शब्द: गोविन्द गिरी प्रेरणा

रेखाचित्र: कृष्ण मर्सानी

कलम बलियो कि तरवार ? यो प्रश्नको सान्दर्भिकताको मृत्यु भैसकेको छ । यो प्रश्नमाथि वाद विवाद गर्नु निरर्थक भैसकेको छ । तर एउटा लेखकविरुद्ध सिङ्गै राष्ट्र उसमाथि खनिन्छ भने के भन्ने ? एउटा लेखकका पुस्तकहरू राष्ट्रका सम्पूर्ण सार्वजनिक पुस्तकालयबाट हटाइन्छ भने के भन्ने ? एक लेखकको पुस्तक बिक्री वितरण गर्न सम्पूर्ण पुस्तक पसलहरूमा प्रतिबन्ध लगाइन्छ भने के भन्ने ? एउटा लेखकले आफूले आफ्नो मातृभाषामा लेखिएको कृति अनुदित भएर मात्र प्रकाशन हुन पाउँछ, तर आफ्नो मुलुकमा प्रकाशित हुन पाउँदैन भने के भन्ने ? बीसौँ शताब्दीका एक महान् उपन्यासकार मिलन कुन्देरा त्यस्तो लेखक हुन्, जसले यी सबै भोग्नु पर्‍यो ।

गोविन्द गिरी प्रेरणा

मिलन कुन्देराको जन्म १ अप्रिल १९२९ मा चेकोस्लोभाकियाको ब्रनो भन्ने ठाउँमा भएको थियो । उनका पिता लुदविक कुन्देरा एक कुशल पियानोवादक थिए र उनी चेकोस्लाभाकियाका महान् सङ्गीतज्ञ लुइस जानोकका शिष्य थिए ।

मिलन कुन्देराले अठार वर्षको उमेरमा कम्युनिस्ट पार्टीमा प्रवेश गरे तर चेकोस्लोभाकियामा कम्युनिज्मको निर्णायक विजयपश्चात् उनलाई पार्टीबाट निष्काशन गरियो । सन् १९६८ मा चेकोस्लोभाकियामा रुसी हमलापछि उनलाई प्रतिक्रान्तिकारीको गम्भीर आरोप लगाइयो । सन् १९४७ मा चेक कम्युनिष्ट पार्टीमा प्रवेश गरेका मिलन कुन्देराले सन् १९५० मा पहिलो निष्काशनको अपमान व्यहोरेपछि १९५३ मा फेरि उनलाई पार्टीमा प्रवेश दिइयो र फेरि १९७० मा दोस्रोपल्ट पार्टीबाट निष्काशनको पीडा भोग्नु पर्‍यो ।

सन् १९६९ मा उनले १५ वर्षदेखि कार्यरत सङ्गीत नाट्यकला एकेडेमीको सहायक प्रोफेसरको पद गुमाउनु पर्‍यो । त्यतिमात्र होइन, सरकारले सम्पूर्ण सार्वजनिक पुस्तकालयबाट उनका पुस्तकहरू हटायो । त्यसपछिका वर्षहरू मिलन कुन्देराका कष्टकर समय थिए । उनको दैनिक जीवनलाई सरकारी अधिकारीहरूले कष्टप्रद बनाएका थिए । यसैबीच सन् १९७५ मा फ्रान्सको प्रसिद्ध ‘रेनेश विश्वविद्यालयले उनलाई प्राध्यापकीय कामको लागि प्रस्ताव गर्‍यो र उनी श्रीमती भेरासहित फ्रान्स निर्वासनमा गए । उनी लेखनकै कारण आफ्नो जन्मदेशबाट लखेटिनु पर्‍यो ।

