सिम्मा !
दिदी-बहिनी रावखोला र तापखोला
मेरै यादमा बिरक्तिँदै सुँक्सुँकाइरहेका होलान्,
सुनपाती मगमगाउँने लेकाली हावाहरू
मलाई नै खोज्दै भौँतारिरहेका होलान् ,
परोपकारी चौतारीका हितैषी वरपीपलका आँखाहरू
मेरै बाटो हेर्दाहेर्दै थाकिसके होलान् ।
सिम्मा !
बेकसुर घरबरी-खरबारीहरूलाई
झ्यालखानामा थुन्दै,
मीठामीठा कल्पनाहरूको
लोभलाग्दा डोको-थुन्सेहरू बुन्दै
प्रिय मूलबाटाको हृदय तोडेर,
भावुक देउरालीलाई रुवाउँदै छोडेर
तिम्रा नाक-कानहरूसँग झर्कीफर्की गर्दै
तर्कीतर्की हिड्ने सन्काहा सुनको चुरीफुरी झार्न भनी,
नचाहँदा नचाहँदै चुचुहरूकै पालामा बिग्रिएको
सद्गुणी नुन-भुटुनहरूसँगको सम्बन्ध सुधार्न भनी,
चाल्नोजस्तो भइसकेको आमाको गुन्यू – चोलीहरूलाई

सदासदाका लागि बिदा गर्न भनी,

अनाम उपेक्षित

छोरा-छोरीहरूका बैँसालु रहरहरूको
स्वागतका लागि अघि सर्न भनी,
बूढो घरको छानाको रुन्चे मुहारमा
मादक मुस्कान भर्न भनी
मनमा डढेलो लगाउँदै,
आँखाबाट सप्तकोशी बगाउँदै
घरदेश छोडेर
परदेश लागेको पनि धेरै भइसकेछ
तर
लगाउन सकिनँ सपनाहरूको सुन्दर कुन्यु
सारा सोचहरू बन्नपुगे कहिल्यै नफुल्ने उन्यु ।
सिम्मा !
गरीबको कुर्कुच्चा चरचर चर्केझैँ छाती चर्केर,
भुईँचालाले थर्केर घर चर्केझैँ मुटु चर्केर
मलाई साह्रै गाह्रो भइरहेछ
थाहा छ मलाई तिम्रो मनमा पनि पहिरो गइरहेछ ।
सिम्मा !
बाछा-पाडाहरू चर्न गएको माउ पर्खेर बसेझैँ,
चराका बच्चाहरू चारो खोज्छ गएको माउ पर्खेर बसेझैँ
बस पर्खेर
आउँदैछु फर्केर
ग्रीष्मको आगमनसँगै बाटो लागेको वसन्त
वर्ष दिनपछि आएझैँ फर्केर,
साँझपख पश्चिमको डाँडा काटेर भागेको घाम
पूर्वबाट बिहानै आएझैँ फर्केर ।
सिम्मा !
अब
कसैलाई पराई ठान्दै नठान्ने
नाम्लोदाम्लोहरूकै गीत गाउँला,
जालझेल गर्न जान्दै नजान्ने
कोदालो बिँड र हलोको अनौहरूसितै मित लाउँला,
अपहेलित थेप्ला-सिस्नु र ढिँडो-गुन्द्रुकहरूसितको
गर्भे नातालाई कसिलो बनाउँला
र सगर्व सिलीहरू टिप्तै
हरेक साकेला सहर्ष मनाउँला ।
_________________________________________
शब्दार्थ :
सिम्मा : कान्छी                          
रावखोला : खोटाङ जिल्लाको उत्तरी भेगमा बहने एक
                खोला ।
तापखोला : खोटाङ जिल्लाको उत्तरी भेगमा बहने एक 
                 खोला ।
चुचु : बाजे, हजुरबुबा ।
थेप्ला : मकैको च्याँख्ला गालेर पिठोले मस्काएर   
           पकाइएको भात ।
सिली : राईहरूको महान् चाड साकेलाको अवसरमा     
           विभिन्न किसिमका मानव क्रियाकला तथा
           जीवजस्तुहरूको हाउभाउ गरेर नाचिने नाच ।
साकेला : राईहरूको महान् चाड ।
(खोटाङ)