‘ला ! हेर्छेस्, यी… हेर् !’

‘आहा ! कस्तो राम्रो हेरिरहुँ जस्तो !’

दृश्यमा एघार–बाह्र कक्षा पढ्ने उमेरका दुई केटी छन् ।

पिकनिक–स्पटको सेड, दिउँसोको समय र खुला वातावरण छ । हेर्दाहेर्दै एउटीले माथिको लुगा खोली । लगत्तै अर्कीले पनि त्यसै गरी । दुवै केटीहरूबीच लुगा खोल्ने, आफैँले आफ्नो स्तन दबाउने, सम्भोग–आसन देखाउने प्रतिस्पर्धाजस्तो हर्कत निकैबेर चल्छ । बीच–बीचमा छाडा शब्द बोलेको पनि सुनिन्छ ।

यो टु एक्स दृश्य र थ्री एक्स संवाद मोबाइलमार्फत खिच्ने अर्की केटी साथी पनि छ । तर देख्नेहरूलाई थाहा छैन को हुन् ती केटीहरू । त्यसो त ती कोही यौनकर्मी, सामान्य घरका चेलीबेटी वा इटहरी क्षेत्रकै कुनै नाम चलेका कलेजका विद्यार्थी अर्थात् जो पनि हुन सक्छन् । यो दृश्य तालतलैयामा खिचिएको दाबी गर्दै स्थानीय एक अखबारले समाचार प्रकाशित गर्यो । भिडियो खिचिएकोमा भन्दा पनि समाचार लेखिएकोमा मानिसहरू निकै आक्रोसित भए । खण्डन–मण्डन चल्यो । तर त्यो दृश्यमा प्रयोग भएका केटीको उमेर, उपयोग गरिएको ग्याजेट र मेमोरी–कार्डको ‘मिस युज’ भएकोप्रति कसैले खण्डन गर्न सकेनन् ।

किशोरवयमा यस्ता यौन दृश्य खिचिएको र सार्वजनिक भएको घटनाको यो एकमात्र उदाहरण होइन । गायक प्रकाश ओझाको यौन शोषणमा परेकी इटहरीकी ज्योति अर्थात् जेसिका खड्काले पछि आत्महत्याको नियति बेहोरिन् । इनरुवा गुद्री बजारकी पोदार थरकी एक किशोरीले इटहरीको एउटा लजमा आएर ब्वाइफ्रेन्डसँग थ्री–एक्स व्यवहार गरेको दृश्य मोबाइलको मेमोरी–कार्डमा सहजै उपलब्ध छ । बाइट हेर्दा थाहा हुन्छ, मोबाइलमार्फत भिडियो खिच्नु र मेमोरीमा सेभ गर्नुमा ती किशोरीलाई कुनै आपत्ति छैन ।

इनरुवा–६ का शर्मा थरका एक विद्यार्थीको ब्यागमा शिक्षकले नीलो सिनेमाको सिडी फेला पारे । कक्षा सातमा पढ्ने ती छात्रलाई एउटा अर्को साथीले त्यस्तो सिडी ल्याइदिने र घर पुगेपछि झ्याल–ढोका बन्द गरेर म्युट मोडमा टिभीमा हेर्ने बानी नै बनिसकेको रहेछ ।

बालग्राम स्कुलमा कक्षा सातमा पढ्ने राई थरका एक छात्रले बाल यौन दुराचारसम्बन्धी सिडी ल्याएको फेला पर्यो । सिडी कम्प्युटरमार्फत कपी गर्ने र साथीलाई सेयर गर्ने काम हुँदै रहेछ । नीलो सिनेमाका सिडी हेर्ने, नेटमा अश्लील साइटमा अलमलिने कमजोर विद्यार्थीहरूको एउटा समूह नै फेला परेको थियो त्यो बेला ।

पिसजोन माविमा कक्षा नौमा पढ्ने राई थरकै एक छात्र दुई–तीन महिनाको अवधिमा पढाइमा निकै कमजोर हुन थाले । एकाएक उनको व्यवहारमा आएको यो नकारात्मक लक्षणले अभिभावक र शिक्षकलाई चिन्तित बनायो । लाहुरे बाबुले ल्यापटप पठाइदिएपछि ती छात्रको व्यवहारमा परिवर्तन आएको रहेछ ।

विद्यालयबाट घरमा गयो कि ल्यापटप खोलेर घरकै एकान्त वा छतमा गएर घण्टौँ बस्दा रहेछन् । आमा आएको देख्नेबित्तिकै ल्यापटपलाई ‘हाइवर–नेट’ गर्दा रहेछन् ।

