कवि अनिल करमेलेको परिचय
कवि अनिल करमेलेको जन्म ०२ मार्च १९६५ मा मध्यप्रदेशको छिंदवाड़ामा भएको हो । उनी महालेखा परीक्षकका रूपमा सरकारी सेवामा कार्यरत छन् । उनका ‘ईश्वर के नाम पर’ र ‘बाँकी बचे कुछ लोग’ कवितासङ्ग्रहरू प्रकाशित छन् । उनलाई सन् १९९७ मा दुष्यंत कुमार सम्मानद्वरा सम्मानित गरिएको छ । निजात्मक शैली र गहिरो राजनीतिक चेतका साथ कविता लेख्ने करमेले समाजका विद्रूपताको चित्रणामा रुचि राख्छन् । तल्ला र सीमान्त वर्गप्रति गहिरो सहानुभूति राख्ने कवि करमेलेका केही कविताहरू यस पटकको भाषान्तर कविता शृङ्खलाका लागि चयनित छन् ।
उज्यालो
(रोशनी)
अनिल करमेले
धेरैचोटि फर्किएको छु त्यो जस्केलाबाट
जहाँ मैले नजानु पर्थ्यो
कहिल्यै पुग्न सकिनँ त्यहाँ
जहाँ मेरो सबैभन्दा बढी आवश्यकता थियो
प्रायः हिँडिरहेँ ती बाटाहरूमा
जहाँ हिँडिरहनुबाहेक अरू केही पनि थिएन
जहाँबाट पुग्न सकिन्थ्यो कुनै लक्ष्यसम्म
ती बाटाहरू सधैँ अलप भइरहेँ आँखाहरूबाट
जोसँग नहुनु पर्थ्यो म क्षणभरका लागि
ती मेरा रातदिनका साथी बने
जसले बोलाइरहे मलाई
र बनाइरहे ठाउँ आफ्नो जीवनमा मेरा लागि
कहिल्यै सुनिनँ मैले तिनको प्रार्थना
झिलिमिली उज्यालो थियो मेरा अगाडि
जो जीवन्त थियो मभन्दा पछाडिको अँध्यारोका कारण
जब मेरा आँखाहरू
आफूपछाडिको अँध्यारो चिन्न सक्ने भए
मअगाडि रहेको उज्यालो समाप्त भइसकेको थियो ।
***
बाँकी रहेका केही मानिसहरू
(बाकी बचे कुछ लोग)
अनिल केरमेले
सबैथोक भएर पनि
अशान्त छ उसको मन
यत्रतत्र आफ्नो जयजयकार भएर पनि
थाहा छ उसलाई
केही मानिसहरूलाई अझसम्म
छैन जित्न सकिएको
अझै पनि केही मानिसहरू
शिर ठड्याएर उभिएका छन् अगाडि
केहीसँग अझै बाँकी छ तागत
जो कुरा गर्न सक्छन् ऊसँग आँखा जुधाएर
उसको मिथ्यालाई मिथ्या भन्ने तागत
ऊभित्रको जनावरलाई
ऐना देखाउने तागत
थाहा छ उसलाई
बाँकी रहेका केही मानिसबिना
अधुरो छ उसको जित
र यो सोचेर
अरु गाढा बन्दै जान्छ उसको अनुहारको अँध्यारो
ऊ कोल्टो फर्कन्छ निद्रामा
र ब्युँझन्छ आत्तिएर
छामी छामी हेर्छ अनुहार
उसका हत्केला रगतले लतपत हुन्छन्
घाँटीभित्रै अड्किन्छन्
हजारौँ सुस्केरा र चित्कार
बुझ्न सक्दैन ऊ
दिनको कालोपन किन उत्रेर आउँछ अनुहारमा
रगत बनेर रातमा
ऊ नृत्य, सङ्गीत, रङ र शब्दहरूले त्यसलाई
घोटी घोटी धोइदिन चाहन्छ
