साहित्यपोस्टको संयोजन तथा क्रान्तिकारी नेतृ योगमायाका अध्येता उत्तमप्रसाद पन्तको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट दश पुस्तकको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक कृतिको घोषणा गर्नुअघि उत्कृष्ट दश कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरीमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ केदार वाशिष्ठ (अनुसन्धान), चाेटदेखि मृत्युसम्म (लघुकथासङ्ग्रह) र रहर (कथासङ्ग्रह) का स्रष्टासँगको संवाद प्रस्तुत गरिएको छ । बाँकी स्रष्टासँगको संवाद क्रमशः प्रकाशन गरिने छ ।
१. नेपाल विद्याः केदार वाशिष्ठ
तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष दश पुस्तकमा पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भलादमी निबन्धमा लेख्नुभएको छ, “…. अर्काको लेखमा हँस्सी उडाएर कलम सुताउने पाठक ….. भलादमी हुन् ।” भलादमी कहलिनेप्रति देवकोटाको यो व्यङ्ग्य साँच्चिकै मर्मस्पर्शी छ । कुनै पनि लेखकले लेखनमा कति पीडा खेप्नुपर्छ भन्ने कुरा स्वयम् लेखकबाहेक अरुले अनुभूति गर्न सक्दैन र उसले अरुलाई त्यसबारे भनेर वा लेखेर बुझाउन पनि सक्दैन । त्यस्तै नियम उसले पाएको अथाह सुखानुभूतिमा पनि लागु हुन्छ ।
कुनै पनि कुरा लेख्नका लागि प्राप्त गर्ने सूचना र तथ्यलाई विश्लेषण गरी ज्ञानको गर्भाधान हुँदाको रोमाञ्चक अनुभूतिलाई म साहित्य सिर्जनाको गर्भाधानको सुखानुभूति भन्छु । हुनत म महिलाले गर्ने अनुभूतिबारे आधिकारिक रूपमा भन्न सक्दिन, त्यो मेरो कोरा कल्पना मात्र हुन्छ तथापि महिलाजस्तै र सर्जकलाई पनि म मातृस्थानमा राख्छु । अनि एक महिलाले आफ्नो गर्भाशयमा भ्रुणको गर्भाधान हुँदा जस्तो अनुभूति गर्दिहुन् त्यस्तै अनुभूतिसँग तुलना गर्छु म ज्ञानको गर्भाधानलाई । जसरी महिलाले गर्भाधान भएको भ्रुण छोरा वा छोरी के होला ? त्यसको पूर्ण विकास नभई स्वस्थ्य सन्तानको जन्म होला कि नहोला ? जन्मिएपछि उसको अवस्था कस्तो होला ? बढ्दै र पढ्दै जाँदा समाजमा उसको स्थान कस्तो होला ? आदि इत्यादि चिन्ता गर्छिन् मेरो विचारमा हरेक लेखकले आफ्नो सिर्जनाको भ्रुणको गर्भाधान हुँदा पनि यस्तै प्रश्नमा चिन्ता गर्दछ । यसरी म पुरुष हुँदाहुँदै पनि कृति सिर्जनाको गर्भाधानमा महिला गर्भाधान हुँदाको रोमाञ्चक र विश्मय दुवैको संयोजित क्षणको अनुभूति गर्नसक्छु तर त्यसको खुसी म यसरी भनेर वा लेखेर ठ्याक्कै भन्न चाहिँ सक्दिन । तिनै आमाले आफ्नो सन्तानको सफलतामा जसरी गौरव अनुभूति गर्छिन् मैले पनि मेरो “नेपाल विद्या” “साहित्य पोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष दश पुस्तकमा पर्दा त्यस्तै अनुभूति गरेको छु ।
यसो भन्दै गर्दा मैले हालै मात्र दिवङ्गत हुनुभएकी मेरी आमा केदारकुमारी भट्टराईलाई सम्झेको छु । मैले “नेपाल विद्या” समर्पण गरेकी आमाले आफ्नो जीवनकालमा नै आफ्नो छोराको सिर्जना–सन्तानको यस्तो सफल सुखानुभूति गर्न सक्नुभएन भन्नेमा ग्लानी लागेको छ । तथापि “नेपाल विद्या” उत्कृष्ट दशमा पर्दा ममा भने हौसला र जिम्मेवारी दुबै बढेको छ । अर्थात् मैले नेपाल र नेपालीका लागि मैले थप काम गर्नुपर्ने जिम्मेवारीको बोझ थपिएको पाएको छु । यस्तो सुखद् भारी बोकाइदिनु हुने पाठक, समीक्षक, मूल्याङ्कनकर्ता तथा पुरस्कारका संस्थापक र व्यवस्थापकलगायत सम्पूर्ण साहित्य पोस्ट परिवारलाई हार्दिक धन्यवाद दिन्छु ।
“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”को घोषणाले तपाईँको साहित्यिक यात्रासँग के सम्बन्ध राख्ला ?
