परिच्छेद २३
स्तम्भहरू र गुम्बजद्वारा विभाजित भित्ता र इरानी कार्पेटहरूले सजिएको यो विशाल कोठाको पियेरेलाई राम्रो जानकारी थियो । यस कोठाका स्तम्भहरूको पछाडिपट्टिको भाग, जहाँ एकातिर उच्चस्तरको रेशमको पर्दा लगाएको महोगानी (महँगो) काठको पलङ थियो तथा अर्कोतिर देवीदेवताहरूका प्रतिमा राखेको एउटा ठूलो बाकस थियो जो रातो प्रकाशमा यसरी जगमगाइरहेथ्यो, जसरी सन्ध्याकालको प्रार्थना गर्ने बेला रसियाली गिर्जाधर जगमैगाउँछ । चम्किरहेका देवप्रतिमाहरूको तल एउटा लामो र पुरानो कुर्सी ठडिएको थियो र स्पष्टतः भर्खर मात्र फेरिएको वरफजस्तो सेतो र नरम बालिष्ठ राखिएको त्यस कुर्सीमा पियेरेले – हरियो रङको सिरकले कम्मरसम्म ढाकिएका चीरपरिचित र भव्य आकृतिका धनी आफ्नो बुबा काउन्ट बेजुकोभलाई देख्यो । काउन्टको चौडा निधारमाथि सेता कपालका उही पहिलेकै जस्ता जुल्फी थिएँ, जसले कुनै एउटा बाघको जग्गरको सम्झना गराउँथ्यो र सुन्दर र गुलाबी अनुहारमा विशिष्ट प्रकारका ठूल्ठूला चाउरीहरू देखिन्थे । उनी मूर्तिहरूको ठीक तलतिरपट्टि पल्टिएका थिए । उनका ठूल्ठूला र मोटामोटा दुवै हात सिरकबाहिर छातीमा थिए । उनको दाहिने हातको हत्केलो तलतिर झुन्डिएको थियो तथा चोर औँला र बुढीऔँलाका बीचमा एउटा मोमबत्ती थमाइएको थियो, जसलाई कुर्सी पछाडिपट्टिबाट निहुरेर एक जना बुढो नोकरले समाइरहेको थियो । कुर्सीसँगै चम्किला चम्किला लुगा लगाएर, लामालामा कपाल लर्काउँदै बलिरहेका मोमबत्ती हातमा लिएका पादरीहरू उभिएका थिए र विस्तारै विस्तारै विधिपूर्वक धार्मिक अनुष्ठान सम्पन्न गराउँदै थिए । उनीहरूभन्दा अलिकति पछाडि रुमालले आँसु पुछ्दै दुई बहिनी राजकुमारीहरू उभिएका थिए । उनीहरूभन्दा थोरै अगाडि जेठी राजकुमारी कतिश उभिएकी थिई । उसको अनुहारमा क्रोध र दृढताको भाव थियो । उसले देवीदेवताका मूर्तिहरूलाई एक टक लाएर यसरी हेर्दै थिई मानौँ उसले यो भनिरहेकी थिई कि यदि उसले यताउति हेरी भने अवश्य पनि एउटा उपद्रो मच्चाउने छ । अनुहारमा विनम्रता करुणा तथा सबैसँग क्षमाको भाव लिएर अन्ना मिखायलोभ्ना त्यो अपरिचित महिलाको नजिक ढोकानिर उभिएकी थिई । राजकुमार भासिली ढोकाको अगाडि मखमली कुर्सीको पछाडि आरामकुर्सी भएको ठाउँमा उभिएको थियो । उसको दायाँ हातमा मोमबत्ती थियो जसलाई उसले कुर्सीमा अड्याएको थियो, दाहिने हातले, उसले क्रसको निसान बनाएको थियो र औँलाहरूले जतिपटक शिरमाथि छुन्थ्यो उति पटक आँखाहरू पनि माथिमाथि उठाउँध्यो । उसको अनुहारमा मानिसप्रति सहिष्णुता र भगवानप्रति भक्तिभावना स्पष्ट रूपमा देखिन्थ्यो । “यदि तिमी यी भावनाहरू आत्मसाथ गर्न सक्तैनौ भने तिमीलाई नै हानि हुनेछ,” उसले यस्तो अभिव्यक्ति प्रकट गरिरहेजस्तो लाग्थ्यो ।