“मेरा पुस्तकहरू प्रतिबन्धित भए, रुसी आक्रमणको समयमा तर पनि म प्रागमा निरन्तर बसी नै रहेको थिएँ तर म आफूलाई भाग्यमानी सम्झन्छु– किनभने गालोमार्ड नामक फ्रान्सेली प्रकाशक मैले भेट्टाइसकेको थिएँ, जो म जे लेख्छु प्रकाशन गर्न मञ्जुर थियो । यसले स्थितिलाई कम निर्दयी बनाउन मद्दत गर्‍यो । तर प्रतिबन्धित हुने त म एक्लो थिइनँ। मेरा पिँढीका सबैजसो साहित्यकर्मीहरू र मित्रहरू प्रकाशकको अभाव भोग्न बाध्य थिए तर तुरुन्तै आफ्नो मुलुकमा नछापिँदाको असहजता आफ्नै प्रकारको हुन्छ । तत्कालीन पाठकको आफ्नो जे माग हुन्छ, रुचि हुन्छ, त्यसप्रति एउटा लेखक सचेत हुनुपर्दछ । त्यसैले मैले प्रतिबन्धित अवस्थामा दुईवटा उपन्यास लेख्दा स्वतन्त्रताको अनुभव गरेँ । म सेन्सरको झन्झटबाट मुक्त थिएँ, जुन आफ्नो मुलुकमा प्रकाशित हुँदा भोग्नुपर्थ्यो । त्यस्तै जनदबाब पनि थिएन अब ममाथि !” मिलन कुन्देरा भन्छन् ।

मिलन कुन्देराले आफ्नो लेखन यात्राको क्रम कविताबाट सुरु गरेका थिए । यद्यपि अहिले उनी त्यस कालखण्डका ती रचनाहरूलाई ठूलो महत्त्व दिन रुचाउँदैनन् ।

उनले १४ वर्षको उमेरदेखि नै कविता लेख्न आरम्भ गरेका थिए । उनको प्रथम कवितासङ्ग्रह थियो ‘मानिस एक फराकिलो बगैँचा (१९५३) । यसले अतियथार्थवाद लगायत दयालु कम्युनिस्टको विश्वास प्रतिविम्बित गर्दछ । तर यस सङ्ग्रहलाई पार्टीले ‘व्यक्तिवादी’ को आरोप लगाएर निन्दा गर्‍यो ।

त्यसपछि उनका अरू दुई कवितासङ्ग्रहहरू प्रकाशित भए –‘अन्तिम मई’ (१९५५) र ‘एकालाप’ (१९५७) । यी दुईमध्ये ‘अन्तिम मइ’ मा चेकोस्लाभियाका कम्युनिस्ट जुलिस फ्युच्यिकमाथि केन्द्रित थियो जो प्रतिनाजीवादको नायक हो, भने ‘एकालाप’मा उदासिन स्वास्नीमानिसहरूका आत्मस्वीकृति थियो ।

यी कृतिहरू प्रकाशित हुनेबित्तिकै तत्कालै बिक्री भयो तर सरकारी अधिकारीहरूले अत्यन्त बर्बर, निराशावादी र कामुकतापूर्ण भनेर बिल्ला लगाइदिए, जसको फलस्वरूप अरू ७ वर्षसम्म तिनले पुनर्मुद्रणको अवसर पाएनन् ।

मिलन कुन्देरालाई फ्रान्सेली आलोचक आरागरले “यस शताब्दीका महान् उपन्यासमध्ये एक” मानेका छन् । उनको पहिलो उपन्यास थियो ‘ठट्टा’ (१९६७) । यस उपन्यासको बारेमा कुन्देरा भन्छन्, “मैले यसलाई सन् १९६२ को पछिल्लो समयमा लेख्न सुरु गरेको थिएँ, जतिबेला मेरो उमेर मात्र ३३ वर्षको थियो ।

चेकोस्लोभाकियाको एउटा सानो सहरमा भएको एक घटना यसको कथासूत्र बनेको थियो । आफ्नो प्रेमीलाई उपहार दिनका लागि फूल चोरेको अभियोगमा एउटी केटी गिरफ्तार हुन्छे । यसले एउटा चरित्रको आकार लियो मेरो आँखामा । त्यो थियो, लुपीको चरित्र जो यौन र प्रेमलाई दुई पूर्ण रूपले फरक र असङ्गत कुरा हुन् भन्ने मान्यता राख्छ । त्यसपछि एक पुरुष चरित्रको कथा मेरो दिमागमा आयो, जो आफ्नो जीवनमा एकै प्रकारको प्रेम–क्रियामा केन्द्रित हुन्छ । त्यो लुदविकको चरित्र हो । वास्तवमा ‘ठट्टा’ शरीर र आत्मा बिचको दोहोरी हो । … यसलाई प्रागले समाजवाद विरुद्धको पर्चा ठान्यो र प्रतिबन्ध लगायो भने विदेशी प्रकाशकले यसलाई राजनैतिक स्वैरकल्पना मात्र भनेर स्वागत गर्‍यो ।”

