ग्याब्रियल गार्सिया मार्खेज

ल्याटिन अमेरिकी राज्य कोलम्बियाका उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेज बिसौँ शताब्दीका एक चर्चित उपन्यासकार हुन् । उनले सन् १९८२ को नोबेल पुरस्कार प्राप्त गरेता पनि नोबेल पुरस्कार प्राप्त गर्ने उनी पहिलो ल्याटिन अमेरिकी लेखक भने होइनन् । यस अघिनै चिलीका कवि ग्याब्रियला मिस्त्राल(१९४५) र पाब्लो नेरुदा(१९७१) तथा ग्वाटेमालाका उपन्यासकार मिगुएल एन्जेल आस्तुरिआस (१९६७) ले नोबेल पुरस्कार जितिसकेका थिए । मार्खेज एक कुशल कथाकार र सफल पत्रकार पनि हुन् । उनले आफ्ना आख्यानहरुबाट पाठकको मन जितेका छन् ।

योगेन्द्र तिमिल्सिना

सानजोसे नाउँको स्कुलमा अध्ययनरत हुँदा मार्खेजले स्कुलको मुखपत्रमा आफ्ना कविताहरु छपाउँथे । सन् १९४७ मा स्नातक भएपछि उनले बोगोटामा कानुनको अध्ययन शुरु गरेता पनि अध्ययन बिचैमा छोडी स्तम्भकार र पत्रकारिताको काम गर्न उनी आफ्ना बाबुको जागीर भएको ठाउँ बराङ्किला फर्के । उनले विद्यार्थी अवस्थामा केही कविता लेखे पनि विशेषरुपमा पत्रकारिताबाट उनले लेखन कार्य प्रारम्भ गरेका थिए । उनले कथाहरु र गैरआख्यानका निकै रचनाहरु पनि लेखेका छन् । मार्खेजले अठार वर्षको उमेरदेखि लेख्न थालेका हुन् । लिफ स्टर्म उनको पहिलो लघुउपन्यास हो । नयाँ लेखकलाई प्रकाशकले सहजै स्वीकार गर्दैनन् । लिफ स्टर्म ले प्रकाशक पाउन करिव सात वर्ष कुर्नुपर्‍यो । आखिर सन् १९५५ मा यो उपन्यास प्रकाशित भयो । यो मार्खेजका आफ्नै हजुरबाका कथामा आधारित छ । उनी मावली घरको पुरानो घरमा बसेर लेख्थे । उनका रचनाहरुमा पटक पटक आउने विषयवस्तु प्रायः एकान्तपन र हिंसा हुन् । उनका उपन्यासहरु प्रायः आफ्नो जन्मस्थान अराकाटाकाको पृष्ठभूमिमा लेखिएका छन् । यो उपन्यास लेखकको आफ्नो जन्मस्थान अराकाटाकाको बाल्यपनको संस्मरणमा आधारित छ । फस्टाउँदो व्यवसाय र बढ्दो जनसङ्ख्या भएको सानो शहर माकोन्दोको परिवेशमा यसको कथा केन्द्रित छ । सडेगलेका वस्तुहरु, खाद्य पदार्थ र फोहोरबाट निस्केको चर्को गन्धबाट प्रदूषित यस शहरको बातावरणले मार्खेजलाई यो उपन्यास लेख्न प्रेरित गरेको थियो । फादर कोलोनेल भनिने गाउँको प्रमुख यसको मुख्य पात्र हो । फादर कोलोनेल गाउँको डाक्टरको साथी थियो । माकोन्दोमा राजनीतिक विद्रोह हुँदा घाइते भएका मानिसहरुको उपचार गर्न उसले अस्वीकार गरेको आरोप लागेको थियो । डाक्टरसँग एकमात्र फादर कोलोनेलको मित्रता थियो । उसले माकोन्दोका जनतामाथि जघन्य अपराध गरेको हुँदा आफ्नो डाक्टर साथीको सम्मानसाथ दाहसंस्कार गर्न फादरलाई अप्ठ्यारो परेको थियो । मार्खेजले कोलोनेल र उसको परिवारका सदस्यहरुलाई प्रयोग गरी सम्मान र मित्रता जस्ता विषयमा ब्यङ्ग्यात्मक प्रस्तुती गरेका छन् । काल्पनिक शहर माकोन्दोको प्रयोग उनले आफ्नो चर्चित उपन्यास वन हन्ड्रेड इयर्स अफ सोलिच्युड मा पनि गरेका छन् ।

