तीन वर्षपछि स्नातकोत्तरको लागि कलेज जाँदै थिएँ म । प्रदर्शनी मार्ग । रत्नराज्य लक्ष्मी क्याम्पस । खासमा स्नातकोत्तरसम्मको अध्ययनका लागि तयार हुनु भनेको गर्वको विषय हो, गाउँको लागि । तर सहरलाई स्नातकोत्तरधारीको खाँचो छैन । जो सबै यहीँ थुप्रिएका छन् । न उसलाई यत्तिका पढेका मान्छे यहाँ थुप्रिएकामा गर्व छ, न त उसलाई कुनै घमण्ड नै । तिनै पढेलेखेकाले आफूलाई कुरुप बनाएको कथा सम्झिएर के गर्छ होला सहर ? मलाई थाहा छैन ।
एसएलसीपछि शिक्षकले हाजिरीमा मेरो नाम पुकारेको मलाई याद थिएन । तर स्नातकोत्तरमा सेमेस्टर प्रणाली सुरु गरिएपछि हाजिरी अनिवार्य थियो । स्नातकपछि तीन वर्षको ग्याप हुनुको एक कारण त्यही हाजिरी पनि थियो । तर तीन वर्षपछि नै सही, म स्नातकोत्तर भर्ना भएँ । पक्का थियो, त्यसले आउने दशैँमा गाउँ जाँदा शीर उँचो बनाउनेवाला थियो ।
हाजिरीको दोस्रो दिन थियो । मैले मेरो रोल नम्बर कण्ठस्थ पारेको थिएँ । एक सय उनन्साठी । म हाजिरी कापीमा भएको नाम कक्षालाई सुनाउन चाहन्न थिएँ । लाग्यो, नाम होइन सरले रोल नम्बर मात्र भन्दिए हुने तर सरले नामबाटै हाजिरी लिए । त्यही दोस्रो दिन, मैले कक्षाकी दोस्रो स्त्रीसँग परिचयको मुख खोलेँ । जो म बसेको बेञ्चको ठीक अघिल्लो बेञ्चमा थिई । ठीक हाजिरी सकिएपछि ।
– ‘राधा… । तपाईंको ?
– ‘कृष्ण । कृष्ण …….!’
– ‘आजसम्म कतिचोटि आफ्नो न्वारन गरिसक्नुभयो ?’
संवाद यत्ति थियो । मैले परिचयमा भनेको नाम र सरले हाजिरीमा पुकारेको नाममा मिल्ती थिएन, यसले राधाका शब्द अलि तीखो गरी गढेको थियो । यो त मेरो लागि नामको कारणले पर्ने सामान्य फसाद मात्र थियो । तर, यो सामान्य फसादले मलाई मेरो नामकरणसम्मैको यात्रा गराइदियो । र, “नाममा केही त छ !” शीर्षकमा केही लेख्नैपर्ने निष्कर्षमा पुगेँ ।
“नाममा केही त छ !” शीर्षकमा केही लेख्नैपर्ने निष्कर्षमा पुगेँ ।
यो त्यो समाज हो, जहाँ नामलाई बहुत नामी रुपमा व्याख्या गरिन्छ । यहाँ जोकोहीलाई आफ्नो नाम बनाउनु छ र, चिनाउनु छ संसारलाई । यहाँ हरकोहीलाई नम्बर वन बन्नु छ । र, त्यही नम्बर वन बन्ने रहरमै कुद्दाकुद्दै कति शून्य भएर पनि बिलाइगएका छन् । मान्छे खै किन यसरी नामको पछि दौडिरहेको छ ? मलाई थाहा छैन ।
ओशोले पनि भनिसकेको कुरा हो, पैसा, प्रसिद्धि र सेक्स संसारमा सबैभन्दा धेरै खोजिएका र कम बुझिएका चिज हुन् । तर म यहाँ त्यो नामको कुरा गर्दै छुइनँ, जसले प्रसिद्धिको महत्त्व बोकोस् । बरु म त त्यो नामको कुरा गर्दैछु, जसले बस दुई अक्षरको भारी बोकेको छ । जस्तो कि कृष्ण र दुर्गा ।
होला, औपचारिक रुपमा पहिलोपटक प्रयोग भएको मेरो नाम दुर्गा होला । चाहे त्यो चिनामा होस् वा जन्मदर्तामा । तर मेरा कानले पहिलोपटक श्रवण गरेको नाम कृष्ण नै थियो । म कृष्ण थिएँ ।
मेरो नाम कृष्ण कसरी हुनपुग्यो ? म स्वयंलाई थाहा नहोला तर यसको किस्सा मलाई थाहा छ । भलै, मेरो याददास्तमा नरहेरै पनि अरु कसैबाट मैले थाहा पाउनु परेको नै किन नहोस् !
