साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नियात्रा के हो र कसरी लेखिन्छ ?

Chovar Blues Mobile Size

१. विषय प्रवेश
साहित्यका विविध विधाहरूमध्येमा नियात्रा पनि एक हो । श्रव्य साहित्यको वर्गीकरण गर्दा गद्य र पद्य आउँछन् । गद्यलाई आख्यानात्मक गद्य र आख्यानेतर गद्य गरी दुई वर्गमा विभाजन गरिन्छ । आख्यानात्मक गद्यमा कथा पर्दछ भने आख्यानेतर गद्यमा निबन्ध विधा पर्दछ । घटना वा कथावस्तुको वर्णन कथाको मूलभूत चिनारी हो भने विषयवस्तुप्रतिको लेखकीय दृष्टिकोण निबन्धको चिनारी हो । यात्राका क्रममा भएका घटना, पात्र, परिवेश आदिप्रतिको वर्णन पनि हुने हुनाले नियात्रा कथाको नजिक देखिन्छ भने यात्राका क्रममा भएका हरेक कुराप्रतिको लेखकीय निजात्मक दृष्टिकोण र विषयवस्तुको तार्किक विश्लेषण पनि हुने हुनाले नियात्रा निबन्धको नजिक देखिन्छ । यी दुवै विधाको आंशिक छाया परेको देखिए पनि लिखित साहित्यका अन्य विधाहरूको जन्म हुनुभन्दा अगाडिदेखि नै यात्राको वर्णन भएका सामग्रीहरू पूर्वीय तथा पाश्चात्य दुवैतिरका साहित्यमा पाइने हुनाले यसको आफ्नै प्रकारको विशिष्ट चिनारी रहेको देखिन्छ । यस लेखमा त्यही प्रभावकारी एवम् लोकप्रिय सिर्जनाका रूपमा विश्वसाहित्यमा नै विकसित नियात्राका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. नियात्राको सैद्धान्तिक स्वरूप र परम्परा
संस्कृत व्याकरणअनुसार ‘या ष्ट्रन्+टाप्’ निर्माण प्रक्रियाबाट बनेको ‘यात्रा’ शब्दको अर्थ गति, हिँड्नु वा जानु भन्ने हुन्छ । “मार्गशीर्षे शुभे मासि यायाद्यात्रां महीपतिः” मनुस्मृतिमा उल्लेख भएको यस भनाइले पनि यात्राको अर्थ गति हो भन्ने प्रमाणित गरेको छ । त्यही ‘यात्रा’ शब्दमा ‘नि’ उपसर्ग लागेर बनेको ‘नियात्रा’ शब्दले साहित्यको एउटा अभिव्यक्ति कला, विशेष सिर्जना वा विशेष विधा भन्ने जनाउँछ । ‘यात्रा’ शब्दमा ‘नि’ उपसर्ग लागेर बनेको हुनाले ‘नियात्रा’लाई निबन्ध–यात्रा वा निबन्धात्मक यात्रा भनेर चर्चा गर्ने गरेको पनि पाइन्छ तर त्यस ‘नि’ उपसर्गले निबन्धलाई नभएर नजिक, तल, सम्बन्धित आदि अर्थलाई सङ्केत गरेको छ । त्यसैले ‘नि’ उपसर्गका कारण नभएर लेखनशैली वा संरचनात्मक स्वरूपका आधारमा यसलाई निबन्ध–यात्रा वा निबन्धात्मक यात्रा भन्न सकिने देखिन्छ । यति मात्र नभएर ‘नियात्रा’लाई बुझाउनका लागि यात्रासाहित्य, यात्रावृत्तान्त, यात्रावर्णन, यात्रासंस्मरण आदि शब्दको प्रयोग गरिएको पाइन्छ । साहित्य सिर्जनाको पछिल्लो कालखण्डमा ‘नियात्रा’ शब्द निकै लोकप्रिय बने पनि पूर्वोल्लिखित सबै शब्दले यसलाई चिनाउँदै आएको देखिन्छ । त्यसमा पनि ‘यात्रासाहित्य’ शब्दले चाहिँ यी सबैको सामूहिक प्रतिनिधित्व गरेको देखिन्छ । नायकद्वारा भुक्त जीवनमा केन्द्रित उपर्युल्लिखित नव्यगद्य विधाहरू छुट्टै विधाका रूपमा विकसित हुने प्रचेष्टा थालिनुभन्दा अघि यात्रासाहित्य निबन्ध विधाभित्र अझ बढी प्रगाढ रूपमा समाविष्ट थियो । त्यसैले पहिला पहिला यात्रासाहित्यको चर्चा निबन्धकै भेदका रूपमा गरिएको पाइन्छ भन्ने अभिमत भिक्टर प्रधानको रहेको छ । यस आधारमा हेर्दा ‘नियात्रा’लाई निबन्ध–यात्रा वा निबन्धात्मक यात्राका रूपमा अथ्र्याउनुमा पनि आंशिक सत्यता रहेको देखिन्छ ।
‘नियात्रा’लाई अङ्ग्रेजीमा ‘ट्रावलग’ (Travelogue) भनिन्छ । ग्रिक भाषाको यात्रा अर्थ दिने ‘ट्रावल’ (Travel) शब्दमा अभिव्यक्ति अर्थ दिने ‘लग’ (Logue) शब्द जोडिएर बनेको ‘ट्रावलग’ (Travelogue) शब्दको अर्थ यात्राअनुभव, स्थानअनुभव वा यात्रावर्णन आदि हुने गर्दछ । साहित्यिक सन्दर्भमा भने यसले यात्राकारका अनुभूतिहरूलाई व्यवस्थित रूपमा अभिव्यक्त गरिएको साहित्यिक सिर्जना वा कृति भन्ने अर्थ दिन्छ । यसरी पूर्वीय र पाश्चात्य दुवै सन्दर्भमा नियात्रालाई यात्राकारको निजी अनुभव, स्थानगत अनुभूति, परिवेशगत परिचय आदिका माध्यमबाट सिर्जना गरिएको रोचक एवम् ज्ञानवद्र्धक साहित्यिक रचनाका रूपमा प्रस्तुत गरिएको पाइन्छ ।