मार्खेजका छवटा उपन्यासहरु प्रकाशित छन्, ती हुन् १. इन इभिल आवर (१९६२), २. वन हन्ड्रेड इयर्स अफ सोलिच्युड (१९६७), ३. द अटम अफ द प्याट्रियार्च (१९७५), ४. लभ इन द टाइम अफ कलेरा (१९८५) , ५. द जनरल इन हिज ल्याबरिन्थ (१९८९) र ६. अफ लभ एण्ड अदर डेमोन्स (१९९४) । ती मध्ये उनका बहुचर्चित उपन्यासहरु वन हन्ड्रेड इयर्स अफ सोलिच्युड (१९६७), द अटम अफ द प्याट्रियार्च (१९७५) र लभ इन द टाइम अफ कलेरा (१९८५) बारे यहाँ विशेष चर्चा गरिएको छ । उनको पहिलो लघु उपन्यास लिफ स्टर्म बारे मार्थिनै चर्चा भैसकेको छ ।

ग्याब्रियल गार्सिया मार्खेज

सन् १९६७ मा स्पेनिस भाषामा प्रकाशित “वन हन्ड्रेड इयर्स अफ सोलिच्युड” उनको विश्वप्रसिद्ध उपन्यास हो । यसै उपन्यासले उनलाई सफलताको शिखरमा पुर्‍याएको हो । यस पुस्तकको लेखनमा उनले आफ्नो श्वैरकल्पना वा म्याजिक रियलिज्मको शैली प्रयोग गरेका छन् । यस शैलीमा वास्तविक विषयवस्तुलाई मिथक वा काल्पनिक तत्त्वहरुमा बुनेर कथामा प्रस्तुत गरिएको हुन्छ । उनको वन हन्ड्रेड इयर्स अफ सोलिच्युड मावली हजुरबा, हजुरआमाको पुरानो घरको संस्मरणमा आधारित उपन्यास हो । उनी यसै घरमा हुर्के र यहीँ बसेर उनी लेख्ने गर्थे । यो बाल्यकालमा हजुरआमाले सुनाएका सत्य घटना जस्ता लाग्ने भूतप्रेत, जादू, अन्धविश्वास र वास्तविकताका अतियथार्थवादी किस्साहरुबाट प्रभावित उपन्यास हो । यो उनको व्यावसायिक रुपमा सफल उपन्यास हो । यसको लोकप्रियताले उनलाई नोबेल पुरस्कार सम्म पु¥यायो । शुरुमा स्पेनिस भाषामा प्रकाशित यो उपन्यास ३७ भाषामा अनुदित छ । यो पुस्तक तिन करोड प्रति विक्री भैसकेको छ भनिन्छ ।

यस उपन्यासमा सन् १८२० देखि १९२० सम्म एकसय वर्ष बुएन्दिया परिवारको सात पुस्ताले भोगेको ल्याटिन अमेरिकाको उन्नति र अवनतिको अशान्त इतिहासलाई कथामा प्रस्तुत गरिएको छ । मुखिया जोजे अर्काडियो बुएन्दियाले कोलम्बियाको जङ्गलभित्रको सिमसार क्षेत्रमा माकोन्दो नाउँको एउटा काल्पनिक शहर निर्माण गर्दछ । यस शहरको समृध्दिको अवस्थामा जिप्सी, प्राविधिकहरु र अनेकन व्यापारीहरु व्यवसायको निम्ति यसप्रति आकर्षित हुन्थे । शहरमा बसोबास गर्ने मानिसहरुमध्ये एकजना मेलक्वियादेस नाउँका जिप्सी पनि थिए । उपन्यासको अन्तमा उपन्यासका रहस्यमय हस्तलिपिहरु भेटिन्छन् । ती रहस्यमय हस्तलिपिहरु अरु कसैका नभएर मेलक्वियादेसका नै हुन्छन् । मेलक्वियादेसले उपन्यासकार मार्खेजको नै प्रतिनिधित्व गरेका छन् । यस उपन्यासले माकोन्दो शहरका निर्माता बुएन्दा परिवारको उन्नति र अवनतिको कथालाई प्रस्तुत गरेको छ । यस परिवारको पाँच पुस्तासम्म आइपुग्दा मौसमी हावाहुरीले शहरलाई कुरुप बनाउँदै लैजान्छ र अन्त्यमा सातौँ पुस्तामा एउटा ठुलो आँधी आई शहरको नामोनिसान मेटाउँछ । यसरी यस उपन्यासमा मार्खेजले उपनिवेशबाट उन्मुक्त भएपछिको ल्याटिन अमेरिकाको भाग्य र दुर्भाग्यको अवस्थालाई आकर्षक ढङ्गले कथानकता दिएका छन् ।

