साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

निबन्ध के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला १९

Chovar Blues Mobile Size

१. विषय प्रवेश
साहित्यको वर्गीकरण गर्दा श्रव्य साहित्यअन्तर्गत गद्य र पद्य आउँछन् । गद्यलाई आख्यानात्मक गद्य र आख्यानेतर गद्य गरी दुई वर्गमा विभाजन गरिन्छ । त्यही आख्यानेतर गद्यअन्तर्गत निबन्ध विधा पर्दछ । गद्य अभिव्यक्तिमा सबैभन्दा खँदिलो, सबैभन्दा विचार प्रधान र सबैभन्दा सङ्गठित विधाका रूपमा निबन्धलाई लिने गरिन्छ । यसमा बाह्य घटना, पात्र, परिवेश आदिको भन्दा स्रष्टाको निजी विचार र दृष्टिकोणको विशेष भूमिका हुने गर्दछ । त्यसैले निबन्धलाई स्रष्टाको वैयक्तिक चिन्तन, दृष्टि र प्रस्तुतिसँग जोडेर हेर्ने गरिन्छ । यस लेखमा त्यही प्रभावकारी एवं नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यमा नै अत्यन्त लोकप्रिय रहेको निबन्ध विधाका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. निबन्धको सैद्धान्तिक स्वरूप र परम्परा
‘बन्ध्’ धातुमा ‘अच्’ (घञ्) प्रत्यय लागेर ‘बन्ध’ शब्द निर्माण हुन्छ । ‘बन्ध’ शब्दमा ‘नि’ उपसर्ग लागेर बनेको ‘निबन्ध’ शब्दको शाब्दिक अर्थ बाँध्नु, सङ्ग्रह गर्नु, जुटाउनु भन्ने हुन्छ । साहित्य सिर्जनाका सन्दर्भमा भने यसको अर्थ ‘विशेष प्रकारले बाँधिएको रचना’ भन्न सकिन्छ । यसरी नै यसलाई थप विस्तृतीकरण गर्दा ‘निबन्ध’ भनेको भावनाका कणहरूलाई अभिव्यक्तिका शिल्पमा सिलसिलाबद्ध ढङ्गले सङ्गृहीत गर्नु वा व्यवस्थित ढङ्गले व्यक्त गर्नु हो । खास गरी विषयवस्तुलाई नियमबद्ध तरिकाले गरिने गद्य रचनालाई निबन्ध भनिन्छ । निबन्धमा वस्तु र भावना वा तथ्य र कल्पना दुवै रहन सक्छन् । निबन्ध लेखनमा विचार, तर्क, उदाहरण, ज्ञान र विश्लेषणको महत्त्वपूर्ण भूमिका हुन्छ ।

‘निबन्ध’लाई अङ्ग्रेजीमा ‘एस्से’ (Essay) भनिन्छ । ग्रिक भाषाको ‘एस्सी’ (Essai) शब्दबाट ‘एस्सिज’ (Essais) हुँदै बनेको ‘एस्से’ (Essay) शब्दले अङ्ग्रेजी साहित्यमा व्यापकता पायो । ‘एस्से’(Essay) शब्दको शाब्दिक अर्थ प्रयास गर्नु, जाँच गर्नु, मिहिनेत गर्नु भन्ने हुन्छ । यसलाई साहित्य सिर्जनाका सन्दर्भमा चाहिँ ‘भावनाका विखण्डित कणहरूलाई सिलसिलाबद्ध ढङ्गले प्रकट गर्ने प्रयास गर्नु’ भन्ने अर्थ लगाएको पाइन्छ । यसरी पूर्वीग र पाश्चात्य दुवै सन्दर्भमा निबन्धलाई स्रष्टाको भावना, विचार, चिन्तन, दृष्टिकोण आदिसँगै जोडेर हेरेको पाइन्छ ।

पूर्वीय जगत्मा निबन्ध शब्दको प्रयोग ‘महाभारत’को ‘श्रीमद्भगवद्गीता’ खण्डका भएको पाइन्छ । कृष्ण र अर्जुनको संवादका क्रममा निबन्ध शब्दको प्रयोग आसुरी सम्पत्तिका सन्दर्भमा भएको पाइन्छ भने आठौँ शताब्दीका बाणभट्टले आफ्नो कृति ‘कारम्बरी’मा व्याख्या, टीका, भाष्य आदिका सन्दर्भमा निबन्ध शब्दको प्रयोग गरेको पाइन्छ । उनले निबन्ध बन्धन हुँदाहुँदै पनि सुमधुर ध्वनि निकाल्ने र शोभावद्र्धक गुणनिर्वाह गर्ने युवतीका चरणमा बाँधिएका मणिनूपुर जस्तो चाहिँ बन्धन हो भन्ने अर्थ लगाएका छन् । यसरी पौराणिक युगदेखि नै शाब्दिक रूपमा प्रयोग हुँदै आएको भए पनि सिर्जनात्मक रूपमा भने संस्कृति साहित्यमा निबन्धको उपस्थिति त्यति बलियो रूपमा देखापर्दैन । यसको कारण संस्कृत काव्यशास्त्रले गद्य र पद्य दुवै अभिव्यक्तिलाई काव्य नै मान्नु र कविता वा महाकाव्यकै रूपमा प्रस्तुत गर्नु नै हो ।