शिक्षकले आमालाई ल्यापटपमा नेटले कसरी काम गर्छ र केही बेरअघि हेरिएको साइट कसरी पत्ता लगाउने भन्ने तरिका सिकाइदिएछन् । त्यसपछि आमाले छोरा स्कुल गएको मौका पारेर ल्यापटपबाट शिक्षकले बताएअनुसारले छोराले हेर्ने साइट खोजेर पत्ता लगाइछन् । केही दिनपछि छोराको बानीबारे शिक्षकले जिज्ञासा राख्दा आमाको प्रतिक्रिया थियो –

‘बजिया त तन्नेरी पो भएछ !’

विष्णु मेमोरियल उच्चमावि धरानमा कक्षा ६ अध्ययनरत १२ वर्षीया सृष्टि रानाभाटले आत्महत्या गरिन् । आत्महत्याको कारण जान्न सबै उत्सुक भए ।

चार दिनअघि अर्थात् २०६७ फागुन १२ गते बिहीबार शिक्षक अजय शर्माले सृष्टिकै एक जना साथीको झोलाबाट एउटा सिडी फेला पारेका थिए । सिडी अश्लील सिनेमाको भएको थाहा पाएपछि शर्माले केरकार गरेछन् । उक्त सिडी सृष्टिको भएको तथ्य खुलेपछि उनले अन्य दुई छात्रासहित चार जनालाई यस्तो सिडी आइन्दा विद्यालयमा नल्याउन सम्झाएछन् । त्यसै रात सृष्टिले आत्महत्या गरिन् ।

बाल मनोविज्ञानलाई ख्यालै नगरी शिक्षकले मानसिक यातना दिएको र त्यसैको प्रभावले सृष्टिले आत्महत्या गरेको आरोप लागेपछि प्रहरीले अजयलाई नियन्त्रणमा लियो । विवाद बढ्दै जाँदा जनसरोकार मञ्चको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरियो । बालिकालाई आत्महत्याका लागि उत्प्रेरित गर्ने कारण पत्ता लगाउनु, घटना दोहोरिन नदिन सरोकारवालाहरूलाई सुझाव दिनु समितिको उद्देश्य थियो ।

घटना हुनुभन्दा अघिल्लो रात फागुन १५ गते सृष्टिले खानामा रुचि देखाइनन् । थोरै खाना खाएर कोठामा गएपछि भित्रबाट चुकुल लगाएकी थिइन् । सधैँ बिहान पाँच बजे उठेर ट्युसन जान तयारी गर्नुपर्ने हुँदा ढोकामा चुकुल लगाएर सुत्ने सृष्टिको बानी थिएन । त्यो दिन छोरीले चुकुल लगाएको थाहा पाए पनि बाबुआमाले अनपेक्षित घटना हुन लागेको भेउ पाएनन् ।

विद्यार्थीको झोला जाँच गर्दा गेमको खोल भएको सिडी फेला परेपछि वार्षिक परीक्षा नजिकिएको बेला गेम खेल्न नहुने भन्दै शिक्षक शर्माले त्यो सिडी लिएका थिए । भोलिपल्ट अर्थात् फागुन १३ गते शुक्रबार कक्षा ६ कै एक छात्रले ‘सरले त ब्लु–फिल्मको सिडी भेट्नुभएको छ रे हो ?’ भनेर सोधेपछि शर्मा छक्क परे । नभन्दै घरमा लगेर हेर्दा त त्यो अश्लील सिनेमाको सिडी रहेछ । आइतबार स्कुल खुलेपछि शिक्षकले सोधीखोजी गर्दा सो सिडी आफ्नो भएको सृष्टिले स्वीकार गरिन् । गेमकै सिडी भनेर भूलवश सो सिडी बोकेको उनको तर्क थियो ।

त्यसपछि शिक्षकले आइन्दा यस प्रकारका सिडी विद्यालय नल्याउन भन्दै कक्षामा भएका सबै विद्यार्थीका अभिभावकको फोन नम्बर लिए । यसबारे अभिभावकलाई जानकारी दिने बताए पनि शिक्षक शर्माले विद्यालय प्रशासन र सृष्टिका अभिभावकलाई कुनै जानकारी दिएनन् । उनले केही शिक्षक स्टापको सल्लाहमा घटनाबारे कसैलाई जानकारी गराएनन् । त्यो दिन १० मिनेट जति केरकार गरेपछि सृष्टि र साथीहरू आँखा पिल–पिल पार्दै कार्यालयबाहिर निस्केका थिए । सृष्टिले आइतबार नै साथीहरूलाई चकलेट, पेन्सिल र जिओमेट्री बक्स बाँडेकी थिइन् ।

