ध्यानाकर्षण गराउनझैँ कसैद्वारा म कुमतिर सुस्तरी छोइएँ । मुन्टो घुमाएर हेरेँ -देख्तै घीनलाग्दी एक युवतीले दुई हात जोडेर मलाई नमस्कार गरिरहेकी थिई ।
अप्रत्याशित र अपरिचितखालको नमस्कारलाई प्रथमतः मैले नमस्कार फर्काइदिएँ ।
ऊ मुस्क्राई ।
हिँड्दा-हिँड्दै सरसर्ती नियालेँ- आकर्षणहीन थिई ऊ । कोरीबाटी नगरिएको- जिग्रिङ्ग परेको कपाल । लगाएदेखि पानी नपाएजस्ता थाङ्ना प्रकारका लुगा । सर्वत्र मयलको साम्राज्य । एक्काईस, बाईसजस्तो उमेर । फोहोरमा टल्केको काँचको टुक्राजस्तै देखियो उसको मुहारमा प्रकट भएको एक धर्सो मुस्कान ।
“यो उमेरकी तरुनीको यो रूप !” उसलाई हेर्दै म घोरिन थालेँ । कि सौन्दर्यले कि विद्रूपताले मान्छेलाई बलात् आकर्षण गर्दोरहेछ क्यार ।
मेरो हेराइले कुतकृतिएर हो वा केले हो ऊ बाटोसँगै जोडिएको पाटीमा बत्तीको तरङ्गजस्तै उक्ली र खित्काहरू दबाउँदै मुस्कुराइरही ।
“लाटी हो । पाटीमा बस्छे । भाँडासाँडा माझेर पेट पाल्छे। कुनै नयाँ आगन्तुक- जसलाई उसको मनले खान्छ – त्यस्तालाई ऊ नमस्कार गर्छे। आफ्नो घीनलाग्दो अवस्थामाथि अरूले घीन मानेको चाल पाई भने त्यस्तोलाई उ हेर्दा पनि हेर्दिन । बरु मुर्झाइरहन्छे। यो घीनलाग्दो रुप नै उसको रक्षाकवच पो हो कि! नत्र यो कति असुरक्षित हुँदी हो । साँच्चै,
लाटीले त मङ्गलजी तपाईंलाई पत्याई । हेर्नु त अझै कसरी मुस्कुराइरहेकी छे ।” बृहस्पतिको भनाइमा समर्थन जनाउँदै हाँस्न थाले उपकार । म पनि साथ दिन थालेँ। फर्की-फर्की उसलाई हेँदै हामी अगाडि बढ्यौँ ।
भोलिपल्ट लगभग त्यस्तै समय पारेर म त्यतै निस्केँ ।
मलाई देखेर ऊ चहकिली भई । नमस्कारका लागि फेरि उसका हातहरू उठे। आँखाहरू उज्याला भए । अधरमा फेरि काँचको टुक्राजस्तो उही मुस्कान देखापर्यो ।
“ल् ! साबुन किनेर नुहाइ-धुवाइ गर्नू !” पचास रूपियाँको नोट झिकेर अगाडि बढाएँ।
उसले हात हल्लाएर ठाडै अस्वीकार गरी । सारीको फुर्कोको गाँठो खोलेर देखाई -खुम्चिएका केही नोटहरू । इसाराले भनी -“यी पैसा ! म माग्ने होइनँ । काम गरेर खान्छु ।”
म झस्केँ। मेरो झस्काइ बिस्तारै तिखो र गहिरो हुँदै गयो । “कहीँ उसलाई हियाउन त पुगिन म ! सासैपिच्छे उपेक्षा भोगिरहेकी यो लाटीको थप उपेक्षा त भएन मबाट ? आफूप्रति कत्रो आत्मसम्मान रहेछ यसको !” भन्ठान्दै प्रकटमा भनेँ – “तिमीसँग पैसा छैन भनेर होइन । मैले दिएको सानो चीजले केही सहयोग पुगोस् भनेर मात्रै ।”