पाश्चात्य साहित्यमा भने निबन्धको शाब्दिक प्रयोग र सिर्जना दुवैले १६ औँ शताब्दीदेखि उच्चस्थान प्राप्त गर्दै आएका छन् । सन् १५८० मा फ्रान्सेली साहित्यकार मोन्टेगले आफ्ना रचनाहरूलाई ‘एस्सी’ (Essai) नाम दिएर प्रकाशन गरे । पछि त्यसैलाई ‘एस्से’ (Essay) भन्न थालिएको प्रमाण पाइन्छ । यसपछि १५८० मा नै निजात्मक प्रस्तुतिका विभिन्न रचनाहरूलाई सङ्ग्रह गरी ‘एस्सिज’ (Essais) नामको पुस्तक प्रकाशन भएपछि यसले विश्वव्यापी रूपमा नै विधागत मान्यता प्राप्त गरेको हो ।

sagarmani mobile size

निबन्धलाई परिभाषित गर्ने क्रममा विभिन्न विद्वान्हरूको आआफ्नै अवधारणा पाइन्छ । पाश्चात्य साहित्यमा निबन्धका जन्मदाता मोन्टेगले मनोभावनाको स्वतन्त्र अभिव्यक्ति दिने भावुक र निजात्मक गद्यलाई निबन्ध मानेका छन् भने बेकनले चिन्तनको गहिराइ भएका वस्तुपरक आख्यानहीन रचनाविशेषलाई निबन्ध भनेका छन् । यसरी नै जोहन्सनले निबन्ध मनका भावधारालाई शृङ्खलाविहीन रूपमा गरिएको हठात् अभिव्यक्तिको एउटा छोटो रचनाविशेष हो भनेका छन् । नेपाली सन्दर्भमा डा. ईश्वर बरालले निबन्ध एक किसिमको कुरागराइ हो । यो लेखकका मनमा उठेका भावहरूलाई स्वगत कथनका रूपमा उद्गारित गराउने विधाविशेष हो भनी चिनाएका छन् भने महाकवि देवकोटाले यो (निबन्ध) रौँचिरा दर्शन होइन, न हो पाण्डित्यदर्शनको ठ्यासफु । …निबन्ध टेबलगफ हो । यो कुनै चस्मादार प्राध्यापकको व्याख्यान र वमन वेदान्त तथा ठर्रोपन नभई हार्दिकता र कोमलताले लच्किएको हुन्छ भनेका छन् । यसरी नै प्रा. राजेन्द्र सुवेदीले भावनाको प्रधानता, रागात्मक तत्त्वको बहुलता, वैयक्तिक प्रकाशन, कवितात्मक छटा आदिको समायोजन निबन्धमा हुने विचार व्यक्त गरेका छन् । यी सम्पूर्ण परिभाषा र अवधारणाहरूलाई हेर्दा निबन्धमा सुललित गद्य भाषामा प्रस्तुत आत्मकेन्द्रित विचार, निजात्मक चिन्तन, ज्ञानमा आधारित विश्वदृष्टिकोण र आख्यानरहित विषयव्यवस्थापन हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
नेपाली साहित्यको इतिहासलाई हेर्ने हो भने वि.सं. १८३१ को पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई नेपाली साहित्यको पहिलो निबन्ध मान्ने गरिन्छ । निबन्ध नै भनेर लेखिएको नभए पनि यसमा तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम क्षणमा भाइभारदारहरूका माध्यमबाट सम्प्रेषण गरेका उपदेशात्मक विचारहरू निबन्धात्मक रूपमा प्रस्तुत भएका पाइन्छन् । यसपछि जङ्गबहादुरको ‘बेलायत यात्रा’ (१९१०) र मोतीराम भट्टद्वारा लिखित ‘आदिकवि भानुभक्त आचार्यको जीवनी’ (१९४८) जस्ता कृतिमा यात्रा संस्मरणात्मक निबन्ध र जीवनीमूलक निबन्धको प्रारूप पाइन्छ । नेपाली निबन्धको ऐतिहासिक सर्वेक्षण गर्दा ‘दिव्योपदेश’ (१८३१) देखि ‘गोरखापत्र’ (१९५८) प्रकाशनपूर्वको समयावधिलाई प्राथमिक काल, ‘गोरखापत्र’देखि ‘शारदा’ पत्रिका (१९९१) को प्रकाशनसम्मको अवधिलाई माध्यमिक काल र ‘शारदा’ पत्रिकापछि हालसम्मको समयावधिलाई आधुनिक काल भनेर वर्गीकरण गरेको पाइन्छ । यस आधारमा हेर्दा नेपाली निबन्ध लेखनले पनि २५० वर्षको यात्रा पूरा गर्न लागेको देखिन्छ । यस अवधिमा नेपाली निबन्धमा पनि अनेकौँ वाद, सिद्धान्त, विचार र शैलीले प्रवेश पाएको र तदनुकूल उत्तरोत्तर विकास हुँदै आएको देखिन्छ ।