बिहीबार साथीको झोलामा सिडी फेला परेदेखि नै सृष्टि मानसिक तनावमा थिइन् । छोरीलाई केही उदास देखेपछि उनलाई खुसी पार्न अभिभावकले धरान–९ स्थित रमाइलो दोहोरी पनि लगेका थिए । तर कसैले उनको मन जीवनको वास्तविकतातर्फ फर्काउन सकेनन् । र, कथित बदनामी हुने भय बढ्दै गएर आत्महत्यासम्म पुग्यो । साथीहरूलाई चकलेट बाँडेकै रात सृष्टिले साथीभाइ, परिवार, आफन्त, समाज सबैलाई सधैँका लागि शोकमा डुबाइन् ।

पृष्ठभमिमा हाम्रो समाज, विद्यालय र घरपरिवारको वातवारण अझै यौन जिज्ञासा–समाधानमैत्री हुन सकेको छैन । सृष्टि आत्महत्या प्रकरणमा हाम्रो समाज र शैक्षिक संरचना दुवैको दोष छ । सङ्क्रमणकालीन यो मोडमा एकातिर हाम्रो समाजलाई आधुनिक हुन हतारो देखिन्छ, अर्कोतिर परम्परागत सोच र अवधारणाको स्पिड–ब्रेकर जथाभावी बनाइएको छ । अर्थात् यौन–जिज्ञासा व्यवस्थापनका सवालमा न हाँसको चाल न बकुल्लाको चाल छ ।

युवापुस्ता यौन, यौनिकता, फेसन र संस्कारमा उदार हुँदै गए पनि समाजले यी कुरामा सङ्कुचित धारणा कायमै राखेको छ । आजको प्रतिस्पर्धी समाजमा अभिभावकहरू पैसा तथा प्रतिष्ठाका लागि एकोहोरो दौडिरहँदा परिवार र बच्चाहरूका लागि समय दिन नसकिरहेको अवस्थामा अभिभावक र बच्चाबीच एक किसिमको दुरी बढेको देखिन्छ । बच्चालाई प्रतिस्पर्धी बनाउन अनुशासनलाई प्राथमिकता दिने नाममा बाल मनोविज्ञानको ख्याल नगरिँदा पुस्तैनी खाडल (जेनेरेसन ग्याप) अझ फराकिलो भएको छ ।

बालबालिका र किशोर–किशोरीमार्फत हाम्रै समाजका विकृतिहरू प्रतिबिम्बित भइरहेका हुन्छन् । सम्भावित बद्नामीलाई झेल्नसक्ने सामथ्र्य जुटाउन नसक्दा कतिले आत्महत्याको बाटो रोज्ने गर्छन् । यौनलाई अत्यन्तै वर्जित तथा हेर्न र गर्न नहुने वस्तुको रूपमा बुझाउँदा किशोर–किशोरीहरू अपराधबोधको भारीले थिचिने गर्छन् ।

यौनका सवालमा किशोरावस्था अत्यन्तै संवेदनशील अवस्था हो । किशोरीहरू अझै बढी संवेदनशील हुन्छन् । वयस्क पनि नभइसकेका उनीहरू आफूलाई बालबालिका पनि ठान्दैनन् । यस्तो उमेरमा तत्काल आएको समस्या कसरी हल गर्ने भन्ने सुझबुझ हुँदैन । समस्यासँग जुध्न नसक्ने कमजोर मनोबल भएका बालबालिकाले हतारमा गलत निर्णय लिने गर्छन् । तर समय अन्तरमा एकपछि अर्को घटना सार्वजनिक हुँदैगर्दा समाजले हरेक घटनालाई बूढी मरेको रूपमा मात्र लिने गरेको पाइन्छ । काल पल्किने खतरातर्फ कमै मान्छे सचेत छन् ।