राजकुमार भासिलीको पछाडि सैनिक प्रशासकको पार्श्ववर्ती, डाक्टर र नोकरहरू उभिएका थिए । गिर्जाघरमा जस्तै पुरुष र महिलाहरू यहाँ पनि छुट्टाछुटै लाममा बाँडिएका थिए । सबै मौन थिए र क्रसको निसाना बनाइरहेका थिए । केवल धार्मिक पाठ, संयत, मन्द स्वरमा भजन-कीर्तत र नीरव क्षणमा खुट्टाहरू घिसारेको र लामालामा सास फेरि रहेको आवाज मात्र सुनिन्थ् ।
आफूले जे गरिरहेछ राम्री बुझिरहिछु भन्ने भाव अनुहारमा लिएकी अन्ना मिखालोभ्ना सबै कोठाहरू नाघेर; पियेरेसँग गई र उसको हातमा मोमबत्ती दिई । पियेरेले मोमबत्ती बाल्यो र आफ्नोवरिपरिका मान्छेहरूलार्इ गम्भिर भएर हेर्दै मोमबत्ती । लिएकै हातले क्रसको निसाना बनाउन लाग्यो ।
गुलाबी गाला हँसिली, रसिली र ओंठमा कोठी भएकी सबभन्दा कान्छी राजकुमारी,सोफीले पियेरेलाई हेरिरहेकी थिई । ऊ खिसिक्क हाँसी, रुमालले मुख छोपी र त्यस्तै अवस्थामा केही छिन बसी अनि पियेरेतिर हेर्दै फेरि हाँस्न थाली । सोफीलाई पियेरेलाई हेरेपछि हाँसो थाम्न नसक्ने जस्तो लाग्यो । ऊ उसलाई नहेरिरहन पनि सकिन । अत: यस प्रलोभनबाट बच्नका लागि ऊ विस्तारै चिप्लेर एउटा स्तम्भपछाडि गई । धार्मिक अनुष्ठान चल्दाचल्दै पादरीहरूको आवाज बन्द भयो । उनीहरूले कानेखुसी गर्दै एकआपसमा केही भने । काउन्टको हातको मोमबत्ती समाइरहेको बुढो नोकर उठ्यो र महिलाहरूलाई हेर्दै केही भन्यो । अन्ना मिखायलोभ्ना अगाडि आई, बिरामीमाथि झुक्दै आफूपछाडि उभिएको डाक्टर लोरेनलाई हातका इशाराले बोलाई । फ्रान्सेली डाक्टरको हातमा मोमबत्ती थिएन । ऊ सादरपूर्वक एउटा स्तम्भमा आड लागेर उभिरहेको थियो । ऊ राष्ट्रियताका दृष्टिले विदेशी भएको र धर्मकर्मका हिसाबले धेरै भिन्नताहरू भए तापनि यहाँ भइरहेको धार्मिक रीतिरिवाजको महत्त्व राम्ररी बुझ्थ्यो र त्यसको अनुमोदन पनि गर्थ्यो । ऊ एक शब्द नबोलेर मस्त तन्नेरी युवकझैँ बिरामीसँग गयो, हरियो सिरकबाहिर खुला रूपमा रहेको बिरामीको हात आफ्ना पातला र सेता औँलाहरूले समातेर उचाल्यो र एकातर्फ फर्काउँदै नाडी छाम्यो र एकछिन गम खायो । बिरामीलाई केही तरल चीज पिउन दिइयो । उसका वरिपरि केही छिन एकप्रकारको हलचल मच्चियो । त्यसपछि सबै आफ्नो आफ्नो ठाउँमा आएर बसे र अनुष्ठान विधिबत रूपमा फेरि सुरू भयो यो क्षणिक मध्यान्तरमा पियेरेले थाहा पायो राजकुमार भासिलीले आफुले भाइलाइ लिइरहेको कुर्सी छोड्यो र यस्तो आभास दियो कि उसलाइ थाहा छ उसले के गरिरहेछ र यदि कसैले उसका भावनाहरू बुझ्दैन भने नबुझ्नेलाइ नै हानि हुनेछ । राजकुमार भासिली बिरामीसँग गएन तर ऊ बिरामीको नजिकैबाट छिरेर जेठी राजकुमारीको नजिक गयो र त्यसपछि दुबै जना काउन्टको शयनकक्षको पछाडिपट्टिको भागमा भएको रेशमको पर्दावाला अग्लो पलङतिर लागे । त्यहाँबाट उनीहरू दुवै पछाडिको ढोकाबाट निस्केर कतै गायव भए तर अनुष्ठान समाप्त हुनुभन्दा पहिले नै पालैपालो आफ्नो आफ्नो ठाउँमा आएर उभिए । पियेरेले यी सब कुराहरूप्रति अरू कुराहरूमा जस्तै कुनै ध्यान दिएन किनकि उसले आफ्नो दिमागमा यो विश्वास जमाएको थियो कि आजको रात उसको आँखाको अगाडि जे भइरहेको थियो, त्यो हुन एकदम जरुरी थियो ।
भजन कीर्तन सकियो । पादरीहरूले मर्न लागेका मान्छेले धार्मिक संस्कोर ग्रहण गरेवापत उसलाई आदरपूर्वक बधाई दिएको स्वर सुनियो, बिरामी पहिले जस्तै अचेत र निर्जीव अवस्थामा लडिरहेका थिए । मान्छेहरू उनको वरिपरि चलफिर गर्न लागे । मान्छेहरू हिँड्दा उत्पन्न पदचाप र कानेखुसीहरू सुनिन लाग्यो जसमा मिखायलोभ्नाको आवाज अरूको भन्दा फरक र स्पष्ट रूपमा सुनिन्थ्यो ।
पियेरेले मिखायलोभ्नाका कुरा सुन्यो:
“उहालाई बिस्तारामा नै लैजानु पर्छ । यहाँ धेरै गाह्रो भएको होला झैँ लाग्छ ।”
बिरामी,विभिन्न मानिसहरू , डाक्टर, राजकुमारी र नोकरचाकरहरूद्वारा यसरी घेरिएका थिए कि पियेरेले उसको सेतो जग्गरवाला शिर र रातो लाभायुक्त अनुहार देख्न सकेन, जो अनुष्ठानका बेला उसले पूरै र राम्ररी देखिरहेको थियो । तर उसले अरू अनुहारहरू भने स्पष्टसँग देखिरहेको थियो । थोत्रो कुर्सीलाई वरिपरिबाट घेरेर बसेका मान्छेहरूका चङ्ख गतिविधि देखेर पियेरेको मनले मरणासन्त बिरामीलाई यहाँबाट उठाएर पलङमा सुताउन लान लागे भन्ने अडकल काट्यो ।
“मेरो हात पकड नत्र खसालौला,” पियेरेले एक जना नोकर आत्तिदै बोलेको आवाज सुन्यो । “तलबाट यसरी पकड, हो, यहाँबाट,” थुप्रै मान्छेहरू बोलेको मिश्रित आवाज आयो। बिरामी बोक्नेहरूले सास फुलेर गरेको स्वाँस्वाँ र उनीहरू हडबडाउँदै झन् तेज गतिमा हिँडेको पदचाप सुन्दा यस्तो लाग्थ्यो मानौँ उनीहरूले बोकिरहेको भारी ज्यादै गरुङ्गो रहेको छ ।
मरणासन्न काउन्टलाई बोकेर लग्ने मान्छेहरू, जसमा अन्ना मिखायलोभ्ना पनि सामेल थिई, जब पियेरेको नजिक पुगे, उसले उनीहरूको पीठ र शिर पछाडिबाट काउन्टको मोटो र नाङ्गो छाती तथा ठूलाठूला काँध झलक्क देख्यो, जो दुईतिरबाट उसलाई उचालिरहेका मान्छेहरूका कारण माथितिर उठेको थियो । उसले बाघको जग्गरजस्ता लामा, घुम्रिएका र सेता केश पनि देख्यो । असाधारण रूपमा चौडा निधार र गालाका हाड, सुन्दर र कामुक: मुख, कठोर र भव्य दृष्टियुक्त अनुहार, मृत्यु जतिसुकै नजिक आएको भए तापनि रत्तिभर विकृत भएको थिएन । काउन्टको त्यो अनुहार र त्यस्तै त्यो शिर तीन महिना पहिले उसलाई पिटर्सबर्ग पठाउँदा जस्तो थियो अहिले पनि उस्तै थियो ।
