साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आत्मकथा के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला १८

Chovar Blues Mobile Size

 

१. विषय प्रवेश

स्रष्टाको आत्मकेन्द्रित आख्यानात्मक रचनालाई आत्मकथा भनिन्छ । यसको शैली आत्मपरक निबन्धको जस्तो र संरचना कथाको जस्तो हुने हुनाले यसलाई कतै कतै निबन्धको भेदका रूपमा र कतै आख्यानको भेदका रूपमा राख्ने गरिन्छ । यसको उद्देश्य स्रष्टाको जीवनवृत्त वा आत्मकहानीको प्रस्तुति रहेको हुनाले यसको सम्बन्ध निबन्धसँग भन्दा बढी आख्यानसँग नजिक देखिन्छ । कसै कसैले आत्मकथालाई एउटा छुट्टै विधाका रूपमा पनि चर्चा गरेको पाइन्छ तर संरचनागत दृष्टिले केही फरकपन देखिए पनि यो छुट्टै विधा नभएर आख्यानकै एउटा उपविधा हो । कथा र उपन्यासभन्दा आत्मकथा पात्र वा प्रस्तोताका कारण भिन्न मानिन्छ । आत्मकथामा प्रथम पुरुषात्मक पात्रयोजना अनिवार्य मानिन्छ । त्यसमा पनि स्रष्टा स्वयं नै कथाको नायक वा प्रमुख कथयिता हुने र यसमा प्रयुक्त कथावस्तु स्रष्टाकै जीवनसँग प्रत्यक्ष जोडिने हुनाले यो बनोटमा उस्तै लागे पनि बुनोटका दृष्टिले कथा वा उपन्यासभन्दा भिन्न हुन पुग्दछ । यस लेखमा त्यही प्रभावकारी एवं नेपाली साहित्यमा मात्र नभएर विश्वसाहित्यमा नै अत्यन्त लोकप्रिय रहेको ‘आत्मकथा’का बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. आत्मकथाको सैद्धान्तिक स्वरूप र परम्परा

‘आत्म’ विशेषण पद र ‘कथा’ नाम पद जोडिएर बनेको ‘आत्मकथा’ समस्त शब्द हो । यसको शाब्दिक अर्थ ‘आफ्नो कथा’ भन्ने हुन्छ । यसलाई ‘आत्मकथा’का अतिरिक्त ‘आत्मचरित्र’, ‘आत्मकहानी’, ‘आत्मजीवनी’ आदि नाम पनि दिने गरिन्छ ।

‘आत्मकथा’ तत्सम शब्द हो तर संस्कृत काव्यशास्त्रहरूमा यसको विधागत चर्चा त्यति भएको पाइँदैन र प्राचीन संस्कृत काव्यपरम्परा वा आख्यान परम्परामा आत्मकथाको सिर्जना पनि त्यति भएको देखिँदैन । लेखक स्वयंले आफ्नो पारिवारिक, साहित्यिक, राजनीतिक, सामाजिक आदि भूमिका तथा अनुभवका बारेमा समग्र वृत्तान्त प्रस्तुत गर्ने काम आत्मकथामा हुने गर्दछ । त्यसैले यो व्यक्तिको समग्र चित्र हो अथवा व्यक्तिलाई हेर्ने एउटा विशिष्ट ऐना हो ।

sagarmani mobile size

‘आत्मकथा’लाई अङ्ग्रेजीमा ‘अटो बायोग्राफी’ भनिन्छ । ग्रिक भाषाका ‘अटो’ (आफू), ‘बायोस्’ (जीवन) र ‘ग्राफियन्’ (लेखन) तीनओटा शब्द मिलेर बनेको ‘अटो बायोग्राफी’ शब्दको शाब्दिक अर्थ ‘आफ्नो जीवनी लेखन’ अथवा ‘आफूले लेखेको जीवनकहानी’ भन्ने हुन्छ । यसरी पूर्वीय प्रयोग र पाश्चात्य प्रयोग दुवैलाई हेर्दा आत्मकथाले स्रष्टाको जीवनचित्र खिच्ने र पाठकसमक्ष प्रस्तुत गर्ने काम गर्दछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