सूचना प्रविधिको विकाससँगै ज्ञानको अथाह तथ्य भण्डारण गर्न सकिने सिडी तथा मेमोरी कार्डको बढ्दो नकारात्मक प्रयोग देखेर अभिभावकको चिन्ताको पारो माथि चढ्नुपर्ने हो । सरोकारवालाको मन चिन्ताको धमिरोले कुटुकुटु खानुपर्ने हो । तर यी सब कुराबाट समाज बेखबरजस्तै छ । पेट्रोल हेर्दा सामान्य र छाम्दा चिसो भए पनि भित्र ‘आगो’ लुकेको हुन्छ । क्षणभरमै ठूलो क्षति हुने सम्भावनायुक्त, जोखिमपूर्ण हुन्छ । तर अधिकतर अभिभावक यौनशिक्षासँग जोडिएका सम्भावित जोखिमहरूबारे बेखबर छन् । समाजको यो मनोदशा बुझेर होस् वा नबुझेर अहिलेको पुस्ता यौनसम्बन्धी जिज्ञासाको सेरोफेरोमा विकृतिको आहालमा रमाइरहेको छ ।

‘ए हो र ! यस्तो पनि हुन्छ र !’

घटना सार्वजनिक हुँदा कति त्यसलाई समस्या समाधानको उपयुक्त अवसर भन्ने ठान्छन् भने कतिचाहिँ यस्तो हुनै सक्दैन भनेर उल्टो खेद्न खोज्छन् । भनिन्छ, उल्टो खेद्न चाहने अभिभावकहरू केटाकेटीले प्रदर्शन गर्ने कृत्रिम सोझोपनको भ्रममा परेका हुन्छन् । उल्टो अर्थमा बुझ्ने प्रवृत्तिले पनि समस्या झन् जटिल बनिदिन्छ ।

जीवनोपयोगी शिक्षाका लागि सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुनुपर्ने ग्याजेटहरू हल्काफुल्का मनोरञ्जनका साधन मात्र बनाइनु अर्को चिन्ताको विषय हो । भनिन्छ, ग्याजेटहरूमा हुने मेमोरी कार्डले गर्ने–नगर्ने जम्मै काम गर्न सक्छ । तर यो साधनको उपयोगिता प्रयोगकर्ताकै हातमा भर पर्छ । जस्तो कि हिंसाको अवधारणा खुकुरीको धारमा होइन मान्छेको मनमा हुन्छ ।

शिक्षकहरू भन्छन्, अहिलेको पुस्ताले इन्टरनेटमा पोर्न भिडियो र चित्रबाहेक केही खोज्न जानेकै छैन कि जस्तो भइसक्यो । यो जनरेसन पोजेटिभभन्दा नेगेटिभ कुरामा बढी गइरहेको छ । प्रविधिको उपभोग गर्न जाने पनि उपयोग गर्न जानेको छैन । प्राविधिमा पहुँच बढेपछि विद्यार्थी झन् अब्बल हुनुपर्ने हो तर भइरहेको छ उल्टो । विश्व एउटा हत्केलाभित्र साँघुरिएको बेला ग्याजेटहरूमार्फत फैलिरहेको यौन भाइरसका कारण नयाँ–पुस्ताको बिउ असमय कुहिन सक्छ ।

यौन अति आनन्ददायक, रहस्यमय र स्वर्गीय हुन्छ भन्ने सामाजिक भ्रम रहेकाले विकृतिले मलजल पाएको हो । वस्तुनिष्ठ भएर हेर्दा थाहा हुन्छ, यौन कति पीडादायक छ, यो कति समस्या र अपराधको कारक हो । त्यसैले समस्या समाधानका लागि यौनको सन्दर्भलाई निरन्तर सार्वजनिक बहसमा ल्याउनु जरुरी छ । अभिभावक र शिक्षकले आफ्नो जीवनकालका यौनसँग जोडिएका अनुभव नयाँ पुस्तालाई भन्नुपर्छ ता कि यौन भनेको तिलस्मी केही होइन रहेछ भन्ने धारणा विकास गर्न सकियोस् ।

जुन परिवारका अभिभावक प्रविधिको दुरूपयोगप्रति सचेत छैनन्, त्यो परिवार खतराको सूचीमा छ । नकारात्मक कुरा त्यसै पनि शक्तिशाली देखिने भएकाले यौनका मामलामा के ठीक, के बेठीक छुट्याउन सक्ने क्षमता नभएका आफ्ना फोटोकपीहरूले के गरिरहेका छन्, टाढैबाट भए पनि चिहाउनु जरुरी छ ।

पढ्नेलाई सुनको माला, लेख्नेलाई फूलको माला ! मित्र पेशल आचार्य प्यासीले भने जस्तो बाँकी ऐजन–ऐजन ।