सानोमा मलाई बोलाउने नाम के थियो ? मलाई थाहा छैन । हुनसक्छ, कान्छा, साने, भुन्टे, पुकुलेमध्ये कुनै एक । तर म कृष्ण हुँ भन्ने प्रमाण पहिलोपटक मैले नै जिकिर गरेको हुँ रे ! भलै म कृष्ण हुनुमा मामाको भूमिका महत्त्वपूर्ण नै किन नहोस् ।
मलाई उहाँको नाम थाहा थिएन । उहाँ मेरो कसरी मामा हुनु’भो ? त्यो पनि थाहा थिएन तर उहाँ मेरी ममीको दाइ वा भाइ भने पक्कै हुनुहुन्थेन । मेरो मावल दमक, उहाँको घर हाम्रोदेखि थोरै मात्र टाढा ।
जेहोस्, मेरो जिब्रोले मामा शब्दको उच्चारण गरेको पहिलोपटक उहाँलाई नै सम्बोधन गरेर हुनुपर्छ । सबै सम्बन्धहरु रगतले मात्र गाँसिएका हुँदैनन् । तर सम्बन्ध बलियो हुन के हुनुपर्छ ? मलाई थाहा छैन ।
कुरा मेरो नामको हो । सानोमा म अहिलेजस्तो सिकुटे थिइनँ रे ! त्यसको प्रमाणस्वरुप केही फोटाहरु अझै पनि छन् । कुनै सिर्फ स्मृतिमा, त कुनै बाकस र सिरानीमा ।
हाम्रो मगजको नक्सामा बसेका भगवान् कृष्णकै उपमा दिएर पहिलोपटक तिनै मामाले मलाई कृष्णको सम्बोधन गर्नुभएको हो रे ! मैले तोतेबोली बोल्दैदेखि ।
“मेरो भान्जाको नाम के हो ?”– एक दिन मलाई काखमा लिएर कलिला गालामा म्वाई खाइदिँदै मामाले सोध्नु भएछ । मामासँगै हुनुहुँदो रहेछ हजुरबुबा (जो मेरो स्मृतिमा सजिनुअघि नै संसारबाट बिदा हुनुभयो), ड्याडी, काइली र कान्छी दिदीहरू । मेनुका खै कता गएकी थिइहोला ? मलाई थाहा छैन ।
यही जोडी हालौँ, मेनुका र म एकै कोखबाट जन्मिएका हौँ भन्दा जो कोहीलाई पनि गाह्रो पर्छ । यदि अरू कसैले यस्ता हावादारी कुरा गरिहाल्यो भने मेरो त पारो नै चढ्छ । तर साँचो हो । मेनुका अर्थात् मेरी दिदी वैशाखलाई लिएर जन्मिएकी रे ! अनि मचाहिँ उही साल मेनुकालाई पछ्याउँदै फागुन मध्यमा । हिसाबै गर्ने हो भने ऊ मभन्दा ठीक १० महिना र १७ दिनले मात्र दिदी छे । खै, त्योबेला ड्याडी ममीलाई किन त्यति औधी हतार थियो ? मलाई थाहा छैन ।
“किछ्न !”– मैले तोतेबोलीमै फ्याटै भनिदिएछु । जुन मैले पहिलोपटक उच्चारण गरेको थिएँ रे ! र हो, त्यही दिनबाट घर परिवार र छरछिमेकमा मेरो औपचारिक नामकरण आफैँले गरेँ । कृष्ण ।
यो नामको कथा होइन । न नामको विशिष्टीकरण वा सामान्यीकरण नै हो ।
यो नामको कथा होइन । न नामको विशिष्टीकरण वा सामान्यीकरण नै हो ।
भन्नेले त भनिदिन्छन्– नाममा के नै पो राखेको छ र ?
