले भन्नुस् न।
मैले भनूँ कि नभनूँ दोधारमा अल्मलिँदै भनेँ ।
“हिजो पनि मैले तपाईँलाई देखेको थिएँ । धेरैबेर तपाईँलाई सडकपेटीमा एक्लै उभिरहेको देखेर मलाई नमज्जा लागिरहेको थियो । म माथिको बरन्डामा बसेर पिइरहेको थिएँ । एकैछिनमा एउटा ट्याक्सीमा तपाईँ जानुभयो । आज पनि तपाईँलाई देख्नु यो एउटा संयोग पनि होला ।” उसले चोरीको पोल खुल्दा लज्जित भएको बालकझैँ असजिलो मान्दै भनी, “ए हिजो देख्नुभाथ्यो ? तपाईँ सधैँभरि यही ठाउँमा बस्नुहुन्छ हो? ”
“हो, यो मेरो साथीको बार हो । यहीँ नजिकै मेरो ट्राभल एजेन्सी छ । अफिस सकिएपछि एकछिन फ्रेस हुन म यहाँ दैनिक रूपमा आउँछु । हिजो तपाईँलाई बोलाऊँ जस्तो लागिरहेथ्यो सायद एकछिनमा बोलाउँथे पनि होला तर तपाईँ एकछिनमै गइहाल्नुभयो ।” मैले वातावरण सहज बनाउने प्रयास गर्दै भनेँ ।
“राति ठमेलको सडक पेटीमा एक्ली युवती देख्दा के सोच्नुभयो? कतै? तपाईँले मलाई बोलाउनुको..”
“अहँ प्लिज योभन्दा अगाडि नबोल्नुस् ।” मैले उसलाई रोक्दै भनेँ ।” तपाईँलाई किन बोलाएँ यसको जबाफ मसँग छैन तर कुनै योजनाबद्ध हिसाबले तपाईँलाई पक्कै बोलाएको छैन यसमा ढुक्क हुनुस् ।” अब ऊ अलि सहज देखिई ।
“हजुरको शुभनाम?” मैले अरू कोही सोध्नुभन्दा पहिल्यै उसको नाम सोधेँ उसले दकस मान्दै भनी “कामिनी” । मेरो मुखबाट केही सोच्नुभन्दा पहिल्यै निस्क्यो “आहा! कति सुन्दर नाम । तपाईँको नाम जस्तो छ त्योभन्दा धेरै गुना बढी तपाईँ सुन्दर हुनुहुन्छ ।” म कविजस्तै पाराले बोल्दै गएँ । “तपाईँको सुन्दरताले मलाई हिजै कायल बनाएको थियो । आज तपाईँको बोलीले घायल-घायल भएको छु । कुनै मान्छेहरूलाई भगवान्ले पनि कति मन खोलेर दान दिएका हुन्छन् है !” मेरो प्रशंसा सुनेर ऊ यसरी मुस्कुराई मानौँ उसलाई मेरो प्रशंसा कुनै नौलो कुरो होइन । टेपरेकर्डरले रत्नपार्कमा दोहोऱ्याइरहने आवाजजस्तै ठानी कि सायद उसलाई मेरो कुराले पुलकित बनाएन बरु भित्र-भित्र ओठ लेप्राएकी पो छ कि जस्तो लाग्यो । म कहिल्यै केटीहरूलाई कसरी प्रभावित गर्न सकिन्छ भनेर सोच्नतिर लागिन तर केटीहरू किन हो आफैँ मप्रति आकर्षित हुन्थे । कता कता मलाई मेरो पुरुष अहंमा ठेस लागेजस्तो पनि भयो उसले “बाल” नदिँदा । हो ग्राहकहरूसँग म असाध्यै मिजासिलो र प्रभाव पार्ने हिसाबले बोल्थेँ । मेरो हस्पिटालिटी र कर्टेसीका बारेमा मेरो पर्यटन क्षेत्रमा निकै चर्चा हुन्छ तर केटीहरूलाई पट्टाउने कुरामा कहिल्यै वास्ता गरिन किनकि केटीहरू स्वयं मसँग ठोक्किन आउँथे कहिले ठमेलको जात्रामा कहिले ट्रेकिङको यात्रामा । कहिलेकाहीँ त फोनमा कुराकानी हुँदाहुँदै भरे सँगै कफी पिऊँ न भन्नेसमेत प्रस्ताव आउँथे मलाई कुनै आपत्ति लाग्थेन । मलाई कुनै सुन्दरीले एकछिन मन खिच्न सकी भने शारीरिक सम्बन्ध बनिसक्थ्यो तर आजको यो कुरो अलि फरक थियो । म भाले ढुकुरजस्तै उसका वरिपरि माकुर-माकुर गरिरहेथेँ तर उसलाई कुनै प्रभाव परिरहेको थिएन । एकचोटि मनमनै सोचेँ कतै यो पेसेवर .. त हैन? म घोत्लिरहेको देखेर उसले सोधी, “म अब निस्कन्छु ल?”
