महिलाहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समानताको अधिकारका निम्ति कानुनी सुरक्षा स्थापित गर्ने उद्देश्यले राजनीतिक, सामाजिक एवं दर्शनका सिद्धान्तहरू प्रतिपादन गर्ने अभियानलाई नारीवादी आन्दोलन भनिन्छ । नारीवाद अभियानकै रूपमा वास्तवमा बिसौँ शताब्दीमा मात्र व्यापक भएको हो । यसभन्दा अघि महिलाहरूले शिक्षा, मताधिकार र आर्थिक–सामाजिक समानताबारे बोल्ने लेख्ने गरेता पनि अभियानकै रूपमा अघि बढ्न सकेको थिएन । यस अघिको समयलाई नारीवादी अभियान पूर्वको समय भन्न सकिन्छ । यस अभियानले महिलाअधिकार सम्बन्धमा विस्तृत क्षेत्रहरूको पहिचान गरेको छ । उदाहरणका निम्ति सम्झौता गर्ने अधिकार, सम्पत्तिको अधिकार, मतदान गर्ने अधिकार, गर्भपतनको अधिकार, प्रजनन अधिकार, घरेलु हिंसाबाट सुरक्षित रहन पाउने अधिकार, यौनिक हतोत्साह तथा बलात्कार, सुत्केरी विदा, समान ज्याला, महिलालाई होच्याउने र विभेद गर्ने जस्ता विषयहरूमा कैयौँ मुलुकहरूमा यस अभियानले कानुनी अधिकार हासिल गरिसकेको छ ।

मानवीय सभ्यताको प्रारम्भिक अवस्थादेखि नै विभिन्न स्वरूपमा पश्चिमा मुलुकहरूमा यसको विकास हुँदै आएको देखिन्छ । प्लाटोले रिपब्लिकमा भनेका छन्, प्राचीन ग्रीसको सुरक्षा तथा सञ्चालनमा महिलाहरूको क्षमता पुरुषसरह देखिएको छ । करिब २४०० शताब्दीअघि प्लेटोले महिलाहरूको पूर्ण राजनीतिक र यौनिक समानताको वकालत गरेका थिए ।

योगेन्द्र तिमिल्सिना

महिलाहरूले समय समयमा जति समानताको हक खोजिरहेका छन्, पुरुषहरूले त्यति नै विरोध पनि जनाउँदै आएका छन् । उदाहरणका निम्ति प्राचीन रोमका महिलाहरूले ओप्पियन ल विधेयकको विरोधमा बृहत् प्रदर्शन गरे । त्यस विधेयकमा सुन र अरू बहुमूल्य वस्तुहरूमा महिलाको पहुँचको विरोध गरिएको थियो । त्यो विधेयक पास हुन नसकेता पनि रोमन सल्लाहकार मार्कस पोर्सिअस क्याटोले त्यसको समर्थनमा यसो भनेका थिए, ‘तपाईँ बराबर हुने बित्तिकै उनीहरू तपाईँभन्दा माथि हुनेछन्’ ।

सन् १४०५ मा फ्रान्सेली लेखक क्रिस्टिन द पिजानको द बूक अफ द सिटी अफ लेडिज र सन् १४२९ मा द टेल अफ जोन अफ आर्क प्रकाशित भए । यी दुवै पुस्तकले महिलाहरूको क्षमताको प्रसंशा गरेका छन् । यसरी पन्ध्रौँ शताब्दीमा पनि पिजानले नारीमाथि हुने विभेदको निन्दा गर्दै लैङ्गिक सम्बन्धबारे चर्चा गरेकी थिइन् ।

सोह्रौ शताब्दीमा हेइन्द्रिक कोमे अग्रिप्पा र मेडिस्टा द पोज्जो द फोर्जीले लैङ्गिक समानताबारे लेखेका थिए । युरोपमा महिलाहरूलाई पारिवारिक सहभागितामा सीमित अवसरहरू दिइएको थियो । त्यसबेला महिलाहरू घरको व्यवस्थापन आफँ गर्नसक्ने अवस्थामा पुगे तर महिलाहरूको इमान्दारिता र नैतिक मूल्यमा ह्रास आउन सक्ने भनी उनीहरूलाई शिक्षा प्राप्त गर्ने अवसरमा अङ्कुस लगाइएको थियो  । शिक्षाको अवसरबारे आवाज उठाउने महिलाहरूलाई सामाजिक बहिस्कारसम्म गर्न सक्ने अवस्था थियो त्यो ।

