साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भुत चित्रकला शृङ्खला ३६

एउटा मानिस पहाडको एउटा शिखरमा उभिएको छ । अगाडि कुहिरोले डम्म ढाकेको छ । मानिसको अगाडिको भाग कुहिरोले ढाके पनि पहाडका टाकुराहरूलाई कुहिरोले छोप्न सकेको छैन । अगाडि अझ ठूला ठूला टाकुरा उसका सामुन्ने उभिएको छ ।

क्यास्पर डेभिड फ्रेडरिकले १९ औँ शताब्दीमा बनाएको यो चित्रले चुनौतीका पहाडबीच उभिएको एउटा सैनिकको जीवनलाई बयान गरिरहेको छ ।

मानिस पनि सैनिकजस्तै हो । हरेक दिन केही न केही लडाईंमा व्यस्त हुन्छ । उसका सामु लडाईंका अनेकन् चुनौती झेल्छ र थकाई मार्छ अनि नयाँ टाकुराको लडाईं जित्ने अभिलाषाका साथ अघि बढ्छ ।

प्रकृतिलाई पृष्ठभूमिमा उभ्याउँदै चित्रकार क्यास्पर डेभिड फ्रेडरिकले एउटा प्रभावशाली चित्र बनाएका छन् ।

को हुन् फ्रेडरिक ?
१७७४ मा जर्मनीको ग्रेफ्सवाल्डमा जन्मिएका क्यास्पर डेभिड फ्रेडरिक ल्यान्डस्केप पेन्टिङका लागि निकै प्रख्यात चित्रकार हुन् । प्रोटेस्टेन्ट परिवारमा निकै अनुशासनमा हुर्किएका उनका दाजु र आमा उनी कलिलै छँदा बितेका थिए । जर्मनीमा जन्मे पनि उनको पढाइ भने डेनमार्कमा भयो । त्यहीँ उनले रोमान्टिक धाराका साहित्य र चित्रकलामा रूचि जाग्यो । उनले फिलोसफी (दर्शनशास्त्र)मा पनि उच्च अध्ययन गरे ।

यो चित्रमा के हेर्ने ?
बटुवा
एक जना मानिस चित्रमा देखिन्छ । उसले अगाडिको भूदृष्य टक्क उभिएर हेरिरहेको छ । उसको हातमा एउटा लाठी पनि छ । दुसाध्य पहाड उक्लँदा लाठी आवश्यक पर्छ । यो तस्बिरको रोचक पक्ष के छ भने यो जो व्यक्ति हो, ऊ अज्ञात छ । त्यो जो पनि हुनसक्छ, जो भर्खरै कुनै शिखरमा पुगेको छ र उसले अगाडिको सुन्दर मनोरम दृश्यपान गरिरहेको छ । यो दृश्यले यो शिखरमा आइपुग्नुअघि कति हिँड्यो होला, कति व्यवधान पार गर्यो होला भन्ने सोच्न दर्शकलाई बाध्य पार्छ ।

कुहिरोको समुद्र
चित्रमा कुहिरै कुहिरोले पहाडको अधिकांश पृष्ठभूमि छोपेको देखिन्छ । यसले दर्शकको दिमागलाई त्यो कुहिरोभित्र केही खोज्न प्रेरित गरिरहन्छ । यसले अद्वितीय, अद्भुत र असीमित कुरा खोज्न प्रेरित गर्छ ।

ढुङ्गे उचाइ
चित्रमा पहाड जत्रा ढुङ्गाका अनेकन् स्वरूपहरू त्यहाँ देखिन्छन् । कुहिरोको समुद्र चिर्दै उभिएका ढुङ्गाका अनेकन् आकृतिले दर्शकलाई अद्भुत आनन्द दिन्छन् । सँगैमा यी ढुङ्गाका आकृति कति नजिक छन् वा टाढा छन्, भेउ पाउन सकिँदैन । केही टाकुराका ससाना रूखहरू अस्पष्ट देखिन्छन् र यसबाटै ती कति टाढा छन् भन्ने भेउ पाइन्छ ।

प्रतिक्रिया
Loading...