संसारभरिका बालबालिकालाई बाँडिचुँडी गर्नु भनेर सिकाइन्छ, यतिबेला संसारकै दुई ठूला कम्पनी डिज्ने र नेटफ्लिक्सले बाँडिचुँडी गर्नु पाप हो भन्ने नजिर स्थापित गर्ने अभियानमा छ ।

पछिल्लो समय संसारभर नै नेटफ्लिक्स र डिज्नेजस्ता फिल्म तथा टेलिभिजन शृङ्खला स्ट्रिङिम गर्ने संस्थाका पासवर्ड लिने, समय मिलाएर हेर्ने चलन बढ्दै गएको पाइएपछि त्यसले कम्पनीहरूलाई वार्षिक अर्बौं डलर खति पुर्याइरहेको भन्दै पासवर्ड सेयरिङमा अङ्कुश लगाउने तयारी गर्न थालेका हुन् ।

त्यसो त पहिला यस्ता कम्पनीहरूको मुख्य मुद्दा फिल्महरू चोरिने, ह्याक गरिने, टोरेन्टमा हालिने जस्ता कुरा रहँदै आएको थियो, यतिबेला भने पासवर्ड सेयरिङ मुद्दा बन्न थालेको छ ।

अहिले यस्ता स्ट्रिमिङ कम्पनीले वार्षिक १२० बिलियन डलर शुल्क उठाउँदै आएका छन् । त्यसैले पासवर्ड सेयर गर्ने काम भने कम्पनीका लागि त्यति ठूलो मुद्दा नहुनुपर्ने हो तर पछिल्लो समय महँगा शृङ्खलाहरूको संख्या बढ्दै जान थालेपछि त्यो पैसा कसरी उठाउने भन्ने चिन्ता थपिँदै जाँदा पासवर्ड सेयरिङ मुद्दा बनाउन थालिएको छ ।

हुन पनि अमाजनले पछिल्लो समय बनाइरहेको ‘लर्ड अफ दि रिङ’ शृङ्खलाको पहिलो सिजनको बजेट ४५० मिलियन डलर पुगेको छ । पछिल्लो समय बनाइएको एचबिओको टिभी शृङ्खला ‘गेम अफ थ्रोन्स’ भन्दा यो चार गुणा बढी महँगो हो । यसरी सिरियलहरू महँगा हुन थालेपछि त्यसको पैसा कसरी उठाउने भन्ने चिन्ता बढ्दै जाँदा पासवर्ड सेयर गर्नेहरू तारोमा पर्न थालेका हुन् ।

पासवर्ड बाँडेर समय मिलाएर हेर्नु कुनै अपराध होइन, त्यसका लागि बकाइदा पैसा तिरिएको नै हुन्छ । तर कम्पनीहरूले खर्च चाँडो उठाउने निहुँमा अलि कडाईं गरिरहेका छन् । पछिल्लो समय नेटफ्लिक्सले अमेरिकामा गएको महिनादेखि अकाउन्ट भेरिफाई गर्ने, कोड हाल्न लगाउनेजस्ता नयाँ प्रणाली शुरू गरेको थियो । त्यसो त पछि फेरिफाई गर्न सकिने पनि बनाइएको थियो । नेटफ्लिक्सले यसो किन गर्यो र कति ग्राहकले भेरिफाई गरे अनि यो प्रणाली अमेरिकाका लागि मात्र थियो कि अमेरिकाभन्दा बाहिरका लागि पनि थियो भन्ने खुलाएको छैन ।

यो बडो गम्भीर मुद्दा हो, अनलाइन ग्राहक विश्लेषक टुना एमोबी भन्छन्, यसलाई नाजुक तरिकाले सम्हालिएन भने कम्पनीका लागि प्रत्युत्पादक हुनेछ । एक चोटि ग्राहक भड्किए भने बर्बाद हुनसक्छ ।

गएको वर्ष बन्दाबन्दी भएपछि नेटफ्लिक्स र यस्ता स्ट्रिमिङ कम्पनीको ग्राहक संख्या ह्वात्तै बढेको थियो । संसारभर २०० मिलियन ग्राहक थपिएका थिए । यसैबीच डिज्ने कम्पनीले आफ्नै स्ट्रिमिङ साइट डिज्नेप्लस आएपछि १०० मिलियन ग्राहकहरू दुई वर्षमा बनाएको थियो । यसप्रति आकर्षित हुनुमा सस्तो पनि भएको केहीको दाबी छ । डिज्ने प्लसले भने पासवर्ड सेयरलाई ठूलो मुद्दा बनाएको छैन । तर पासवर्ड सेयरिङ मुद्दालाई उसले बेग्लै तरिकाले हेरिरहेको छ । कसले कहाँ कसरी खोलिरहेको छ, त्यसलाई उसले ट्रयाक गरिरहेको हुन्छ ।