हो, पनि । नाम फगत् अक्षरहरुको चिहान हो । हामी अहिले जुन चीजलाई बाटो भनेर चिन्छौँ । यदि त्यसलाई आदिकालबाटै हिमाल भनेर बुझिएको र बुझाइएको भए आज हिमालभन्दा हाम्रो दिमागमा सगरमाथाको उचाई नलागेर स्कूलबाट घरसम्मको दूरी छाउने पक्का थियो । सबै कुरा बुझाइकै त रहेछ ! तर खै किन हामी भातको बानी परेकाहरुको भोक पेटभरि खाँदा पनि पिज्जाले मेटाउन सक्दैन ! मैले बुझ्न सकेको छैन ।
बाल्यकालको स्मृति बहुत मूल्यवान् हुन्छ । बाल्यकालको हठ बहुत मासुम हुन्छ । र, किशोरवय हुँदै युवावस्थासम्म पनि व्यथित बाल्यकालको महत्त्व विशेष रहन्छ । बाल्यकालले किशोरवय अवस्थालाई एक पहिचान दिएको हुन्छ । र, त्यो पहिचानले पटक–पटक अनेक परीक्षा दिनुपर्छ । सुन्दा मात्र होइन, भोग्दा र सम्झदा पनि यी कुराहरु अति सामान्य लाग्छन् तर यसको प्रभाव जीवनमा विशाल हुन्छ । यो मेरो २५ को उमेर काटिसकेपछिको बुझाइ हो । तपाईंलाई खै के लाग्छ ? मलाई थाहा छैन ।
मैले आफ्नो पहिचान स्कुलको पहिलै दिनबाट त्यसरी अर्कै हुनपुग्छ भन्ने कहिल्यै सोचेको थिइनँ । अहँ, पटक्कै सोचेको थिइनँ । सायद त्यो सोच्ने उमेर पनि थिएन ।
स्कूल जाँदै गरोस्, पछि भर्ना गर्दिउँला भन्ने चलन त हिजोअस्तिबाट आएको हो । बोर्डिङहरुको विशाल आगमनसँगै । उनीहरुको विद्यार्थी थुपार्ने होडसँगै ।
त्यो बेला ड्याडी गएर भर्ना गराइदिनुभयो । भोलिपल्टबाट मेनुकाका हात समातेर मलाई पनि स्कूल पठाउनुभयो । अँ, संरक्षकको रुपमा अंकल पनि हुनुहुन्थ्यो । तर अंकलको मिजाससँग न मेरो बन्थ्यो, न त मेनुकाको नै ।
स्कूलको पहिलो दिन । स्मृतिबाट धेरै छायाहरु त ओझेल परिसकेका छन् तर पहिलो पिरियडको त्यो हाजिरी मलाई अझै ताजै छ ।
“दुर्गाप्रसाद ढुङ्गेल !”– पर्मिला मिसले यो अपरिचित नामलाई हाजिरीको बीचमा मिसाइदिनुभयो । कोही बोलेनन् । मिसले पुनः उही नामको उच्चारण गर्दै मलाई ‘एस मिस’ भन् भन्नुभयो । तर मेरो लागि त्यो नाम अपरिचित थियो । आजै मात्र मेरो आँखाले देखेका पर्मिला मिसभन्दा पनि अपरिचित । म कसरी बोल्न सक्थेँ ! बोलिनँ ।
“अब तेरो स्कूलको नाम यही हो । एस् मिस भन्,”– दिदीले चिमोट्दै भनी ।
मिसले सम्झाउनु भयो– “हेर् भाइ । अब तेरो नाम यही हो । अरुहरुले भनेझैँ तैँले पनि अब सधैँ एस् मिस् भन्नुपर्छ नि !”
