लामो परदेशवासपछि भोलि घर फर्किने कुराले उसको मन त्यसै-त्यसै फुरुक्क भएको थियो । घर सम्झने बित्तिकै मनमा यति खुसी र रमाइलो उसलाई पहिले कहिल्यै लागेको थिएन । हुन त अघिअघिको भन्दा यसपालिको परदेश बसाइ निकै लामो भएको थियो। कामै त्यस्तो थियो यसपालि । चिताउने बित्तिकै हिँड्नै नपाइने । अघिल्ला पटकहरूमा भन्दा विशेष थप भने उसकी नवविवाहिता दुलही नै थिइन् । विवाह गरेको महिना दिनपछि नै ऊ परदेश लागेको थियो । जति नै चाँडो गर्दा पनि पाँच, छ महिना त उसको त्यसै बितेर गयो।
घरबाट समाचारहरू, चिढीपत्रहरू आउँथे सबै कुरा राम्रो, कुशल छ भन्ने, तर ती चिठिपत्रहरूमा उसकी पत्नीको चर्चा, प्रसङ्ग आदि कतै हुँदैनथ्यो । नयाँ दुलही भएकीले होला तिनले पनि कुनै पत्र लेखिनन् न उसले नै लेखेका पत्रहरूमा पत्नीको कुनै चर्चा गर्यो । चिठी लेख्न थाल्दा कुनै कुनामा पत्नीका बारेमा केही लेखौँ कि लेखौँ कि भन्दाभन्दै पत्र पट्याएर खामभित्र हालिसकेको हुन्थ्यो । जतिपल्ट आँट गरेर पनि उसले पत्नीलाई अलग्गै भिन्दै पत्र लेख्नै सकेन ।
उसलाई पत्नीको झझल्को र सम्झना भने सधैँ आई नै रहन्थ्यो । कसैका नयाँ दुलहीलाई घुम्टोभित्र
देख्दा पनि उसलाई आफ्नै बेहुली देखेजस्तो लाग्थ्यो । नयाँ दुलहीहरूका पोटिला पाखुरा, छाती, लजालु गाला, लाललाल ओँठ, रसिला आँखा, सिङ्गो कपडा पसलले नै आफूलाई छोपौँलाजस्तो गरी लगाएका लुगा र ओढेका ओढ्नेहरू आदि सबै कुराहरू उसलाई अलल्लिने गरी आकर्षित गर्ने वस्तुहरू थिए।
एकमहिना जतिको छोटो सहवासमा पत्नीसँग दिल खोलेर बोल्न, कुरा गर्न, हाँस्न, लाज फुकाउन पनि राम्ररी पाएको थिएन । एकाएक परदेश लाग्नुपर्ने घरेलु बाध्यता आइपर्यो । परदेश सारै टाढाको त थिएन, तर फुत्त घर पुगिहालूँ भन्दा नभ्याइने । घर गइहाले पनि बीचैमा त्यस्तो काम छोडेर स्वास्नी भेट्न आयो भन्ने हुन् कि भन्ने डर । मनको सङ्कोचले आफै साँघुरिँदै छ महिना बितिसकेछ ।
घर हिँड्नका लागि सरसमान बाँधबुँध पारिसकेको थियो । घर जाँदा रित्तै के जाने, केही त लानै पर्यो, सोच्यो निकैबेर ।
इलाम जिल्ला पूर्वी पहाडको सबैभन्दा उन्नत जिल्ला हो । हावापानी राम्रो, जनचेतना उच्च, सफासुग्घर र आकर्षक छ । कृषि उत्पादनमा त्यहाँका मान्छे मेहनती छन् । आलु, ओलन, अम्लिसो, अम्बा, अलैँची, इस्कुस, अकबरे आदि इलाम जिल्लाका नगदे बालीहरू हुन् । इलामबाट झर्नेले केही लिएर घर गएन भने त्यो नसुहाउँदिलो मानिन्छ । उसले केटाकेटीका लागि इलामको नामी मिठाई “बम्बैसन” एक के.जी. किनेर झोलामा हाल्यो । फाट्टफुट्ट अरू सरसामान पनि खरिद गर्यो।
