एउटा चिया पसलमा १४ जना ग्राहकहरूको प्रवेश हुन्छ । चिया पसलकी साहुनी खुसी हुँदै सबैलाई स्वागत गर्छिन् । ग्राहकरू मेचमा बस्छन् । साहुनी ग्राहकहरूलाई प्रश्न गर्छिन् — तपाईँहरूलाई कस्तो चिया बनाउँ ? ग्राहकहरूबाट फरक–फरक उत्तर आउँछ ।

ग्राहक नम्बर १ः मलाई दूध र चिनी हालेको चिया दिनुस् ।
ग्राहक नम्बर २ः मलाई कालो चिया दिनुस् ।
ग्राहक नम्बर ३ः मलाई हट लेमोन दिनुस् ।
ग्राहक नम्बर ४ः मलाई कागती र मह हालेको कालो चिया दिनुस् ।
ग्राहक नम्बर ५ः मलाई दूध राखेको तर चिनी नराखेको चिया दिनुस् ।
ग्राहक नम्बर ६ः मलाई दालचिनी र ल्वाङ हालेको चिया दिनुस् ।
ग्राहक नम्बर ७ः मलाई रङ कडा चिनी कम भएको चिया दिनुस् ।
ग्राहक नम्बर ८ः मलाई आइस राखेको चिया दिनुस् ।
ग्राहक नम्बर ९ः मलाई चिनी कडा तर चियापत्ती कम भएको चिया दिनुस् ।
ग्राहक नम्बर १०ः मलाई चियापत्ती र चिनी नहालेको दूध मात्र दिनुस् ।

डा. मुकुन्द पथिक

ग्राहक नम्बर ११ः मलाई दूधमा मात्र पकाएको चिया दिनुस् ।
ग्राहक नम्बर १२ः मलाई ग्रिन टी दिनुस् ।
ग्राहक नम्बर १३ः मलाई अदुवा, कागती र लसुन हालेको चिया दिनुस् ।
ग्राहक नम्बर १४ः मलाई जस्तो चिया दिए पनि हुन्छ ।

चिया पसलकी साहुनी एकछिन् अलमलिन्छिन् । उनी ग्राहकहरूको टाउको गन्न थाल्छिन् । कुन ग्राहकलाई कस्तो चिया बनाएर दिने भनेर हिसाब गर्दा गर्दै उनको टाउको दुख्छ । एकजनालाई दूध र चिनी हालेको चिया । अर्कोलाई कालो चिया । तेस्रोलाई हट लेमन । चौथोलाई कागती र मह हालेको कालो चिया । पाँचौँलाई के रे मैले त बिर्सिएँ । साहुनीले यति धेरै ग्राहकहरूलाई बेग्लाबेग्लै चिया बनाएर दिनुभन्दा त बरु यिनीहरूलाई जतिसक्दो चाँडो बिदागर्नु नै उचित हुन्छ भन्ने बिचार गरिन् । उनी हतारिँदै बिचमा उभिएर सबै ग्राहकहरूलाई भन्छिन् — ‘तपाईँहरू त गजबको ग्राहक हुनुहुँदो रहेछ । अहिलेसम्म मकहाँ तपाईँहरू जस्तो अप्ठ्यारो ग्राहक कहिलेपनि आएकै थिएनन् । तपाईँहरूका लागि म थरिथरिका चिया बनाएर दिन सक्दिनँ । कृपया तपाईँहरू अर्को चिया पसलमा जानुस्’ । चिया पसलकी साहुनीको कुरा सुनेपछि चिया खान आएका सबै ग्राहकहरू नमिठो अनुहार बनाएर जऱ्याकजुरुक उठ्छन् । साहुनीले सबै ग्राहकहरूलाई अर्को चियापसलमा जाने बाटो देखाइदिन्छिन् । ग्राहकहरू अचम्म मानेर एकआपसमा मुखामुख गर्दै हेर्छन् । उनीहरू लामो सास फेर्दै आफ्नो बाटो लाग्छन् ।