ग्याब्रियल मार्खेजलाई सन् १९८२ को नोबेल पुरस्कार प्रदान गर्दा नोबेल एकेडेमीले, यथार्थता र कल्पनालाई उच्च तहको काल्पनिक संसारसँग जोडी ल्याटिन अमेरिकाको जीवन र सङ्घर्ष प्रस्तुत गर्ने उनका उपन्यास र कथाका लागि प्रदान गरिएको भनेको थियो । उनको लेखन शैलीलाई जादुयी यथार्थवाद पनि भनिन्छ । उनले सामान्य र यथार्थ अवस्थालाई जादुयी तत्व र घटनाको उपयोग गरी एकान्त र निर्जन विषयलाई उद्घाटन गरेका छन् ।

लभ इन द टाइम अफ कलेरा उनको अर्को विश्वप्रसिद्ध उपन्यास हो । यो उपन्यास मार्खेजका बाबु आमाको संस्मरणमा आधारित छ । तरुनीको पछि लागेर हैरान पार्ने ग्याब्रियल एलिजियो भन्ने एउटा फटाहाको फन्दाबाट आफ्नी छोरीलाई मुक्त पार्न मावलीपट्टिका हजुरबाले आफ्ना छोरी ज्वाईंलाई अन्तै कतै पठाएका थिए । आत्मसंस्मरणमा उपन्यास लेख्नु कति उपयुक्त भनी तर्क गर्ने मानिसहरु पनि छन्, तर मार्खेजको सफलताबाट हामीले सिक्नुपर्ने कुरा के हो भने उपन्यासले उपयुक्त विषयवस्तुलाई आधार बनाएको छ भने पाठकले त्यसलाई रुचाउँछन् ।

उपन्यासको कथा यस्तो छ, फ्लोरेन्तिनो एरिजा र फर्मिना डाजा सानै उमेरदेखि एक अर्कालाई प्रेम गर्छन् । उनीहरुको आपसमा भेटघाट र प्रेमपत्रहरुको आदान प्रदान भैरहन्छ । चार वर्षसम्म यी दुई बिचको प्रेम निरन्तर चलिरहन्छ । फ्लोरेन्तिनोलाई आफ्नी छोरीसँगको सम्बन्धबाट छुटाउन फर्मिनाको बाबु छोरी साथै लिई भ्रमणमा निस्कन्छ । बाबु छोरी भ्रमणबाट फर्कने बित्तिकै फ्लोरेन्तिनोले फर्मिनाको आफूप्रति भावनात्मक सम्बन्ध नभएको र आफूसँगको उसको प्रेम भ्रम मात्र भएको थाहा पाउँछ । शहरको प्रसिद्ध डाक्टर जुवेनल उर्बिनोसँग फर्मिनाको विवाहको खवर थाहा पाएपछि फ्लोरिन्तिनो निराश हुन्छ र उसको विवाहित पतिको मृत्यु नहुन्जेल एकाउन्न वर्षसम्म फर्मिनासँगको एकोहोरो प्रेममा उसको प्रतीक्षा गरिरहन्छ ।

उपन्यास डा. जुवेनल उर्बिनोको मृत्युबाट प्रारम्भ हुन्छ । उ सफल र जनप्रिय चिकित्सक भएको हुँदा शहरमा उसको मृत्युको ठुलो प्रभाव परेको थियो । उसको मृत्युबाट उसकी विधवा फर्मिना र एकाउन्न वर्षसम्म उसको प्रतिक्षा गर्ने व्यक्ति फ्लोरेन्तोे सबैभन्दा बढी प्रभावित थिए । आफ्नो जीवनकालमा उसले छसयभन्दा बढी प्रेम सम्बन्धहरु जोडेता पनि उसले फर्मिनालाई विर्सन सक्तैन । वास्तवमा फर्मिना उर्बिनोको घरधन्दामा मात्र सीमित रहन्थी । उसले कहिल्ये आफूले चाहे जस्तो प्रेम उसबाट पाउन सकिन । त्यस बाहेक उसको पति उर्बिनो पनि चार महिनासम्म एउटी उपचार गराइरहेकी रोगी महिलासँग प्रेममा अल्झेको थियो । यी दुबैको घर व्यवहार बाहिरबाट हेर्दा ठिकैसँग चलेको देखिएता पनि दुबै प्रेममा सन्तुष्ट भने थिएनन् ।