३. निबन्धका प्रकार
निबन्धलाई विभिन्न विद्वान्हरूले विभिन्न प्रकारले वर्गीकरण गरेका छन् । यसलाई कसैले लेखकीय उपस्थितिका आधारमा, कसैले विषयवस्तुका आधारमा, कसैले संरचनाका आधारमा, कसैले प्रस्तुतिका आधारमा र कसैले लेखनशैलीका आधारमा वर्गीकरण गरेको पाइन्छ तर धेरैजसो विद्वान्हरूले चाहिँ लेखकको उपस्थिति वा प्रस्तुतीकरणको शैलीका आधारमा निबन्धलाई आत्मपरक र वस्तुपरक गरी मूलतः दुई प्रकारमा वर्गीकरण गरेका छन् ।

क) आत्मपरक निबन्ध
निबन्धकार स्वयम् उपस्थित भएर वा विषयवस्तुसँग जोडिएर लेखिने निबन्धलाई ‘आत्मपरक निबन्ध’ भनिन्छ । यस्ता खाले निबन्धहरूमा म, हामी जस्ता सर्वनामको प्रयोग गरिन्छ । आत्मपरक निबन्धमा व्यक्तिका निजी अनुभूतिहरूलाई प्रस्तुत गरिने हुनाले स्रष्टा हुर्किएको समाज, उसले भोगेको जीवन र उसका निजी विचारको प्रतिविम्बन पाइन्छ । यस्ता निबन्धमा व्यक्ति कल्पनाको संसारमा रमाएको हुन्छ । यहाँ निबन्धकार अत्यधिक कल्पना र भावनामा वहकिन पनि सक्ने हुनाले आत्मपरक निबन्ध छरिएको वा विशृङ्खलित जस्तो लाग्छ । यस्ता निबन्धमा वस्तुभन्दा अनुभव महत्त्वपूर्ण हुने हुनाले विषयवस्तुको विन्यास पनि स्वतन्त्र हुन्छ । भावुकताको आधिक्य र यथार्थको न्यूनता नै आत्मपरक निबन्धको चिनारी हो । आत्मपरक निबन्धलाई ‘निजात्मक’ निबन्ध पनि भन्ने गरिन्छ ।

“मेरो निबन्धको विषय म नै हुँ किनभने मैले सबभन्दा बढ्ता मलाई नै चिनेको छु ।” प्रसिद्ध फ्रान्सेली निबन्धकार मोन्टेगको यस भनाइले पनि आत्मपरक निबन्धको मूल विषय र भाव स्रष्टा नै हो भन्ने कुरालाई पुष्टि गरेको छ । आत्मपरक निबन्धलाई वैयक्तिक, भावात्मक र विचारात्मक गरी तीन प्रकारमा वर्गीकरण गरेको पाइन्छ । उल्लिखित तीनओटै प्रकारमा स्रष्टाको निजी अनुभूति र भोगाइहरूको शाब्दिक अवतरण अनिवार्य मानिन्छ ।

ख) वस्तुपरक निबन्ध
निबन्धकार स्वयम् निबन्धमा उपस्थित नभई दर्शकजस्तो बनेर विषयवस्तुको विश्लेषणात्मक प्रस्तुतीकरण गरिएको निबन्ध ‘वस्तुपरक’ हो । यस्ता खाले निबन्धमा विषयवस्तुको प्रधानता रहन्छ । यसमा निबन्धकार टाढा बसेर द्रष्टा वा विश्लेषकको भूमिका निर्वाह गरिरहेको हुन्छ । यस प्रकारका निबन्धमा भावनाको भन्दा विचारको र मुटुको भन्दा मस्तिष्कको भूमिका ठुलो हुन्छ । व्यक्तिभिन्न विषयवस्तुलाई ज्ञानका आधारमा विश्लेषणात्मक शैलीका माध्यमबाट प्रस्तुत गरिने हुनाले यसमा नियमको पालना आत्मपरकमा भन्दा बढी हुन्छ । यहाँ निबन्धकार काल्पनिक संसारमा खेल्न पाउँदैन, उसले वस्तुताका सीमामा बाँधिनुपर्छ, भावनामा बग्न पाउँदैन, ज्ञानको परिधिमा अटाउनुपर्छ र हार्दिकताको समुद्रमा पौडी खेल्न पाउँदैन, सत्यताको घेराभित्रै समेटिनुपर्छ । त्यसैले वस्तुपरक निबन्धहरू बढी नै बौद्धिक, दार्शनिक, ज्ञानमूलक एवम् सूचनामूलक हुने गर्दछन् ।

