बेलायतको थेम्स नदीमा उभिएको एउटा जहाजको सम्मानमा यो चित्र बनाइएको हो । द फाइटिङ टेमरेर चित्रले ३३ वर्षको लामो समयावधि यो जहाजले युद्धका विविध जलप्रपातहरूमा खेलेको भूमिकाको सम्मानमा बनाइएको थियो ।

बेलायती इतिहासमा सबैभन्दा सशक्त युद्ध सेनापति मानिएका नेल्सनको यो सबैभन्दा प्यारो लडाकु पानी जहाज थियो । यसले बेलायतको सीमा सुरक्षा मात्र गरेन, कयौँ युद्धमा आफ्नो जित दर्ज गरेको थियो ।

यतिबेला भने थेम्स नदीमा ऊ फर्किएर आएकी छ, थकित गलित एक वृद्धाझैँ । अब यो पानी जहाज टुक्रा टुक्रामा परिणत हुनेछ । यसलाई नामोनिशान नराखिने गरी ससम्मान अस्तित्व नामेट गरिनेछ । त्यसको ठिक अगाडि चित्रकार जेएमडब्लु टर्नरले यस पानी जहाजको सम्मानमा यो चित्र बनाएका थिए । बेलायतीहरूका माझ यो लडाकु पानी जहाजको महत्त्व कति थियो भने सन् २००५ मा गरिएको एउटा सर्भेमा उनीहरूका लागि सबैभन्दा मनपर्ने चित्रमध्येमा एक गनिएको थियो ।

थेम्स नदीको दायाँ पट्टि सूर्यास्त भइरहेको देखाइएको छ, जसले एक समयको महान् लडाकुको समय सिद्धिएको जनाउ दिएका छन् चित्रकारले भने अर्कोतर्फ माथि आकाशमा अर्द्ध जून पनि देखिएको छ र यस जहाजको बेग्लै अस्तित्व सिर्जना भइरहेको छ भन्ने सन्देश दिइएको छ ।

यो चित्र बनाउँदा टर्नर उनको उमेरको ६० औँ दशकमा थिए । सम्भवतः आफ्नो वृद्धावस्था र जहाजको वृद्धावस्थाले उनलाई छोएको हुनुपर्छ । तसर्थ, यो यति प्रभावशाली चित्र बन्न पुगेको हुनुपर्छ भन्ने केहीको धारणा छ ।

यो चित्रलाई सन् १८३९ मा प्रथम पटक रोयल एकेडेमी लन्डनमा प्रदर्शन गरिएको थियो । यसको क्याटलगमा प्रख्यात कवि थोमस क्याम्पबेलले दुई पंक्तिको कवितासमेत लेखेका थिए- युद्धका अनेकन् विजयमा गर्वसाथ फहराएको झन्डा आज उसैको रहेन ।

यो चित्रलाई टर्नरले आफू ज्यूँदो हुञ्जेलसम्म बेच्न रूचाएका थिएनन् ।

को हुन् टर्नर ?
सन् १७७५ मा जन्मिएका जोसेफ मलर्ड विलियम टर्नर यस्ता भाग्यमानी चित्रकारका रूपमा गनिइन्छन्, जसको चित्रहरू १५ वर्षकै उमेरमा रोयल एकेडेमी लन्डनमा प्रदर्शनका लागि चुनिएको थियो । बेलायती ल्यान्डस्केप पेन्टिङको इतिहासमै सबैभन्दा ओरिजनल कलाकारका रूपमा उनलाई लिइन्छ ।

१८०५ पछिका उनका चित्रहरू बढी नै प्रभावशाली मानिन्छन् । हुन त केहीले उनको कम्पोजिसनमा औपचारिकता नभएको आरोप पनि नलगाइने होइन तर उनका केही कमजोरीलाई उनका प्रशंसकहरूले भने आँखा चिम्लने गरेका छन् ।

टर्नरको १८५१ मा निधन भयो ।

यो चित्रकलामा के हेर्ने ?
१. ९८ वटा ठूला तोप बोक्ने ल्याकत भएको टेमरेरका तीन वटा मस्ट हटाइएका छन्, काठहरू छिलिएका छन् ।

२. टेमरेरको अन्तिम समयताका उसलाई पछ्याउँदै धुँवा पुत्पुताउँदै सानो जहाज पनि आएको थियो । विशाल टेमरेरको अगाडि कालो कुरूप जहाज सम्भवतः कन्ट्रास्टका लागि उनले प्रयोग गरेको हुनसक्छ । यसले यत्तिका समयपछि बेलायतमा भएको औद्योगिक क्रान्तिलाई पनि समेटेको छ । यहाँ टर्नरले कुरूप आधुनिक जहाजको चित्रण गरेका भए पनि पछिल्ला दिनमा रेलको गौरवशाली चित्रण गरी औद्योगिक क्रान्तिलाई लालमोहर लगाइदिएका थिए ।

३. चित्रकार टर्नरले सूर्यास्त हुन लागेको समयलाई निकै भव्यतम स्वरूपमा ढालेका छन् ।

४. यस्तै उनले आकाशमा उदाउँदै गरेको खुर्पे चन्द्रमा पनि देखाएका छन् ।

५. पूर्ण जहाजः पर श्वेत रङमा सानो आकारमा एउटा जहाज देखिएको छ । र, केही समीक्षकले यो टेमरेरको पूर्ण आकार हो भनी लेखेका छन् । टेमरेर पूर्ण रूपमा आफ्नो स्वरूपमा फैलिँदा यस्तो भव्यतम् आकृतिमा देखिन्थ्यो भन्ने झलक दिन चित्रकारले पर त्यसको झल्को देखाएका हुन् भनी समीक्षकको धारणा छ ।

६. पर सानो कालो आकृतिको अर्को जहाजमा मानिसको हलचल पनि देखिन्छ । र, यस्तो हलचल धुँवा फ्याँकिरहेको जहाजमा पनि देख्न पाइन्छ ।

आउनुस्, यस चित्रलाई अझ गहिरो गरी हेरौँः

The_Fighting_Temeraire,_JMW_Turner,_National_Gallery.jpg (5684×4223) (wikimedia.org)

यसका बारेमा बनाइएका भिडियोको पनि आश्वाद लिने हो कि ?

[embedyt] https://www.youtube.com/watch?v=NSWlpOzpX8I[/embedyt]