आत्मकथालाई विभिन्न शब्दकोशहरूले आआफ्नै तरिकाले चिनाउने काम गरेका छन् । ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ले कसै कसैले तृतीय पुरुष शैलीमा आत्मकथा लेख्न सक्छ यद्यपि यो दुर्लभ सम्भावना हो । यदि तृतीय पुरुष शैलीमा आत्मकथा लेखिन्छ भने त्यसमा लेखक वा अक्षरशः श्रुतिलेखन गराउने स्वयं आत्मकथाको नायक हुनु अनिवार्य छ र ऊ कुशल वक्ता वा लेखक हुनु अनिवार्य छ भनी आत्मकथामा लेखकीय उपस्थितिका बारेमा स्पष्ट सङ्केत गरेको छ भने ‘नेपाली बृहत् शब्दकोश’ले आत्मकथालाई आफ्ना सम्बन्धमा आफैँले लेखेको वा भनिएको कथा, आफैँले बनाएको आत्मवृत्तान्त, आफ्नै जीवनचरित्र वा आत्मचरित्र भनी परिभाषित गरेको पाइन्छ । यी दुइलाई हेर्दा आत्मकथाको कथ्य वा प्रस्तुतिका सम्बन्धमा कुनै तात्त्विक भिन्नता पाइँदैन ।

यसरी नै आत्मकथाका सम्बन्धमा विभिन्न विद्वान्हरूको पनि आआफ्नै धारणा पाइन्छ । पाश्चात्य विद्वान् रिचार्ड हेलले आत्मकथा भनेको जीवनको कथा हो, यसमा जन्मदेखि स्रष्टाको वर्तमानसम्मको आत्मकहानीलाई समावेश गरिएको हुन्छ भनी परिभाषित गरेका छन् भने रोअल्ड डाह्लले आत्मकथा मान्छेको एउटा किताब हो, जुन उसले आफ्नो जीवनका बारेमा लेखेको हुन्छ र यसमा जीवनका राम्रा र नराम्रा सबै सन्दर्भहरू समावेश भएका हुन्छन् भनी चिनाएका छन् । नेपाली सन्दर्भमा प्रा. घटराज भट्टराईले आत्मकथा भनेको आफैँद्वारा लेखिएको आफ्नो जीवनी वा जीवनीको एक अंश हो । … आत्मकथा लेख्ने व्यक्तित्व नै आत्मकथाको नायक हुन्छ भनी चिनाएका छन् । यी सम्पूर्ण परिभाषा र अवधारणाहरूलाई हेर्दा आत्मकथाको शाब्दिक अर्थभन्दा टाढा यसको सिर्जनात्मक स्वरूप निर्माण नभएको देखिन्छ । आत्मकथाकारले आफ्ना निजी भोगाइ, अनुभव र चिन्तनहरूलाई आख्यानात्मक स्वरूप प्रदान गरेर आत्मकहानी लेख्नु नै आत्मकथा लेखन हो भनेर सहजै बुझ्न सकिन्छ ।