पूर्वीय जगत्मा यात्रा वर्णनको प्रयोग वेदमा पनि भएको पाइन्छ । वैदिक साहित्यमा देवपात्र वा प्रकृतिपात्रहरूको यात्राको वर्णन आंशिक रूपमा पाइन्छ । यसका साथै पौराणिक कालमा पनि यात्राको वर्णन जुनसुकै पुराणमा पाइन्छ भने लौकिक साहित्य कालमा त कालिदासका ‘मेघदूत’लगायतका काव्यहरू र तत्कालीन विभिन्न कविका काव्यहरूमा यात्राको वर्णन अत्यन्त सुन्दर तरिकाले भएको पाइन्छ । संस्कृत काव्यशास्त्रहरूले महाकाव्य आदिको सिर्जनामा देश, काल र वातावरणको चित्रणका साथै यात्राको वर्णनलाई पनि अनिवार्य मानेका छन् । यसरी वैदिक युगदेखि पौराणिक युग हुँदै लौकिक साहित्यसम्म नै यात्रा वर्णनले विशेष स्थान पाए पनि संस्कृत साहित्य परम्परामा यात्रासाहित्य वा नियात्रा नामबाट कुनै कृति सिर्जना भएको चाहिँ पाइँदैन ।

पाश्चात्य साहित्यमा यात्रासाहित्यको पहिलो कृतिका रूपमा इसाको दोस्रो शताब्दीको मानिएको पौसानियासको ‘हेलाडस पेरिजेसिस’लाई लिने गरिन्छ । यसपछि गिराल्डस क्याम्ब्रेनसिस (बाह्रौँ शताब्दी), सर जोन माल्डेभिन (पन्ध्रौँ शताब्दी) आदिका कृतिहरूले यात्रा वर्णनलाई निरन्तरता दिएको पाइन्छ भने सन् १७८५ मा रुडोल्फ राय्स्पद्वारा लिखित ‘बाय्रन मुन्चौसन’ नामक चमत्कारपूर्ण यात्रा वर्णन गरिएको कृति प्रकाशन भएपछि पश्चिमी साहित्यमा यात्रासाहित्यको औपचारिक थालनी भएको मानिन्छ । यसका आधारमा हेर्दा पाश्चात्य साहित्यमा अठारौँ शताब्दीदेखि मात्र यात्रासाहित्य लेखन प्रारम्भ भएको र त्यहीँबाट क्रमशः यसले लोकप्रियता हासिल गर्दै अगाडि बढेको प्रमाण पाइन्छ । तर, चिनियाँ साहित्यमा भने कन्फुसस (इ.पू. ५५१—४७९) को समय अर्थात् इसापूर्व छैटौँ शताब्दीदेखि नै यात्राको वर्णनले प्राथमिकता पाउँदै आएको देखिन्छ । कन्फुससका विभिन्न कृतिहरूमा उनको दशवर्षे यात्राअनुभवको वर्णन पाइन्छ भने त्यसपछिका फाइयान (चौथो शताब्दी), हुवेनसाङ (सातौँ शताब्दी) आदि स्रष्टाका यात्रारचनाहरू विश्वप्रसिद्ध मान्ने गरिएका छन् ।