जुवेनल उर्बिनोको मृत्युको वार्षिक शोकसभामा फ्लोरेन्तिनो पनि उपस्थित हुन्छ । उसले आफू फर्मिनाको प्रेमको निम्ति प्रतिक्षारत रहेको भन्ने अभिव्यक्तिका पत्रहरु लेखिरहँदा पनि फर्मिनाले कुनै जवाफ पठाइन, तर अन्त्यमा फर्मिनासँग बिस्तारै उसको सम्बन्ध विकास हुन्छ र अन्त्यमा बिहे भई दुबैको दाम्पत्य जीवन शुरु हुन्छ ।

द अटम अफ द प्याट्रियार्च (१९७५) मार्खेजको अत्यन्त क्लिष्ट र महत्त्वाकांक्षी उपन्यास मानिन्छ । यसले पटक पटक हुने निरर्थक विद्रोहहरु र एकपछि अर्को उस्तै तानाशाह शक्तिकेन्द्रमा स्थापित हुने क्रमलाई कथानकता दिएको छ । क्याराबियन द्वीपको एउटा सानो राज्यको तानाशाही शासकको मृत्यपछि लुटेराहरुको राज्य हडप्ने आन्दोलनमा सर्वसाधारणले कसरी साथ दिन्छन् र फेरि अर्को उस्तै तानाशाहको शासनकालमा मानिसले भोग्नुपर्ने कष्टप्रद जीवनको बर्णन गरिएको छ । यो क्याराबियन तानाशाहहरु र तिनको शक्तिको दुरुपयोगको कथा हो । यस उपन्यासले सर्वोत्तम देखि निकृष्टतम मानवीय प्रवृत्तिहरु दानी प्रबृत्तिदेखि ठगी, दयादेखि हिङ्सा, ईश्वरसँगको डरदेखि अत्यन्त निरंकुश तानाशाह समेतको चरित्र चित्रण एकैचोटी गरेको छ । यस उपन्यासमा मार्खेजले आफ्नो म्याजिकल रियलिज्म शैलीको सुन्दर प्रयोग गरेका छन् । उनले आफ्नै कारणबाट मृत्युको मुखमा पुगेका तानाशाह जेलमा पक्राउ परेको चित्रण सजीव ढङ्गले गरेका छन् । यो क्याराबियन मुलुकहरुको मात्र कथा नभएर यसले सम्पूर्ण ल्याटिन अमेरिकी मुलुकहरुको उथलपुथलको इतिहासलाई प्रतिनिधित्व गरेको छ । त्यति मात्र होइन, हाम्रै देशमा पनि धेरै वर्ष त्यस्तै तानासाहहरुले सत्ता सञ्चालन गरेको इतिहास छ । पटक पटक आइरहने राज्य हत्याउने निरर्थक आन्दोलनहरु र शक्तिको दुरुपयोग गर्ने तानाशाहहरुका कथा बोकेको यस उपन्यासमा नवीन तथा स्वप्निल शैलीको प्रयोगका साथै घटनाको प्रतीकात्मक वर्णन यसरी गरिएको छ मानौँ उपन्यासले पाठकलाई एकैचोटी काल्पनिक अनुभूतिका साथै वास्तविक सन्सारमा पुर्‍याउँछ ।

माथि उल्लेख गरिएका ६ उपन्यासहरुका अतिरिक्त मार्खेजका ५ लघु उपन्यास, ७ कथासङ्ग्रह र ८ गैरआख्यानका पुस्तकहरु छन् । उनले बिसभन्दा बढी फिल्मका पटकथाहरु पनि लेखेका छन् ।

उनका लघु उपन्यासहरू हुन्ः लिफ स्टर्म (१९५५), नो वन राइट्स टु द कोलोनेल (१९६१), द इन्क्रेडिबल एण्ड स्याड टेल अफ इनोसेन्ट एरेन्दिरा एण्ड हर हर्टलेस ग्राण्ड मदर (१९७२), क्रोनिकल अफ अ डेथ फोरटोल्ड (१९८१) र मेमोरिज अफ माइ मेलान्चोली होर्स (२००४)

मार्खेजका कथा सङ्ग्रहहरूः आइज अफ अ ब्लु डग ((१९४७), अ भेरी ओल्ड म्यान विद एनोर्मस विङ्स (१९५५), बिग मामाज फ्युनरल (१९६२), द इन्क्रेडिबल एण्ड स्याड टेल अफ इनोसेन्ट एरेन्डिरा एण्ड हर हर्टलेस ग्राण्ड मदर (१९७२), कलेक्टेड स्टोरिज (१९८४) र स्ट्रेन्ज पिल्ग्रिम्स (१९९३) ।