“निबन्ध विकीर्ण चिन्तन हो । छरपस्ट चिन्तनलाई निबन्धले समेटेको हुन्छ ।” प्रसिद्ध बेलायती निबन्धकार बेकनको यस भनाइले पनि वस्तुपरक निबन्धको मूल विषय र भाव चिन्तन, ज्ञान वा दर्शनमा आधारित हुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । वस्तुपरक निबन्ध पनि वर्णनात्मक र विवरणात्मक दुई प्रकारका हुन्छन् । यस्ता खाले निबन्धलाई प्रबन्ध पनि भनेको पाइन्छ । यी निबन्धहरू कल्पना र भावुकतामा भन्दा वस्तुजगत्कै प्रधानतामा सिर्जिएका हुन्छन् ।

४. निबन्ध हुनका लागि के के चाहिन्छ ?
निबन्ध आफैँमा स्वतन्त्र र पूर्ण साहित्यिक विधा हो । यसमा स्रष्टाको दृष्टिकोण अनिवार्य तत्त्वका रूपमा आउने गर्दछ । कविता, कथा, नाटक आदि सबै विधामा पाइने साझा तत्त्वबाट निबन्धलाई अलग गराउने एक मात्र तत्त्व दृष्टिकोण हो, जुन कुराको कलात्मक स्थापना नै निबन्धको मूलभूत उद्देश्य हुने गर्दछ । त्यसैले कुनै पनि क्षेत्रको एउटा विशिष्ट विषयवस्तु, त्यसप्रतिको स्रष्टा दृष्टिकोण र उक्त विषयलाई सम्प्रेषण गर्ने प्रभावकारी शैली भयो भने निबन्धको न्यूनतम संरचना पूरा हुन सक्छ । यिनै कुरामा अन्तरसम्बन्धित भएर अन्य कुराहरू आउने गर्दछन् ।

(क) निश्चित विषयवस्तुको छनोट
निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । धुलाको एउटा सानो कणदेखि लिएर सिङ्गो विश्व–ब्रह्माण्ड नै निबन्धको विषयवस्तु हुन सक्छ । स्रष्टाको चिन्तन र तर्कले विषयवस्तुलाई पुष्टि गर्ने हुनाले दृश्य–अदृश्य, मूर्त–अमूर्त, ज्ञानमुखी वा काल्पनिक सबै कुरा निबन्धका विषयवस्तु हुन सक्छन् । त्यसैले सर्वप्रथम निबन्धकारले आफ्नो रुचि, क्षमता, चिन्तन, विचार र ज्ञानका आधारमा एउटा निश्चित विषयवस्तुको छनोट गर्नुपर्छ । निबन्धका लागि आख्यान अनिवार्य छैन, अनुभूतिको तर्कपूर्ण विस्तार नै यसको लेखनसिप हो तर कतै कतै विषयवस्तुको पुष्टिका लागि सहयोग पु¥याउन आख्यानचूर्णहरूको प्रवेश हुन सक्छ । यस्तो भएमा त्यो ग्राह्य हुन्छ । जस्तैः लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्धमा आख्यानको प्रवेश भएको छैन तर भैरव अर्यालको ‘महापुरुषको सङ्गत’ निबन्धमा फरक फरक आख्यानका टुक्राहरू पाइन्छन् । निबन्धात्मक मूल्यका दृष्टिले यी दुवै सफल निबन्ध हुन् ।

(ख) विषयवस्तुप्रतिको स्रष्टा दृष्टिकोणको स्थापना (उद्देश्य/विचार/भाव)
निर्धारित विषयवस्तुप्रतिको स्रष्टादृष्टिकोण निबन्धका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यसैसँग सिर्जनाको उद्देश्य जोडिएको हुन्छ, स्रष्टाको विचार प्रतिविम्बन भएको हुन्छ र निबन्धको मूल भाव वा केन्द्रीय कथ्य पनि अभिव्यञ्जित भएको हुन्छ । स्रष्टाको कल्पनाशक्ति, तार्किक क्षमता, विषयप्रतिको गहिरो ज्ञान र सम्बन्धित विषयलाई हेर्ने आत्मदृष्टि कत्तिको बलियो छ भन्ने कुराको निर्धारण पनि यसैबाट हुने गर्दछ । स्रष्टाले केका लागि त्यो निबन्ध लेख्न लागेको हो भन्ने कुराको प्रयोजनसिद्धि पनि यसैका आधारमा हुने हुनाले स्रष्टाको निजात्मक दृष्टिकोण निबन्धका लागि अनिवार्य मान्ने गरिन्छ ।