मैले तन्द्राबाट झस्कँदै भनेँ, “कहाँ जानुहुन्छ? अनि कोसँग?” ऊ अलिकति अत्तालिई सायद र अकमक्किँदै भनी, “कहीँ हैन । हजुरलाई बेकार डिस्टर्ब भयो । ”
मलाई केही केही कुरा मनमा सुझेजस्तो भयो । उसको गिलास खाली भइसकेको थियो । मैले घडी हेरेँ साढे आठ बजिसकेको थियो । मलाई किन किन लागिरहेथ्यो कि उसलाई सहज बनाएँ भने उसलाई मसँग समय व्यतित गर्न कुनै आपत्ति छैन । उसले मोबाइलमा खै कसको हो प्रोफाइल हेर्दै थिई । खै केही खोजेजस्तो देखिन्थी ।
“कामिनीजी! म वाइन मगाउँछु एक एक पेग लिऊँ ल?”
उसले थुप्रै प्रश्नहरूको झटारो फ्याँक्दै मेरो अनुहारमा हेरी । हुन्छ या हुन्न केही नभनी प्रश्न गरी । “तपाईँ कति बजेसम्म यहाँ बस्नुहुन्छ? ढिलो हुँदैन ?”
मैले जिस्किँदै भने, “तपाईँ जतिबजेसम्म बस्नुहुन्छ त्यतिन्जेल बस्छु ।” उसले लाजले अनुहार रातो बनाई । बैजनी रङ्गको चिमको प्रकाशमा ऊ अद्भुत सुन्दर देखिएकी थिई । उसका अति कोमल र सुन्दर औँलाहरू मोबाइलमा खेलिरहेका थिए । हल्का रातो डाई गरेको कपाल गोरो अनुहारमा निकै जचेको थियो । कपाल खुला छोडेकी उसले बेला-बेला भने केही सम्झेजस्तो गरेर सडकतिर हेरिरहन्थी ।
“मगाएँ है त”? मेरो आग्रहले ऊ झस्की । घडी हेरि “तपाईँलाई ढिलो हुँदैन भने ठिक छ, हुन्छ मगाउनुस् न ।” म युद्ध जितेको सिपाहीझैँ विजय भावमा उम्लँदै टेवलको बेल थिचेँ । मनोजले मलाई फेरि थम्पस् अप गऱ्यो ; म मुस्कुराएँ । वेटर बिजुलीको वेगमा आयो मेरा छेउ र सोध्यो । “हजुर सर के टक्र्याऊँ?”
मैले उसको अनुहारमा हेर्दै सोधेँ, “तपाईँ कुन लिनुहुन्छ? ”
“उसले भनी मलाई जे भए पनि हुन्छ त्यस्तो विशेष केही छैन ।” मैले भनेँ, “मलाई एक पेग ब्लाक लेवल विथ आइस । ”
वेटर गयो । म पुनः उसको अनुहारमा चर्न थालेँ । सुन्दरताले गौढ बनाए पनि उसको अनुहारको गाम्भीर्यताले भनिरहेथ्यो कि केही त छ जसले उसलाई विचलित बनाइरहेको थियो । मलाई एउटा कुरा प्रस्टै भयो त्यो के भने ऊ कसैलाई पर्खिरहेकी छैन न त उसलाई लिन कोही आउँदै छ । यो सोचले मलाई किन हो किन मनको एउटा छेउमा राहत दिलाइरहेको थियो भने मनको अर्को टुप्पामा आहत पुऱ्याइरहेको थियो कतै । तत्कालै दोस्रो सोचलाई पूर्णता दिन नचाहेर गिलास हातमा लिएर “चियर्स” भनेँ ऊ मधुर मुस्काई । म चुर्लुम्म डुबेँ प्रशान्तभन्दा गहिरो उसको मुस्कानमा । मनमा छ्याङ्ग घाम लागेजस्तै भयो ।
