तपाईंहरूमध्ये कति जनाले गुडरिड भन्ने वेबसाइट वा एप चलाउनु हुन्छ ? चलाउनु हुन्न भने साह्रै राम्रो । चलाउनु हुन्छ भने मेरा कुरा तपाईंलाई राम्रो पनि लाग्न सक्छ र नराम्रो पनि । किनभने, तपाईं गुडरिडको लत लागेको छ र यसको राम्रो कुरा मात्रै देखिरहनु भएको छ भने मेरा कुरा मन नपर्न सक्छ ।
जुन दिन मैले गुडरिडका बारेमा थाहा पाएँ, मलाई यो एप साह्रै मन पर्यो । मन पनि किन नपरोस् त ? तपाईंले भएभरका पढाकू साथीहरूलाई एक साथ त्यहाँ पाउनु हुन्थ्यो । चिनेका साथी त भइहाले, नचिनेका कयौँ साथीहरू पनि त्यहाँ तपाईंसँग साथी बन्न सक्थे । तिनले पढेका र लेखेका किताबका समीक्षा पढेर मलाई सधैँ रमाइलो लाग्थ्यो । कहिले पढिसिध्याएका किताबको रिभ्यु अरूले के लेखे होलान् भन्ने चासो हुन्थ्यो भने कहिले पढ्न मन लागेका तर पढ्न नभ्याइएका किताबमाथि साथीहरूले गरेका टिप्पणी र तिनले दिएका स्टार देखेर रमाइलो लाग्थ्यो ।
तर मलाई केही समयपछि भने तनाव थप्न थालेको थियो । यो चलाइरहँदा मलाई सधैँ एक किसिमको तनाव भइरह्यो । यसले सधैँ मलाई पढ्न बाँकी थुप्रिएका किताबहरूका बारेमा र मैले पढ्न पर्याप्त समय नदिएकामा आफैँसँग गुनासो हुन थाल्यो । साथीहरूले पढिसकेका किताबहरूको सूचीमा आँखा पर्दा उनीहरूप्रति ईर्ष्या बढेर जान थाल्यो ।
र, यसले गर्दा किताबको जे कुरा मन पराएर यसतर्फ आकर्षित भएको थिएँ, सोही कुराको रमाइलो लिनबाट भने बिर्सदै जान थालेँ । एक दिन यस्तोसम्म आयो कि मैले गुडरिड नै मोबाइलबाट हटाइदिएँ ।
हुन पनि मलाई कस्तोसम्म भयो भने जब म किताब पढ्न थाल्थेँ, यो किताब कहिले सकिएला भनेर पृष्ठहरू गन्न थालेँ । मैले किताबका कन्टेन्टमा रमाउन छाडेर पृष्ठहरू पढिसिध्याएपछि त्यसको रमरमी महसुस गर्न भन्दा पनि त्यसबारे गुडरिडमा पोस्ट गरिहाल्न हतार गर्न थालेँ । किताब कति दिल छुने थियो, यसमा के कस्ता कुराहरू मनन् गर्न योग्य थिए भन्दा पनि मैले यो किताब कति चाँडो पढिसिध्याएँ र मैले यसलाई कति स्टार दिन उपयुक्त हुन्छ भन्नेतिर मन जान थाल्यो । अब पढ्नुको आनन्द भन्दा पढिसिध्याउनुको उपलब्धि मेरा लागि ठूलो कुरा हुन थाल्यो । यसपछि मलाई क्रमशः पढ्नुमा आनन्द लाग्न छाड्यो । यसको अर्थ म टेलिभिजनतिर लहसिएको भने होइन, मलाई पढ्न नै मन लाग्न छाड्यो । र, यस्तो त्यही सानो मोबाइल एप गुडरिडका कारण भएको थियो ।
गुडरिडमा ७५ लाखभन्दा बढी पढाकू सदस्य छन् (केहीले ९० लाख पनि भन्छन्) । मोबाइलका लागि यो एप २४ लाखभन्दा बढी पटक इन्स्टल गरिएको छ । तीमध्ये केही सय साथी मेरा छन् र मैले साँच्चिकै चिन्ने त औँलामा नै गन्न सकिन्छ । हुन त गुडरिडको सोच साह्रै राम्रो र हानिविहीन नै हो । अनलाइन भएका समुदाय, जो पुस्तक रूचाउँछन्, एकअर्कालाई पढ्न नजानिदो पारामा सिफारिस गर्छन् ।