कुलीन परिवारका, दरबारिया र सम्पन्न महिलाहरूले उच्च शिक्षा हासिल गर्न थालेपछि सत्रौँ शताब्दीमा लैङ्गिक समानताको अवस्थामा केही सुधार आयो । परिवारभित्र र समाजमा राजनीतिक क्रियाकलापमा समेत उनीहरू भाग लिन थाले । यस अवधिमा महिलाहरूले शिक्षा प्राप्त गर्ने अवसर पाउन थाले र उनीहरू धार्मिक र सामाजिक विषयमा कलम चलाउन थाले । तिनका रचनाहरू पत्रपत्रिकामा प्रकाशन पनि हुन थाले । महिलाहरू शिक्षामा पछि परिरहेका अवस्थामा सम्पन्न परिवारकी अङ्ग्रेज लेखक मार्गरेट क्याभेन्डिसले १६६४ मा सोसिएवल लेटर्स,  १६६६ मा द ब्लेजिङ् वल्र्ड र १६६८ मा ग्राउन्ड्स अफ नेचुरल फिलोसफीजस्ता अनेकौँ दार्शनिक र साहित्यिक पुस्तकहरू लेखेर महिलाहरूलाई प्रोत्साहन दिएकी थिइन् ।

फ्रान्सेली लेखक म्यारी द गुर्नेले द इक्वालिटी अफ मेन एन्ड ओमेन र ओमेन एन्ड द लेडिज ग्रिभान्स जस्ता पुस्तकहरू लेखेर महिलालाई उपयुक्त शिक्षा प्रदान गर्नुपर्दछ भन्ने कुरामा जोड दिइन् । उनी फ्रान्सका राजा हेनरी तृतीयकी छोरी थिइन् । त्यस्तै बेलायतको एक सम्पन्न परिवारमा जन्मेकी आठ सन्तानकी आमा अमेरिकी कवि आन ब्राडस्ट्रीटले परिवारप्रति आमाको भूमिका, महिलाले आफ्नो जीवनमा भोग्नुपर्ने दुःखहरूबारे सुन्दर कविताहरू रचना गरेकी थिइन् । उनको पहिलो कवितासङ्ग्रह द टेन्थ म्युज (१६५०)  अमेरिका र बेलायतमा प्रसिद्ध छ । यस अवधिमा महिलाहरूको समानताको हकबारे लेख्ने अन्य प्रमुख लेखकहरूमा बेलायतकी हन्नाह उली र मेक्सिकोकी जुआनाल्नेस द ला क्रुज पनि हुन् ।

अठारौ शताब्दीमा अङ्रेज लेखक, दार्शनिक तथा महिला अधिकारवादी अभियन्ता म्यारी ओल्सटनक्रयाफ्टले महिलाहरूको समानताको हकबारे अ भेन्डिकेशन अफ द राइट्स अफ ओमन       (१७९०) र रङ्स अफ ओमन (१७९८) जस्ता अनेकौँ पुस्तकहरू लेखेकी छन् । १६ डिसेम्बर १७७५ मा संयुक्त अधिराज्यको स्टेभेन्टन शहरमा एउटा मध्यमवर्गीय परिवारमा जन्मेकी अङ्रेजी उपन्यासकार जेन अस्टेनले अठारौँ शताब्दीको अन्त्यतिर पारिवारिक सम्पत्तिको अधिकार छोरामा सर्दै जाने ब्रिटिसहरूले थोपरेको कुलीन संस्कारको चर्को आलोचना गरेकी छन् । जेनका उपन्यासहरूले अठारौँ शताब्दीको अन्त्यदेखि उन्नाइसौँ शताब्दीसम्म बेलायतका महिलाहरूको सामाजिक स्थान र आर्थिक सुरक्षा विवाहमा भर पर्ने तथ्यलाई उद्घाटन गरेका छन् । महिलाहरूको उपयुक्त सामाजिक स्तर र आर्थिक सुरक्षाको खोजी उनका उपन्यासका विषयवस्तु हुन् ।

