बुवा ! म बुवा भएँ
हजुरजस्तै
हजुरको जस्तै
ममा पनि थप जिम्मेवारी थपिएको छ
अथाह सङ्घर्ष सन्तानप्रति
खुल्ला आकाशसरि माया
अनि
भविष्यका अनगिन्ती चिन्तन
आफ्नो नवसृजित सन्तानप्रति।

बुवा! म बुवा भएँ
हजुरजस्तै
हजुरको जस्तै
अब मेरो पनि
खुट्टाको कुर्कुच्चा फुट्ने छन्
हातमा अनगिन्ती ठेला उठ्नेछन्
निधारमा बाह्र मुजा छाला चाउरिने छन्।

बुवा! म बुवा भएँ
हजुरजस्तै
हजुरको जस्तै
अथाह माया मनभरि राख्नेछु
तर हजुरको जस्तै
म त्यो माया
मेरा आँखामा लुकाउनेछु
जति दुःख सङ्घर्ष गरे पनि
अहँ !
म पनि हजुरजस्तै
एकरत्ती पनि
आफ्नो सन्तानलाई देखाउने छैन।

बुवा ! म बुवा भएँ
हजुरजस्तै।
हजुरको जस्तै
मेरो पनि जुत्ताको
पैँताला खिइने छन्
सुरुवालको गोजी
फाट्ने छन्
कमिजका टाँक
झरेको पत्तो पाउने छैन
तर
मलाई एकरत्ती पनि
फिक्री छैन बुवा
किनकि
हजुरको जस्तै
म पनि मेरा सन्तानलाई
अथाह माया दिन
सबै दुःख पीडा
बिर्सिनेछु।

बुवा! म बुवा भए
हजुरजस्तै
हजुरको जस्तै
अब मलाई पनि
सन्तानको मायाले तान्नेछ
सन्तानको उज्ज्वल भविष्यका लागि
मेरो पसिना खर्चिनेछु
हजुरको जस्तै
अनि
म यही दैनिकीमा बिहान साँझ
निरन्तर दौडिनेछु
हजुरको जस्तै

बुवा ! म बुवा भएँ
हजुरजस्तै ।