नेपाली साहित्यको इतिहासलाई हेर्ने हो भने आत्मकथा नै भनेर लेखिएको नभए पनि वि.सं. १८३१ को पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई आत्मकथाको प्रारम्भिक रूप मान्ने गरिन्छ । यसमा तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम क्षणमा आफ्ना भाइभारदार, गुरुपुरोहित र आफन्तजनसमक्ष प्रस्तुत गरेका आत्मानुभूति तथा आत्मभोगाइबाट खारिएका उपदेशात्मक विचारहरूमा आत्मकथाको प्रारूप फेला पर्दछ । यसपछि भने चिरञ्जीवी शर्मा पौड्यालको ‘आफ्नू कथा’ (१९७४) मा स्रष्टाले आफ्नो वंशपरिचयका साथै यात्राअनुभूति र जीवन भोगाइका विविध सन्दर्भहरूको उल्लेख भएकाले यसलाई आत्मकथा नै भनेर लेखिएको पहिलो कृति मान्ने गरिन्छ । यसरी ‘दिव्योपदेश’देखि वर्तमानसम्मको आत्मकथा परम्परालाई हेर्दा यसले पनि २५० वर्षको यात्रा पूरा गर्न लागेको देखिन्छ । यस अवधिको अघिल्लो २०० वर्षमा यसले आफ्नो बलियो जग निर्माण गरेको र पछिल्लो ५० वर्षमा भने यसले आशातीत सफलता प्राप्त गरेको देखिन्छ । नेपाली साहित्यको वर्तमान अवस्थालाई हेर्ने हो भने आत्मकथा नेपाली पाठकको विशेष रोजाइ बन्ने गरेको देखिन्छ ।
विश्वका विभिन्न भाषा साहित्यको अवस्थालाई हेर्दा रुसो, रवीन्द्रनाथ, महात्मा गान्धी, जवाहरलाल नेहरू, बङ्गबन्धु आदिका आत्मकथाहरू निकै लोकप्रिय बनेका देखिन्छन् भने नेपाली सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाका ‘आत्मकथा’ र ‘जेलजीवन’ जस्ता कृतिहरूका साथै विभिन्न साहित्यकार, प्रशासक, सेना, कलाकार आदिको जीवनमा आधारित भएर लेखिएका आत्मकथाहरू नेपाली पाठकहरूका रोजाइ बन्न पुगेका छन् । आत्मकथालाई सैद्धान्तिक आधारमा हेर्दा यो स्रष्टाको आफ्नै कहानी र आफ्नै लेखनमा आधारित हुने गर्दछ तर कुनै विशिष्ट व्यक्तित्वले आफूले लेख्न नसक्ने अवस्था हुँदाचाहिँ कसैलाई श्रुतिलेखन गराउने परम्परा पनि विश्वसाहित्यमा प्रचलित देखिन्छ । अहिले घोस्टराइटिङका माध्यमबाट विशिष्ट व्यक्तित्वहरूले आफ्नो जीवनवृत्त लेखाउने प्रचलन विश्वमा नै बढ्दै गएको छ र त्यसको प्रभाव नेपाली साहित्यमा पनि परेको देखिन्छ । नेपालमा पनि विभिन्न व्यक्तित्वहरूले कसैलाई घोस्टराइटरका रूपमा राखेर आफ्नो जीवनकथा लेखाएको पाइन्छ । यस्तो अवस्थामा पनि त्यो लेखन आत्मपरक नै हुने गर्दछ र लेखकको उपस्थिति नेपथ्यमा मात्र सीमित भएर मञ्चीय पात्रका रूपमा चाहिँ कथानायककै उपस्थिति रहने गर्दछ ।

३. आत्मकथा हुनका लागि के के चाहिन्छ ?

आत्मकथा आफैँमा एउटा पूर्ण संरचना हो । यसको सिर्जना स्रष्टा आफैँले गर्ने हो र यसको कथावस्तु पनि स्रष्टा स्वयं हो । निबन्धात्मक संरचनामा विभिन्न आत्मपरक रचनाहरू हुने गर्दछन् । यसका साथै विभिन्न वस्तुभित्र स्रष्टा आफैँ प्रवेश गरेर पनि आत्मगत प्रस्तुतीकरण गर्ने प्रचलन रहेको पाइन्छ । जस्तैः स्रष्टाले फूलको आत्मकथा लेख्नुपर्ने छ भने ‘म फूल हुँ । मेरो घर बगैँचा हो ।’ यस्तो शैलीमा फूलका सम्पूर्ण कुराहरू लेख्न सक्छ तर यो आत्मकथा होइन । वास्तविक आत्मकथाचाहिँ लेखकको निजी जीवनवृत्त नै हो । आफ्नो जीवनको समग्र दृश्य वा एउटा विशिष्ट परिवेशलाई समेटेर अत्यन्त रोचक शैलीमा जीवनचित्र प्रस्तुत गर्दै गएर प्रभावकारी समापनमा पुग्नु आत्मकथाको संरचनात्मक चिनारी हो । एउटा लेखक आत्मकथा लेख्न बस्दा उसका लागि निम्नलिखित कुराहरू अनिवार्य बनेर आउने गर्दछन्—

(क) जीवनसँग सम्बन्धित घटना
स्रष्टाले सबैभन्दा पहिले आफ्नो जीवनसँग सम्बन्धित घटनाहरूको छनोट गर्नुपर्छ । आफूले भोगेका र अनुभव गरेका समग्र घटनाहरूलाई क्रमबद्ध गरी कुन पछि कुन राख्ने त्यसको निर्धारण गर्नुपर्छ अनि कालक्रमिक शृङ्खलाबद्ध गरी घटनालाई अगाडि बढाउने हो भने त्यसमा विश्वसनीयता सिर्जना हुने गर्दछ ।