(ग) सम्प्रेषणको प्रभावकारिता (भाषा/शैली/प्रस्तुति)
निबन्धको विषयवस्तु जतिसुकै सशक्त भए पनि त्यसलाई सम्प्रेषण गर्ने शैली फितलो भयो भने त्यो रचना उत्कृष्ट बन्न सक्दैन । विषयवस्तुको जानकारी दिनु, सूचनाहरूको सङ्कलन गर्नु वा उदाहरणहरूको थुप्रो लगाएर सरासर वर्णन गर्दै जानु निबन्ध लेखन होइन । विभिन्न विम्ब, प्रतीक, अलङ्कारका साथै अनुकूल तर्क, प्रमाण, दृष्टान्त आदिलाई स्वाभाविक सिक्रीसंरचनामा उनेर प्रस्तुत गर्ने शैली निबन्धका लागि सबैभन्दा प्रभावकारी मानिन्छ ।

यिनका साथै निबन्ध लेखकले आफ्नो जीवनमा भोगेका, सुनेका, देखेका, प्रत्यक्ष अनुभव गरेका, पढेका र साधना गरेर उपलब्ध गरेका ज्ञान र सिपलाई सशक्त रूपमा प्रस्तुत गर्दा त्यो निबन्ध हुने गर्दछ । यसका लागि सामान्य विषयछनोट, शृङ्खलाबद्ध विस्तार, सान्दर्भिक दृष्टान्तयोजना, प्रभावकारी सम्प्रेषण र स्पष्ट दृष्टिकोणको स्थापना अनिवार्य मानिने गर्दछन् । निबन्धलाई कसरी रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक बनाउने भन्ने कुराको जिम्मा निबन्धकार स्वयंको हो ।

५. निबन्ध कसरी लेखिन्छ ?
निबन्ध लेखन निर्देशित र स्वतन्त्र गरी दुई तरिकाको हुन्छ । विद्यालय वा विश्वविद्यालय तहका विद्यार्थीहरूलाई निश्चित अङ्क प्राप्तिका लागि गराइने निबन्ध लेखन निर्देशित लेखन हो । यसका लागि शीर्षक दिइन्छ र शब्दसङ्ख्या पनि तोकिएको हुन्छ तर स्वतन्त्र निबन्ध लेखनका लागि ती कुनै पनि कुराको सीमाबन्धन हुँदैन । यहाँ निर्देशित निबन्ध लेखनका लागि पूर्ण उपयोगी हुने गरी र स्वतन्त्र निबन्ध लेख्नेहरूका लागि पनि सहज मार्गनिर्देश हुने गरी एउटा संरचनात्मक खाका दिइएको छ । एउटा निबन्धकारले निबन्ध लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो सिर्जना सुन्दर र व्यवस्थित हुने देखिन्छ—

(क) शीर्षक
सबैभन्दा माथि विषयवस्तुको प्रतिनिधित्व गर्न सक्ने पद वा पदावलीका तहको छोटो र प्रभावकारी शीर्षक दिनुपर्छ । (शीर्षक दिइएको छ भने त्यसलाई सबैभन्दा माथि लेख्नुपर्छ)

(ख) भूमिका खण्ड
यो निबन्धको पहिलो अनुच्छेद वा थालनी हो । यसमा आवश्यकताअनुसार व्युत्पत्तिपूर्ण वा सामान्य तरिकाले शीर्षकको परिचय दिनुपर्छ अनि विषयवस्तुको पृष्ठभूमिलाई सङ्केत गरी मूल विषयमा प्रवेश गर्नुपर्छ । यो प्रायः एक अनुच्छेदमा लेखिन्छ ।

(ग) विस्तार खण्ड
यो निबन्धको मूल खण्ड हो । यसमा विषयवस्तुको सन्तुलित विस्तार गरिन्छ । विषय विस्तार गर्ने क्रममा आवश्यक तर्क, उदाहरण, तुलना, विश्लेषण, प्रमाण आदिलाई यस खण्डमा कलात्मक तरिकाले क्रमशः प्रस्तुत गर्दै गइन्छ । यही खण्डमा विषयवस्तुका सकारात्मक पक्ष र नकारात्मक पक्षको विश्लेषण गरिन्छ र उत्पन्न समस्याहरूको तार्किक समाधान पनि गरिन्छ । यो खण्ड विषयवस्तुको व्यापकतालाई हेरेर एक, दुई, तीन वा जति पनि अनुच्छेदमा लेख्न सकिन्छ । (निर्देशित लेखनमा भने यो प्रायः एउटै अनुच्छेदमा लेखिन्छ ।)