२५ जनवरी १८८२ मा लन्डनको एक सम्पन्न परिवारमा जन्मेकी भर्जिनिया उफ सन् १८९७ देखि १९०१ सम्म किङ्गस कलेज लन्डनको महिला विभागमा प्राचिन भाषा साहित्य र इतिहासको अध्ययन गरिरहँदा महिलाहरूको उच्च शिक्षामा र महिलाअधिकार बारे सुधार ल्याउन प्रयासरत महिला अगुवाहरूसँगको सम्पर्कबाट नारीवादी लेखक बन्न पुगिन् । त्यसको प्रभाव उनका प्रायः सबै रचनाहरूमा पऱ्यो । सन् १९७० को नारीवादी आन्दोलनमा उनका रचना र कृतिहरू त्यसका केन्द्रीय विषयवस्तु बनेका थिए । तिनताक केटाहरूलाई उच्चस्तरका बोर्डिङ् स्कुलमा अध्ययन गर्न पठाउने तर केटीहरूलाई तल्लोस्तरका स्कुलहरूमा अध्ययन गराउने विभेदकारी प्रचलनको उनले विरोध गरिन् । नारीवादलाई प्रोत्साहन दिन उनले पुऱ्याएको योगदानले विश्वको ध्यान आकर्षित गरेको थियो । फलस्वरूप उनका कृतिहरू पचासभन्दा बढी भाषाहरूमा अनुदित छन् र ती विश्वभर व्यापकरूपमा पढिन्छन् ।

जेन अस्टेनले महिलाहरूको सीमित अधिकारको बारेमा प्रकाश पारेझैँ चार्लोट ब्रोन्टे, अन्ने ब्रोन्टे, एलिजाबेथ ग्यासकेल र जर्ज एलिअटले महिलाहरूका दुःख र निराशाको चित्रण गरेका छन् । अमेरिकी लेखक फेन्नी फर्नको आत्मसंस्मरणात्मक उपन्यास रथ हल (१८५४) मा आफ्नो पतिको असामयिक निधनपछि बालबच्चाको हेरचाहका निम्ति आफूले गरेको सङ्घर्षको कथा छ । यो महिलाहरूको आर्थिक स्वतन्त्रताको वकालत गर्ने उपन्यास हो । त्यस्तै लुइजा मे अल्कटले आफ्नो उपन्यास अ लङ् फ्याटल लभ चेज (१८६६) मा एउटा बहुविवाह गर्ने पुरुषको फन्दाबाट उम्केर स्वतन्त्र हुने एउटी युवतीको कथा छ ।

बिसौँ शताब्दीको प्रारम्भमा डोरा मोन्टेफियोरेको अ बन्डल अफ फ्यालासिज (१९०१) र क्लारा जेट्किनको सोसियल डेमोक्रेसी एन्ड ओमन सफरेज (१९०६) समेत युरोप र अमेरिकाका महिला लेखकहरूका अनेकौँ रचनाहरू प्रकाशित भए ।

९ जनवरी १९०८ मा प्यारिसमा जन्मेकी साहित्यकार सिमोन द बोभ्वाले अस्तित्ववाद र नारीवादी सिद्धान्तलाई महत्त्वपूर्ण प्रभाव पारेकी छन् । सिमोनले आफ्नो पुस्तक द सेकेड सेक्स, १९४९ मा यौन र लिङ्गको भिन्नता स्पष्ट पारेकी छन् । उनले अस्तित्ववादी सिद्धान्तले पहिले अस्तित्व र त्यसपछि मात्र सार (एसेन्स) लाई महत्त्व दिन्छ भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै नारीवादी दर्शनको प्रतिपादन यसरी गर्छिन्, मान्छे जन्मेपछि मात्र महिला हुन्छ  । यस वाक्यलाई मूल दर्शन मान्दै बोभ्वा जैविक यौन र लिङ्गको सामाजिक तथा ऐतिहासिक संरचनाको भिन्नता देखाउछिन् । महिलाहरूले जन्मँदै भिन्नता बोकेर आएका हुदैनन्, महिलाहरूको शोषणको आधारभूत स्रोत महिला हुनु अर्थात् महिलामाथि थोपरिएको ऐतिहासिक तथा सामाजिक संरचना हो । समाजले महिलाहरूलाई पुरुषको सापेक्षतामा दोस्रो स्थान दिएको हुँदा उनी महिलाहरूलाई दोस्रो लिङ्गी भनी परिभाषित गर्छिन् । यसरी उनले दर्शनको रूपमा नारीवादलाई अगाडि बढाइन् ।