मिस र नाम दुवै मेरा लागि अपरिचित थिए । मेरो आँखामा आँसु फुट्न एक निमेष पनि लागेन । अनुहारको रेखा बिग्रन झन् के समय लाग्दो हो र ! तर मेरो अनुहार त्यो समय कस्तो थियो ? अहँ, मलाई थाहा छैन ।
“मेलो नाम दुल्गा होइन्, किछ्न हो,”– अब मैले डाँको छोडेँ ।
निर्बल मान्छेहरुका आँसु किन शक्तिशाली हुन्छन् ? के बोल्न खोजिएको कुरा आवाज बन्न नसकेपछि आँसु बन्छ हो ? मैले बुझ्न सकेको छैन ।
मेरो स्कूलको पहिलो दिनको पहिलो दुई पेरियड आँसुमा बित्यो । त्यसपछि खै के केमा गएर मन अल्झियो । आँखा खै केमा पुगेर शान्त बने ? मलाई थाहा छैन ।
त्यसपछिका धेरै दिनहरुका लागि मेरो नित्यकर्म नै बन्यो । पर्मिला मिसले, ‘दुर्गाप्रसाद ढुङ्गेल’ उच्चारण गर्न नपाउँदै ‘मेलो नाम किछ्न हो’ भन्दै रुन थालिहाल्नु ।
मलाई मेरो नाम ‘दुर्गा’ नभएर कृष्ण नै हो भन्ने पक्का थियो । तर दिदीको नाम भने मेनुका नभएर उमा हो भन्ने कुराको ज्ञान भने एक महिना नबित्दै पत्तो पाइसकेको थिएँ ।
‘दुर्गा’को उच्चारण गर्नुभन्दा ठीकअगाडि मिसले उमाको उच्चारण गर्नु र उमाको उच्चारणसँग मेनुकाले ‘एस् मिस्’ भन्नु त्यसको प्रमाण थियो । र, मिसले उमाको उच्चारण गरेसँगै रुन सुरु गरिहाल्नुपर्छ भन्ने कुराको पनि ममा ज्ञान पलाइसकेको थियो । खै किन मान्छे अरुलाई स्वीकार्नुभन्दा आफैँलाई स्वीकार्नु गाह्रो मान्छ ? मलाई थाहा छैन ।
सायद ड्याडीलाई थाहा थियो, मेरो नाम बदल्नुभन्दा मन बदल्नु सहज कुरो हो । नामै बदल्नु पनि कुनै गाह्रो कुरो होइन, जम्मा एउटा जन्मदर्ताको कुरो हो । यो मेरो अहिलेको बुझाई हो तर ड्याडी त्यत्तिका बुझ्ने भएर पनि यति कुरा खै किन बुझ्नुभएन ? मलाई थाहा छैन ।
नामै बदल्नु पनि कुनै गाह्रो कुरो होइन, जम्मा एउटा जन्मदर्ताको कुरो हो ।
“हेर् छोरा, हाम्रो घर्का सबैको नाम दुइटै त हुन्छ नि ! तेसैले तेरो पनि दुइटा भ’को । भोलिदेखि नरुनू है !”– स्कूलको करिब एक महिना कटेपछि जेठ महिनाको एक साँझ ड्याडीले मलाई काखमा लिएर भन्नुभयो ।
मलाई ममीको काखको अनुभव मनग्य थियो तर स्मृतिमा सजिनेगरी ड्याडीको काखमा म उति रमाएको थिइनँ । बरु उहाँको काख मेनुकाका लागि भने सुपरिचित थियो । मलाई त्यसरी ड्याडीको काखमा रहँदा कतै बिझाए जस्तो, कतै चिलाएजस्तो भयो । खै किन आमाको काखजस्तो सजिलो हुँदैन बाबुको काख ! मलाई थाहा छैन ।
हुन पनि हो । ड्याडीको कुरा ठीक थियो । हाम्रो घरमा सबैको नाम दुइटा नै थियो । केवल ममीको छोडेर ।
ड्याडीको पुष्कर र प्रेम, अंकलको राम र रुद्र, कान्छी दिदीको कान्छी र शान्ता, अनि मेनुकाको उमा पनि । तर किन ममीको नामचाहिँ मुनामात्र ? म ममीमा गएर अल्झिएँ । रुन्चेस्वरमा भनेँ– “अनि किन ममीको चाहिँ एउटा मात्रै ?”