तरकारी केही खरिद गर्नुपर्यो भन्ने मनमा सोच्यो । इलामबाट घर जाँदा ताजा तरकारी लैजानु राम्रो मानिन्छ । तर बजारमा “सब्जी” भनेजस्तो केही थिएन । यसो अलिकति सागका मुठाहरू, केही स्कृसका जरा, केराउका कोसाहरू र सबैभन्दा धेरै चाहिँ इस्कुसको थुप्रो मात्र थियो । जताततै इस्कुस नै इस्कृस । सस्तो पनि भएछ पहिलाभन्दा सोच्यो –
– एक बोरा इस्कुस नै लगे निकै दिनलाई पनि हुने । अलिक छिप्पिएका छानेर लगे खान पनि सजिलो, फारु पनि, सस्तो पनि ।
ऊ ठूला-ठूला इस्कृसका थुप्रोहरूका नजिक गई इस्कृस छान्न थाल्यो । इस्कुस मज्जा मज्जाले छिप्पिएका थिए । तीखातीखा काँडाहरू उछिट्टिएका, बाक्ला र कडा बोक्रा, पोटिला पोटिला देख्दैखेरि । भेट्नोदेखि नै तनक्क तन्कदै पिँधतिर फुक्दै, कुनै नर्तकीको कममरजस्तो ठाउँ-ठाउँ सुक्दै, षोडशीका नितम्बजस्ता देखिने इस्कृसका दानाहरूलाई उसले एकक्षण घोरिएर हेरिरह्यो । हेर्दाहेर्दै उसलाई आफ्नै शरीर अनौठो किसिमले अप्ठ्यारो हुँदै आएको अनुभव भयो ।
उसले एउटा छिप्पिएको इस्कृस हातमा उठाएर हेर्यो । चस्स हत्केलामा घोच्यो काँडाले । बिस्तारो समातेर भेट्नोदेखि तलैसम्म हेर्यो । इस्कुस अलिक तलदेखि अनौठोसँगले खुम्चदै गएर फेदमा केही चिरिएको जस्तो भएको थियो र त्यही ठाउँमा भित्रैदेखि जिब्रो चेप्पिएर निस्किएको थियो । हेर्दाहेर्दै ऊ टोलाएछ –
“निकै घोरिएर हेर्नुभो त भाइ ।” व्यापारीले उसलाई झस्कायो ।
लाजले उसको अनुहार रातो भयो । व्यापारी पनि मुसुक्क मुस्कुराएर अर्कोतिर फर्क्यो। तर उसले हातको इस्कुसलाई भुइँमा राखेन, बरु भाउ सोध्यो । ऊ इस्कुसका दानाका आकारतिर केन्द्रित थियो ।
बिस्तारै उसले छिप्पिएका इस्कृसहरू छान्यो र तौलिन लगायो । राम्रा-राम्रा छिप्पिएका ४/५ वटा बेग्लै झोलामा राखी बाँकीलाई एउटा बोरामा कस्न लगायो ।
फर्कदा उ बाटामा त्यसैत्यसै नशालुजस्तो थियो । हातमा झुन्ड्याएको इस्कुसको झोला उसलाई त्यसैत्यसै महत्त्वपूर्णझैँ लागेको थियो ।
“बाटामा भोक लाग्ला” सोचेर गोरखको पसलमा छिरेर मालपुवा र तरकारी माग्यो । माग्दामाग्दै “मालपुवा” शब्द नै आज उसलाई शृङ्गारिक लाग्यो । मनमनै सन्धीबिच्छेद गरी हेर्यो –
माल + पुवा अर्थात् “माल”
सधैँ खाने उसको नास्ता नै त्यही थियो, तर आज त्यसको नाम उसलाई बिशेष प्रकारको लाग्यो ! जसले भर्खरै उत्खवन् गरेको अर्थ र त्यसको रूप, आकार आदि हेरेपछि त्यसलाई खानुभन्दा गम्नुमा बढी रमाइलो लाग्यो उसलाई । निकैबेर त्यत्तिकै बसिरहेको देखेर होला गोरखले भन्यो –
“आज के भयो सर । किन नखाएको ?”