(घ) निचोड खण्ड
यो निबन्धमा अभिव्यक्त विचार स्थापना गर्ने ठाउँ हो । अर्थात् माथिका दुई खण्डमा मन्थन गरेका विचारबाट यहाँ नौनी निकाल्ने काम हुन्छ । यस खण्डमा नयाँ कुराको चर्चाभन्दा पनि अगाडि चर्चा गरिएका विषयको उपयुक्त निष्कर्ष निकालिन्छ । यस खण्डमा विषयवस्तुप्रतिको स्रष्टाको निजी विचार र दृष्टिकोणसहित निबन्धको उचित समापन गरिन्छ । यो भाग निबन्धको अन्तिम अनुच्छेद हो, यो प्रायः एउटै अनुच्छेदमा लेखिन्छ र अरूभन्दा सारगर्भित पनि हुने गर्दछ ।

यी कुराहरू सिकारु चरणका निबन्धकार वा विद्यालय एवम् विश्वविद्यालय तहमा निर्देशित निबन्ध लेख्नेहरूका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त एकै पटकमा वा एकै बसाइमा एउटा निबन्ध लेख्न सक्छ । यति मात्र होइन, यो निबन्ध लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने निबन्धगत कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यही नै स्रष्टाको निजी विशेषता, क्षमता वा विशिष्ट चिनारी हो ।

६. निबन्ध लेख्न सिक्ने सजिलो तरिका
सफल निबन्धकारहरू निबन्धको संरचना एउटा सिक्री वा मालाको जस्तै हुनुपर्छ भन्दछन् । एउटा सिक्री बनाउँदा वा माला उन्दा पनि धातुका अथवा फूलका अलग अलग खण्डहरू जोडिँदै जान्छन् तर पूर्ण माला बनिसकेपछि पहिलो र अन्तिम थुँगाको एउटै महत्त्व हुन्छ । त्यसमा बिचको एउटा अंश झिकिदिने हो भने सबै भताभुङ्ग हुन्छ । त्यही सिक्रीसंरचनामा निबन्ध लेख्न सिक्ने हो भने स्रष्टाले धेरै छरिनु पर्दैन । सिक्रीसंरचनामा निबन्ध यसरी लेखिन्छ—

(क) प्रत्येक वाक्यमा एक शब्द केन्द्रमा रहेको हुन्छ वा एउटा वाक्यमा एउटा शब्दको अर्थ प्रमुख हुन्छ । जस्तैः यो फूल हो ।

(ख) माथिको वाक्यमा ‘फूल’ शब्दको अर्थ प्रमुख छ । अब ‘फूल’लाई आधार मानेर दोस्रो वाक्य यसरी लेख्नुपर्छ— फूल सुन्दर हुन्छ ।

(ग) माथिको वाक्यमा ‘सुन्दर’ शब्दको अर्थ प्रमुख छ । अब ‘सुन्दर’लाई आधार बनाएर तेस्रो वाक्य यसरी लेख्नुपर्छ— सुन्दरताले फूललाई चिनाउँछ ।

(घ) माथिको वाक्यमा ‘चिनारी’ अर्थ प्रमुख हुन्छ । अब यसैलाई आधार बनाएर चौथो वाक्य लेख्नुपर्छ— फूलको चिनारी पवित्रता पनि हो ।

(ङ) माथिको वाक्यमा ‘पवित्रता’ अर्को चिनारी थपियो । अब ती दुवैलाई जोडेर एउटा वाक्य लेख्नुपर्छ र त्यसले अगाडि बढ्नका लागि यसरी अर्को बाटो निर्माण गर्नुपर्छ— यिनै चिनारीका आधारमा फूलका जात र भूमिकाहरू फरक फरक हुन्छन् ।

(च) यहाँसम्म आइपुग्दा एउटा यस्तो अनुच्छेद निर्माण भयो—
यो फूल हो । फूल सुन्दर हुन्छ । सुन्दरताले फूललाई चिनाउँछ । फूलको चिनारी पवित्रता पनि हो । यिनै चिनारीका आधारमा फूलका जात र भूमिकाहरू फरक फरक हुन्छन् ।

(छ) भूमिका खण्डमा यसरी विषय प्रवेश भएपछि फूलका जात वा प्रकारहरू कस्ता कस्ता हुन्छन् भन्ने बारेमा अर्को अनुच्छेद लेख्न सकिन्छ भने फूलको सुन्दरताले गर्दा माला बन्ने र पवित्रताले गर्दा मन्दिरमा चढाइने लगायतका सामाजिक, सांस्कृतिक, धार्मिक आदि भूमिकाका बारेमा अरू अनुच्छेदहरू लेख्दै जान सकिन्छ ।

(ज) यस्तो गर्दा कहिलेकाँही वाक्यहरू मूल विषयभन्दा बाहिरतिर जान थाल्छन् । त्यस्तो अवस्था आयो भने तत्काल अनुच्छेद परिवर्तन गरेर लेखाइलाई मूल विषयसँग जोडिहाल्नुपर्छ । जस्तैः फूलको निबन्ध लेख्दा मन्दिरको वर्णन नहोस्, फूलको माला लगाउने मान्छेको वर्णन नहोस् आदि ।

