साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भुत चित्रकला शृङ्खला ३९

गुस्ताभ कोर्बेको ‘द आर्टिस्ट स्टुडियो’ आफ्नो विज्ञापनको उम्दा र पहिलो नमुनाका रुपमा चित्रकला इतिहासमा दर्ज छ । वृहद् स्टुडियोमा कोर्बे आफैँले चित्र कोरिरहेका छन् र चित्र कोर्दाका विविध आयामहरु एउटै चित्रमा अटाइदिएका छन् । यो चित्रको सबैभन्दा रोचक पक्ष के छ भने कोर्बेले यो चित्र बनाइसकेपछि यी व्यक्तिहरु को हुन् ? चित्रमा तिनको महŒव के छ ? चित्रकलामा यी किन जरुरी थिए भनी एउटा लामो टिप्पणी पनि लेखेका थिए । दुःखको कुरा उनले लेखेको त्यो टिप्पणीको हस्ताक्षर यति खराब थियो कि त्यो बेला कसैले पनि बुझेनन् । उनले यो चित्रको यति धेरै विस्तृत बयान दिएका छन् कि पढ्ने मान्छे नै दुविधामा पर्ने गर्छ । आखिर उनले यसमा भन्न खोजेको कुरा चाहिँ के हो भनी पत्ता लगाउनै सक्तैन । यसका बाबजुद पनि यो चित्र १९ औँ शताब्दीको सर्वोत्कृष्ट र अद्भुत चित्रकलामध्ये एक चाहिँ अवश्य मानिन्छ ।

सन् १८५५ ताकाको पेरिसको दृश्य चित्रले उतार्न खोजेको छ । यो चित्र तयार भइसकेपछि गुस्ताभले प्रदर्शनीका लागि त्यस बेलाको फ्रान्सेली चित्रकला काउन्सिललाई जिम्मा लगाएको थियो । काउन्सिलले जब आफ्नो प्रचार गरेको पायो, उनको यो चित्रलाई प्रदर्शनीमा राख्न अस्वीकार गर्यो ।

आफ्नो चित्रमा उनलाई यति धेरै विश्वास थियो कि उनले ‘पेभिलियन अफ रियालिज्म’ नामक एकल प्रदर्शनी नै गरिदिए । दुःखको कुरा, काउन्सिलको प्रदर्शनीविरुद्ध उनले यो प्रदर्शनी गरे पनि उनको सो सफल हुन सकेन । व्यावसायिक रुपमा उनको प्रदर्शन असफल भयो । उनले रत्ति पैसा कमाउन सकेनन् । पैसा त कमाउन सकेनन् नै समीक्षकहरुबाट पनि प्रशंसा बटुल्न सकेनन् । सम्भवतः समकालीन चित्र वा चित्रकारहरुको समस्या नै यही हुनसक्छ कि उनीहरु समकालीन ईष्र्याको शिकार बन्न पुग्छन् । उनको पनि त्यस्तै अवस्था हुनसक्छ । अर्को एउटा कारण के पनि हुनसक्छ भने त्यो बेलाको काउन्सिलसँग झुत्ती खेलेर त्यसले अस्वीकार गरे पनि आफू जान्ने भएर त्यही प्रदर्शनीसँग जुधाएर आफ्नो एकल प्रदर्शनी गरेका थिए । यस कारण पनि काउन्सिलसँग दुस्मनी मोल्ने गुस्ताभलाई चारैतिरबाट असहयोग भएको पनि हुनसक्छ ।
गुस्ताभलाई रियलिस्ट कलाकारका रुपमा चिनिन्छ ।

को हुन् गुस्ताभ कोर्बे ?

गुस्ताभ कोर्बे

सन् १८१९ मा पूर्वी फ्रान्सको ओर्नासमा जन्मिएका गुस्ताभ फ्रान्सेली कलामा दैनन्दिनीको भव्यता र गम्भीरता भित्र्याउने कलाकारका रुपमा परिचित छन् । उनले आफ्ना चित्रकलालाई पारम्परिक प्रदर्शनी थलोभन्दा बाहिर गएर पनि प्रदर्शन गर्ने गर्थे ।

किसान परिवारबाट आएका उनी सामान्य जनजीवनका चित्रकला कोर्न रुचि राख्थे । खासगरी पेरिसमा बसे पनि उनको मन गाउँमै हुन्थ्यो र ग्रामीण विषयवस्तु उनको दिमागमा घुमिरहन्थ्यो ।
सन् १८५० मा आएर मात्र उनको चर्चा चल्न थाल्यो । खासगरी उनले त्यो बेला प्रदर्शनीमा राखेको ओर्नासमा मृत्युसंस्कार (बरियल एट ओर्नास) शीर्षकको चित्रले उनको उचाइ ह्वात्तै बढाइदियो । यही चित्रले उनलाई रियलिस्ट चित्रकारको परिचय स्थापित गरिदियो । र, उनी रियलिस्टका अगुवा बन्न पुगे । उनले इतिहास, धर्म र मिथकका चित्र बनाए पनि त्यसमा रियलिस्ट अभियानलाई अघि बढाइरहे ।