यसरी यात्राको सम्बन्ध प्राचीन कालसँगै जोडिएको भए पनि साहित्यका सम्बन्धमा ‘नियात्रा’ शब्दछनोटचाहिँ पछिल्लो समयमा मात्र भएको देखिन्छ । यस कारण पनि ‘नियात्रा’को सिर्जना जुन मात्रामा भएको पाइन्छ त्यसको सैद्धान्तिक चर्चा वा परिभाषा त्यो मात्रामा भएको पाइँदैन । ‘नेपाली बृहत् शब्दकोश’ले ‘नियात्रा’लाई यात्रानिबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप अथवा यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध भनी चिनाएको छ । यसरी नै भिक्टर प्रधानले यात्रासाहित्यका नामबाट ‘नियात्रा’लाई चिनाउने काम गरेका छन् । उनले यात्रासाहित्य जीवनी र शब्दचित्रको जस्तो लेखकीय निष्पक्ष वस्तुपरकताभन्दा आत्मकथा र संस्मरणको जस्तो नायक–लेखकीय आत्मपरक वैयक्तिक दृष्टिकोण बढी हुने रचना हो भनी परिभाषित गरेका छन् । यसरी नै यात्रासाहित्य र संस्मरणलाई जोडेर हेर्ने कुरालाई पनि प्रधानले स्पष्ट रूपमा सम्बोधन गरी यात्रागत गतिमयताविना यात्राकालको कुनै कुराको स्मरण संस्मरण हो, यात्रासाहित्य होइन भनी नियात्रा र संस्मरणलाई छुट्याइदिएका छन् । यसबाट यात्राको गतिमयता र प्रस्तुतिगत कलात्मकता ‘नियात्रा’मा हुनुपर्ने देखिन्छ । यसरी नै डा. वासुदेव त्रिपाठीले संस्मरण बढी आन्तरिक आकलन हो, यात्रावृत्तान्तचाहिँ बढी बहिरङ्गी अङ्कन हो भनी संस्मरण र यात्रावृत्तान्तको स्पष्ट भिन्नता देखाइदिएका छन् । यस कुरालाई समेत ध्यानमा राखेर ‘नियात्रा’का लागि आवश्यक निजात्मकतालाई समेत थप्ने हो भने यात्रा, अनुभव, दृश्यसंयोजन, गतिमयता र निजात्मक प्रस्तुति आदि कुराहरूले नै ‘नियात्रा’लाई विशेष रूपमा चिनाउन सक्ने देखिन्छ ।