उसले हात जोडी । करुणामय आँखाले मलाई हेरी । र, रुँला-रुँलाजस्तो गरी।
“उसको घाउलाई अरू बढी कोट्याएर पीडा पुर्याउनु ठीक छैन’ भन्ने लाग्यो । “फेरि भेटौँला” भन्दै म त्यहाँबाट हिँडेँ ।
बाटोमा सोच्न थालेँ – मान्छेलाई बुझ्नै गाह्रो छ । एकथोक सोच्यो, अर्कैथोक भइदिन्छ । लाटी त्यस्तै निस्की । देख्दा त्यति निरीह छे, तर त्यसमा त्यत्रो आत्मसम्मान पनि छ । त्यही नै उसको जिउँदोपन पनि हो कि । बोलीको असुविधा उसको वशको कुरा थिएन । तर त्यही कमजोरीले ऊ संसारलाई चुनौती दिइरहेकी छे । संसारका सारा शत्ति, वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई हाँक दिएर ऊ बोलीको असुविधा जिइरहेकी छे। आविष्कारले संसारलाई छक्क पार्नेहरूले लाटीलाई बोली दिन किन नसकेका होलान् ! जिब्रो वा वाक्अवयवहरूको आविष्कार किन हुन नसकेको होला ? कति समय लाग्ला त्यो आउन ? तैपनि उसले जीवनलाई जस्तो छ त्यस्तै स्वीकार गरेकी छे । यो स्वीकार नै उसको जियाइ हो । उसलाई बोली प्रदान गर्न पाए कस्तो हुँदो हो । तर मलाई थाहा थियो – त्यो दिन बझै आइसकेको थिएन ।
हो, बोली त म उसलाई दिन सक्तिनथेँ, तर म जे दिन सक्थेँ त्यसको लागि म तयार थिएँ त ! यहाँ आएर म दोधारमा पर्न थालेँ।
भोलिपल्ट म के-केमा अल्झिरहेँ त्यता निस्कन सकिनँ । पर्सिपल्ट बिहान जब म त्यहाँ पुगेँ – उसलाई देखेर फेरि म आश्चर्यमा परेँ । कुरा के भने ऊ नुहाई-धुवाई, कोरीबाटी चिटिक्क परेर बसेकी । मलाई देख्नेबित्तिकै प्रदीप्त भई । दुई हात जोड्दै उठी – मुस्कुराउँदै, खिलखिलाउँदै । मसँग आँखाहरू जुधाई । म हेरेको हेर्यै भएँ। भनेँ – “तिमी त साह्रै राम्री भइछौ !”
उसले आफूलाई नियाल्न थाली । मेरो एकोहोरो हेराइले छाइएझैँ मुन्टो निहुराई । भुइँ कोट्याउन थाली । घरीघरी आँखा उठाएर मलाई हेर्दै पनि गई । उसमा लज्जामिश्रित भावहरू देखा पर्न थाले ।
“तिमीलाई पढ्न आउँछ !”
उसले अस्वीकारमा टाउको हल्लाई ।
“तिम्रा बा-आमा छन् !”
उसले छैनन्मा टाउको हल्लाई ।
“तिम्रा दाजुभाइ छन् !”
उसले इन्कारमा टाउको हल्लाई ।
“घर ?”
फेरि उसले अस्वीकारमै टाउको हल्लाई ।
“बिहे भएको छ ?”
फेरि पनि उसले टाउको नै हल्लाई । अस्वीकृतिको यामानको टाउको ।
“गछर्यौ त ?”