“तेरो ममीको नाम पनि दुइटा नै त छ नि ! मुना र काली । हैन त काली !”– ड्याडीले ममीतिर आँखा सर्काएर भन्नु भयो । उहाँले त्योभन्दा पहिले र पछि ममीलाई आँखा सर्काउनु भयो कि भएन होला ? मलाई थाहा छैन ।
तर जेहोस्, आंशिक रुपमै भए पनि म ड्याडीको कुरामा सहमत भएँ । मैले अपरिचित नाम ‘दुर्गाप्रसाद’लाई आफ्नो पहिचानमा सानो ठाउँ दिएँ ।
म स्कूलमा शिक्षकको लागि दुर्गा भएँ । साथीहरुका लागि दुर्गे । नामाकरणका मद्दत गर्ने मामाका लागि कृष्ण भएँ । गाउँघरमा किस्ने । म आफ्नै लागि के भएँ ? थाहा छैन ।
अब मलाई दुई नामबीचको उल्झन सुरु भयो । उल्झन त त्यही दिनबाट सुरु भएको थियो, जुन दिन म पहिलोपटक स्कूल पुगेको थिएँ । तर त्यो उल्झनबारे म अन्जान थिएँ । तर त्यसपछिका उल्झनहरु भने मेरो लागि तीता भोगाई थिए । ऊ बेलाका तीता भोगाई पनि अहिले किन मीठा स्मृति बनेर मुस्कुराउँछन् ? मलाई थाहा छैन ।
मलाई दुवैको नामको बानी पर्दैगयो । एकातिर म किस्ने भएर मुस्कुराउन थालेँ भने अर्कातिर दुर्गे भएर । कृष्णबाट किस्ने हुनुपर्दा मलाई लाग्थ्यो– किस्ने भन्नेहरुको मति सुध्रिए पनि हुने नि ! किन यति राम्रो नामलाई बिगारेर किस्ने भन्नुपरेको होला ! फेरि सँगैमा अर्कोतिर भने दुर्गालाई एकलखे लगाएर दुर्गे भनेको मलाई मलाई मन पर्थ्यो । खै किन उपसर्गको पनि दुई नाममा जोडिँदा फरक संवेग उत्पन्न हुन्छ ? मलाई थाहा छैन ।
दुर्गा अर्थात् स्त्रीवाचक नाम । देवी दुर्गा पनि स्त्री नै थिइन् र पोख्रेल बाहुनकी छोरी दिदी दुर्गा पनि स्त्री नै तर म स्त्री थिइनँ । म त जन्मजात पुरुष थिएँ । मेरा संवेग र भाववेगहरु पुरुषका थिए । मेरा विकासोन्मुख अंगप्रत्यंगहरु पनि पुरुषका जस्तै थिए । तर दुर्गा स्त्रीवाचक नाम थियो । दुर्गा दिदीलाई गाउँघर तथा साथीभाइ दुर्गी भन्थे तर म दुर्गे थिएँ । दुर्गे हुनुमा पुरुषार्थको रवाफ झल्किन्थ्यो, जुन दुर्गा मात्र हुनुमा थिएन ।
हो, दुर्गा मात्रको सम्बोधनले मेरो पुरुषार्थमाथि धावा बोल्थ्यो । स्त्रीको स्वर बोल्थ्यो । खै किन आफू पुरुष भएकोमा गर्व गर्नेहरुलाई एकपल पनि स्त्री हुनुमा हीनताबोध हुन्छ ? कसैले स्त्रीको संज्ञा भिराइदिनु लाज, सरम र रिसको कारक बन्छ ? मैले बुझ्न सकेको छैन ।
जन्मदर्ता, हाजिरी कापी, मार्कसीट तथा अन्य प्रमाणपत्रहरुमा म दुर्गाप्रसाद भएँ । प्रसादले मलाई पुरुषवाचक बनाइदियो । कहीँ कसैले मलाई स्त्रीवाचकको संज्ञा दिन सकेनन् । किनकि म हाजिरी कापीमा दुर्गाप्रसाद थिएँ । साथीबीचमा दुर्गे । दुवैले पुरुष हुनुको भरपुर प्रमाण पेस गरिरहेको हुन्थ्यो । हो, मलाई पुरुष कहलाउनुमा गर्व थियो । जुन गर्व महिला वा स्त्री हुनुमा कति पनि थिएन । मान्छे खै कि महिलासँग गर्भ सोच्छ तर महिलामाथि गर्व गर्न सक्दैन ? मलाई थाहा छैन ।