(ख) आख्यानात्मकता
स्रष्टाले आफ्नो जीवनसँग सम्बन्धित घटनालाई कथाको स्वरूप प्रदान गर्ने कार्यलाई आख्यानात्मकता भनिन्छ । यस चरणमा स्रष्टाले आफैँ पात्र भएर आफ्नै कहानीलाई विस्तार गर्ने काम गरे पनि त्यसमा सिर्जना गरिने आख्यानात्मक शैलीले गर्दा साधारणीकरणको केही अंश त्यहाँ प्रवेश गर्दछ र पाठकले पनि स्रष्टा भोगाइलाई बिर्सेर कता कता आफ्नो वा आफूजस्तै समवर्गीय पात्रहरूको कथाको अनुभव गर्न थाल्दछ ।

(ग) गद्यात्मक संरचना
आत्मकथामा प्रायः गद्यात्मक प्रस्तुतीकरण हुने गर्दछ । यसमा घटना वा कथातत्त्वमा बढी जोड दिइने हुनाले गद्य भाषाको प्रयोग यसका लागि अनिवार्य मानिन्छ । हुनत, केही कविहरूले कविता वा काव्यमा नै आत्मकथा लेखेको पनि पाइन्छ । यस अवस्थामा पद्यात्मक संरचनामा आत्मकथा आउने गर्दछ तर त्यसलाई आत्मकथा नभनेर काव्य नै भनिने हुनाले आत्मकथाको मूलभूत चिनारी गद्यात्मक संरचना नै हो ।

(घ) घटनाको रोचक तथा कलात्मक प्रस्तुति
आत्मकथा सत्यतामा आधारित हुन्छ तर घटनालाई रोचकता दिन वा कलात्मक बनाउनका लागि आंशिक रूपमा हार्दिकताको प्रयोग गर्ने गरिन्छ । सरासर वर्णन गर्दा कथा रोचक नहुने हुनाले सत्यतासँग नजिक केही काल्पनिक सन्दर्भहरूलाई पनि दृष्टान्त स्वरूप प्रस्तुत गरेर अनुभूतिको तार्किक पुष्टि गर्ने काम यसमा हुने गर्दछ ।

(ङ) अनुभूतिको सूक्ष्म रेखाङ्कन
स्रष्टाले आफ्नो अनुभूतिलाई जति सूक्ष्म ढङ्गले प्रस्तुत गर्न सक्यो आत्मकथा त्यति नै रोचन हुने गर्दछ त्यसैले यसमा जीवनका साना साना घटनाहरूलाई पनि छोड्नु हुँदैन । विशेष गरी अनौपचारिक जीवनका सन्दर्भहरू, अज्ञानतावश गरिएका कार्यहरू, बाल्यावस्था, युवावस्था आदिमा गरिएका उमेरगत स्वभावसँग जोडिने उच्छृङ्खल वा मनोरञ्जक घटनाहरू, कतै भयावह र कतै आश्चर्यजनक अविस्मरणीय क्षणहरू आदिलाई सूक्ष्म रूपमा उभ्याउन सक्नु नै आत्मकथाको सबल र सफल पक्ष हो ।

(च) सरल र सरस अभिव्यक्ति
आत्मकथा सरल भाषामा हुनुपर्छ र यो सरस पनि हुनुपर्छ । आत्मकथा व्यक्तिको पाण्डित्य प्रदर्शन गर्ने माध्यम बन्नु हुँदैन । कथानायक जतिसुकै बौद्धिक भए पनि यस कृतिका पाठकचाहिँ सर्वसाधारण व्यक्तिहरू हुन् भन्ने कुराको बोध स्रष्टामा भयो भने कृति आफैँमा सरल हुन्छ । साथै सरासर आफ्नो जीवनकहानी सुनाउनु स्रष्टाको उद्देश्य बन्नु हुँदैन । प्रतिवेदनात्मक लेखन आत्मकथा होइन, यसलाई सरस एवं आलङ्कारिक बनाउने काम स्रष्टाले गर्नुपर्छ । सुललित भाषाशैली, मनोरञ्जक प्रस्तुति र कुतूहलपूर्ण घटनाविन्यासले आत्मकथालाई अत्यन्त रोचक बनाउने गर्दछ ।

