साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कलामा क्लोनिङः नयाँ ट्रेन्ड बन्दै

Chovar Blues Mobile Size

हामीले भेडाको क्लोनिङका बारेमा सुनेका थियौँ, पछि मान्छेको क्लोनिङका बारेमा पनि समाचार पढ्यौँ । यतिबेला जापानी कला क्षेत्रमा क्लोनिङको चर्चा बढिरहेको छ ।

जापानको टोक्यो विश्वविद्यालयका कला शोधकर्ताहरूले १४०० वर्ष पुरानो मूर्तिकलालाई क्लोनिङ गर्ने प्रविधिको विकास गरेका छन् र यसले संसारभरिका कला मर्मज्ञहरूका लागि नयाँ आशा जगाएको छ ।

जापानको निक्कई दैनिकका अनुसार सांस्कृतिक सम्पदाको क्लोनिङ गर्ने विधि केही वर्षदेखि परिस्कृत हुँदै आएपछि संसारभरिका कला संरक्षक र कला मर्मज्ञहरूका लागि नयाँ आशा जन्मिएको हो ।

शोधकर्ताहरूको निरन्तर प्रयासका कारण हजारौँ वर्ष पुराना मूर्तिले पुरानै स्वरूपको नयाँ क्लोन बनाउन सहज हुन थालेको हो । ती मूर्तिकलाहरू हजारौँ वर्षअघि कुन आकृति र स्वरूपका थिए, तिनलाई ठ्याक्कै त्यही स्वरूपमा फर्काउन यो नयाँ प्रविधिले सहज भएको हो ।

यसको शुरूवात १४०० वर्षअघि जापानमा रहेको शाक्यमुनि बुद्धको मूर्तिलाई सुपर क्लोन कल्चरल प्रोपर्टिज अन्तर्गत पुरानै स्वरूपमा निर्माण गरिएपछि यो सम्भव देखिएको हो ।

डिजिटल प्रविधि र कलाकारहरूको शिल्पलाई एकै ठाउँमा मिसाइएपछि यो नयाँ विधिको चमत्कार देखिएको हो ।

यसलाई केहीले कलाको सुपर क्लोनसमेत भनेका छन् । सुपर क्लोन बनाइएको शाक्यमुनिको मूर्तिकला होर्युजी मन्दिरको एउटा राष्ट्रिय सम्पदामध्येमा गनिइन्छ । नयाँ मूर्तिलाई हाल नगानो प्रिफेक्चरल आर्ट म्युजियममा प्रदर्शनीमा राखिएको छ ।

सन् ६२३ मा निर्माण गरिएको यो मूर्ति शुरूमा स्वर्ण रङमा जसरी चम्किएको थियो, हाल अहिले नयाँ क्लोन पनि सोही स्वरूपमा चम्किरहेको छ । यसअघि यो मूर्तिको टाउकोमा रहेको कपालको जुरो हराएको थियो तर नयाँ क्लोनमा भने यो पुरानै स्वरूपमा जुरोसहित देख्न सकिन्छ ।

मूर्तिकलाका पछाडि उडिरहेका देवदूतलाई पुरानै अवस्थामा फर्काइएको छ ।

यो क्लोन बनाउनका लागि उच्च प्रविधि प्रयोग गरिएको थियो । यसका लागि सरकारी अधिकारी, मन्दिरका मूल पुजारी तथा शोधकर्ताहरूले संयुक्त रूपमा काम गरेका थिए ।

शुरूमा यो मूर्तिको हाइडेफिनेसन डिजिटल क्यामेराले त्रिआयामिक चित्र खिँच्दै त्यसबाट निस्केको नापबाट मूर्तिको आकार निश्चित गरिएको थियो । यस प्रक्रियामा भने मूर्तिको पछाडिको टुटेफुटेको भागको ठिक नाप ननिस्किए पनि पछि डिजिटल म्यापिङमार्फत निश्चित गरिएको थियो ।

यस मूर्तिको थ्रिडी प्रिन्टरमार्फत प्रोटोटाइप बनाइएको थियो । यसपछि एक्स रे फ्लोरोसेन्स विश्लेषण गरी मूर्तिमा प्रयोग गरिएका सरसामग्रीहरू, धातुका भागहरू र तिनको अनुपात गणना गरिएको थियो । यसले कति मात्रामा तामा प्रयोग गर्ने र कति मात्रामा अन्य सामग्रीहरू मिसाउने भन्ने निर्णय गर्न अनुसन्धाताहरूलाई सजिलो बनाएको थियो ।

यसपछि तयार भएको प्रोटोटाइपमा पहिलो पटक क्लोन मूर्ति बनाइएको थियो । यसमा पहिलेको मूर्तिको जस्तो सुनको जलप लगाउँदा मूर्ति ठ्याक्कै १४०० वर्ष पुरानोजस्तै चम्किएको थियो ।

यो स्वर्ण मूर्तिलाई यसपछि वास्तविक मूर्तिछेउ राखी दाँजिएको थियो । अत्याधुनिक थ्रिडी प्रिन्टिङ प्रविधिका कारण यस्तो गर्न सफल भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको भनाइ छ ।

यो मूर्तिमाथि सन् २०१४ देखि नै काम गर्न थालिएको थियो । टोक्यो विश्वविद्यालयका कला प्राध्यापक मासाकी मियासाकोले यो क्लोन मूर्ति ठ्याक्कै बनाइएको भनी सहमति दिएपछि प्रदर्शनीमा राखिएको हो ।

यसलाई प्रदर्शनीमा राख्दा सर्वसाधारणमा सांस्कृतिक समझ बढ्ने उनको भनाइ छ । आँखाअगाडि १४०० वर्ष पुरानो भव्य मूर्ति देख्न पाउँदा सर्वसाधारणले असुका युग (सन् ५५२-६४५) कति सम्पन्न थियो र त्यसबेला मूर्ति पूजाको अवस्था के थियो भन्ने बुझ्न सघाउ पुर्याउने उनको भनाइ छ ।

शुरूमा यस मूर्तिका सबै नापजोख गरी प्लास्टिक प्रोटोटाइप बनाइएको थियो । यसमा विश्वविद्यालयको सेन्टर अफ इन्नोभेसनले सघाएको थियो । यस विश्वविद्यालयले कला र टेक्नोलजी मिसाएर नयाँ काम गर्न ठूलो धनराशि खर्च गर्ने गर्छ ।

मूर्तिकलाका लागि मात्र नभएर यस्तो नयाँ प्रविधि तैलचित्रका सन्दर्भमा पनि निकै उपयोगी देखिएको छ । यस किसिमको नयाँ प्रविधिलाई फ्रान्सको मुसी डिओर्से, जापानी काठेब्लक प्रिन्टिङ तथा अमेरिकाको बोस्टनस्थित म्युजियम अफ फाइन आर्ट्सले समेत प्रयोग गर्न थालेका छन् ।

यस किसिमको क्लोन कलाले ज्यादै महत्त्वपूर्ण कलाहरूको संरक्षण मात्र नभई तिनको व्यापक प्रचारका लागि सार्वजनिक प्रचार र प्रदर्शनीमा राख्नसमेत सहज बन्न पुगेको यस अभियानमा लागेका वैज्ञानिकहरूको भनाइ छ ।

प्रतिक्रिया
Loading...