यस उपन्यासलाई मार्टिन सेमौर–स्मिथले यसमाथि टिप्पणी गर्दै भनेका छन्, “एकैपटक नक्कली स्टालिनवादी कम्युनिज्मलाई व्यङ्ग्य गर्छ र अवसरवादीहरूलाई पनि जो यसमा मौलाएका छन् तथा चेकोस्लोभाकियाली चरित्र आफैँलाई पनि ।”

त्यस्तै गाभिन मिलरले भनेका छन्, “अत्यन्त कठिन कार्य, सूत्रबद्धता विहीन गम्भीर, सजिलै टुट्न नसक्ने कोमलता, विचार र सोचमा समृद्ध !”

त्यसो त ‘ठट्टा’ उपन्यास प्रकाशित हुनुअघि कुन्देराको “साँचोका मालिकहरू” (१९६१) नाटक प्रकाशित भएको हो जुन उनको पहिलो नाटक थियो । अमेरिका र बेलायत लगायत १४ विभिन्न मुलुकहरूमा यो नाटक सफलतापूर्वक प्रदर्शन भयो । दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा लेखिएको यो नाटकमा एउटा आदर्शवादी बिद्यार्थीले कसरी आफूलाई विध्वंस विरुद्ध सफलतापूर्ण सङ्घर्षमा होम्दछ भन्ने देखाइएको छ ।

उनको दोस्रो नाटक ‘दोस्रो बिहा’ (१९६८) ले कम्युनिस्ट पार्टीका उच्चपदाधिकारीहरूको भ्रष्टाचार र पाखण्डको पर्दाफास गर्दछ ।

“अरू कुनै पनि माध्यमबाट भन्न नसकिने कुरा उपन्यासबाट भन्न सकिन्छ भन्नेमा म विश्वास गर्छु । उपन्यासले कुनै प्रश्नको उत्तर दिँदैन तर यसले सम्भावनाहरू देखाउँछ,” मिलन कुन्देराको भनाइ छ ।

कुन्देराको दोस्रो उपन्यास ‘जीवन जहाँकहीँ छ’ (१९७३) यस्तो उपन्यास हो जसले एक तरुलताकारको व्यङ्ग्यचित्र प्रस्तुत गर्दछ ।

‘जीवन जहाँ कहीँ छ’ रिम्वाओको वाक्य हो जसलाई उनले लिए । यो वाक्यलाई अतियथार्थवादी आन्दोलनसँग सम्बन्ध आन्द्रे ब्रेतोंले उपसंहारको रूपमा प्रस्तुत गरेका थिए । यो उपन्यास लेख्ने विचार उनले पचासको दशकको मध्यतिर नै गरेका थिए, उनी एक सौन्दर्यशास्त्रीय समस्याको समाधान चाहन्थे, “कसरी एउटा उपन्यास पढ्ने जुन ‘कविताको आलोचना’ होस् साथसाथै स्वयं कविता पनि । जसले गर्दा यो उपन्यास जन्म्यो । उनले यो उपन्यास १९६९ मा पूरा गरे । यस उपन्यासले फ्रान्समा प्रकाशित विदेशी उपन्यासमध्ये श्रेष्ठ उपन्यासको पुरस्कार मेरी दिस लिटरेरी अवार्ड’ प्राप्त गर्‍यो १९७३ मा ।

उनको तेस्रो उपन्यास ‘विदाइ भोज’ (१९७६) हो । यो उपन्यास चेकोस्लाभियाको प्राकृतिक झर्नायुक्त सहरको पृष्ठभूमिमा लेखिएको छ, जुन ठाउँ बाँझोपनको उपचारकa लागि प्रख्यात छ । त्यहाँको अस्पतालको एक वर्गकी नायिका रुजेना जो हुन्छे, उसले क्लिमा नामक नायकबाट गर्भधारण गर्छे अनि आशा गर्दछे, क्लिमाले उसका लागि आफ्नो घर परिवार त्याग्ला तर क्लिमा आफ्नै श्रीमतीलाई अत्यधिक प्रेम गर्दछ । यहाँ ईर्ष्या छ, क्लिमाकी सुन्दरी श्रीमतीको, पुरुषभित्रको ईर्ष्या पनि छ तर यो विम्बवादी राजनैतिक उपन्यास हो । यसलाई कतिपय आलोचकहरूले उति मन पराएनन् र निराश देखिए । तर सौल मालोफले भने यो उपन्यासको प्रशंसा गर्दै भने–“यो यस्तो चतुर ढङ्गले लेखिएको राजनैतिक उपन्यास हो जुन थोरै दैवीशक्तिप्राप्त लेखकले मात्र लेख्न सक्छन्, किनभने यस्तो राजनैतिक उपन्यास लेख्न सम्भवै छैन !”