तर काउन्टलाई पलङमा सुताउन लग्ने मान्छेहरूको पाइलाको चाल गतिबद्ध नभएको हुँदा त्यो मुख र त्यो शिर असहाय भएर घरी यता घरी उता ढंल्किरहेथ्यो र ती निस्पृह आँखा चेतना र स्पन्दरहित थिए ।
मरणासन्न बोकेर लग्ने मानिसहरू उसलाई अग्लो पलङमा पुर्याएर केही समय खलबल गरेपछि लाखापाखा लागे । अन्ना मिखायलोभ्नाले पियेरेको हात समाती र “आऊ” भनी । पियेरे ऊसँग त्यो पलङनिर गयो, जहाँ भर्खरै सम्पन्न गरिएको अनुष्ठानलाई मध्यनजर गरेर काउन्टलाई शाही सम्मानका साथ सुताइएको थियो । उनलाई शिरमा एउटा अग्लो तकियाको टेवा दिएर पल्टाइएको थियो । उनका हात सममिताकार स्थितिमा रेसमको हरियो सिरकमाथि अवस्थित थिए । उनका हत्केलाहरू तलतिर थिए । पियेरे, जब काउन्टको नजिक पुग्यो काउन्टले उसलाई सोझै ताकेर हेरिरहेका थिए तर यस्तो दृष्टिले हेरेका थिए कि कुनै पनि नश्वर मान्छेले त्यसको अर्थ बुझ्न सम्भव थिएन । कि त्यस हेराइमा कुनै अर्थ लुकेको थिएन कि त्यस हेराइमा धेरै ठूलो रहस्य लुकेको थियो तर मानिससँग जबसम्म आँखा हुन्छन् ती आँखाले कतै र कसैलाई हेर्नै पर्ने हुन्छ । यस्तो अवस्थामा के गर्ने के नगर्ने- पियेरे अकमकियो । अतः उसले प्रश्नसूचक दृष्टिले आफ्नो मार्ग दर्शकतर्फ हेर्यो । अन्ना मिखायलोभ्नाले बिरामीका हाततर्फ- दृष्टि दिँदै आफ्ना ओंठ चलाएर उत्तिनैखेरै आँखाका इशाराले उनका हातले चुम्बन लिने सङ्केत गरी । पियेरेले पनि सङ्केतबमोजिम काउन्टले ओढेको सिरक पनि नछोइयोस् भन्ने: हिसाबले आफ्नो गर्दन तान्दै उसको निर्देशन पालन गर्यो र काउन्टका मांसल र चौडा हातको चुम्बन गर्यो । तर काउन्टको न हात चल्मलायो न त उनको अनुहारको एउटा नशाले कुनै प्रतिक्रिया नै जनायो । पियेरे झन् आत्तियो: र यसपछि के गर्ने भनेर अगिकै दृष्टिले पुनः अन्ना मिखायलोभ्नातर्फ हेर्यो । यस पटक अन्ना मिखायलोभ्नाले पलङसँगै रहेको एउटा कुर्सीतर्फ आँखाले सङ्केत गरी । पियेरे आज्ञानुसार उक्त कुर्सीमा गएर बस्यो । तर उसका आँखाले उसलाई सोधिरहेका थिए उसले ठीक गर्यो वा गरेन भनेर । अन्ना मिखायलोभ्नाले ‘ठीक’ भनेर अनुमोदन गरी । आफ्नो बडेमानको तथा स्थूल शरीरले धेरै ठाउँ ओगटेजस्तो लागेर पियेरेलाई पीडाबोध भयो र उसले सकेसम्म सानो आकारको तुल्याउने प्रयास गर्दै आफूलाई मिश्र देशको मूर्तिझैँ सममिताकार र सरलतम, अङ्गविन्यासमा साँगुर्यायो । उसले काउन्टतिर हेर्यो । काउन्टको दृष्टि ऊ पहिले जहाँ उभिएको थियो त्यही ठाउँमा स्थिर थियो । अन्ना मिखायलोभ्नाको अनुहारले बाबु-छोराको मिलनको यो अन्तिम क्षणका मर्मस्पर्शी चेतना बोकेको थियो ।