“ए उसो भए हिजो पनि मलाई देख्नुभयो । पहिले-पहिले पनि देख्नुभएको थियो कि?” उसको यो प्रश्नले चाहिँ म निदाएका बेला झ्वाम्म चिसो पानीमा चोपलेजस्तो भएँ । नाइँ हिजो पहिलोचोटि देखेको । के तपाईँ सधैँ यता आउनुहुन्छ र? मैले थुप्रै प्रश्नहरूको झुत्तो एउटा प्रश्नको ऱ्यापरमा बेरेर सोधिदिएँ । उसले वाइनको लामो चुस्की लिँदै, “मेरो अनुहारमा हेर्दै भनी होइन हिजो पहिलोचोटि आएकी थिएँ ।” मन त थियो सोध्ने के कामले आएकी थिई तर सकिनँ ।
फेरि अर्को घुट्को तानी । उसको गालामा लालीमा चढेको देखेँ । चिसो सिरेटो हामीनजिकै बाट हुत्तिँदै गयो । उसले जिउ खुम्च्याई । पातलो सारी र ब्लाउजमा उसलाई सायद मलाई भन्दा बढी जाडो लागेको हुन सक्छ । हुन त भित्र बारको तापक्रम डिस्प्ले बोर्डमा २० डिग्री देखाइरहेको थियो तर वास्तविक मौसम त्योभन्दा चिसो थियो । उसले ब्यागबाट पस्मिनाको च्यादर निकाली र ओडी । हल्का गुलाबी रङ्गको पस्मिनामा ऊ अझ सुन्दर देखिई । मलाई भने उसका च्यादरभित्र च्यापिएका केशराशि बिस्तारै बाहिर निकाकेर उसका गर्दन र कानतिर छरिदिऊँ जस्तो लागिरहेथ्यो । उसले एकैछिनमा गिलास रित्त्याई र मलाई प्रश्न तेर्स्याई । “तपाईँको ड्रिङ्क त त्यसै छ त कता हराउनुभयो? किन नपिउनुभएको?” मैले जिस्किँदै भनेँ, “म त हजुरलाई हेर्दाहेर्दै हराएछु । पिउन पनि बिर्सेछु । तपाईँको आँखाहरू यो मदिराभन्दा मादक छन् फेरि कक्टेल भयो भने सम्हाल्न गाह्रो होला नि म्याडमलाई, हाहा !” ऊ पनि हल्का लठ्ठिएको सुरमा बढो मादक मुस्कानले सर्वाङ्ग नुहाइदिई मेरो पुरुष मनलाई । अर्को एक पेग थपौँ है? मेरो प्रश्नले उसले मलाई पुलुक्क हेरी यसपालिको हेराइचाहिँ कस्तो आफ्नोपन लाग्ने हेराइ थियो म पनि तत्कालै आँखाभरि प्रेम घोलेर घोप्टाइदिएँ उसका आँखाका प्यालाभरि । “डन्ट वरि” म घरसम्म छोडिदिउँला मैले उसलाई सहज बनाउने प्रयास गर्दै बोलेँ ।
उसले प्रत्येक घुट्कामा जुन हिसाबले मुख बिगार्थी त्यसबाटै म अनुमान लगाउँथे कि ऊ पियक्कड मान्छे होइन तर ऊ कुन मनोभाव र सुरमा पिइरहेकी छे भन्ने कुराले मलाई कौतुहल बनाइरहेथ्यो । उसले वाइन पिउँदै थिई म भने बियरभन्दा उसलाई बढी पिउँदै थिएँ । अब भने उसलाई पूरै लागिसकेको थियो उसले लरबरिएको स्वरमा भनी, “तपाईँले मलाई नराम्री केटीको रूपमा हेर्नुभएको त छैन नि । प्लिज म त्यस्ती केटी हैन । म त एउटा त्यस्ती अभागी केटी हुँ जसले भाग्य बनाउने क्रममै भाग्य परीक्षणका हजारौँ परीक्षाहरूको सामना गरिेरहेछु ।” उसका आँखा टलपल टलपल आँसुले भरिसकेका थिए तर उसले अनुहार अर्कातिर फर्काएर ओठ टोकेर लामो सास तानी र गिलासमा भएको वाइन स्वाट्ट एकैचोटि पिइदिई र अत्यन्त नमीठो मुख लगाएर अति नै मायालु नजरले मलाई हेरी । उसको हेराइ यति कारुणिक थियो नि