उसले कुनै जवाफै नदिई खान थाल्यो । सम्झियो भर्खरै उसले इस्कृस पनि किनेर ल्याएको छ, छिप्पिएको छिप्पिएको जीब्रो निस्किएको ।
पसलको भित्तामा विभिन्न रूपमा पोस्टरहरू टाँसिएका थिए । धुवाँले रङ्ग बिग्रिँदै गएका ती पोस्टरहरू भगवानका, फिल्मी कलाकारका, केही अर्धनग्न युवतीहरूका, अनेक खालका थिए । सधैँ देखी आएका ती पोस्टरहरूले उसलाई खासै आकर्षण गरेका थिएनन् तर तीमध्येकै बीचमा एउटा पोस्टरले भने उसलाई नतानी छोडेन ।
त्यो पोस्टरमा एउटा बलियो न बलियो गाई थियो । तर त्यसको टाउको भने आइमाईको थियो । घाँटीदेखि उँभो एउटी रूपवती आइमाईको गरगहना र शृङ्गारले सजिएको अत्यन्त आकर्षक अनुहार थियो । घाँटीदेखि तल पखेटासमेत भएको गाईको बलियो शरीर थियो । पोस्टर हेर्दाहेर्दै उसलाई हुरुक्क हुने गरी लाज लाग्यो ।
रूपवती स्त्रीको टाउको गाईका शरीरमा जडान गरिदिएपछि गाईका अगाडिका खुट्टाहरू हातका रूपमा देखिँदा रहेछन् । चारपाउ टेकेर घोप्टो परेकी निर्वस्त्र सुन्दर स्त्रिजस्तो त्यो रूप हेर्दै “छि: कस्तो लाज लाग्दो ।” उसको शरीर जिरिङ्ग भएर आयो। भन्डै उसले त्यो गाईको घाँटीभन्दा माथि आफ्नै पत्नीको टाउको जोडेछ, झसङ्ग भयो । “छिः कति नाङ्गो फोटो ।”
तर पनि उसलाई त्यो पोस्टरबाट आँखा हटाउन मन लागेन । निकै बेर हेरिरह्यो ।
गोरख छेउमा आएर बोल्यो –
“सरलाई यो पोस्टर निकै मन परेजस्तो छ । मलाई पनि यो पोस्टर साह्रै मन परेर ल्याएको । हेर्नोस् न, गाईको शरीरमा लक्ष्मीको टाउको जोडेर गाईलाई साक्षात् देवीको रूपमा प्रस्तुत गरिएको छ ।”
गोरखका कुरा उसले त्यति ध्यान दिएर सुनेन । सोच्यो –
“अश्लीलता मान्छेले वस्तुलाई अर्थ दिएर बनाएको रहेछ । गाईको शरीरमा स्त्रीको टाउको जोडिदिए, त्यो नाङ्गो देखिने लाजलाग्दो हुनेरहेछ । प्रकृतिमा मानिसबाहेक सबै चीज नाङ्गो छ, तर लाजचाहिँ मानिसलाई मात्र किन लाग्ने !”
नास्ता खाएर पसलबाट बाहिर निस्कँदा उसको आँखामा त्यही पोस्टर नाचिरहेको थियो । घरीघरी गाईको घाँटीमाथि आफ्नी पत्नीको टाउको टाँसेपछि गाईको पुच्छरपट्टिको भाग हेर्नै नसकिने लागिरहेको थियो उसलाई ।
यात्राभरि उसका मनमा अनेक कुराहरू आइरहे । आँखाअघि पर्ने हरेक दृश्यहरूले नयाँनयाँ अर्थहरू बोकेर आइरहेका थिए । बाटामा देखिने प्रत्येक स्त्रीहरूमा रूप, रङ्ग र सौन्दर्यको भण्डार एउटैभित्र प्रकृतिले घोप्टाइदिएजस्तो लाग्थ्यो । युवती, प्रौढ र वृद्धाहरूमा पनि उसले कतै न कतै रूप र आकर्षणका विशिष्टताहरू भेटिरहन्थ्यो । स्कूल गइरहेका छात्राहरूमा उर्लिएको चञ्च्रलता र शारीरिक उत्कर्षता, विवाहित नारीहरूमा देखिने धीरता सबैमा उ आकर्षित थियो।