sagarmani mobile size

नेपाली यात्रासाहित्यको इतिहासलाई हेर्ने हो भने नेपाली भाषाको अभिलेख काल र वाङ्मय कालको मध्यविन्दुसम्म पुग्नुपर्ने देखिन्छ । वि.सं. १५५० तिरको मानिएको ‘राजा गगनीराजको यात्रा’ कृतिका लेखक अज्ञात भए पनि यसले तत्कालीन कर्णाली क्षेत्रका राजा गगनीराजले स्वदेश भ्रमणलाई मुख्य विषयवस्तु बनाएको छ । यहाँ प्रस्तुत राजाले गरेको जनताको घरदैलोको यात्रा र त्यस कृतिमा प्रस्तुत विषयले ‘नियात्रा’ वा यात्रासाहित्यको आधारशिला तय गरेको देखिन्छ । यसरी पृष्ठभूमि निर्माण गरेको ‘नियात्रा’ले लगभग पाँच सय वर्षपछाडि मात्र अज्ञात लेखकद्वारा नै लेखिएको ‘जङ्गबहादुरको बेलायत यात्रा’ (१९१०) बाट भने केही परिचय प्राप्त गरेको देखिन्छ । यसपछि पनि सुस्त गतिमा अगाडि बढेको ‘नियात्रा’ लेखनले शिखरनाथ सुवेदी, चिरञ्जीवी शर्मा, मेजर शेरसिंह राणा आदि व्यक्तित्वहरू र ‘शारदा’, ‘प्रगति’ जस्ता पत्रिकाहरूको आडभरोसा पाउँदै आएर लैनसिंह बाङ्देल, तारानाथ शर्मा आदिको साथ पाएपछि लोकप्रियताको पर्वतारोहण गर्न थाल्यो भने पछिल्लो तीन दशकमा देखापरेका नियात्राकारहरूले त यसलाई सफलताको शिखरमा नै पु¥याएको देखिन्छ । यसरी ‘राजा गगनीराजको यात्रा’बाट हेर्दा ५२५ वर्षभन्दा बढीको र ‘जङ्गबहादुरको बेलायत यात्रा’बाट हेर्दा १६५ वर्षभन्दा बढीको सिर्जनात्मक यात्रा नियात्राले गरिसकेको देखिन्छ । यस अवधिमा नेपाली यात्रासाहित्यमा पनि अनेकौँ नाम, शैली, सिद्धान्त र विचारले प्रवेश पाएको र तदनुकूल उत्तरोत्तर विकास हुँदै आएको नियात्राले वर्तमान दशकसम्म आइपुग्दा भने पाठकवर्गको विशेष रोजाइमा पर्ने साहित्यिक विधाका रूपमा आफूलाई उभ्याउन सक्ने क्षमता निर्माण गरेको देखिन्छ ।

३. नियात्रा हुनका लागि के के चाहिन्छ ?
नियात्रा वर्तमान नेपाली साहित्यको लोकप्रिय र पूर्ण साहित्यिक सामग्रीका रूपमा स्थापित भइसकेको छ । यसमा स्रष्टाले गरेको यात्रा र त्यसप्रतिको स्रष्टाअनुभूति मुख्य रूपमा आउने गर्दछ । यो कविता, कथा, नाटक, निबन्ध आदिमा जस्तो एउटा विषयवस्तुलाई टिपेर सरासर लेख्न थालिहाल्ने विधा होइन । यसका लागि यात्रा गर्नु अनिवार्य छ, त्यस यात्राका क्रममा भेटिएका कुराहरूको टिपोट गर्नु र त्यसलाई रोचक एवम् कलात्मक तरिकाले विस्तार गर्दै गएर पाठकलाई पनि आफू सँगसँगै हिँडाएर यात्रानुभूतिको साधारणीकरण गर्नु अनिवार्य छ । यिनै कुरालाई ध्यानमा राखेर एउटा नियात्राकार नियात्रा लेख्न बस्नुपर्छ । यसका लागि निम्नलिखित कुराहरू अनिवार्य भएर आउने गर्दछन्—

(क) निश्चित यात्रा, घटना र अनुभवको छनोट र अन्तर्घुलन
नियात्रा छोटो वा लामो जुनसुकै यात्राका बारेमा लेख्न सकिन्छ । एउटा नियात्रा एउटा यात्राको घटनामा मात्र केन्द्रित भएर छोटो फुटकर संरचनामा लेख्न पनि सकिन्छ र लामो यात्राका क्रममा भएका घटना र अनुभवहरूलाई खण्ड खण्ड, अध्याय अध्याय वा शीर्षक उपशीर्षकहरूमा बाँडेर एउटा सिङ्गो कृति नै तयार पार्न पनि सकिन्छ । त्यसैले नियात्राको विषयवस्तुका रूपमा ‘एक यात्राः एक घटना’, ‘एक यात्राः बहु घटना’, ‘बहु यात्राः बहु घटना’ आदि जेसुकै पनि आउन सक्छन् तर यात्रा मात्र, घटना मात्र र अनुभव मात्रले नियात्रा लेखन पूर्ण हुन सक्दैन । यी तीनै कुराको अन्तर्घुलन नियात्राका लागि अनिवार्य तत्त्व मानिन्छ ।

