केही प्रश्नहरु नउब्जिएकै राम्रो । जब प्रश्नहरु उब्जिन्छन्, त्यसले उत्तरको खोजी गर्छ । सायद मानिसको नियति नै यही हो, उसको मनमा प्रश्न उब्जिरहन्छ । त्यही प्रश्नले उसलाई दुःख दिइरहन्छ ।

अहिलेको डिजिटल दुनियाँमा सबै किसिमका पत्रिकाहरु सरल रुपमा प्रकाशन भइरहेका छन् । राजनीतिक पत्रिकाहरुको भिड त छँदैछ । अन्य क्षेत्रका विशेष अनलाइन पत्रिकाहरु पनि अहिले छ्याप्छ्याप्ती पढ्न पाइने भएको छ ।

डिजिटल दुनियाँको यो क्रान्तिमा हामीले देख्यौँ, नेपाली भाषामा प्रशस्त आर्थिक पत्रिकाहरु चलिरहेका छन् । त्यसमा पनि बैँकिङ्, इन्सुरेन्स, ट्रेडिङ् र सेयरसम्बन्धी पोर्टलहरुले आर्थिक पत्रकारितालाई मलजल गरिरहेका छन् । त्यसबाहेक स्वास्थ, शिक्षा, ऊर्जा, प्रशासन, जीवनशैली सबै किसिमका छुट्छुट्टै दैनिक पोर्टलहरु चलिरहेका छन् । जसले ती क्षेत्रका भित्री पाटोलाई बाहिर ल्याइरहेको छ । त्यसभित्रका अनौठा खबर छापिरहेको छ ।

तर संसारभर छरिएर रहेका पाँच करोड नेपालीभाषीलाई लक्षित गरेर पत्रिका किन निस्किरहेका छैनन् ? के भाषा, साहित्य, कलालाई मात्र केन्द्रमा राखेर दैनिक पोर्टल सञ्चालन गर्न सकिँदैन ? के राजनीति र यसभित्रका षडयन्त्रका खबर पढ्नु मात्रै नेपालीको नियति हो ? के हाम्रा दिमागमा सिर्जनशील कुराहरू आउन सक्दैनन् ?

यो त्यही प्रश्न थियो, जसले साहित्यपोस्ट जन्मन प्रेरित ग¥यो । यो प्रश्नले यति हुटहुटी जन्मायो कि नेपालका ठूला मिडियाको जागीर छाडेर यसमा होमिन मन लाग्यो । पत्रकारिता मेरो मन र मुटुमा थियो तर पत्रकारितामा अरुले बनाएको सरल बाटोमा हिँड्दा-हिँड्दा मन थाकेको थियो । एकबारको जुनिमा कहिलेकाहीँ आफैँ बाटो बनाएर हिँड्दा कस्तो हुन्छ ? एउटा प्रश्नले बारम्बार लखेटेको थियो ।

आज साहित्यपोस्टले एक वर्षको बाटो हिँडेको छ । पछाडि फर्किएर हेर्दा लाग्छ, स्याउ झरेको देखेर प्रश्न नब्जिएको भए, ब्रम्हाण्डको अन्त्यबारे प्रश्न नउब्जिएको भए, दुःख निरोधको प्रश्न नउठेको भए, संसारको सर्वोत्तम ग्याजेट कस्तो हुन्छ नसोचेको भए, सबैलाई जोड्न सकिने सूत्र कस्तो हुन्छ भन्ने चासो नजागेको भए न्युटन, आइस्टाइन, सिद्धार्थ गौतम, स्टिभ जब्स, मार्क जुकरबर्गहरु पनि परम्परागत बाटो नै हिँड्थे । आज हामीले जीवन र जगतको जुन धरातलमा टेकिरहेका छौँ, जुन प्रविधि चलाइरहेका छौँ, यी र यस्तै प्रश्नहरुले उब्जाएका उत्तर हुन् ।

३ सय ६५ दिनमा करिब ७ हजार जति सामग्रीको भारी बोकेर साहित्यपोस्ट दोस्रो वर्षमा उकालो लागेको छ । सामान्यरुपमा यो अरुभन्दा फरक कुरा नलाग्न सक्छ तर सधैँ एकैनासे जीवन बाँच्न अभिशप्त हामी राजनीतिको दाउपेचभन्दा पर रहेर, स्वार्थ र घाँटी रेट्ने प्रतिस्पर्धाबाट पछि हटेर स्वचिन्तन र स्वसुखका लागि साहित्य सिर्जना गरेर पनि जीवनका केही दिन र केही घण्टाहरु व्यतित गर्न सकिने रहेछ र त्यो लोकप्रिय माध्यमद्वारा आमपाठकसम्म पुग्न सकिँदोरहेछ भन्ने महसुस गर्दा हामीलाई अपार आनन्द महसुस भइरहेको छ ।

साहित्यपोस्टले भाषा, साहित्य र कलाका अथक साधकहरुलाई जोड्ने, उहाँहरुको कामको मूल्यांकन गर्ने, एक अर्कालाई हौसला दिने र सामूहिकरुपमा अघि बढ्ने संस्कारको विकासको प्रयत्न गरिरहेको छ । युगले कोल्टे फेरेको यो अवस्थामा अब साहित्यपोस्टमार्फत कलाका सबै सामग्री एकसाथ एकै ठाउँमा पढ्ने, सुन्ने र हेर्ने वातावरण बनाउने काममा हामी लागिरहेका छौँ । यो कार्यले हामीलाई अझ नजिक र व्यवस्थित बनाउने छ भन्ने विश्वास छ ।

राजनीति र आर्थिकबाहेक अर्को पनि संसार छ, जहाँ स्वान्त सुखाय जीवन बाँच्न सकिन्छ भनेर साहित्यपोस्टलाई साथ दिने तमाम सर्जक, पाठक, विज्ञापनदाता एवं शुभचिन्तक प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । चाँडै महामारी युगको अन्त्य होस् र जीजिविषाको यो कोलाहलयुक्त जीवनबाट शान्त आनन्दमय सिर्जनशील वातावरणको पदार्पण होस्, आजको दिनमा हामी यही कामना गर्दछौँ ।