बेलायती साहित्यका प्रख्यात त्रय ब्रोन्टे दिदीबहिनीहरूको सम्मानमा खोलिएको संस्था द ब्रोन्टे सोसाइटीले यी साहित्यकारका मूल्यवान् सरसामग्रीहरू धनीमानीलाई बेच्ने कार्य तत्काल रोक्न सांसदहरूलाई हारगुहार गर्न थालेका छन् ।
बेलायतमा पछिल्लो समय प्रख्यात साहित्यकारका अमूल्य सामग्रीहरू विभिन्न पुस्तकालयहरूबाट निजी सङ्कलनका लागि बेच्न थालिएकोतर्फ ब्रोन्टे सोसाइटीले चिन्ता व्यक्त गर्दै सांसदहरूसँग हारगुहार गर्न थालेको हो ।
हालै साहित्यकार एमिली ब्रोन्टेको हस्ताक्षरित कविताको दुर्लभ नोटबुक केही समयदेखि हर्न्सफिल्ड पुस्तकालयबाट गायब हुन थालेको थियो । सन् १९३९ ताकाबाट त्यस्ता सङ्कलन हराउन थालेको र यसको सङ्ख्या पाँच सयभन्दा बढी रहेको ब्रोन्टे सोसाइटीले सांसदहरूलाई अवगत गराएको छ ।
यसैबीच बाँकी रहेका केही पाण्डुलिपिहरू भने ब्रोन्टे परिवारको घर हावर्थ नजिकै रहेको पुस्तकालयले डाक बढाबढ गर्ने तयारी थालेको छ । यही डाक बढाबढबाट ब्रोन्टे सोसाइटी अत्तालिएको हो । एमिलीका कविताका पाण्डुलिपिहरूको मूल्य ८ लाखदेखि १२ लाख पाउन्डसम्म तोकिएका छन् ।
सोसाइटीले सार्वजनिक पुस्तकालयहरूमा सजिनुपर्ने यस्ता दुर्लभ सामग्रीहरू कुनै धनीमानीको बैंकको लकरमा कोच्चिनु दुखद् भएको बताएको छ । यस किसिमको कार्यले त्यस्ता दुर्लभ सामग्रीको क्युरेसन, संरक्षण र बौद्धिक तथा विद्वत् अध्ययनका लागि पहुँच नहुने मात्र होइन, सर्वसाधारणको फाइदाका लागि यसको प्रयोग हुन नसक्नेसमेत सांसदहरूलाई पठाइएको पत्रमा सोसाइटीकी अध्यक्ष त्रिस गुर्नेले जनाएकी छन् । उनले लेखेकी छन्, ‘हर्न्सफेल्ड पुस्तकालयमा रहेका यस्ता निधि कागज र मसी मात्र होइनन्, ती त सांस्कृतिक सामग्री हुन् । तिनलाई सोहीअनुसारको व्यवहार गरिनु पर्छ । सांस्कृतिक धरोहर कुनै धनीमानीको बैंक लकरमा कैद हुनु हुँदैन ।’
सोसाइटीसँग गाँसिएकी अक्सफोर्ड विद्वान प्राध्यापक क्याथरिन सदरल्यान्ड भन्छिन्, ‘पुराना पुस्तकालयबाट धमाधम यस्ता सांस्कृतिक धरोहरहरू गायब पारिनु चिन्ताजनक कुरा हो । यस हिसाबले त कुनै लेखकका कुराहरू कुनै एक ठाउँमा सङ्ग्रहालय बनाएर राखिनुपर्नेमा उल्टै संसारभरि छरिने छ र अध्येताहरूले ती कहिल्यै देख्न पाउने छैनन् ।’
ब्रोन्टे पर्सोनेज म्युजियमकी प्रमुख क्युरेटर एन डिन्सडेलले अहिले बेच्न लागिएका चिजबिज अमूल्य रहेको र यस्ता चिज कुनै व्यक्तिको जिम्मा लगाउनु दुःखद् रहेको बताइन् । ‘मैले सधैँ ती सामग्रीहरूलाई एक ठाउँमा भेला पारेर ती महान् लेखिकाहरूलाई बुझ्ने र बुझाउने प्रयास लामो समयदेखि गरिरहेकी छु,’ उनले भनिन्, ‘कुनै लेखकको मूल कपीको संरक्षण अति जरूरी हुन्छ किनभने उनीहरूले त्यहाँ अनेकन् नोट, केरमेट र धारणा टिपोट गरेका हुन्छन् । ती सबैले लेखकको मनोदशा र अन्य कुरा बुझाउन ठूलो सहयोग गर्छन् । हरेक पटक नयाँ नयाँ कुरा थाहा पाइन्छ । यस्तो चिजलाई हामीले सर्वसाधारणको नजरबाट ओझेल हुन दिनु हुँदैन ।’
द ब्रोन्टे सोसाइटीले पाण्डुलिपि हराउने, गायब हुने वा बेचिने यस्तो क्रमलाई रोक्न कुनै पनि लेखकका न्यूनतम सरसामग्री सङ्कलित गरी क्युरेट गर्दै सानै भए पनि सङ्ग्रहालय निर्माण गरिनुपर्नेमा जोड दिएको छ ।
द ब्रोन्टे सोसाइटी सन् १९९३ मा स्थापना भएको थियो । यो संसारकै पुरानो साहित्य समाजका रूपमा चिनिन्छ ।
यसअघि सन् २०१९ मा लेडी च्याटर्लिज् लभर उपन्यासको पाण्डुलिपि बेचिनबाट सरकारले रोकेको थियो । सोही किसिमको काम यस पटक पनि हुने अपेक्षा सोसाइटीले गरेको छ । यदि बेच्नु नै परे पनि यसको डिजिटल संस्करण सबैका लागि उपलब्ध हुनुपर्ने माग सोसाइटीको छ ।
यसअघि सन् २०११ ताका ब्रोन्टे मध्येकी कान्छी चार्लोटीले १४ वर्षको उमेरमा लेखेको अप्रकाशित कथा लगभग सात लाख पाउन्डमा बिक्री भएर फ्रान्स पुगेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।