युवाहरूमाझ पासवर्ड बाँड्ने चलन बढी छ र पाँच जनामध्ये दुई जनाले पासवर्ड सेयर गर्ने गरेको अध्ययनले देखाएको छ । अर्को रोचक पक्ष त के छ भने एउटै अकाउन्टलाई धेरै जनाले प्रयोग गर्ने र त्यो रकम पनि बाँडिचुँडी तिर्ने गरेको पनि देखिएको छ । १६ प्रतिशत अकाउन्ट चाहिँ अरूले नै तिरेको पैसामा स्ट्रिङिम हेरिरहेको देखिएको छ ।

यसरी सेयर गर्ने र पासवर्ड चोर्ने कामले कम्पनीहरूलाई वर्षको २.५ बिलियन डलर चुना लागिरहेको र सन् २०२४ सम्म यो रकम बढेर ३.५ बिलियन डलर पुग्ने अर्को अध्ययनले देखाएको छ । त्यसो त २०२४ सम्म कम्पनीहरूको आम्दानी ११९.६९ बिलियन डलर पुग्ने पनि अध्ययनले देखाएको छ । तर पछिल्लो समय ग्राहक संख्या घट्न थाल्नु र लगानी बढ्न थाल्नु कम्पनीहरूका लागि चिन्ताको विषय भएका कारण पासवर्ड सेयरिङलाई मुद्दा बनाइने सम्भावना बढेर जान थालेको छ ।

अमाजन, नेटफ्लिक्स, डिज्नेप्लसजस्ता कम्पनीले अरूले बनाएका फिल्म र शृङ्खला किन्ने भन्दा पनि आफैँ बनाउन थालेपछि लगानी बढ्न थालेको हो । डिज्ने प्लसले आउँदो वर्षका लागि नयाँ फिल्म तथा सिरिजका लागि १६ बिलियन डलर छुट्याएको छ । नेटफ्लिक्सले १९ बिलियन डलर छुट्याएको छ । यस्तै अमाजनले १० अर्ब डलर छुट्याएको छ ।

यत्रो ठूलो रकम ग्राहकबाट तान्नका लागि बढीभन्दा बढी ग्राहक बनाउनुको कुनै विकल्प छैन । पासवर्ड सेयरिङबाट फिल्म तथा सिरिज हेर्ने लत लागेकाबाट सबैभन्दा सजिलो गरी पैसा तान्न सकिने हुनाले नै तिनले पासवर्ड सेयरिङलाई अपराधको कोटीमा राख्ने तयारी थालेका हुन् । यतिबेला नेटफ्लिक्सले १४ डलर प्रति महिना पैसा असुलिरहेको छ । डिज्नेले ८ डलर तिराइरहेको छ । उनीहरूले पहिला १३ र ७ डलर लिने गर्थे तर क्रमशः एक डलर थपेर उनीहरू आफ्नो घाटा नजानिदो पाराले घटाउने दाउमा छन् ।

यदि पासवर्ड सेयरिङमाथि कडाई गर्न थाले के हुन्छ त ?

उदाहरणका रूपमा जोन गालासी छन् । ३० वर्षका गालासी सियाटलमा बस्छन् । उनले आफूलाई मनपरेका शृंखलाको नयाँ भागहरू आए मात्र ग्राहक बन्ने गर्छन् । जस्तो कि उनले पछिल्लो समय पारामाउन्ट प्लस भन्ने स्ट्रिमिङ साइटमा आउने द गुड फाइट र स्टार्जमा आउने आउटल्यान्डर हेर्नका लागि मात्र ग्राहक बन्छन् । जब ती शृङ्खला हेरिसक्छन्, उनले ग्राहक रद्द गर्छन् ।

शायद यस्तै केही देखेर होला नेटफ्लिक्सका प्रमुख कार्यकारी रिड हास्टिङले हालै एक वक्तव्य जारी गर्दै आफ्नो कम्पनीले हठात् कुनै पनि निर्णय नगर्ने र दर्शक तथा ग्राहकलाई अप्ठेरोमा नपार्ने बताएका छन् ।

यसको अर्थ, अझै केही वर्ष पासवर्ड सेयर गर्दै मज्जाका शृङ्खलाहरू हेर्न अप्ठेरो पर्नेवाला छैन ।

चियर्स !!