(ख) यात्रागत गतिशीलता, आख्यानीकरण र स्रष्टा दृष्टिकोणको स्थापना
नियात्रा लेखनमा स्रष्टाले यात्रा गरेको हुन्छ, त्यो यात्रा भाषिक अभिव्यक्तिका माध्यमबाट सिर्जनामा रूपान्तरण हुन्छ अनि त्यो सिर्जना पढ्दा पाठकले पनि सँगसँगै यात्रा गर्न थाल्छ । यसरी स्रष्टा, सिर्जना र पाठक तीनओटै पक्ष यात्रारत रहने हुनाले सिर्जनामा यात्रागत गतिशीलता अनिवार्य हुन्छ । यसका लागि एउटा विन्दुदेखि अर्को विन्दुसम्मको दूरीभित्र रहेका स्थान, दृश्य आदिको यथार्थ विवरण र यात्रा अवधिमा भएका प्रभावकारी र अविस्मरणीय घटनाहरू आवश्यक मानिन्छन् । जब यात्राले गति लिन थाल्छ तब स्रष्टाले बिस्तारै विषयलाई आख्यानीकरण गर्न थाल्नुपर्छ । विषयलाई आख्यानीकरण गर्न थालेपछि त्यहाँ स्रष्टादृष्टिकोण अलङ्कार बनेर आउने गर्दछ अनि ती स्थान, दृश्य र घटनाहरूप्रतिको स्रष्टादृष्टिकोण नियात्राका लागि सबैभन्दा महत्त्वपूर्ण सामग्री बन्ने गर्दछ । यसबाट यहाँदेखि त्यहाँसम्मका स्थान, दृश्य र घटनाको सरासर टिपोट नियात्रा होइन भन्ने कुरा थाहा पाइन्छ । ती हरेक विषयक्षेत्रसँग सम्बन्धित कुरामा स्रष्टाको स्पष्ट दृष्टिकोण आउनुपर्छ । त्यस दृष्टिकोणले एकातिर स्रष्टाको तार्किक ज्ञान र अर्कातिर पाठकसँगको भावगत सामीप्यलाई बाहिर ल्याउने काम गर्दछ ।

(ग) यथार्थ घटना र कल्पनाको मिश्रण
नियात्राको उद्देश्य यथार्थ घटनाको प्रस्तुति नै हो तर यथार्थको सरासर वर्णन मात्र भयो भने त्यसले पाठकमनलाई आकर्षण गर्न सक्दैन । यसका लागि कल्पनाशक्तिको विशिष्ट भूमिका हुन्छ । कल्पनाले सिर्जनालाई कलात्मक र रोचक बनाउँछ तर त्यो कल्पना विषयभन्दा टाढा पुग्न थाल्यो भने सिर्जनात्मक अभीष्ट प्राप्त हुन सक्दैन । घटनासँग जोडिएर आउने कल्पना सत्यताभन्दा टाढा जानु हुँदैन । त्यस कल्पनामा स्रष्टाको विचार प्रतिविम्बन भएको हुन्छ र नियात्राको मूल भाव वा केन्द्रीय कथ्य पनि अभिव्यञ्जित भएको हुन्छ । स्रष्टाको कल्पनाशक्ति, तार्किक क्षमता, विषय र प्रसङ्गप्रतिको गहिरो ज्ञान र सम्बन्धित विषयलाई हेर्ने आत्मदृष्टि कत्तिको बलियो छ भन्ने कुराको निर्धारण पनि यसैबाट हुने गर्दछ । त्यसैले यथार्थ घटनाले सिर्जनामा विश्वसनीयता उत्पन्न गर्दछ भने कल्पनाले सिर्जनालाई कलात्मक बनाउने काम गर्दछ ।