जुनसुकै पुरस्कार वा सम्मानले लेखक/सर्जकलाई दिने हौसला र जिम्मेवारी जस्तै ममा पनि यसबाट ती दुबै थपिएको छ । मैले साँच्चिकै अरुले मूल्याङ्कन गर्न लायक काम गरेछु भन्ने बोध भएको छ । यस्ता कुराले लेखकीय ऊर्जा दिन्छन् । मैले मेरो पहिलो पुस्तकले नै मलाई त्यो ऊर्जा दिँदा मैले फेरि केही गर्नुपर्छ भन्ने बोध गरेको छु । नेपाल विद्या आफैमा अध्ययन, अध्यापन र अनुसन्धानको विधा निर्माण गर्ने विधा सिद्धान्त र प्रयोगमूलक कृति भएकाले अबका मेरा काम यस स्तरका होलान् कि नहोलान् भन्ने यकिनसाथ त भन्न सक्दिन । तर पनि मलाई नेपाल विद्याको स्याहार गरेर यसलाई आफै सक्षम बनाउने कार्यका लाग्न प्रेरित गरेको छ । यसका अतिरिक्त मलाई साहित्यका अन्य विधामा पनि लाग्न र मेरा फुटकर अनुसन्धानलाई पनि पुस्तकाकार रूप दिन हौसला दिएको छ ।
मैले नेपाल विद्या कुनै प्राप्तिको सपना देख्दै लेखेको होइन । त्यसको उल्लेख मैले “नेपाल विद्या”मा नै गरेको छु । म विद्यावारिधिको अनुसन्धान त्यागेर नेपाल विद्या लेखनमा लागेको हुँ । धेरैले मलाई नेपाल विद्यालाई नै शोध प्रबन्ध बनाएर उपाधि लिन वा पिएचडी क्लबमा प्रवेश गर्न प्रेरित नगर्नुभएको पनि होइन, तर मेरो उद्देश्य त्यसबाट कुनै प्राप्तिको थिएन ।
कृति तयारीमा लाग्दाको अवस्थाका बारेमा केही बताइदिनुहोस् न !
