पछिल्लो समय ब्लुमिङ मुभमेन्ट निकै चल्तीको शब्द बन्न पुगेको छ । ठूला र आँखै तिर्मिराउने भवन, अपार्टमेन्टमा हरियाली पनि सँगै गाँसिएर आउन थालेका छन् । खासगरी एभरग्रिन आर्किटेक्चर नामक कम्पनीले डिजाइन गरेका भवनहरूमा यो कला प्रकट हुन थालेको छ ।
विकसित मुलुकले हरियालीको अर्थ बुझेका छन् । आँखाले हरियो खोज्छ भन्ने उनीहरूलाई थाहा छ । त्यसैले चाहे सानो ठाउँमा कोही बसोस्, उसको आँखाअगाडि झुल्किने हरियालीले उसको आँतलाई शीतलता प्रदान गर्छ ।
हरियालीको यो महत्त्व पहिले त्यति थिएन किनभने आँखाअगाडि टाढाटाढासम्म हरियै हरियो देखिने खाली ठाउँहरू प्रशस्त थिए । जब घनाबस्ती बढ्दै जान थाल्यो, हरियालीको महत्त्व पनि बढ्दै जान थाल्यो । १९ औँ शताब्दीको बेलायतमा यस्तो हरियालीको महत्त्व बढ्न थालेको इतिहासका पानामा पढ्न पाइन्छ, जब गार्डेन सिटीको अभियान सुरू भयो । विलियम रबिन्सन तथा गर्टुड जेकिलले त बगैँचा नभएको सहर मृत हो भन्ने घोषणा नै गरेका थिए ।
सन् १९३० को दशकसम्म आइपुग्दा बगैँचा कोठासम्म छिर्न थालेको थियो । साना लहराहरू घरको कोठासम्म पुऱ्याउँदा आनन्द मान्ने सर्वसाधारणको सङ्ख्या त्यो बेलासम्म बढेको थियो ।
यतिबेला विकसित मुलुकमा एभरग्रिन आर्किटेक्चरले सोही लहरा कोठाभित्र छिराउने प्रयास गरेको छ र त्यसैका दृश्यहरू हामीले यहाँ देखाएका छौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