मिलन कुन्देराले ‘हास्यास्पद प्रेम’ शृङ्खलामा तीनखण्ड कथाहरू लेखेका छन् । तर यी तीन सङ्ग्रहबाट छानिएका ७ कथाहरूको सङ्कलन ‘हस्यास्पद प्रेम” अङ्ग्रेजीमा सन् १९७४ मा मात्र प्रकाशित भयो । मूल भाषा चेकमा तीन खण्ड सन् १९६३, १९६५ र १९६८ मा प्रकाशित भएको थियो । यी कथाहरूमा प्रेम र यौन राजनीतिको अद्भूत समिश्रण र दृढ अभिव्यक्ति छ । यी कथाहरूको विषयलाई पोल थेरोकसले एक सम्मिश्रण भनेका छन् । यी कथाहरू राजनीतिले बाँधिएका छन् ।

‘हँसाउने र बिर्सनेको पुस्तक’ उनको अर्को महत्त्वपूर्ण पुस्तक हो जसलाई सल्मान सस्दीले ‘एक कोसेढुङ्गा’ भनेका छन् । यो एक राजनैतिक व्यङ्ग्यात्मक उपन्यास हो जसमा एक कम्युनिस्ट नेतालाई इतिहासबाटै हटाइन्छ, उसको अस्तित्व देखिने कतै पनि केही बाँकी राखिन्न तर उसको टोप मात्र बाँकी रहन्छ ।

यो उपन्यास प्रकाशित भएपछि एक स्वीडेनेली पाठकले उनलाई भने “यो पुस्तक प्रकशित भएपछि समीक्षकहरूले तानिमाको चरित्रलाई मात्रै कुरा गरे । त्यहाँ यस्ती स्वास्नीमानिसको सम्बन्धको कथा छ जुन आदर्शमय छ । ऊ आफ्नो मृत लोग्नेलाई मृत्यूपरान्त पनि प्रेम गरिरहन्छे । तपाईँको पुस्तकको अन्तिम भागलाई कसैले पनि उल्लेख गरेनन् जुन असामाजिक, अमान्य छ ।”

उपन्यासकार, मिलन कुन्देराको अभिमत छ, ‘एक उपन्यासकारको रूपमा यद्यपि मेरा रुचिहरू अनेक छन्, तथापि हामी चेतन वा अवचेतन रूपमा आफ्नो इतिहासको पुनर्लेखन गरिरहेका हुन्छौँ । हामी निरन्तर आफ्नै जीवनकथा, पुनर्लेखन गरिरहेका हुन्छौँ ।’

कुन्देराको ‘हुनुको सहन नसकिने हल्कापन’ सन् १९८४ मा प्रकाशित भयो र यसमा तेरेजा भन्ने एक पात्र छ जसको समस्या हो– परिचय । आफ्नो परिचय । शरीर आत्माबिचको सम्बन्ध । यसलाई यसरी प्रस्ट पारिएको छ– ऊ एक इन्जिनियरसँग सहवास गरिरहेकी हुन्छे तर अचानक उसलाई लाग्छ, उसको आत्मा त्यसभन्दा टाढा छ जहाँबाट उसले त्यो सहवास निरीक्षण गर्दछ । यस विचारले ऊ उत्तेजित हुन्छे र यस्ता कामुक दृष्यहरूले चरित्रहरू र अवस्थाहरूलार्इ स्पष्ट गर्न मद्दत गर्छ । यो स्वयं कुन्देराको सोच हो । सन् १९९६ मा ‘अमरता’ प्रकाशित भयो । यो उनको पछिल्लो महत्त्वपूर्ण औपन्यासिक कृति हो । उनले उपन्यासको कला पनि लेखेका छन् त्यस्तै, ‘धोखापूर्वक इच्छापत्रहरू’ उनको नौ भागमा लेखिएको निबन्ध हो, जसको सिङ्गै पुस्तक प्रकाशित भएको छ ।