(घ) लेखकीय इमानदारिता र सूक्ष्म अवलोकन
नियात्राका लागि लेखकीय इमानदारिताले ठुलो भूमिका खेलेको हुन्छ । विषयवस्तुलाई प्रस्तुत गर्ने क्रममा लेखकमा कुनै पनि प्रकारका कुराले प्रभावित पार्नु हुँदैन । लेखकलाई क्षेत्र, जाति, वर्ग, लिङ्ग, राजनीति आदि कुराले प्रभाव पा¥यो भने सत्य कुरा अगाडि नआएर नियात्रा सम्बन्धित कुरातिर ढल्किने सम्भावना हुन्छ । यसका साथै सम्बन्धित स्थान, सहयात्री पात्र वा सामान्य भूमिकाका व्यक्ति वा विषयलाई बढाइचढाइ गरेर प्रस्तुत गरेबापत कुनै प्राप्तिको अपेक्षा लेखकले राखेको आभास सिर्जनामा भयो भने त्यसले सिर्जनात्मक गुणात्मकतामा आघात गुग्ने देखिन्छ । त्यसैले निष्पक्षता, तटस्थता र वस्तुगताप्रतिको लेखकीय इमानदारिताले नियात्रालाई उच्चकोटिको बनाउने गर्दछ । यसरी नै नियात्रामा स्थूल कुराहरूप्रतिको सतही अवलोकन मात्र हुनु हुँदैन । यात्राका क्रममा ठुला ठुला कुरा त सबैले देखेकै हुन्छन् । स्रष्टाको ध्यान ती कुराहरूमा मात्र जानु हुँदैन । अत्यन्त साना साना र सूक्ष्म कुराहरूलाई लेखकले पर्गेल्न सक्यो भने त्यो नियात्रा अत्यन्त रोचक र ज्ञानवद्र्धक हुने गर्दछ । साथै सूक्ष्म विषयप्रतिको सूक्ष्म अवलोकन नै नियात्रालाई सौन्दर्यवद्र्धक र मनमोहक बनाउने तत्त्व हो ।

(ङ) सम्प्रेषणको प्रभावकारिता (भाषा/शैली/प्रस्तुति)
नियात्राको यात्रास्थान, घटना, दृश्य, पात्र, विषयवस्तु आदि जतिसुकै सशक्त भए पनि त्यसलाई सम्प्रेषण गर्ने शैली फितलो भयो भने त्यो रचना उत्कृष्ट बन्न सक्दैन । यात्राको वर्णन गर्नु, घटनाको जानकारी दिनु, सूचनाहरूको सङ्कलन गर्नु वा वल्लो विन्दुदेखि पल्लो विन्दुसम्मको सरासर वर्णन गर्दै जानु नियात्रा लेखन होइन । यसमा यात्रास्थलको रीतिरिबाज, इतिहास, परिस्थिति, प्रकृति, स्थानीय धारणा, स्थानीय जीवनशैली, व्यक्तिविचार, दुःख वा सहयात्रीका विविध पक्षको वस्तुगत चित्रण हुन सक्यो भने राम्रो मानिन्छ । नियात्रा पढ्दा उल्लिखित कुराको विम्ब पाठकको मस्तिष्कमा उत्रिएको हुनुपर्छ र उसले आफैँ पुगेको अनुभूति गर्नुपर्छ । त्यसैले ती कुरालाई नियात्रामा प्रस्तुत गर्दा विभिन्न विम्ब, प्रतीक, अलङ्कारका साथै अनुकूल तर्क, प्रमाण, दृष्टान्त आदिलाई स्वानुभूतिसँग जोडेर प्रवेश गराउने भाषाशैलीको छनोट नियात्राकारले गरेमा त्यसलाई सुन्दर शैली मान्ने गरिन्छ ।

यिनका साथै नियात्रा लेखकले आफूले देखेका, भोगेका, प्रत्यक्ष अनुभव गरेका र सम्बन्धित स्थानबाट प्राप्त गरेका ज्ञान र सिपलाई जति धेरै साधारणीकरण गर्न सक्यो, जति धेरै पाठकले त्यसमा आफ्नो पनि अंश भेट्न सक्यो त्यति नियात्रा सफल हुने गर्दछ । नियात्रालाई कसरी रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक बनाउने भन्ने कुराको जिम्मा नियात्राकार स्वयंको हो ।

४. नियात्रा कसरी लेखिन्छ ?
नियात्रा लेख्नका लागि सबैभन्दा पहिला लेखक स्वयं मानसिक रूपमा तयार हुनुपर्छ । लेखकमा म यस पटकको यस क्षेत्रको यात्रामा चाहिँ नियात्रा लेख्छु भन्ने आत्मनिर्णय भयो भने आन्तरिक संरचनामा चाहिँ नियात्रा लेखनको शिलान्यास भएको मानिन्छ । यस्तो सोच बनाएपछि यात्राकारले यात्राको पहिलो विन्दुदेखि नै हरेक कुरालाई गम्भीर रूपले हेर्न थाल्दछ र केही टिपोटहरू पनि गर्न थाल्दछ । नियात्रा दुई तरिकाले लेखिन्छ, एउटा यात्राकारले यात्राअवधिमा टिपेका टिपोटहरूका आधारमा यात्राको समाप्तिपछि तत्काल गरिने नियात्रा लेखन र अर्को यात्राअवधिका टिपोटहरूलाई सुरक्षित राखेर वर्षौंपछि गरिने नियात्रा लेखन । नेपाली नियात्रा साहित्यमा यी दुवै खाले नियात्राहरू प्रचलनमा छन् । यी दुईमध्येमा तत्काल सिर्जना भएका नियात्रामा वर्तमानको झलक आउने गर्दछ भने पछि लेखिने नियात्रामा ऐतिहासिक पक्षहरूले बढी प्रवेश पाउने गर्दछन् । एउटा नियात्राकारले नियात्रा लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो सिर्जना सुन्दर र व्यवस्थित हुने देखिन्छ—

