संसारका प्रख्यात चित्रकलाहरूको व्यापार तथा लिलामी गर्ने संस्था क्रिस्टीजले जुलाई महिनामा लियोनार्दो दा भिन्सीको खेस्रा भालुको टाउको लिलाम गर्ने भएको छ । यसको शुरूवाती मूल्य १ करोड ११ लाख डलरबाट शुरू हुनेछ । यो मूल्य बढ्दै जाँदा कीर्तिमानी रकममा बिक्री हुने अपेक्षा अहिलेदेखि नै गरिँदैछ । यसको लिलामी भने आउँदो जुलाई महिनामा हुँदैछ ।
सन् १४८० को दशकमा दा भिन्सीले कोरेको खेस्राहरूमध्ये आठ वटा मात्र राम्रो अवस्थामा रहेको छ । तीमध्ये यो भालुको चित्र पनि एक हो ।
तीन इन्चको यो चित्र सिल्भर प्वाइन्ट विधिमा बनाइएको हो । यो विधि उनले उनका गुरू एन्ड्रिया डेल भेरोसियोबाट सिकेका थिए । यो विधिमा कलाकारले चाँदीको तार प्रयोग गरिन्छ । यसले कोरिएका चित्रलाई लामो अवधिसम्म टिकाउ बनाउँछ ।
हेड अफ बियर (भालुको टाउको) शीर्षकको यो चित्र कीर्तिमानी रकममा बिक्री हुने अपेक्षा धेरैले गरेका छन् । किनभने यसअघि घोडा र घोडचढी चित्र सन् २००१ मा बिक्री हुँदा ८० लाख पाउन्डमा बिक्री भएको थियो ।
यो ड्रइङ बेलायतका चित्रकार सर थोमस लरेन्सको निजी सङ्कलनमा रहेको थियो । सन् १९३० मा उनको निधन भएपछि अढाई पाउन्डमा सन् १८६० को दशकताका बिक्री गरिएको थियो । पछि सन् २००९ मा यो पेन्टिङलाई ३० लाख पाउन्डमा क्याप्टेन नर्मन रोबर्ट कोलभाइलले किनेका थिए ।
जुन बेला दा भिन्सीले यो ड्रइङ बनाइरहेका थिए, त्यो बेला उनी जनावरहरूको शरीर विज्ञान अध्ययन गरिरहेका थिए । उनले त्यो बेला दुई बिराला र एउटा कुकुर पनि बनाएका थिए । यी चित्र बेलायती संग्रहालयमा संकलित छन् । त्यस्तै कुकुरको पञ्जा स्कटल्यान्डमा छ भने हिँडिरहेको भालुको अमेरिकाको न्युयोर्क मेट्रोपोलिटन म्युजियम अफ आर्टमा संकलित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।