संसारको प्रख्यात फोटो प्रतियोगितामध्ये एक टिटिएल फोटोग्राफर अफ दि इयरको विजेता घोषणा भएको छ ।

गएको बिहीबार घोषित यस प्रतियोगितामा उत्कृष्ट भएका तस्बिर तथा अन्तिम प्रतिस्पर्धामा रहेका तस्बिरहरू यहाँहरू समक्ष पेश गरेका छौँ ।

प्रतियोगितामा ओभरअल विनरले १५ सय पाउन्ड पुरस्कार हात पार्ने गर्छन् । त्यस्तै किशोर किशोरीले खिचेका तस्बिरहरूमध्ये पुरस्कृत तस्बिरलाई २ सय ५० प्रदान गर्ने गरिन्छ ।

यस पटकको ओभरअल विनर क्यानडेली फोटोग्राफर थोमस विजयन भएका छन् । उनले खिचेको ओराङओटाङको तस्बिरमा जुन अप्टिकल इल्युजन (दृष्टिभ्रम) सिर्जना भएको छ, त्यसैका आधारमा यो तस्बिर सर्वोत्कृष्ट घोषित गरिएको हो । फोटोग्राफर विजयनले यस तस्बिरको नाम, द वर्ल्ड इ गोइङ अपसाइड डाउन राखेका थिए ।

संसारभरबाट प्राप्त आठ हजार बढी तस्बिरलाई उछिनेर यो सर्वोत्कृष्ट भएको हो ।

विजयनले यो तस्बिर मलेसियाको बर्नियोस्थित एक जङ्गलमा खिचेका थिए । ओराङओटान चढेको यो रूख करिब एक हजार वर्ष पुरानो मानिन्छ । अचेल यस्ता रूखहरू पाम आयल उत्पादन गर्ने भन्दै काटिँदैछन् ।

उनको यो तस्बिर जनावरका व्यवहार शीर्षकको अर्को उपविधाको समेत विजेता बनेको छ ।

टिटिएलले विभिन्न नौ विधामा पुरस्कार प्रदान गर्ने गर्छ ।

आउनुस्, अन्य विधागत विजेता तस्बिरहरू यस पटक अवलोकन गरौँः

जनावरका व्यवहार शीर्षकअन्तर्गत पुरस्कृत तस्बिर माथि हेरिहाल्नुभयो, ओराङओटानको । जो रूखमाथि चढेको देखिन्छ । त्यस्तै सोही शीर्षकअन्तर्गत दोस्रो स्थान प्राप्त तस्बिर माछा चपाउन लागेको गोही (घडियाल) हो । यो तस्बिर जोहान वानड्रगले खिचेका हुन् ।

क्यामेरा ट्राप्स विनरमा यो जङ्गली मुसो परेको छ । यसलाई जोन फर्मस्टोनले खिचेका हुन् । उनले क्यामेराको फ्ल्यास नचलाई यति सुन्दर सिल्हट निकाल्न सफल भएका छन् ।

 

ल्यान्डस्केप्स शीर्षकअन्तर्गत ट्रि अफ लाइफ शीर्षकको यो तस्बिर पुरस्कृत बन्न पुग्यो । यो तस्बिरलाई जे रूडीले खिचेका हुन् । नदीको सबैभन्दा पुछारको भाग सुकेको छ र त्यसको अन्तिम भागमा पानीले तड्पिरहेको एउटा बुटो छ । यति विम्वात्मक तस्बिर बिरलै खिचिन्छ । अफ्रिकाको नामिबियामा यो तस्बिर खिचिएको हो ।

स्मल वर्ल्ड शीर्षकको विजेता तस्बिर । जेम्स गिफोर्डले खिचेको यो तस्बिरको शीर्षक छ, डान्स अफ द टरमाइट्स । यो खेलिरहेका धमिराहरूको ब्लर तस्बिर हो । हुन त यो धमिराहरूको तस्बिर भए पनि तस्बिर हेर्दा कतैबाट पनि त्यो लाग्दैन । कम सटरस्पिडमा खिचिएकाले यस्तो देखिएको हो ।

द नाइट स्काइ शीर्षकको विधामा विजेता तस्बिर हो यो । द आइ शीर्षकको यो तस्बिर इभान पेड्रेटीले खिचेका हुन् । उनले नर्वेको उत्ताक्लेइभ समुद्री किनारमा खिचेका हुन् । यहाँ देखिएको ढुङ्गा आँखाजस्तै देखिएको छ ।

पानीभित्रको तस्बिर पनि कम रोचक कहाँ हुन्छ र ? झन् त्यहाँ जमिनमा नदेखिने अनेकन् अद्भुत तस्बिरहरू देख्न पाइन्छ । ग्रान्ट थोमसले खिचेको यो यो मान्टा स्पेस सीप शीर्षकको यो तस्बिर हेर्नुस् त ? यो एक प्रजातिको माछा हो तर कुनै अन्तरिक्षयानभन्दा कम देखिन्छ त ? थोमसले यो तस्बिर माल्दिभ्सको समुद्रभित्र रात्रिकालमा खिचेका हुन् ।

शहरी जीवनमा चराहरूको दैनिकी हिजोआज निकै कारूणिक बन्दै गइरहेको छ । सोही अवस्था बुझाउन यो प्रतियोगितामा शहरी वाइल्डलाइफको विधा पनि छ । जसमा एउटा दोकान बास बसेका एक जोडी चरा यहाँ देखाउन खोजिएको छ । कालोल मुखर्जीले खिचेको यो तस्बिरमा दुइ वटा भँगेरा छन् । हिजोआज भँगेराका प्रजातिहरू हराउँँदै जान थालेका छन् । यी साना, फुत्रुक फुत्रुक उफ्रने चराहरूलाइ भारतका कतिपय स्थानमा लक्ष्मीको अवतार मात्र होइन, भाग्य चम्काउने चरोका रूपमा समेत लिइन्छ ।

वन्यजन्तु पोट्रेट विधामा सुतिरहेको पोलर बियर यहाँ देख्न सकिन्छ । डेनिस स्टग्सडिलले यो तस्बिर नर्वेको स्भालबार्डमा लिइएको हो ।

१६ वर्षमुनिका फोटोग्राफीमा रूचि हुनेहरूका लागि बेग्लै राखिएको विधामा पुरस्कृत यो तस्बिर थोमस इस्टरब्रुकले खिचेका हुन् ।

तल हेर्नुहोस्, अन्य उपविजेता तस्बिरहरूः