उसको बोली नै हेराइ थियो, मलाई हेरिरही । काँचको टुक्राले जस्तै । विस्मृतझैँ देखिई । दृष्टिमा दूर कहाँबाट अकल्पित सपनाले चियाउन थालेझैँ ।
उ जसरी जिइरहेकी थिई – त्यो जियाइमा लोग्ने पाउने सपना, मानवोचित जीवन जिउने चाहना, कल्पनाजस्ता कुराहरू साह्रै निर्धा भएर उसँगै घिस्सिँदै आइरहेका थिए। ती कुराहरू उसमा बौरिँदै आए भने उसको जीवनको रङ्ग कस्तो होला ! उपेक्षा र तिरस्कारले थिचिएका दमित भावहरू पुन: जागृत भएर आफ्ना मागहरू अघि सारेपछि लाटीले तिनलाई केदेली ? कस्तो जवाफ फर्काउली ! साँच्चै, ममा पहिलेदेखिको जुन कृतकुती थियो त्यो झनै बढ्न थाल्यो – उसको सुषुप्तिलाई बिथोल्ने । शून्यतालाई खलबल्याउने । सुनसान जीवनमा खैलाबैला उत्पन्न गरिदिने ।
“तर तिमीले आफूलाई लायक बनाउनु पर्छ ।” भनेँ मैले ।
निरीहताले उसले मलाई हेरिरही ।
“तिमीले चाहे हुने कुरा हो ।”
एउटा अविश्वस्तभाव प्रकट भयो सायद उसमा ।
यसपछि कृतकृतिँदै, रङ्ग मान्दै, हेरुँ न त भन्दै पाटीबाट उठाएर उसलाई मैले क्रमश: अगाडि डोर्याउन थालेँ । आफ्नो डेरानजिक बस्ने व्यवस्था मिलाइदिएँ । पकाउने, लुगा धुने, भाँडा माझ्ने कामदारको मलाई जरुरी थियो । ती कुरा उसलाई जिम्मा लगाएँ। स्कूलमा भर्ना गरिदिनुभन्दा प्रौढ-कक्षा उसको लागि उपयुक्त हुनेजस्तो लाग्यो । ऊ पढ्न थाली । लाउने, खाने, बोल्ने, अरूसँग व्यवहार गर्ने लगायतका कुरा उसलाई सिकाउँदै गएँ । आइमाई त्यसमा पनि तरुनी भएको कारणले यी सबै कुरामा मेरो रुचि बढ्दै गयो। त ऊ ताछिँदै, तिखारिँदै, परिमार्जित हुँदै, धेरै कुरा सिक्दै एक सालाखाला युवतीझैँ देखा पर्न थाली । काम, दाम, माम । एक किसिमले आत्मनिर्भर पनि भई । छोटै अवधिमा, त्यो ठाउँमा उ आकर्षणको केन्द्र र चर्चाको चीज हुन थाली ।
एकदिन, ऊ मलाई भात खान दिँदै थिई । निहुरी पर्दा उसका उत्तप्त उरोजहरू उदाझ्गिएर चियाउँदै थिए। मेरो दृष्टि सदाझैँ त्यहाँ पर्यो। ममा उसप्रति अनुराग हो वा यस्तै कुनै एक उद्देगजन्यभाव जागृत भएर मलाई झक्झक्याइरह्यो । तिखा आँखाले उसलाई मैले निहालिरहेँ । यो कुरा उसले पनि चाल पाई । हाम्रा आँखा जुधे । हामीले एकार्कालाई हेर्दै र्याल काड्न थाल्यौँ । यसपछि मलाई थपिने चीजसँगै उसका हात काम्न थाले । “कति राम्री देखिएकी तिमी आज !” भनेँ मैले । ऊ झनै राम्री देखिन थाली ।
बोलीको असुविधाबाहेक उसँग मलाई कुनै त्यस्तो असुविधा थिएन । बरु मलाई डर थियो – कहीँ म बहकिएर उसको आत्मसम्मानमा चोट पुग्ने कुनै काम गर्न पुग्ने त होइनँ ! उसमा जिउनुप्रति जुन तरङ्गहरू उत्पन्न भइरहेका थिए तिनमा कुनै व्यवधान नपुर्याउनु र हीनभावनाले ग्रसित हुन नदिनु पनि मेरो अभीष्ट थियो । ऊ जुन हिसाबले मप्रति अनुरक्त र अनुगृहीत थिई त्यसबाट उसलाई उखेल्दा ओइलाउनु बाहेक के नै बाँकी रहन्थी र ऊ? म विभिन्न तर्क र पुरुषजन्य संवेगहरूमा उनिँदै थिएँ । मन उघारेर उसले देखाउन सकेकी थिइन । म आफै उसको मनको भित्री तहसम्म पुगेर ठम्याइहाल्न पनि समर्थ थिइनँ । यस्तो बेला भाषा जुन सहायक हुन सक्थ्यो त्यो सुविधा उपलब्ध थिएन । उसलाई बिहेको लोभ देखाउने मेरो कुरा त्यतिबेला एक प्रतीकमात्रै थियो । त्यसैले उ तानिएकी पनि थिई । अर्को अप्ठ्यारो के थियो भने म एनजीओसँग गाँसिएर जुन काम लिई यहाँ आएको थिएँ त्यो अवधि पुग्न लागेको थियो । फर्कने बेला नजिकिँदै थियो । लाटीको सोचाइ र चिन्तनमा म रुमलिँदै थिएँ ।
एकदिन बेलुका ढिलो गरी म कोठामा आएँ । निश्चित थियो उसले मलाई कुरेर बस्नु । ढोकाबाट चिहाएँ – ऊ मेरो ओच्छ्यानमा सुतेकी थिई । चालमार्दै भित्र छिरेँ। नजिकै पुगेर उभिएँ । ऊ निदाएकी रहिछ । उत्सुकताले एकोहोरो उसलाई मैले जब नियाल्न थालेँ तब ममा एकखालको उत्तेजना ह्वात्तै उम्लेर आयो । मुटु ढुकृढुक् गर्न थाल्यो । ओछ्यानमा बसेँ । उसलाई चुप्न लालायित भएँ निहुरिएँ म … ।
यतिबेलै उ मेरो सान्निध्यले ब्यूँझन पुगी । सजग हुँदै उठी । ओछ्यानबाट तल हामफाली र क्वारक्वार्ती मलाई हेर्न थाली ।
उसको हेराइमा के थियो ? आक्रोश ? आश्चर्य ? आकस्मिकताको सामना गर्नुपर्दा उत्पन्न हुने भाव ? असहमति ? यद्वा … ? मैले ठम्याउन सकिनँ । भनेँ – “किन तर्सेको ! आउ, बस यहाँ !”