ऊ प्रयास गर्छ बाँसुरी बजाउने
तर बाँसुरीबाट सुरहरूको साटो
नानीहरूको रोदन गुन्जिन्छ
ऊ झ्याली पिटाए जसरी ढोल बजाउँछ
र त्यसको भयानक आवाजमा
हराउँछन्
रोदन र चित्कारहरू
ऊ मरेका परेवाहरूको प्वाँखहरू बटुल्दै
कुनै अदृश्य बिरालोतर्फ सङ्केत गर्छ
ऊ हरेक पटक एउटा तल्लो स्तरको तर्कहीन कुरासँगै
भन्छ- यही चाहन्छन् यो देशका मान्छेहरू
आफ्नो सार्वजिनक स्वीकार्यताका लागि
अन्नतः हरेक तानासाह
संस्कृतिकै शरणमा आउँछन्
बाँकी रहेका केही मानिसलाई यो थाहा छ ।
***
डायरी
अनिल करमेले
निश्चिन्त र रमाइला दिनहरू
कोरिएका छन् यस डायरीमा
यसैमा छ पढ्ने समयतालिका
साना होटल, धर्मशाला र नातेदारका ठेगाना
प्रेमिल दिनका कोमल वाक्यहरू
र दुखी दिनका उदास अनुच्छेदहरूले
बर्सौँ ठाउँ ओगटिरहे यसै डायरीमा
यसैमा दर्ता भए रातो मसीले कैयौँ मितिहरू
निश्चिन्त थिए ती महत्त्वपूर्ण साक्षात्कारहरूका लागि
तर सकेनन् एउटा सानो जागिरसम्म पनि पुर्याउन
नब्बे प्रतिशत मानिसहरू जस्तै
म पनि पुगे गलत ठाउँमा
प्रेम कविताहरू लेखिएका थिए यस डायरीमा
तर कहिल्यै पनि भएनन् पूरा
यसैमा समावेश भए केही नयाँ नातासम्बन्ध
र असमयमै वरण गरे मृत्यु तिनले
सायद तिनलाई खाँचो थियो अझ राम्राहरूको
यसैमा लेखियो
किराना पसल, दुधवाला र औषधीको हिसाब
र एकदुईचोटि सुसाइड नोटका ड्राफ्ट पनि लेखिए यसैमा
भयानक दुर्दिनहरूमा समेत यसैमा लेखिए कविता
राम्रा दिनहरूको आशामा ।
***
उनीहरूको भाषा
(उनकी भाषा )
अनिल करमेले
यस्तो भाषाको प्रयोग गर्छन् उनीहरू
असमर्थ हुन्छौँ
प्रायः हामी
उनीहरूको मनोभाव थाहा पाउन
हामी विश्वास गर्छौँ
र विश्वास भ्रममा परिणत हुन्छ बिस्तारै बिस्तारै
जब हट्छ मस्तिष्कको कुहिरो
सपनाको अँगालोबाट ब्युँझिन्छ निद्रा
भतभती पोल्छन् आँखा अगाडिका तस्बिरहरू देखेर
तर कसिउन् हाम्रा मुट्ठी
र उम्लियोस् बर्सौँ जमेको रगत
त्यसभन्दा पहिल्यै
आइपुग्छन् हामीमध्येकै केही
बनेर उनीहरूका मध्यस्थकर्ता
पर्दा लगाइदिन्छन् डरलाग्दा तस्बिरहरूमा
र खनिदिन्छन् सुरुङ हाम्रो क्रोधमा
फनफनी घुम्दै आफ्ना लाभ र लोभहरूका
भौँतारिइरहन्छौँ हामी यताबाट उता
र काँतर जसरी
फर्केर आउँछौँ-
आफ्नै भाषाको मर्यादामा…
***
हामी नयाँ बाटोको तयारीमा छौँ
(हम नई राह की तैयारी में हैं )
अनिल करमेले
हामी त्यो माटोमा जन्म्यौँ साथी !