उनलाई यस्तो गर्न उनको राजनीतिक सचेतनाले पनि भूमिका खेलेको थियो । सन् १८७०–७१ मा प्रसा र फ्रान्सबीच भएको युद्धमा प्रसाले फ्रान्सलाई नराम्रोसँग धुलो चटाइदिएको थियो । यही बेला पेरिस कम्युनको सरकार गठन भयो । करिब दुई महिना कम्युनवाला विद्रोहीहरुको शासन चले पनि त्यो तत्काल विघटन भइहाल्यो । यो कम्युन शासनको उनी कला परिषदको मुखिया थिए । पेरिस कम्युन त्यसपछि दबाइयो भने उनलाई ६ महिना जेल हालियो । उनलाई जेलमै सडाइला भन्ने डरले त्यसपछि उनी मौका मिल्नेबित्तिकै फ्रान्स छाडेर स्विट्जरल्यान्ड भागे । सन् १८७३ देखि देहान्त नहुञ्जेल त्यहीँ उनले निर्वासित जीवन बिताए ।

यही निर्वासित जीवनमा उनले जीवनका सर्वोत्कृष्ट रचनाहरु दिएका थिए ।

यो चित्रमा के हेर्ने ?

१. चार्ल्स बोडलर
पेन्टिङको दाहिने भागको सबैभन्दा कुनामा एउटा मानिस केही पढिरहेको छ । यो उनको मन मिल्ने साथी चाल्र्स बोडलर थिए । उनका समकालीक कवि तथा कला समीक्षक चाल्र्सलाई उनले १८४८ मा भेटेका थिए ।

२. गुस्ताभ कोर्बे
चित्रको केन्द्रमा स्वयं गुस्ताभ कोर्बे देखिन्छन् । भव्य पेन्टिङ मुग्ध भई हेर्दै केही थपिरहेका छन्, आधाअधुरो पेन्टिङमा उनी मस्त छन् । छेउमा एउटा बालकको निर्दोष तरिकाले हेरिरहेको छ भने उस्तै मुग्धताले एउटी नग्न युवतीले पनि पेन्टिङमा हेरिरहेकी छ । मस्तकी नग्न युवती छेउमै भए पनि चित्रकारलाई कुनै मतलब छैन ।

३. कलाप्रेमीहरु
चार्ल्स बोडलरको छेउमा रहेकी एक महिलाले घाँटी तानेर चित्रतर्फ हेरिरहेकी छन् । छेउमा उनका श्रीमान् पनि छन् तर ओझेल परेका छन् । यी गुस्ताभका कुनै मित्रहरु भए पनि को हुन् भन्ने खुलासा अझैसम्म हुन सकेको छैन ।

४. च्याम्पफ्लेरी
चित्रमा श्वेत वस्त्र लगाएकी र रोमान्समा मस्त भएकी युवतीछेउमा गम्भीर नजरले चित्रतर्फ हेरिरहेका व्यक्ति जुल्स हसन हुन् । उनी त्यो बेला च्याम्पफ्लेरी छद्मनामले कला समीक्षा गर्ने गर्थे । त्यो बेला फ्रान्समा चलेको रियलिज्म आन्दोलनका उनी मुखय साहित्यिक समीक्षक पनि थिए । सन् १८५४ ताका गुस्ताभले जुल्सलाई लेखेको पत्रमा यो चित्र अझै पनि पूरा नभएको टिप्पणी गरेका थिए ।

५. अल्छ्याहाहरुको ग्याङ
चित्रको चाहिनेतिर कालो टोप र कालै वस्त्र लगाएको एउटा सम्पन्नजस्तो देखिने व्यक्ति छ । ऊ र उनको छेउछाउमा रहेकाहरुलाई चित्रकार गुस्ताभले अल्छ्याहाहरुको ग्याङ भनी नामकरण गरेका छन् । जसलाई चित्रकारिता, यसबाट भइरहेको आन्दोलन केही पनि मतलब छैन । मात्र सुत्नु र जे कुरालाई पनि नजरअन्दाज गर्नु तिनको नियति रहेको प्रस्ट्याउन खोजेका छन् ।

केहीले भने यो तस्बिर त्यो बेलाका चर्चित पत्रकार एमिल डि गिरार्डिनको रहेको दाबी गर्छन् । उनी त्यो बेला नेपोलियन तृतीयको पक्षधर मात्र थिएनन्, गुस्ताभका ठूला विरोधी पनि थिए ।

६. नेपोलियन तृतीय
छेउमा दुई वटा शिकारी कुकुरहरु राखेर कुकुरको रेखदेख गरिरहेका व्यक्ति भने तत्कालीन फ्रान्सेली सम्राट नेपोलियन तृतीय हुन् । नेपोलियन बोनापार्टका भतीज तथा फ्रान्सका प्रथम राष्ट्रपति तथा पछि फ्रान्सका सम्राट पनि हुन् । राष्ट्रपतिमा दोस्रो पटक चुनाव नजितेपछि उनले ‘कू’ मात्र गरेनन्, आफैँलाई सम्राटसमेत घोषणा गरेपछि जनतामाझ असन्तोष फैलिएको थियो । उनको एउटा कुकुर चित्रकारतिर गहिरिएर हेरिरहेको देख्न सकिन्छ ।

आउनुस्, यो चित्रलाई पुनः गहिरिएर अवलोकन गरौँः

Courbet LAtelier du peintre – Gustave Courbet – Wikipedia

प्रतिक्रिया
Loading...