यो स्थिति दुई मिनेट जति कायम रह्यो तर पियेरेलाई दुई घन्टा जस्तो लाग्यो ।
अचानक काउन्टको अनुहारको चाउरी र मांशपेशीहरू खुम्चिन थाले । खुम्च्याहटमा वृद्धि हुँदै गयो। त्यो सुन्दर मुहार एकातिर सोहोरिएर आयो (अहिले मात्र पियेरेलाई उसको बाबुको मृत्यु कति नजिक छ भन्ने थाहा भयो र त्यो बाङ्गिएको मुखबाट एउटा अस्फुट र धोद्रो आवाज निस्कन थाल्यो । बिरामीको अन्तिम इच्छा के रहेछ भनेर बुझ्ने मनसायले अन्ना मिखायलोभ्नाले उनको आँखामा ध्यानपूर्वक हेरी । सबभन्दा पहिले उसले पियेरेलाई देखाई, त्यसपछि कुनै प्रिय पात्र, त्यसपछि प्रश्नसूचक साउतीको भाषामा राजकुमार भासिलीको नाम काढी र फेरि त्यसपछि सिरकतिर इशारा गरी । बिरामीका आँखा र अनुहारमा झिँजो लागेको भाव मात्र प्रकट भयो तर उनले पलङको सिरानमा लगातार उभिइरहेको नोकरतर्फ मात्र हेर्ने प्रयास गरे “उहाँ कोल्टे फेर्न चाहनुहुन्छ जस्तो छ” नोकरले साउतीको भाषामा भन्यो र काउन्टको भीमकाय शरीरलाई, भित्तापट्टि फर्काउन खोज्यो। |
पियेरे पनि नोकरलाई सहयोग गर्न कूर्सीबाट उठ्यो ।
जसै काउन्टलाई कोल्टे फर्काउन लागिएको थियो काउन्टको एउटा हात निर्जीवजस्तै पछ्लाडि नै फर्किरह्यो र उनले त्यो हात अगाडि फर्काउन निरर्थक प्रयास गरे । काउन्टले आफ्नो, निर्जीव हातलाई हेरिरहेको पियेरेको भयभीत दृष्टितर्फ ध्यान दिए वा उनको मरणासन्त मस्तिष्कमा अर्को कुनै विचार आयो थाहा भएन तर उनले आफ्नो असहाय हात र पियेरेको अनुहारमा झल्केको अत्यधिक भयभीत भाव र फेरि आफ्नो उही असहाय हात हेरे र उनको अनुहारमा हल्का र कारुणिक मुस्कान झल्क्यो, जुन मुस्कान उनको शारीरिक वनावटसँग मेल खाँदैनथ्यो । र यस्तो: लाग्थ्यो मानौँ त्यस मुस्कानले उनको आफ्नै विवशताको खिल्ली उडाइरहेको थियो । यो मुस्कानले गर्दा अचानक पियेरेका हृदयमा अप्रत्याशित हलचल उत्पन्न गर्यो उसको नाकको टुप्पी नराम्रोसँग चिलायो र उसका आँखा आँसुका धाराले भरिएर धमिला भए । बिरामीलाई भित्तातिर कोल्टे फर्काइयो । उनले लामो सास फेरे ।
“काउन्टलाई निद्रा लागे जस्तो छ,” अन्ना मिखायलोभ्नाले बिरामी कुर्ने पालो दिन आएकी एउटी राजकुमारीलाई देखेर भनी । हामीहरू अब गए: हुन्छ ।” पियरे कोठाबाट बाहिर निस्क्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।