जहाँ महिनौँसम्म छिमेकबाट ल्याएर आगो
बल्थ्यो हाम्रो चुलो
जहाँ सूर्य
उदाउँथ्या औजारको टुप्पामा
र हरियो हुन्थ्यो धरती
निकै कम मानिसले पढेका थिए किताब त्यहाँ
धेरै मानिसहरूलाई त
भोपालको नाम मात्र थाहा थियो
त्यस बेला हामी आफ्नो टेक्ने ठाउँ
अझ एक प्रकारले
आफ्नो टाउको उठाउने
प्रयास गर्दै थियौँ लगातार
हामीसित
उदास साँझहरू
गहिरँदै गएका रित्ता, काला
र व्याकुल रातहरूबाहेक
केही आफ्ना थिए त केवल सपना नै थिए
लगातार ठोक्किएर
अभागी रातहरूका हृदयमा
र आत्तिएर अनगिन्ती कोल्टेहरूबाट
यी सपना
उदाउँदो सूर्यका साथ दिनहुँ बढ्थे
र भत्किन्थे पश्चिम आकाशमा सूर्यसँगै
हरेक बिहान हाम्रा मनमा
आशाका साथ
छोडिजान्थे पारो जसरी कैयौँ प्रश्नहरू
चिप्लिरहेका यी प्रश्नहरूको संसारमा
हामी बेकाम थियौँ र खिन्न पनि
र यसो भन्नु सहज होला-
आफ्नै उमेर जसरी कटाउँथ्यौँ हामी अपराह्न
आफ्नो डायरीमा हामीले
सबै ठुला सहरका निवासी
आफ्ना नातेदारका ठेगाना टिप्यौँ
बडो आत्मीयताका साथ
कैयौँ फटक पुग्यौँ पनि ती ठेगानामा
र धेरै आशा गरिएका
तर निकै विवश रातहरू बितायौँ
तिनका छोराछोरीले हामीलाई पाखे ठाने
र त्यसैले सम्झिरहे तिरस्कारलायक
तर छोरीहरूका पिताका आँखामा
एउटा गहिरो उज्यालो हाँसिरह्यो
सुदूर भविष्यका लागि
ती बिर्सेर इतिहासका सारा अहंबोध
पूर्ण शिष्टताका साथ
खुवाइरहे रोटी
निकै विवश थियौँ हामी
तर हामीलाई लाग्यो विवशताका पनि कैयौँ रङ छन्
त्यस्तै गहिरो प्रभावका साथ
ग्लानि, लाज र आक्रोशलाई दबाएर
तनमनलाई थिलथिलो बनाउने
हाम्रा प्रेमिका
हाम्रो रित्तोपनबाट निरन्तर दिक्दार भए पनि
हामीमा मुग्ध थिए असाधारण विश्वासले
ती पातलो गहुँगोरो शरीर भएका
निकै लजालु केटीहरू थिए
छतबाट हेर्न र हावामा चुम्बन फ्याँक्न
अवश्य आउँथ्यो तिनलाई
तर ती डराउथे अँध्यारोसित
र उज्यालोमा व्याकुल थिए आफ्नै शरीरका कारण
आफ्नो परिवारको
पहिलो र अन्तिम आदेशको क्षणसँगै
तिनको प्रेमको अकाल मृत्यु निश्चित थियो
हाम्रो मनमा
आफ्नो निर्दोष बेकामीबाहेक
उनीहरूलाई आफ्नो बच्चाकी आमा बनाउने
सुन्दर सपना थियो
हाम्रो जीवनको पुँजी
र भविष्यको मूर्त आवश्यकताले उब्जाएको
तर हाम्रा अगाडि अरू प्रश्नहरू जस्तै
यो पनि कुनै सजिलो प्रश्न थिएन
हाम्रा बाहरूसँग
आफ्नो दुईचार वर्ष बाँकी रहेको जागिर
वा दुईतीन बिघा खेतबारी
वा साहुको कामकाज
र गहिरा उच्छ्वासहरू बाहेक केही थिएन
पढेलेखेका नातेदार आउँदा
उनीहरूसित स्पष्टीकरणका लागि
नयाँ बाहनासम्म बाँकी थिएनन्
त्यस्तो बेलामा त हामी
मुख देखाउनसमेत योग्य थिएनौँ
गुमाउनका लागि हामीसित
अब मात्र इमान बाँकी थियो
त्यही इमान हामीलाई रिङाइरहेको थियो
हामीलाई बारम्बार सम्झाए बुढापाकाले-
बाठो हुनुभन्दा राम्रो हो हार्नु
जरुरी छ चलाखीलाई बुझ्नु
त्यसलाई चिर्नु
एउटा नयाँ बाटो पहिल्याउनु
इमानलाई बचमउँदै हामी
नयाँ बाटो खोज्ने तयारीमा छौँ ।
***
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।