घर फर्किदै गरेको उसको यो यात्रा यसपालि बिचित्र मनस्थितिमा दौडिरहेको थियो । साँझ परिसकेको थियो घर पुग्दा । सरसामान बिसायो, लुगा फेर्यो, हातखुट्टा धोयो।
उसलाई आफ्नै कोठामा पस्न पनि कता-कता लाज लागेजस्तो, अप्ठ्यारो, असजिलोजस्तो लाग्यो । सङ्कोच मान्दै कोठामा पस्यो । कोठा आफ्नोजस्तो थिएन । कोठामा जतासुकै आइमाई नै आइमाईको उपस्थिति अनुभव भयो । उसको उपस्थिति भित्तामा सजाइएको फोटोमा बाहेक कतै देखिएन । आल्नाभरि पत्नीका लुगाकपडा, ड्रेसिङ्ग टेबल उनकै शृङ्गारका लागि । सजावटका सब कुराहरू पत्नीमय । उसलाई कोठाको वासनाले नै गम्भीर रूपले लठ्याउँदै ल्याएजस्तो लाग्यो ।
बस्न नसकी टोलाएर उभिइरहेकै बेला बिरालाको चालमा बिस्तारै कोही भित्र पस्दै गरेको चुरा बजेको आवाजले थाहा पायो । फर्किएर हेर्यो – उनै थिइन्, ठ्याक्कै तिनै, गाईको घाँटीमाथि सजिएकी । हेर्न सकेन पटक्कै । थुक अड्कियो “हुक्क” ।
उनी के लिन आइथिन् होला, हतारहतार बाहिरिइन् । गएको, पछाडिपट्टिबाट देख्नुपर्ला भनी झन् हेर्नै सकेन । फतक्क गलेजस्तो भयो र बस्यो पलङ्गमाथि । तर लाग्यो उ कसैको काखमाथि बसेछ, उठ्यो जुरुक्क ।
गलेको थियो, धेरैबेर बस्नसकेन । चाँडै सुतिहाल्यो बेलुका ।
बिहान उठ्दा शरीर ताजा, हलुङगो भएको थियो । मन पनि हिजोको जस्तो चञ्चल थिएन । बिहानको उज्यालो र कलिलो घाम ज्यादै प्यारो लाग्यो । मनमा शान्त र सुन्दर कुराहरू खेलिरहेका थिए । त्यसै-त्यसै दार्शनिकझैँ विचारहरू आउँदै हराउँदै गर्थे ।
ब्युँझदा खाटमा उ एक्लै थियो । सम्झन खोज्दा, राति साथमा पत्नीको भयानक उपस्थिति ताजा स्मरण भएर आयो । अहिले कोठा, पलङ्ग सब शान्त थियो आँधीपछिको
वातावरणझैँ।
उठेर नुहाइधुवाई गर्यो र सबै प्रात:कालीन कर्महरू सिध्याएर यसो भान्साधरतिर पस्यो।
पत्नी भुइँमा पीरामाथि सजिलो गरी बसेर हिजो उसले ल्याएको झोलाका छिप्पिएका इस्कृसहरू तास्न तल्लीन थिइन् । उसले एकपल्ट राम्ररी इस्कुस र श्रीमती दुवैलाई हेर्यो। श्रीमतीले इस्कुस समातेको समातेकै उसलाई पुलुक्क हेरेर रातो अनुहार पारी घोप्टो परिन् ।
उसले हिजो इस्कुस किन्ने बेलाको सम्झना गर्यो र अहिले पत्नीका हातमा ताछिँदै गरेको इस्कृसलाई हेर्यो । तर हिजोको जस्तो उसले इस्कुसमा त्यस्तो कुनै विशिष्ट कुराहरू देखेन । पत्नीका अघि साधारण इस्कृसहरू थिए तरकारी खानका लागि ।
तर इस्कृस ताछिरहेको पत्नीले ऊ त्यहाँ उभिइरहेसम्म एकपल्ट पनि टाउको उठाएर उसलाई हेर्न सकिनन् ।
उसले मनमनै सोच्यो-
“इस्कुस त साधारण नै छन् तर हिजो मैले यिनमा त्यस्तो के देखेथेँ ।”
पाँच पुस्तक लेखिसक्नु भएका गौतमले अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।