मलाई तत्कालै उठेर उसलाई छातीमा च्यापेर बेस्कन रुन दिऊँ र म उसका भिजेका परेला चुमिरहूँ जस्तो भइरहेथ्यो तर आँट आएन । मलाई जिन्दगीमा एउटा कुरा के ज्ञात भयो भने पुरुषमा वासना मात्र हाबी भयो भने निर्दयी र कठोर हुँदो रहेछ सायद त्यस्तै मनस्थितिमा बलात्कारजस्ता घटना घटाउँछन् तर जब उनीहरू प्रेममा पर्छन् तब नौनीजस्तै बन्दो रहेछ पुरुषहृदय ।
ऊ लल्याकलुलुक भई । मैले भनेँ, “कामिनीजी हिड्नुस् म तपाईँलाई घरसम्म छोडिदिन्छु ।” उसले लरबरिएको स्वरमा भनी, “होइन म… मलाई काठमाडौँ मोडेल अस्पतालमा छाडिदिनुस् ।” म आँत्तिए उसका कुराले । “कामिनीजी रातको दश बज्यो यतिखेर यो अवस्थामा तपाईँलाई एक्लै कहाँ अस्पतालमा छाडौँ? तपाईँ अप्ठेरो मान्नु हुन्न भने मेरो अफिसमा सुत्नुस् म घर जान्छु ।” उसले विस्वासिला नजरले मेरो अनुहारमा हेरी र भनी “हुन्छ” ।
। उसलाई काँधमा भर दिँदै गाडीबाट निकालेर कोठातिर लगेँ । कोठाको बत्ती बालेँ । उसलाई सोफामा बसालेर म बेड मिलाउँदै थिएँ ऊ त सोफामै ढलिछ । म के गरूँ नगरूँ निर्णय गर्न सकिनँ । उसलाई उचालेर बेडमा लगेर सुताइदिएँ । जुत्ता खोलेर भुईँमा राखिदिएँ । ऊ अर्धबेहोसीमा के के बोल्दै थिई तर मैले केही बुझ्न सकिनँ ।
साडीको पिनले कोप्ला भनेर पिन खोलदिएँ । साडीको सप्को उसको काँधबाट निस्केपछि देखिएका ऊच्च हिमशिखर देख्दा म एकैचोटि चुलीबाट खस्किएर झरेको ठुलो ग्लेसियरको ढिस्काजस्तै बजारिएको थिएँ आफ्नै धड्कनको बेसक्याम्पमा । उसका पिडौँलासम्म सरेको पेटीकोट र सारी तानेर मिलाइदिएँ। म आफूलाई कामज्वरो आएजस्तो लुगलुग कामिरहेको पाएँ । शरीर चिसो थियो । मलाई यस्तो लागिरहेथ्यो म भर्खर किशोरावस्थामा छु र पहिलोचोटि वस्त्रहीन युवती आँखाअगाडि देखिरहेछु । म डराइरहेँथे तर आफैँसँग या उसको उपस्थितिसँग त्योचाहिँ यकिन गर्न सकिनँ । मैले उसको जिउ पूरै ब्लाङकेटले छोपिदिएँ मुखै नदेखिने गरी । म सोफामा बसेर उसलाई आँखा नझिम्क्याई हेरिरहेँथे । हेर्दाहेर्दै ऊप्रति यति प्रेम उम्लिएर आउँथ्यो कि उसलाई निद्रामै अँगालेर चुमौँ र बितेका चौबीस घण्टामा मैले भोगेका मानसिक असन्तुलनका बारे र ऊप्रतिको मेरो एकोहोरो प्रेमबारे सबै बताइदिऊँ तर सकिनँ । मैले बेस्सरी मुठी पारेँ मानौँ मलाई मेरै हातप्रति भरोसा थिएन । म छक्क परिरहेँथे मलाई आज किन हतार थिएन उसका लुगा खोलेर जिउ खोतल्न?
किन कत्ति पनि हुटहुटी छैन ऊमाथि खनिने र रित्तिने? जसलाई छुन म किन हिच्किचाइरहेछु? चुम्बन मेरा लागि चुरोट साटेभन्दा बढ्ता कहिल्यै भएन तर आज किन उसलाई चुम्म म डराइरहेछु?