ऊ के गरोस्, भाषा त उससँग थिएन । अनुहारमा उत्पन्न भावाकृति थियो । बढ्दो श्वास-प्रश्वास थियो । एकोहोरो हेराइ थियो । शरीरको माग र चाहना जे भए पनि शरीरभन्दा अगाडि सर्ने मन पनि त थियो। तर त्यो कस्तो थियो ? कि त्यो त्यहाँ लक्ष्मणरेखा भएर तेर्सिदिएको थियो ? म जान्न खोज्दै थिएँ । उसले अन्तत: आँसुको त्यही अस्त्र सोद्देग उचाली जुन नारीहरूले सदा र सर्वत्र उचाल्ने गर्छन् ।
म उठेँ सान्त्वना दिनझैँ ।
तर उ आद्रताले हेर्दै, हानिँदै त्यहाँबाट बाहिरिन खोजी ।
उसको हात समाउँदै भनेँ – “यहाँबाट अब म जाँदै छु ।”
उसका पाइला थामिए । उ ट्वाल्ल परी । अनुहारमा क्रमश: परिवर्तन देखा पर्यो। ‘जे त पर्ला !’ भनेझैँ ऊ रोकिई । साँच्चै नै रोकिई।
‘अब !’ आफैंसँग मैले प्रश्न तेर्स्याएँ । सधैँ प्रश्नहरूले सजिलै उत्तर भेट्टाउन सक्तारहेनछन् । म एक किसिमले निरुत्तर जस्तै बनिरहेँ ।
केही बेर हामी दुवैले एकार्कालाई हेरिर्यौँ ।
अन्तत: लाटी कृतकृतिँदै, दबेका खित्काहरूसहित त्यहाँबाट बाहिरिई । र, अँधेरोमा क्रमश: विलीन भई । खै किन हो मैले उसलाई रोक्ने चेष्टा गरिनँ ।
भोलिपल्ट बिहान ढिलो गरी म उठेँ । नित्यकर्मबाट निवृत्त भएँ । र, “जानु अघि एकपटक डाक्टर मकरलाई भेटेर बिदा भई आउँ क्यार” भन्दै उसको निवासमा पुगेँ । कुराकानीसँगै चियापान गरेर म हिँड्न खोज्दै थिएँ । मकरले भने – “तपाईंले त्यो लाटीको त्यसरी चोला फेरि दिनु भयो । तर त्यो त … !”
“के… ?”
“एच.आई.भी. पोजिटिभ रहिछ !”
मैले डाक्टरलाई हेरिरहेँ ।
“उससँग तपाई चुक्नु भएको त छैन !”
मुस्किलले मुस्कुराएँ । र, त्यहाँबाट बिदा भई हिँडे म।
बाटोमा एउटा मोडमा लाटीसँग जम्काभेट भयो ।
दयार्द्र भएर तर आक्रोशमिश्रित आँखाले उसलाई हेरेँ –
केही नभएझैँ उ मुस्कुराइरहेकी थिई । काँचको कुनै टुक्राजस्तै । प्रश्न, जिज्ञासा र चुनौती भएर।
।
पाँच पुस्तक लेखिसक्नु भएका गौतमले अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।