(छ) अघोषित उत्प्रेरणा र जीवनमुखी सन्देश
कसैलाई कुनै शिक्षा वा सन्देश दिनु आत्मकथा लेखकको उद्देश्य होइन तर आफ्नो जीवनमा सफल व्यक्तित्वहरूको आत्मकथाले पाठकलाई जीवनका लागि उत्प्रेरणा प्रदान गर्ने गर्दछ । कुनै विशिष्ट कामले चिनिएको र आफ्नो जीवनकालमा लोभलाग्दो सफलता हासिल गरेको व्यक्तिको जीवनका बारेमा सबैले पढ्न र बुझ्न चाहनु स्वाभाविक हो । यसले पाठकमा अपार उत्सुकता सिर्जना गर्ने काम गर्दछ तर लेखकले उक्त कुरालाई घोषित रूपमा नै प्रस्तुत गर्नुचाहिँ हुँदैन । कसैको आत्मकथाबाट जीवनमुखी सन्देश ग्रहण गर्न सकिन्छ तर लेखक स्वयंले उक्त कुराको घोषणा गर्नु हुँदैन । पाठकले कृति पढ्दै जाँदा स्वतःस्फूर्त रूपमा कुनै उत्प्रेरणा वा शिक्षा ग्रहण गर्नु आत्मकथाको सफलता हो ।

यिनका साथै आत्मकथा लेखकले आफ्नो जीवनका मूल मूल घटनाहरूलाई प्रभावकारी, आकर्षक र कुतूहलपूर्ण बनाउनका लागि आवश्यक प्रतीक र विम्बहरूको छनोट पनि आत्मकथामा गर्न सक्छ र अभिव्यक्तिको गतिशीलता र घटनाको स्वाभाविक वहावका लागि गति, यति र लयको पनि आन्तरिक व्यवस्थापन मिलाउन सक्छ । आत्मकथालाई कसरी रोचक, मनोरञ्जक, कुतूहलपूर्ण र ज्ञानवद्र्धक बनाउने भन्ने कुराको जिम्मा स्रष्टा स्वयंको हो ।

४. आत्मकथा कसरी लेखिन्छ ?
आत्मकथामा लेखकीय जीवनका सम्पूर्ण घटना वा अवस्थाको चित्रण हुने गर्दछ । यसमा स्रष्टाको पारिवारिक, सामाजिक, आर्थिक, साहित्यिक, सांस्कृतिक अथवा जुनसुकै क्षेत्रसँग सम्बन्धित अनुभूतिहरूलाई आख्यानात्मक स्वरूप प्रदान गर्न सकिन्छ । त्यसैले एउटा स्रष्टाले आत्मकथा लेख्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु अनिवार्य मानिन्छ—

पहिलो चरणः आफ्नो जीवनका महत्त्वपूर्ण घटनाहरूको छनोट र निर्धारण
आत्मकथामा जीवनका कुन कुन घटना र प्रसङ्गहरू समावेश गर्ने हो ? लेखक स्पष्ट हुनुपर्छ । आत्मकथामा जीवनका स्थूलदेखि सूक्ष्मसम्मका जुनसुकै घटनालाई पनि आख्यानात्मक स्वरूप प्रदान गर्न सकिन्छ । त्यसैले लेखकले सबैभन्दा पहिला आफूले भोगका, सम्झेका र अनुभूत गरेका प्रसङ्गहरूको बुँदागत रूपमा टिपोट गर्नुपर्छ र ती बुँदाहरूलाई कालक्रमिक रूपमा मिलाएर राख्नुपर्छ ।

दोस्रो चरणः घटनाको आख्यानीकरण गर्दै क्रमिक विस्तार गरी खेस्रा लेखन
यस चरणमा माथि निर्धारित क्रमबद्ध घटनालाई स्वाभाविक रूपमा विस्तार गर्न थाल्नुपर्छ । आत्मकथाको निर्धारित सिद्धान्त र आवश्यक तत्त्वमा केन्द्रित रहेर पूर्वस्मृतिमा आधारित आत्मकहानीलाई रोचक शैलीमा अगाडि बढाउनुपर्छ । घटनाको विकास गर्दा आवश्यक संस्मरण, संवाद आदिका माध्यमबाट पाठकमा कुतूहल सिर्जना गर्दै जानुपर्छ । यसरी आत्मवृत्तान्तलाई रोचक बनाउँदै गएर आत्मकथाको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरणः आवश्यक परिमार्जन गरी साफी लेखन
यस चरणमा लेखक आफैँले लेखेको आत्मकथाको खेस्रा रूपलाई निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा आत्मकथाको बाह्य बनोट र आन्तरिक बुनोटमा केही दोषहरू देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो आत्मकथा प्रकाशन योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका आत्मकथा लेखकहरूका लागि हुन् तर सिद्धहस्त स्रष्टाले त एकै पटकमा एउटा आत्मकथाको साफी लेखन नै गर्न सक्छ । यति मात्र होइन, यो आत्मकथा लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने आत्मकथागत कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यही नै स्रष्टाको निजी विशेषता, क्षमता वा विशिष्ट चिनारी हो ।

