बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अङ्ग्रेजी साहित्यका महान् सर्जक विलियम सेक्सपियरका विज्ञ हुन् । उनले यदि चुनाव नजितेका हुन्थे भने यतिञ्जेल उनले लामो समयदेखि थाँति राखेको सेक्सपियरको जीवनी लेखेर भ्याइसक्ने थिए ।

समय अवधि घर्किसके पनि उनले प्रधानमन्त्री छँदै जीवनी लेखिभ्याउने कसम खाएका छन् । त्यसैले त पछिल्लो हप्ता एउटा समाचारले धेरैको ध्यानाकर्षण मात्र गरेन, प्रधानमन्त्री जोन्सनको आलोचना पनि भयो ।

गएको साता प्रधानमन्त्री जोन्सनसहित देशका केही सीमित व्यक्ति सम्मिलित कोब्रा बैठक बस्ने कुरा थियो तर त्यो बैठकमा प्रधानमन्त्री जोन्सन अनुपस्थित भए । त्यसैले बैठक सम्पन्न हुन सकेन ।

कोब्रा बैठक किन जरूरी थियो भने यतिबेला बेलायत पनि नेपालमा जस्तै कोरोना संक्रमणका कारण बन्दाबन्दीको अवस्थामा छ । नयाँ रणनीति बनाउन यो बैठक जरूरी थियो तर प्रधानमन्त्री उपस्थित भएनन् ।

द टेलिग्राफ पत्रिकाले सो बैठक यति गम्भीर र अति आवश्यक भइकन पनि किन प्रधानमन्त्री उपस्थित भएनन् भनेर सोधिखोजी गर्दा सेक्सपियरमाथि किताब लेख्न लागेको र सोही किताबका कारण बैठकमा सहभागी हुन नसकेको खुलासा गरेको थियो ।

जोन्सनले लेख्ने पुस्तकको नाम पहिल्यै जुराइएको थियो र सन् २०१६ को अक्टोबरमा नै किताब बजारमा ल्याइने बताइएको थियो । किताबको नाम राखिएको थियोः सेक्सपियरः द रिडल अफ जिनियस

बोरिस जोन्सनकृत सेक्सपियरः द रिडल अफ जिनियस

तर जोन्सनको राजनीतिक करियर अघि बढ्दै जाँदा उनले किताबलाई समयमा नै लेखिसिध्याउन भ्याएनन् ।

पछि किताबलाई अप्रिल २०२० मा बजारमा ल्याउने भनिए पनि बजारमा आएन । यतिबेला प्रकाशक होडर एन्ड स्टोगनले यो पुस्तक सन् २०२२ को मार्चभित्र ल्याइसक्ने घोषणा गरेको छ ।

सोही मितिमा पुस्तक बजारमा ल्याउने उद्देश्यका साथ प्रधानमन्त्री जोन्सनले जरूरी बैठकसमेत त्यागेको द टेलिग्राफले जनाएको छ । तर प्रधानमन्त्री सूत्रहरूले भने यसबारे आफूहरूलाई केही जानकारी नभएको बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि प्रख्यात प्रधानमन्त्री विन्स्टन चर्चिलको समेत जीवनी लेखिसकेका छन् । द चर्चिल फ्याक्टरः हाउ वन म्यान मेड हिस्ट्री पुस्तकका लेखक जोन्सनले आफ्नो जीवनको नायक चर्चिल रहेको बताउने गरेका छन् ।