म स्कूलमा शिक्षकको लागि दुर्गा भएँ । साथीहरुका लागि दुर्गे । नामाकरणका मद्दत गर्ने मामाका लागि कृष्ण भएँ । गाउँघरमा किस्ने । म आफ्नै लागि के भएँ ? थाहा छैन ।
नामको पनि अध्याय हुँदोरहेछ है ? मलाई थाहा थिएन ।
आठ कक्षामा आइसकेपछि नाम फेर्न मिल्छ वा प्रमाणपत्र तथा मार्कसिटका लागि पनि कृष्ण नै बनाउन मिल्छ भन्ने कुरा पनि थाहा नभएको भने होइन तर मलाई फिक्री थिएन । म दुर्गा कहाँ थिएँ र ? म महिला कहाँ थिएँ र ? म त दुर्गाप्रसाद थिएँ । बरु दुर्गे थिएँ । हो, म त पुरुष थिएँ ।
कक्षा आठमा कक्षा शिक्षक हुनुहुन्थ्यो देवराज सर । अर्थात् गणित शिक्षक । आठको रिजल्ट उहाँले नै सुनाउने पक्का थियो । बढ्ने पनि उहाँले नै त हो । आठको रिजल्टले एकैपटक दुई कुरा बोकिल्यायो । एउटा खुसी भने अर्को विस्मात ।
आठ कक्षामा आएर म पहिलो पटक तेस्रो भएँ । जिल्ला स्तरीय परिक्षामा तेस्रो भएँ । जुन सबैका लागि अचम्मको विषय बन्यो । म तेस्रो बन्छु भन्ने मलाई नै एकरत्ति भर थिएन, अरुलाई झन् के थियो होला र ? भर होस् पनि कसरी, म सातबाट कुनै पोजिसन लिएर आठमा पुगेको थिइनँ । पास भएको मार्कसीट बोकेर मात्र पुगेको थिएँ । तर म आठमा पहिलो पटक थर्ड भएँ । कसरी भएँ ? मलाई थाहा छैन ।
स्कूलमा म दोस्रो भने धेरै पटक भएको छु । आठभन्दा पछि र अघि पनि । तर तेस्रो फेरि कहिल्यै भइनँ । जस्तो प्रथम फेरि कहिल्यै हुन सकिनँ । मान्छेले खै किन आफू जे हुनसक्दैन त्यसैमा अल्झिएर जिन्दगी व्यथित गर्छ ? मलाई थाहा छैन ।
एकातिर म पहिलोपटक तेस्रो भएँ भने अर्कोतिर मेरो नामबाट प्रसाद हराइगयो । अब म दुर्गामात्र भएँ । साथीभाइका लागि त दुर्गे नै थिएँ, तर कागजमा जोडिएको मेरो पुरुषार्थ व्यर्थ गयो । सर पुजारी, कक्षा आठको जिल्लास्तरीय मेरा लागि सत्यनारायणको पूजाजस्तो भयो ।
नाम जेहोस्, कक्षा बढ्यो । हाम्रो स्कूल हाइस्कूल थियो । वरपरका निम्नमाध्यमिक विद्यालयबाट पनि विद्यार्थीहरु नौ कक्षाका लागि हाम्रै स्कूल आउथेँ, आए । त्यसरी आउँदा तीन वटा स्कूलका फर्स्ट, सेकेण्ड र थर्ड भेला भएका थिए । नौ कक्षाको रिजल्टको अघिल्लो दिन दुई पटक हिसाब गरेँ । सान्त्वना पुरस्कारको व्यवस्था भए त्यसकोसम्म आस पालेँ । र भोलिपल्ट रिजल्ट लिन स्कूल पुगेँ ।
झमक सरले कक्षा एकदेखि रिजल्ट भन्दै आउनथाल्नु भयो । फस्ट, सेकेण्ड र थर्डकोचाहिँ त्यही हलमा प्रिन्सिपलबाट अबीर र टीका लगाइवरी दिइने र बाँकी चाहिँ कक्षा शिक्षकले कक्षामा लगेर दिने भनिएको थियो । समानता र सहअस्तित्वको पाठ पढाइने स्कूलमै खै किन अंक र श्रेणीको आधारमा विभेद गरिन्छ ? मैले बुझेको छैन ।