(क) शीर्षक छनोट
फुटकर नियात्राको सबैभन्दा माथि स्थान, दृश्य वा विषयवस्तुको प्रतिनिधित्व गर्न सक्ने पद वा पदावलीका तहको एउटा आकर्षक शीर्षक दिनुपर्छ । कृतिमा एउटै सन्दर्भ वा बहुसन्दर्भको प्रयोग भएको छ भने ती सबै कुरालाई समेट्ने र सिङ्गो कृतिका लागि प्रतिनिधित्व गर्ने खालको सुन्दर तथा प्रभावकारी शीर्षक छनोट गर्नुपर्छ । कृतिको शीर्षक छनोट नियात्रा लेखनले पूर्णता पाएपछि प्रकाशनका समयमा गरे पनि फरक पर्दैन तर भित्री शीर्षकहरूचाहिँ लेखनकै चरणमा भए राम्रो मानिन्छ ।

(ख) भूमिका खण्ड
यो नियात्राको प्रवेशद्वार हो । यसको सुरुमा नै यात्राको मिति, समय, स्थान र यात्राको प्रकृतिलाई सङ्केत गर्नुपर्छ अनि आवश्यकताअनुसार यात्राको पृष्ठभूमिलाई समेत सङ्केत गरी यात्रा जस्तै नियात्रा लेखन पनि उत्साहजनक तरिकाले स्वाभाविक रूपमा अगाडि बढ्नुपर्छ । एउटा छोटो नियात्रामा चाहिँ यो प्रायः एक अनुच्छेदमा लेखिन्छ ।

(ग) विस्तार खण्ड
यो नियात्राको मूल खण्ड हो । यसमा यात्रा अनुभूतिलाई कतै आख्यानात्मक र कतै निबन्धात्मक शैलीमा क्रमिक विस्तार गरिन्छ । यात्रा अनुभवलाई विस्तार गर्ने क्रममा आवश्यक दृश्य, घटना, पात्र, संवाद, विचार आदिलाई यस खण्डमा कलात्मक, मनोरञ्जक र कुतूहलपूर्ण तरिकाले क्रमशः प्रस्तुत गर्दै गइन्छ । यही खण्डमा स्थान, घटना र सम्बन्धित विषयका बारेमा उठेका लेखकीय जिज्ञासा, त्यसप्रतिको दृष्टिकोण र प्रतिक्रिया आदिलाई पनि विश्लेषणात्मक तरिकाले प्रस्तुत गरिन्छ । यो खण्ड विषयक्षेत्रको व्यापकतालाई हेरेर एक, दुई, तीन वा जति पनि अनुच्छेदमा लेख्न सकिन्छ ।

(घ) निचोड खण्ड
यो खण्ड नियात्रामा लेखकीय विचार स्थापना गर्ने ठाउँ हो । यहाँ आइपुग्दासम्ममा लेखकले आफ्ना सारा अनुभूतिहरूलाई प्रस्तुत गरिसकेको हुन्छ त्यसैले यहाँ आइपुगेपछि सम्बन्धित यात्राका चरणमा गरेको अनुभव र प्राप्त भएको ज्ञानलाई भोक्ताका रूपमा प्रस्तुत गरेर देशलाई, समाजलाई वा सम्बन्धित क्षेत्रलाई समेत केही भन्नुपर्ने लागेमा सुझाव वा सन्देशका रूपमा नभएर अनुभवको साधारणीकरणका शैलीमा प्रस्तुत गर्नुपर्छ । यस खण्डमा समग्र यात्राप्रतिको स्रष्टाको निजी विचार र दृष्टिकोणसहित नियात्राको उचित समापन गरिन्छ । यो भाग नियात्राको अन्तिम अनुच्छेद हो, यो प्रायः एउटै अनुच्छेदमा लेखिन्छ र अरूभन्दा सारगर्भित पनि हुने गर्दछ ।