बिसौँ शताब्दीमा बेट्टी फ्रीडम्यानको द फेमिनाइन मिस्टिक (१९६३), केट मिलरको सेक्सुएल पोलिटिक्स (१९७०) र जोरेनको ओमेन एन्ड अर्बान पलिसी (१९८०) सहित सयौँ कृतिहरू प्रकाशित भए । २५ अगस्त १९६२ मा बङ्ग्लादेशको ढाकामा जन्मेकी साहित्यकार तस्लिमा नसरिन नारीवादी लेखक तथा महिला अधिकारकर्मी हुन् । महिलामाथि हुने विभिन्न प्रकारका शोषणको विरुद्धमा लेखेर, बोलेर, पुस्तकहरू प्रकाशन गरेर तथा अभियानै सञ्चालन गरेर उनी विश्वभर चर्चित भएकी हुन् । उनी सबैखाले धार्मिक अतिवादको विरुद्धमा समेत बोल्ने र लेख्ने गर्छिन् । धार्मिक अतिवादको विरुद्धमा बोल्दा र लेख्ता उनलाई बङ्ग्लादेशी सरकारले देश निकाला गऱ्यो । नसरिनले महिलाहरूको समानताको हकको पक्षमा बोल्दा तथा इश्लाम धर्मको आलोचना गर्दा कट्टरपन्थीहरूले उनलाई शारीरिक र अन्य आक्रमणहरू गरी रहे । हजारौ अतिवादीहरूको जुलुसले उनलाई फासी दिनुपर्ने माग राखी व्यापक प्रदर्शन गऱ्यो । अक्टोबर १९९३ मा काउन्सिल अफ इस्लामिक सोल्जर नाउको एउटा अतिवादी समूहले उनको हत्या गर्नेलाई इनाम दिइने घोषणा समेत गऱ्यो ।

एक्काइसौँ शताब्दीको प्रारम्भमा सराह वाटर्सको फिङ्गर स्मिथ (२००२), एलेन विलिजको लस्ट होराइजोन्स (२००५), रेबेक्का सोल्नितको मेन एक्सप्लेन्स थिङ्स टु मी (२००८) जस्ता अनेकौँ सिर्जनाहरू प्रकाशित भए भने पछिल्लो अवधिमा जेसिका भालन्तीको सेक्स अब्जेक्ट ए मेमोएर (२०१६), जिल फिलिपोभिकको द एच–स्पट- द फेमिनिस्ट परस्वीट अफ ऱ्याप्पिनेस (२०१७), रेबेका ट्रेस्टरको गुड एन्ड म्याड- द रिभोल्युसनरी पावर अफ ओमन्स एङ्गर (२०१८) जस्ता नारीका अनेकौँ समस्या बोकेका रचनाहरू आएका छन् । साहित्यकारहरूको यस अभियानबाट विश्वभरका महिलाहरूलाई वैचारिक लाभ पुगेको छ  । विश्वका अनेकौँ मुलुकहरूमा महिलाको सामाजिक, शैक्षिक, न्यायिक, कानुनी, आर्थिक र राजनीतिक अधिकारहरू स्थापित भएका छन् ।

आज विभिन्न क्षेत्रका, पृथक् सामाजिक अवस्था र भिन्न भिन्न सांस्कृतिक पृष्ठभूमिका विश्वभरका महिलाहरू सक्रिय भई महिलाको सशक्तीकरणका निम्ति छलफल गर्न र सङ्घर्षत हुन सक्छन् । सन् २०१७ को अन्त्यतिर सञ्चालित मि टु आन्दोलनले विद्यमान यौनिक आक्रमण र यौनजन्य दुर्व्यवहारका क्रियाकलापहरूलाई उदाङ्गो पारेको छ । आजको साइबर संस्कृतिको स्वच्छन्दवाद वा छाडापनबाट हुनसक्ने धम्की, वल प्रयोग वा छलकपट गरी डेटिङ गर्ने, यौनिक अपराध अथवा दुर्व्यवहार, हिंसा, हतोत्साह जस्ता विकृतिहरूको सामना गर्न महिलाहरू एक ठाउँमा बसी छलफल गर्न र समाधान खोज्न सक्षम भएका छन् । यी सबै नारीवादी अभियानका उपलब्धीहरू हुन् ।