त्यसैअनुरुप झमक सरले उद्घोष गर्दै हुनुहुन्थ्यो । कक्षा नौको पालो आइपुग्यो । सान्त्वनाको व्यवस्था थिएन । मैले आफ्नो आस र भरोसालाई थर्डमा अड्याएर बसेँ । तर, अहँ, बेकार बन्यो । म खङ्ग्रङ्ग भएँ तर लामो सास लिएर थोरै हिम्मत जुटाएँ र दोस्रोको लागि पनि आस बटुलेँ । तर थर्डका लागि जति होइन ।
“नौ कक्षामा दोस्रो हुन सफल भएका छन्, भाइ देवराज आचार्य,” झमक सरले अरु पनि खै के के भन्नु भयो, मैले वास्ता गरिनँ । किनकि मलाई फस्ट हुन्छु भन्ने कत्ति पनि थिएन । अझ असम्भव नै थियो । मेरो अनुहारको भाषा फेरियो । रातो न पीरो भएँ । नीलो न कालो भएँ । तर केहीबेरमा झमक सरको अवाज कानमा ठोक्कियो, “र, बराबर अंक ल्याएर दोस्रो नै हुन सफल भएका छन् भाइ दुर्गा ढुंगेल ।”
म दोस्रो भएको थिएँ फेरि पनि । योभन्दा पहिले तीनमा पनि भइसकेको हुनाले दोस्रो हुनु मेरो लागि प्रथम र तेस्रो हुनुजस्तो गाह्रो काम रहेन अब । दोस्रो हुनु सजिलै भए पनि म बहुत गाह्रो गरी भएँ । गाह्रो गरी केही पाइन्छ भने त्यसले किन खुसीका आँसुले रुवाउँछ ? मलाई थाहा छैन ।
एकातिर म सेकेण्ड भएँ, अर्कातिर मेरो कानले केही अप्ठ्यारो नाम पहिलोपटक सुन्यो । भाइ दुर्गा ढुङ्गेल ! दुर्गा त बहिनी पो हुन्छ ! भाइ त दुर्गाप्रसाद हुन्छ, दुर्गे हुन्छ । हो, मलाई खुसीका बीच पनि नामले फेरि एकपटक कठिन मोडमा छोडिदियो । फरक यत्ति थियो, एक कक्षामा म निष्फिक्री रुन सक्थेँ । दशमा पुगिसकेको मान्छे रुन मिल्दैन थियो । उमेर किन अभिव्यक्ति तथा संवेग सम्प्रेषणमा बाँध बनेर खडा हुन्छ ? मलाई थाहा छैन ।
दशमा दुगेपछि बिर्तामोडको एक स्कूलव्यापी जिल्लास्तरीय कविता प्रतियोगितामा कविता बोकेर म, प्रकाश, अनिशलगायत डेनियल होटल पुग्यौँ ।
“त्यहाँ त केही नहुँदा पनि भत्ता दिन्छन् । खाजा पनि त्यहीँ हुन्छ । हामी फाइदामै छम् । बुझ्यौँ,”– बुझेकै कुरो प्रकाशले बुझायो ।
हुन पनि हो, खाजाको लागि पैसा त हामीलाई स्कूलले नै दिएको थियो । खाजा पनि दिँदा त स्कूलले दिएको पैसा पनि बच्ने । भत्ता त छँदै थियो ।
कविता वाचन सुरु भयो । अरुको वाचन सुनिरहँदै अनिश र मैले थाहा पायौँ, हामी केवल भत्ता र खाजाको लागि मात्र आएका हौँ तर प्रकाश गएर वाचन गरेपछि भने पक्का भयो, हामी ग्रुपको सान प्रकाश हो ।
प्रकाश वाचन सकेर आएर कुर्सीमा नबस्दै उद्घोषक बोले, “अब मञ्चमा आएर आफ्नो कविता वाचन गरिदिनुहुन म दुर्गा ढुंगेललाई बेलाउनु चाहन्छु ।” म आफू बसेको ठाउँबाट उठेको मात्र के थिएँ, उनले थपे, “बहिनी दुर्गा ढुंगेल…” त्यसपछि अरु उनले खै के–के भने तर म भने जस्तो उठेको थिएँ, त्यस्तै थ्याच्च कुर्सीमा बसेँ ।
“बहिनी होइन सर, भाइ हो,” प्रकाश करायो । उद्घोषकले केही सोचेको र बुझेको जस्तो गरेर फेरि भने, “माफ गर्नुहोला, भाइ दुर्गा ढुंगेललाई म आफ्नो कविता वाचन गरिदिनुहुन अनुरोध गर्छु ।”