५. आत्मकथाको प्रयोगात्मक सिर्जनाका चरणहरू
चरण १ ः आफ्नो जीवनका महत्त्वपूर्ण घटना र अविस्मरणीय सन्दर्भहरूको निर्धारण ।
चरण २ ः अनुकूल शीर्षक चयन (आफ्नै नामबाट वा अन्य कुनै विम्बात्मक) ।
चरण ३ ः समग्र जीवनवृत्तलाई समेट्ने गरी बुँदाटिपोट, बुँदाहरूको कालक्रमिक रूपमा क्रम निर्धारण ।
चरण ४ ः जीवनवृत्तको आख्यानीकरण, घटनालाई आलङ्कारिक बनाउनका लागि विम्ब, प्रतीक वा सान्दर्भिक दृष्टान्तहरूको छनोट र व्यवस्थापन ।
चरण ५ ः जीवनवृत्तलाई आन्तरिक रूपमा कति खण्ड वा परिच्छेदमा वर्गीकरण गर्ने हो ? त्यसको निर्धारण ।
चरण ६ ः आवश्यकताअनुसार कतै वर्णनात्मक, कतै विवरणात्मक, कतै सूचनात्मक र कतै संवादात्मक शैलीमा जीवनवृत्तको विस्तार गर्दै गएर खेस्रा लेखन ।
चरण ७ ः खेस्रा रूपमा तयार भएको आत्मकथाको पठन, पुनःपठन, सत्य परीक्षण र संशोधन, त्रुटिविश्लेषण र परिमार्जन गरी अन्तिम रूप प्रदान ।
चरण ८ ः कम्प्युटर टाइपिङ, भाषा शुद्धीकरण, भूमिका र कृतज्ञता (स्रष्टाले आवश्यक ठानेमा), आन्तरिक सेटिङ, कभर डिजाइन, छपाइ, बाइन्डिङ र लोकार्पण आदि । (आवश्यकताअनुसार)

६. निष्कर्ष
आत्मकथा विश्वसाहित्यकै अत्यन्त लोकप्रिय र प्रभावकारी आख्यानात्मक रचना हो । यसमा लेखकीय जीवनका सत्य घटनाहरूको प्रधानता हुन्छ तर यसमा प्रयोग भएको घटनाले मानव जीवनको भोगाइ र जगत्को यथार्थ चित्र खिच्ने र सकेसम्म साधारणीकरण गर्ने क्षमता राख्दछ । वैयक्तिक भोगाइ वा अनुभवलाई पनि सार्वजनिक बनाउन सक्ने कलाले आत्मकथालाई लोकप्रिय बनाउँछ । सुन्दर आत्मकथामा विश्वसनीयता अनिवार्य मानिन्छ । कतिपय आत्मकथा लेखकहरूले आफ्ना राम्रा राम्रा कुरा जति लेख्ने र नराम्रा सन्दर्भहरूलाई लुकाइदिने गरेको पनि पाइन्छ तर त्यसो गर्नु राम्रो होइन । जीवन आशा–निराशा, असल–खराब, सुन्दर–कुरूप, गुण–दोष आदि सबै कुराको समष्टि रूप हो त्यसैले जीवनमा जे भएको छ त्यही प्रस्तुत गर्न सकियो भने त्यो आत्मकथा विश्वसनीय हुन्छ । आत्मकथा जीवनको यथार्थको दस्ताबेज हो, काल्पनिक संसारको निर्माण होइन ।
क्रमशः अर्को हप्ता…

 

प्रतिक्रिया
Loading...