कुरा कहाँनेर बिग्रियो भने गुडरिडले हरेक वर्ष कति वटा किताब सिध्याउने योजना छ भनी सोध्न थाल्यो । मैले पनि निश्चित संख्यामा पक्कै किताब पढ्न सक्छु होला भनी एउटा आँकलन गरेँ । केही वर्षसम्म मेरो लक्ष्य पूरा गर्न बडो मिहिनेत गर्न थालेँ । केही वर्ष त ठ्याक्कै लक्ष्यभन्दा बढी पुस्तक पढेकामा मलाई आफैँप्रति गर्व पनि लाग्यो । कयौँ चोटि किताब पढ्न नभ्याउँदा मैले अडियो बुकको सहारा लिएँ । गाडीमा किताब पढिदिने सहयोगी भएपछि मलाई पनि के चाहियो र ? यसरी किताब पढेको संख्या सधैँ मैले उच्च बनाइराख्न सकेँ । जब मैले गुडरिडमा पढेको प्रगति अपडेट गर्थें, मलाई असिम आनन्द आउँथ्यो ।
तर पछि मलाई लाग्न थाल्यो, के पढ्नु भनेको उपलब्धि हो, एचिभमेन्ट हो ? बढीभन्दा बढी किताब पढ्नुले के साँच्चै हामीलाई आनन्द दिन्छ ? कि पढाइको स्तरले हामीलाई आनन्द दिन्छ ? मलाई गुडरिडमा स्टाटस अपडेट गर्न बारम्बार पेज गन्नुपर्ने स्थिति आउनु भनेको के राम्रो कुरा थियो ? मैले के पढेँ भन्दा पनि कति पढेँ भनेर गन्नुमा आनन्द आउला र ? जब पढिसकेका पेज देब्रेतिर र पढ्न बाँकी पेज दाहिनेतिर राख्दै तौलँदै अब कति दिनमा यो सकिएला भन्ने आँकलन गर्न थालेपछि भने मलाई दिक्क लाग्न थाल्यो । किताबको क्लाइमेक्सको मज्जा लिनुको साटो चाँडो सकेर, पढिसिध्याएँ भनी लेख्न उद्दत हुन थालेँ ।
म नजानिदो पारामा पढ्ने खेलमा सामेल भएकामा दुःख लाग्न थाल्यो । पढ्नु भनेको खेल्नु हो र ? मलाई यो पवित्र कुरालाई खेल बनाउन मन लागेन । हुन त हिजोआज हरेक कुरालाई यस्तै बनाइएको छ । कुनै फिल्म हेर्नुभयो भने त्यसबारे लेख्नुस् र रेटिङ गर्नुस् । कुनै रेस्टुराँ जानुभयो भने त्यसलाई रेटिङ गर्नुस् । मानौँ, यो संसारमा रेटिङ सबैभन्दा ठूलो कुरा हो ! किताब चाहिँ मेरो नजरमा फरक कुरा हो । किताबलाई पढ्नु कुनै उपलब्धि हासिल गर्नु होइन, न त पढ्न नसक्दा लज्जित हुने विषय नै हो । त्यसैले मेरो पठन गतिविधिलाई गुडरिडमा राख्न मन लागेन । यो बढीभन्दा बढी प्रदर्शनीको कुरा हुन गयो कि जस्तो लाग्यो । मलाई पढ्न मन पर्छ तर त्योभन्दा बढी पढिसकेपछि धेरै दिनसम्म त्यसलाई गुन्न मन लाग्छ । पढिसिध्याउनेबित्तिकै लेख्ने मेरो आतुरीले गुन्ने कुरालाई नै सिध्याइदियो ।