यी कुराहरू सिकारु चरणका नियात्राकारहरूका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त एकै पटकमा वा एकै बसाइमा एउटा नियात्रा लेख्न सक्छ । यति मात्र होइन, यो नियात्रा लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने नियात्रागत कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यही नै स्रष्टाको निजी विशेषता, क्षमता वा विशिष्ट चिनारी हो ।

५. नियात्रा लेखन: प्रयोगात्मक सिर्जनाका चरणहरू
चरण १: आफूले गरेको यात्राको मिति, समय, स्थान र तिनका विशेषताहरूको सूक्ष्म टिपोट ।
चरण २: आकर्षक शीर्षक चयन (स्थानमूलक, दृश्यमूलक, घटनामूलक वा अन्य कुनै ध्वन्यात्मक) ।
चरण ३: समग्र यात्रा अवधि र लेख्य विषयलाई समेट्ने गरी बुँदाटिपोट र बुँदाहरूको समयगत क्रमनिर्धारण ।
चरण ४: विषयवस्तुको आख्यानीकरण, घटनाप्रतिको स्रष्टादृष्टिकोण निर्माण र अभिव्यक्तिलाई आलङ्कारिक बनाउनका लागि थप सामग्रीहरूको छनोट र व्यवस्थापन ।
चरण ५: नियात्रालाई आन्तरिक रूपमा कति अनुच्छेदमा वर्गीकरण गर्ने अथवा सिङ्गो किताब हो भने त्यसलाई कति खण्ड, अध्याय वा परिच्छेदमा वर्गीकरण गर्ने हो ? त्यसको निर्धारण ।
चरण ६: आवश्यकताअनुसार कतै आख्यानात्मक, कतै निबन्धात्मक, कतै दृश्यात्मक र कतै संवादात्मक शैलीमा नियात्राको विस्तार गर्दै गएर खेस्रा लेखन ।
चरण ७: खेस्रा रूपमा तयार भएको नियात्राको पठन, पुनःपठन, सत्य परीक्षण र संशोधन, त्रुटिविश्लेषण र परिमार्जन गरी अन्तिम रूप प्रदान ।
चरण ८: कम्प्युटर टाइपिङ, भाषा शुद्धीकरण र प्रकाशन । यदि सिङ्गो कृति भएमा भूमिका र कृतज्ञता लेखन (स्रष्टाले आवश्यक ठानेमा), आन्तरिक सेटिङ, कभर डिजाइन, छपाइ, बाइन्डिङ र लोकार्पण आदि । (आवश्यकताअनुसार)

६. निष्कर्ष
नियात्राको आफ्नै संरचनात्मक विधि र प्रक्रिया हुन्छ । यसको लेखनको उद्देश्य यात्राको स्थान, अवधि, घटना र अनुभूतिलाई चिरकालसम्म स्थायी राख्ने र त्यस क्षेत्रमा नपुगेका पाठकलाई पनि त्यहीँ पुगेको अनुभूति गराउने नै हो । यसमा लेखकीय अनुभूति र पाठकीय अपेक्षाका बिचमा अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ त्यसैले लेखकको व्यक्तिगत गन्थन वा लम्बेतान विवरणको थुप्रो मात्र नियात्रा हुन सक्दैन । नियात्राको शैली पाठक यात्रामा हेलिन थालेपछि छोड्न मन नलागी अन्त्यसम्म पुग्ने गरीको हुनुपर्छ । जब पाठकले त्यही यात्रामा आफू पनि जोडिएर सँगैसँगै हिँडेको अनुभव गर्न थाल्छ तब उसलाई त्यो रचनाले बाहिर जानै दिँदैन । यस्तो चुम्बकीय शक्ति भएको, कुतूहलपूर्ण, विचारोत्तेजक, ज्ञानवद्र्धक र आकर्षक बन्न सक्नु नै नियात्राको शक्ति हो भने स्रष्टाको वैयक्तिक गन्थन, घटनाको सपाट वर्णन, निजी कुण्ठाको पोखाइ, अरूप्रतिको दोषारोपण, आत्मश्लाघा र अनावश्यक उपदेशात्मकता नियात्राका सीमा हुन् ।

क्रमशः अर्को हप्ता…

प्रतिक्रिया
Loading...