उसको पलङको तल गएर हेरिरहेथेँ, हेर्दाहेर्दै कतिखेर निदाएछु पत्तै भएन । जब ब्युझिएँ ऊ बिस्तारामा थिइन । म बाथरुमतिर, बरन्डातिर जताततै हेरेँ हतारिँदै तल झरेर हेरँ ऊ कतै देखिइन । माथि उक्लेर कोठामा हेरेँ सिरानीमा एउटा कागजको टुक्रा देखेँ जसमा लेखिएको थियो,
“के नामले सम्बोधन गरूँ नामसम्म सोध्न बिर्सेछु । हिजो तपाईँको भद्रता र मानवीयताले म कति अनुग्रहित छु शब्दमा पोख्न सक्दिन । यदि मेरो मनलाई प्रेममा पर्न अनुमति हुँदो हो त म सायद तपाईँको प्रेममा हिजै परिसकेको थिएँ तर मलाई थाहा छ यसरी अपरिचित मान्छेसँग रात बिताउने केटीलाई तपाईँले राम्रो नजरले पक्कै हेर्न सक्नु हुन्न । खैर! बताउन त पऱ्यो मेरो कथा । मेरो बाबाको मृगौला फेल भएर मोडल अस्पतालको बेडमा मृत्युसँग पौँठेजोरी खेलिरहनुभएको छ । उहाँको उपचार गर्ने क्रममा हामीले घर जग्गा सबै गुमाइसक्यौँ । बाबाको स्याहार गर्ने मान्छे नभएर मेरो पढाइ र जागिर दुवै छुट्यो । अब मसँग मेरो शरीरबाहेक केही रहेन त्यसैले
केही राम्रो पैसा कमाउन सकिन्छ र बाबुलाई बचाउन सकिन्छ कि भनेर अस्ति रातिदेखि यता आउन थालेकी थिएँ तर आफ्नो कुमारित्वलाई पैसासँग लिलामी गर्न नसकेर अस्ति यसै फर्केकी थिएँ । हिजो तपाईँसँग भेट भयो । पहिलोपटक प्रेमको अनुभूति भयो । तपाईँ उठ्नेबेलासम्म म गइसकेकी हुनेछु खोज्ने प्रयास नगर्नुहोला ।
उहीँ अभागी
कामिनी ।”
पढ्दापढ्दै आँखा भिजेको अनुभूति भयो । के गर्ने सोचमै अल्झिरहेको थिएँ झ्यालबाट पत्रिकावालाले पत्रिका फालेर गयो । पत्रिका यसो के पल्टाएर हेर्दै थिएँ, पहिलो पृष्ठको हेडलाइनको एउटा खबरले आँखा तान्यो । “उपचार गर्न नसकेर अस्पतालको पाँचौँ तलाबाट हाम फालेर बिरामीले आत्महत्या गरे “।
समाचारसँगैको फोटोमा रगताम्य शरीर काखमा लिएर रुँदै गरेको फोटामा कामिनी थिई । म एकाएक रगत जमेजस्तै स्थिर भएँ । फेरि के सोचेँ हतार हतार गाडीको चाबी लिएर मोडेल अस्पतालतिर हानिएँ । अस्पतालमा सोधखोज गर्दा पोस्टमार्टमका लागि टिचिङ लगेको कुरा गरे । म टिचिङ अस्पतालतिर लागेँ । पोस्टमार्टम वार्डमा गएर सोधपुछ गर्दा लासलाई आफन्तीले शववाहनमा राखेर बाहिर लगेको खबर पाएँ । एकछिन नसोची म आर्यघाटतिर लागेँ । आर्यघाटमा जलाउँदै गरेका र पर्खाइमा बसेका एक-एक लास र आफन्तीका भिडमा उनै आँखा खोज्दै हिँडे तर उसलाई कतै देखिनँ । बाग्मतीको किनारै किनार बौलाहाझैँ धेरैचोटि ओहोरदोहोर गरेँ । म पागलजस्तै बेसुरले खोजिरहेथेँ । मानौँ म आफैँलाई खोजिरहेछु । साँझ परिसकेको थियो । के सोच आयो दौडिएर गाडी पार्किङ पुगेँ गाडी स्टार्ट गरेँ र त्यही ठाउँमा पुगे जहाँ ऊ उभिएकी थिई हिजो ।
ऊ त्यहाँ थिइन । न मेरो मन नै । त्यही टेबलमा आएर थचक्क बसेँ र चुरोट मगाएर तान्दै कहिल्यै स्विकार्न नसकेको एउटा तथ्य स्विकार्दै मनमनै भने प्रेम भन्ने चिज साँच्चिकै हुँदो रहेछ । म आफैँलाई खिज्याएर हाँसे “तँ पनि प्रेममा परिस् है” ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।