म पुनः उठेर कसरी स्टेजमा पुगेँ, कसरी र कुन कविता वाचन गरेँ र फेरि कसरी फकिएर बेन्चमा आएर बसेँ ? मैले केही पत्तो पाइनँ । म मनमात्र होइन, खुट्टा पनि कामिरहेको थियो । तर किन ? थाहा छैन ।
जेहोस्, प्रकाशले चौथो अर्थात् सान्त्वना पुरस्कार पायो । एक हजार । हामीले दुई सय पायौँ । मेरो नामलाई जोडेर फर्किदा भाइ र बहिनीको कुरा कसैले निकालेनन् । सायद उनीहरुको आँखैअघि थियो मेरो मनोदशा ।
त्यसपछि कहीँकतै पनि हाजिरी कापीमा मेरो नाम लेखिएन वा लेख्नुपरेन । लेख्नु परे पनि कक्षामा एस सरको रटान लगाउनु परेन । बरु नागरिकता बनाउँदा त्यहाँ लेखियो, दुर्गा ढुंगेल र लिंगमा लेखियो पुरुष । हो, नागरिकताले पनि मलाई पुरुष भन्यो । मलाई अब पुरुष हुन दुर्गाप्रसाद वा दुर्गे हुनुपर्ने भएन ।
एसएलसी सकेपछि म नामको उल्झनमा पर्नु पनि कम पर्यो । एकदम नगन्य । लगभग मलाई मेरो नागरिकताको नामको काम फर्म भर्दा, भोट हाल्दा र कलेज भर्ना हुँदा तथा लाइब्रेरीबाट किताब निकाल्दा मात्र आयो ।
मेरो जिब्रोले कृष्ण फड्कार्न भने कहिल्यै छोडेन । स्नातकमा पुगेपछि स्कूलका साथीहरु धेरै छुट्टिए । नयाँ परिचित साथीसँग दुर्गा गौण बन्यो । कृष्णले प्राधान्य पायो । म मात्र कृष्ण बने ।
जब स्नातकोत्तर पुगेँ । फेरि एस् सरको रटान लगाउनुपर्ने भयो । कक्षामा सरले पहिलो दिन मेरो नाम उच्चारण गरिरहँदा अर्काको मुखामुख हेरेँ । मेरो नामलाई लिएर मलाई सबैको वास्ता थियो तर खासमा मेरो नामको बारेमा अरुलाई उति वास्ता नहुँदो रहेछ ।
तीन दिनदेखि सरले नाम नभई रोल नम्बर मात्र उच्चारण गर्न थाल्नुभयो । सायदै मभन्दा खुसी कक्षामा अरु कोही थियो !
साथीहरुसँगको परिचयमा मैले कृष्णकै हात मिलाएँ । कतिले दुर्गालाई पनि चिनेका थिए, कतिले थिएनन् । केही दिनमा एक स्त्री उही राधासँग परिचय हुनपुग्यो ।
“अहिलेसम्म कति पटक गरिसक्नु भो आफ्नो न्वारन ?” राधाको यो प्रश्नको मसँग कुनै उत्तर थिएन । हो, मसँग आफू कृष्ण हुनुको प्रमाण थिएन, छैन पनि । तर म त्यही नाममा आफूलाई भेट्छु । दुर्गा भइरहँदा म आफैँले आफैँलाई बिर्सिरहेको हुन्छु ।
हो, आजसम्म आफ्नो परिचयमा मेरो जिब्रोले दुर्गा फड्कारेको छैन । कसैले दुर्गाको सम्बोधन मलाई नै गर्दैछ भने पनि त्यो म होइनझैँ लाग्छ । मलाई थाहा छ, देशले, कानुनले तथा कुनै जागिरलेसम्म मलाई स्वीकार्न पनि म दुर्गा बन्नु पर्छ तर मेरो जिब्रो र कानलाई खै किन कृष्णको बानी परेको छ ? मलाई थाहा छैन ।
मलाई यो चाहिँ थाहा छ, अरु केही नभए पनि नाममा कानको सुकून भने पक्कै छ । मनको महसुस भने पक्कै छ । नाममा केही त पक्कै हुन्छ । नत्र किन यस्तो हुन्छ ?
समानता र सहअस्तित्वको पाठ पढाइने स्कूलमै खै किन अंक र श्रेणीको आधारमा विभेद गरिन्छ ? मैले बुझेको छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।