मार्खेजले आफ्ना उपन्यासहरुमा प्रयोग गरेको स्वैरकाल्पनिक शैली म्याजिक रियलिज्म नौलो भने होइन । धेरै अघिदेखि साहित्यकारहरुले यसको प्रयोग गर्दै आएका छन् । स्पेनी साहित्यकार सर्भान्तेसले गुलिभर्स ट्राभल्स (१६०५)मा मानवीय स्वभावलाई ब्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेका छन् । उनले एक अङ्रेज सर्जनको असफल साहसको वास्तविक झैँ चित्रण गरी साहित्यमा म्याजिक रियलिज्मका आधारभूत तत्वहरुको पहिलो प्रयोग गरिसकेका थिए । त्यस्तै गोगोलको द नोज (१८४२) शीर्षक कथामा नाक हराएको चित्रण गरी म्याजिक रियलिज्मको प्रयोग भएको छ । डिकन्स, बाल्जाक, दस्तोएभस्की, मोपाँसा र काफ्का जस्ता विख्यात लेखकहरुले पनि त्यस्तै रचनाहरु सिर्जना गरेका छन् । मार्खेजले विद्यार्थी अवस्थामा नै काफ्काको मेटामर्फोसिस (१९०५) पढिसकेका थिए । यस शब्दको प्रयोग भने सर्वप्रथम सन् १९४९ मा क्युबाली उपन्यासकार एलेजो कार्पेन्टियरले ल्याटिन अमेरिकी आख्यानमा गरेका थिए । युध्योत्तर जर्मन उपन्यासहरुको चर्चा गर्दा युरोपेली समालोचकहरुले पनि म्याजिक रियलिज्मको प्रयोग गरेका थिए । मार्केसको उपन्यास वन हन्ड्र इयर्स अफ सोलिच्युडको प्रकाशनपछि सलमान रुस्दीले पनि मिडनाइट चिल्ड्रन, १९८१ मा यसको प्रयोग गरेका छन् । साहित्यको ऐतिहासिक विकासक्रमलाई हेर्दा म्याजिक रियलिज्म सफल समकालीन आख्यानको मानक बनेको छ ।
कलेज पढ्दै गर्दा मर्सिडिज बर्चा नाउँकी सहपाठीसँग मार्खेजको अन्तरङ्ग सम्बन्ध थियो । कलेज सक्ने बित्तिकै ती दुईको बिहे गर्ने कुरा थियो, तर मार्खेज पत्रकारिताको सन्दर्भमा सन् १९५४ मा रोम गए । उनी रोम, प्यारिस लगायत युरोपको भ्रमणमा हिँडेकोले त्यो कुरा अड्क्यो । मार्खेज युरोपबाट फर्के लगत्तै सन् १९५८ मा मर्सिडिजसँग उनको बिहे भयो । ती दुईको सुखद दाम्पत्य सम्बन्ध थियो । तिनको जेठा छोरा रोड्रिगो फिल्म डाइरेक्टर भयो भने कान्छो छोरा गोञ्जालोले ग्राफिक डिजाइनरको पेशा अँगाल्यो । ल्याटिन अमेरिकाभर स्नेहबस मार्खेजलाई गाबो वा गाबिटो पनि भनिन्छ ।

मार्खेज न्यु योर्क र बार्सिलोना पनि बसे । अन्त्यमा बसको यात्राबाट आफ्नो परिवारसाथ उनी मेक्सिको पुगे र मेक्सिको सिटीमा बसोबास गर्न लागे । दक्षिण अमेरिकाले विलियम फकनरलाई लेख्ने प्रोत्साहन दिएको अनुभवबाट उनी पनि दक्षिण अमेरिका घुम्न चाहन्थे । सन् १९९९ मा उनलाई लिम्फ्याटिक क्यान्सर भयो, तर केमोथेरापी उपचार पद्धतिबाट उनी छिटै ठिक भए । सन् १९१२ मा उनलाई फेरि अल्जाइमरले गाँज्यो । ३ अप्रिल २०१४ मा उनलाई मेक्सिकोको अस्पतालमा भर्ना गरियो । उनलाई फोक्सो र पिसाबको थैलीमा इन्फेक्सन भयो । अन्त्यमा पिसाब बन्द भई १७ अप्रिल २०१४ मा मेक्सिको सिटीमा ८७ वर्षको उमेरमा निमोनियाबाट मार्खेजको देहान्त भयो ।