शब्दलाई रमाउन साथ चाहिन्छ
मौनता आफैँमा एक्लै रमाउँछ।
शब्द रुन्छ, हाँस्छ ,चिच्याउँछ
मौनताले त कोलाहललाई पनि आफैँभित्र अटाइदिन्छ।
शब्द तर्कवितर्क गरेर सबैलाई जितूँ भन्छ
आफूलाई जित्न त मौनता नै चाहिन्छ।
शब्द फूल,मौनता सुगन्ध,शब्दघटना, मौनता साक्षी
शब्द मन,मौनता आत्मा,शब्दसृष्टि,मौनता ईश्वर।
शब्दले गाउँछ रूप र गुणको भजन
मौनता चुपचाप हेरिरहन्छ।
शब्दहरू त सधैँका लहर, तरङ्ग, सुनामी
तर मौनता समुद्र त सबैलाई काख थाप्ने आमा।

प्रतिभा भण्डारी