सफल निबन्धकारहरूले यस्तो प्रक्रियालाई आफ्ना निबन्धमा प्रयोग गरेका हुन्छन् तर हामीलाई त्यो कुरा थाहै हुँदैन । कतिपय अवस्थामा निबन्धको पहिलो अनुच्छेदमा दिएका सूचनाहरूको विस्तारले नै सिङ्गो निबन्ध पूरा हुने गर्दछ । जस्तैः लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘के नेपाल सानो छ ?’ निबन्धको थालनीमा नै लेखेका छन्— “नेपाल, सुन्दर ! शान्त ! विशाल !” तिनै तीनओटा कुरालाई पुष्टि गर्दै जाँदा प्रस्तुत निबन्ध पूरा भएको छ । नेपाल कसरी सुन्दर छ ? = प्राकृतिक वर्णन । नेपाल कसरी शान्त छ ? = सामाजिक संरचना वा विविधताभित्रको एकताको वर्णन । नेपाल कसरी विशाल छ ? = गुणात्मक महत्त्व र आत्मगौरवको वर्णन । यसरी सामान्य रूपमा प्रवेश गरेर विषयवस्तुसँग खेल्दै खेल्दै जाँदा एउटा उत्कृष्ट निबन्ध बन्न सक्छ ।

७. आत्मपरक निबन्ध लेखनको एउटा नमुना

मेरो देश

म देशमा आफ्नो अनुहार भेट्छु । देशको नक्सा हेर्दा म आफ्नै चित्र हेरेको अनुभव गर्छुृ । पृथ्वी, जल, तेज, वायु र आकाशको संयोजन मेरो जीवनमा छ, त्यसैको संयोजन मेरो देशमा पनि । माटो र मुटु एउटै हो जस्तो मलाई लाग्छ । मेरो शिर सगरमाथा हो, मेरो शरीर पहाडका गर्खाहरूमा भेटिन्छ, मेरा खुट्टाहरू तराईका समथर भूभाग हुन् र नसा कोशी र बाग्मती । अर्थात् म नै मेरो देश हो, मेरो देश नै म हुँ । देशमा भूकम्प जाँदा मेरो मुटु चर्किन्छ, मैले इज्जत फ्याँक्दा देशको नाक काटिन्छ । मेरो जीवनको एउटै मात्र सपना, एउटै मात्र बिपना देश नै हो । मेरो जीवनमा देश मिसिएको छ, जहाँ खुसीहरू खप्तडको लेकमा खेल्छन्, जहाँ दुःखहरू पनि गैँतीका बिँडमा पसिना बनेर मुस्कुराउँछन् । त्यसैले मेरो र देशको सपना एउटै छ, शान्ति, ऐश्वर्य र भ्रातृत्व ।

मलाई वेदव्यासका गुफामा क्षेप्यास्त्र बोकेर छिर्ने लादेनहरू मन पर्दैनन् । मलाई दुबोमा खेलिरहेको मृगशावकलाई ब्वाँसोले निमोठेको मन पर्दैन । माछापुच्छे«का शिरमा बसेर शकुनीले लामो सास फेर्न सक्छ, त्यति बेला लुम्बिनीको दीप निभ्नु हुँदैन । कञ्चनजङ्घाबाट उडेको स्वच्छन्द परेवा दार्चुलामा गएर बास बस्नुपर्छ । कञ्चनपुरबाट हिँडेको यात्रीले कुनै व्यवधानबिना केचना पुग्न पाउनुपर्छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ मेरो आदर्श हो । स्वर्ग कहाँ छ, मलाई थाहा छैन; मोक्ष कस्तो हुन्छ, मैले देखेको छैन; पुनर्जन्मको मलाई विश्वास लाग्दैन; कुम्भीपाकको तातो तेल र चित्रगुप्तको बही खातादेखि मलाई कहिल्यै डर लाग्दैन किनभने म स्वर्गमा जन्मिएको छु । मेरा स्वर्गमा झन्डै तीन करोड देवताहरू बस्छन् । यहाँ विष्णुहरू रोेदीघरमा पसेर गीत गाउँछन् । लक्ष्मी र सरस्वतीहरू घाँस काट्न जाँदा पिपिरी पात बजाउँछन् । गण्डकीले गीत गाउँदा गान्धारीले आँखा खोल्छिन् । मेचीले मादल बजाउँदा मेनका नाच्छिन् । रामका बिहेमा राति रमाइलो रत्यौली खेल्दा राक्षसहरूले बाधा पु¥याउँदैनन् । मेरो स्वर्ग सानो छ तर पूर्ण छ । मलाई चट्याङको आवाजभन्दा टुङ्नाको धुन मनपर्छ । मलाई ध्वाँसोले कालिएको भित्तोभन्दा नवजात शिशुका निधारमा लगाएको सानो टिको मनपर्छ । म कहिल्यै मात्रा खोज्दिनँ, गुण भए पुग्छ ।