मिलन कुन्देरा यस शताब्दीका यस्ता प्रतिष्ठित उपन्यासकार हुन पुगे । चेकोस्लाभियाकाली भए पनि सन् १९७५ देखि फ्रान्समा स्थायी रूपले बसोबास गर्दै आएका उनले चेकोस्लाभियाको नागरिकता त्यागेका छैनन् । उनी चेक भाषामा लेख्छन् तर त्यो मूल रूपमा चेक भाषामा होइन, अनुवाद भएर मात्र प्रकाशित हुन्छ । तर सन् १९९६ मा उनले सारालाई आश्चर्यमा पारिदिए । लगभग पाँच वर्षको मौनतापछि अचानक फ्रान्सेली भाषामा मूल रूपमा उपन्यास लिएर आए र पछि त्यो अङ्ग्रेजीमा बेलायतको फेवर कम्पनीले प्रकाशित गर्‍यो । त्यो उपन्यास थियो, स्लोनेस ।

लेखन यात्राको क्रममा चेकोस्लोभाक राइटर्स पब्लिसिङ हाउस प्राइज (१९९१/१९९६९) क्लेमेण्ट गोटवाल्ड स्टेट प्राइज (१९६३) राइटर्स युनियन प्राइज (१९६७) जस्ता पुरस्कारहरू पनि प्राप्त गरिसकेका कुन्देराको फुर्सतको क्षणको रुचि बक्सिङ, सङ्गीत र कुकुर हो ।

सन् १९७७ मा बेलायतको एउटा पत्रिका ‘इन्डेक्स अन सेन्सरसिप’ मा उनले उपन्यासको पक्षमा गरेको वकालत महत्त्वपूर्ण छ । उनले त्यसमा भनेका छन्, ‘सन् १९२० देखि नै उपन्यासको मृत्यु सूचना लेखिरहेछन्– अतियथार्थवादीहरू, रुसीहरू, मालरौक्स सबले– जो दाबी गर्दछन्, मार्लोक्सले उपन्यास लेख्न छाडेदेखि नै उपन्यासको मृत्यु भयो आदि इत्यादि । के यो अनौठो छैन ? कोही पनि कविताको मृत्युको विषयमा कुरा गर्दैन। मैले भने अतियथार्थवादीहरूको महान् पिढीदेखि साँच्चैको महान् र कविताको नवीन काम देखिनँ । कोही पनि रङ्गमञ्चको मृत्युको बारेमा कुरा गर्दैन । कोही पनि सङ्गीतको मृत्युको बारेमा कुरा गर्दैन । सोनवर्गको सङ्गीतको हज्जार वर्षको परम्परा जो स्वर सङ्गीत र साङ्गीतिक उपकरणमा आधारित छ– परित्याग भैसक्यो । भार्से, जेनाकीस … म यिनीहरूलाई मन पराउँछु, तर के यी अझै सङ्गीत हुन् ? सङ्गीत दशकौँदेखि मरिसकेको हुनुपर्दछ तर कोही पनि यसको मृत्युको कुरा गर्दैनन् । तिनीहरू उपन्यासको मृत्युको कुरा गर्छन् । जबकि ५० वर्षको इतिहासमा उपन्यासका क्षेत्रमा हस्ती नै साहित्यमा सक्रिय साबित भएका छन्– रवर्ट मुसील, थोमस मान, फकनर, गुन्थर ग्रास, ज्योल, अथवा मेरा प्रिया मित्रहरू फिलिप रोथ र गार्सिया मार्खेज ।

‘उपन्यास आविष्कृत चरित्रहरूको खेल हो । तपाईँ तिनीहरूको आँखाबाट संसार अवलोकन गर्नुहुन्छ । त्यसरी तपाईँ फरक कोणबाट देख्नुहुन्छ … वैचारिकता असहनशीलताको पाठशाला हो । एउटा उपन्यासले तपाईँलाई सहजशीलता र समझदारीको पाठ पढाउँछ जबकि आज राजनीतिले धर्मको रूप लिएको छ । म ठान्दछु उपन्यास नै नास्तिकताको अन्तिम स्वरूप हो ।

कुन्देराको चेक नागरिकता सन् १९७९ मा रद्द गरिएको थियो तर उनले सन् २०१९ मा पुन: नागरिकता फिर्ता पाए । तर उनी भने आफूलाई फ्रान्सेली साहित्यकार मान्दछन् र त्यही रूपमा लिइदिऊन् भन्ने मनसाय राख्छन् ।