मेरो विचारमा पढ्नु बढीभन्दा बढी रिल्याक्स महसुस गर्नु हो, आनन्दको मजा लिनु हो । अमेजन नामक कम्पनीले किनेको गुडरिडले चाहिँ तपाईंलाई अमेजनबाट अन्य सामग्रीजस्तै अरूले पढेका किताबको समीक्षा देखेर किताब किन्न लगाउनु र उसैको यो एपमा गएर किनेको किताब पढेँ भनेर बढीभन्दा बढी मानिसलाई जानकारी दिलाउनु हो । त्यो देखेर अरू पनि किताब किन्न त्यही अमेजनमा जाऊन् भन्ने नै हो ।
पठन मेरा लागि आनन्दको विषय मात्र होइन, केही सिक्ने र रमाइलो गर्ने माध्यम पनि हो । यसका लागि मलाई कति पढ्यौ त भनेर पाइ चार्ट, पठन बानीको मिहिन तथ्याङ्कजस्ता कुराले पठनलाई आनन्दित बनाउँदैन बरू यसले त विषाक्त नै पारिदिन्छ । मैले यसका लागि गुडरिड छाडेर अन्य कुनै किताबसम्बन्धी एप किन नचलाउँ, ती सबैको ध्येय तपाईंको पठनको नापजोख नै गर्ने हुन् । यसमा आनन्द लिनुको साटो तिनले तपाईंलाई किताब चाँडोभन्दा चाँडो सिध्याउन नै प्रेरित गर्ने हुन् ।
सोच्नुस् त, गुडरिडभन्दा पहिले तपाईंलाई कहिल्यै कुनै किताब सक्ने हतारो हुन्थ्यो त ? कुनै किताबलाई रेटिङ गर्न कुनै चासो हुन्थ्यो होला त ? साथीभाइमाझ मन पर्यो भने कुरा गर्यो, परेन भने झूर छ भन्यो सकियो । तर यसले त तपाईंले कुन किताबलाई कहिले झूर भन्नुभयोदेखि लिएर कुन राम्रो छ भन्नुभयो देखि लिएर कति समय लगाएर यो सक्नुभयो सम्मका तथ्याङ्क लिएर बसेको हुन्छ । एउटै किताब एउटा पठनमा तपाईंलाई राम्रो लाग्न सक्छ र अर्को पठनमा अझ बढी मन पर्न सक्छ । तर जब तपाईं रेटिङ गर्न थाल्नु हुन्छ, त्यहाँ सचेत हुन थाल्नुहुन्छ । अर्को कुरा चाहिँ, चाँडो भन्दा चाँडो पढेर सकिनेजस्ता चिजमा तपाईंको ध्यानाकर्षित हुन थाल्छ ।
पठन भन्ने कुरा कति धेरै भन्दा पनि कति स्तरियता भन्नेमा केन्द्रित हुनुपर्छ । शायद म बढी नै गुडरिडप्रति आशक्त भएँ होला । बढी नै मलाई बढीभन्दा बढी पढेको देखाउनुपर्ने भएकाले त्यस्तो भयो होला । तर एक समय मलाई पढ्न यति दिक्क लाग्न थाल्यो कि मैले किताबै हेर्न छाडेँ । मलाई लाग्यो, प्रतिस्पर्धालाई मैले बढी नै गम्भीरतापूर्वक लिएछु । तर जब मैले मेरो मोबाइललाई गुडरिडमुक्त बनाएँ, पढ्नुको आनन्द पुनः प्राप्त गरेँ । त्यस्तो आनन्द त मलाई बालापनमा मात्र हुन्थ्यो । ओहो, मैले त बालापन पुनः प्राप्त गरेछु ।
हिजोआज म हतारिएर पढ्दिनँ । अचेल म के पढ्न बाँकी छ भनेर पनि दायाँबायाँ हेर्दिनँ । बस्, मन परेको चिज उठाउँछु र पढ्छु । कयौँ दिनसम्म तम्तम्याइलो मानिरहन्छु । मलाई अचेल रेटिङ गर्ने हतारो हुन छाडेको छ । अनि, मेरो पठन बानी म र मेरो किताबमा मात्र सीमित हुन थालेको छ । संसारमा मैले पढेका सारा कुरा अरूले पनि पढ्नै पर्छ भन्ने छैन ।
(गार्डियन डट कममा प्रकाशित ब्लग सम्पादनसहित प्रकाशन गरिएको हो । सं.)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।