मलाई आँखा चिम्लिँदा सपनामा देखेको सुनको मृगभन्दा आँखा खोल्दा पूmलबारीमा देखिने पुतली मनपर्छ । सम्झिएको स्वादभन्दा पाएको स्वाद मनपर्छ । ‘विदेशी बगैँचाको स्याउभन्दा आफ्नै बारीको फर्सी मिठो’ भन्ने मान्यताले मलाई कहिल्यै छाडेन । मलाई डलरका हावाले तान्न सक्दैन किनभने मेरो देशले मलाई जीवन दिएको छ । सिस्नु र ढिँडोका स्वादमा मोहित जिब्रोले पिजाको कृत्रिमता मन पराउँदैन । ऐँसेलुका झाँगमुनिको जरुवा पानी खोज्ने आँतलाई मिनरल वाटरले भिजाउन सक्दैन । मलाई अर्काले दिएको सम्पत्तिले बनेको लामो कालोपत्रे बाटो चाहिँदैन, नेपाली हातले गैँती चलाएर पसिना झार्दै बनाएको गोरेटो भए पुग्छ । मलाई कसैको दानपात्र बनेको निर्धो नेपालभन्दा तीन करोड पसिनाका थोपाहरूभित्र मुसुक्क हाँसेको नेपाल मनपर्छ । मेरो देशको ऐश्वर्य श्रममा छ, न कि याचनामा । मेरो देशको शक्ति ठेला उठेका हातमा छ, न कि प्रार्थनामा ।

मलाई मान्छेहरूले जङ्गली भन्न सक्छन्, पाखे अविकसित अथवा ढुङ्गे युगको मान्छे भन्न सक्छन् तर चिन्ता छैन । किन किन मलाई त अझै त्यही युग मनपर्छ, जहाँ रुखका बोव्रmाको कपडाभित्र मानवता मुस्कुराउँथ्यो । बुद्धले पिएको पानी मैले पिएको छु त्यसैले मलाई बन्दुकको कथा सुन्न मन लाग्दैन । जाति, धर्म, भूगोल, राजनीति र सम्पत्तिका विभाजन रेखाभित्र मानवता टुव्रिmएको म देख्न सक्दिनँ । कल्पनाको संसारमा असम्भव ऐश्वर्य खोज्ने मेरो बानी छैन । स्वार्थका लागि कृत्रिम नाता जोड्ने मलाई फुर्सद छैन । मैले मकैबारीमा पलाएका विषालु झार उखेल्न जानु छ । मैले दमिनी भाउजूकी कान्छी छोरी डल्लीका बिहेमा गोडा धुन जाने समय निकाल्नु छ । मेरो देशको छातीमा निडर परेवा उड्न पाउनुपर्छ । यहाँ मृग र बाघ एकै ठाउँ बस्न सक्नुपर्छ । भाइ भाइका बिचमा झगडा हुन्छ भन्ने काल्पनिक कुरा मलाई नसुनाऊ । स्वयम्भूका आँखाले ठुलो र सानो छुट्याउँदैनन् । लुम्बिनीका कानले सिंहको गर्जन सुन्न मान्दैनन् ।

मेरो नेपाल स्वर्ग हो, नेपाली देवता । पसिना ऐश्वर्य हो, मन शान्ति । मेरो छातीमा विशाल हिमालको उदारता छ । मेरो चेतनामा कनकाई र कमलाको उपकारी भावना छ । मेरो झन्डाका चन्द्र र सूर्यले मलाई कुबाटो लाग्न दिँदैनन् । ममाथिको निलो आकाशले मलाई विश्वबन्धुत्वको पाठ सिकाउँछ । त्यसैले मेरा लागि एउटा विश्व छ, त्यो हो नेपाल । मेरा लागि एउटा जाति छ, त्यो हो नेपाली ।

८. निष्कर्ष

निबन्धको निश्चित विषय र निश्चित आयाम हुन्छ । निर्दिष्ट आयामभित्र विषयवस्तुको विन्यास हुन्छ । विषयवस्तु वस्तुगत छ भने त्यहाँ तथ्यको बढी भूमिका हुन्छ भने भावात्मक एवम् आत्मपरक छ भने कल्पनाको भूमिका हुन्छ । व्यक्तिगत गन्थन मात्र निबन्ध होइन र कुनै कुराको विवरण सङ्कलन मात्र पनि निबन्ध होइन । निबन्धमा विषयवस्तु र कल्पना दुबैको सन्तुलन हुनुपर्छ । छोटो संरचना, महत्त्वपूर्ण विषयवस्तु र तार्किक एवम् विश्लेषणात्मक शैली निबन्धका मूलभूत चिनारीहरू हुन् । यिनै कुराको प्राप्ति निबन्धको शक्ति हो भने अप्राप्ति सीमा हो ।

क्रमशः अर्को हप्ता…

प्रतिक्रिया
Loading...