म पेसाले पत्रकार भएको हुनाले मेरो खेती सूचना र भाषाको हो । पत्रकारिताको करिब तीन दशकको यात्रामा भाषिक अध्ययनसमेत गर्नु मेरो रुचि थियो । त्यही अनुसार मैले स्नातकोत्तर तहमा लेखेको शोधपत्र भाषामा प्रविधि विषयको थियो जसले भाषा र सूचना प्रविधिका पक्षहरुलाई संयोजन गरेको छ । मैले सोही विषयलाई आधार मान्दै विद्यावारिधि उपाधिका लागि पनि तयारी गरेँ र पहिलेदेखिका सामग्री प्रयोग गर्ने गरी खोजी गर्दै त्यता लागेँ । मेरो विद्यावारिधि दर्ता पनि भयो तर विविध कारणले त्यता लाग्न मेरो मन मर्यो । मैले खोजेका सामग्री कुनै न कुनै रूपमा प्रकाशमा ल्याउनु नै थियो र मैले खोजीलाई अरु तीव्रता दिएँ । खोज्दै जाँदा यति अथाह सामग्री पाएँ कि कतिपय अवस्थामा त्यसको व्यवस्थापन गर्नु नै समस्या जस्तो हुन्थ्यो । नेपाली भाषाको ऐतिह्य खोज्ने क्रममा अरु पनि प्रशस्त सामग्री पाइए । बुद्ध र बुद्धस्थलहरुबारे हुने अन्तर्राष्ट्रिय राजनीति र दावी गर्दा आम नेपालीले चित्त दुखाए झैँ मेरो मन पनि कटक्क हुन्थ्यो र यस्तो विवाद किन हुन्छ ? र किन यसको जरो कसैले खोतलेर उनीहरु (विदेशी) लाई जवाफ दिँदैन ? भनेर खोजी गर्न मन लाग्थ्यो । मैले भाषाको अध्ययन गर्दा यसलाई पनि खोजीको विषय बनाएर लागेको हुँ । त्यसपछि मात्र नेपाल विद्याको सिद्धान्त निर्माण भएको हो ।
“नेपाल विद्या” नै किन लेख्नुभयो ? पाठकले किन पढ्ने ?
माथि उल्लेख गरिएझैँ भाषिक पक्ष केलाउँदै गर्दा त्यसका पनि विभिन्न पाटा खुले । अनि बुद्धबारेको अन्तर्राष्ट्रिय राजनीति र व्यापारबारे पनि स्पष्ट आकृति आयो । त्यसले फेरि अर्को विषयको उजागर गरिदियो । नेपालबारे नखुलेका पाटाहरु धेरै छन् तर त्यसबारे हाम्रो अध्ययनमा केही कमजोरी छ भन्ने लाग्यो । अरू देशले आफै गरेका वा कुनै देशबारे अरूबाट गरिएका देशीय अध्ययनको पक्षमा हामी ज्यादै कमजोर रहेको पाएँ । अरू देशमा देशीय विद्या अध्ययनको परम्परा रहेकोमा हामी त्यसतर्फ लाग्ने जमर्को नै नगरेको देखेँ र त्यो अन्य देशको देशीय विद्या (चीन विद्या, भारत विद्या, इजिप्ट विद्या, आर्मेनियाली विद्या, जापान विद्या जस्ता) जस्तै नेपालको पनि विद्या अध्ययनको विधागत अभाव पूर्ति गर्नुपर्छ भन्ने लाग्यो । नेपाल विद्या त शब्दकोशहरुमा पनि अझै छैन । त्यही अभावपूर्ति गर्न त्यसको सिद्धान्त निर्माणमा लागेको हुँ । मेरो भनाइ र नेपाल विद्या पुस्तक हेर्नुभयो भने पनि स्पष्टतः त्यसमा तीन खण्ड पाउनु हुनेछ ।
सबैभन्दा पछिल्लो खोजीको “नेपाल विद्या”को विधा निर्माण सिद्धान्त पहिलो खण्डमा छ । अनि सिद्धान्त मात्र निर्माण गरेर पुग्दैन त्यसको प्रयोग पनि देखाइ दिनुपर्छ भन्ने लागेर बुद्ध र बुद्धस्थलबारे “लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन” र नेपाल र नेपालका भाषाहरु विशेष गरी नेपाली भाषाको ऐतिह्यमा “सिला खोजेको भाषा” गरेर थप दुई खण्ड बनाएको हुँ । पुस्तकाकार दिने बेला र प्रकाशनको तयारीमा भीमकाय हुने डरले तीन वटा बेग्लाबेग्लै पुस्तक तर एकैसाथ निकाल्ने कि एउटैमा राख्ने भन्ने विकल्प र दुविधा दुबै थिए मसँग । मैले के ठानेँ भने नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधा निर्माण गर्दा सिद्धान्त र प्रयोगले एक अर्कालाई सघाउने भएकाले मैले एउटा नै पुस्तक बनाएको हुँ । विषयवस्तु र पृष्ठका आधारमा पनि यी तीनवटै अलगअलग पुस्तक पनि हुन् । तीन वटा बेग्लाबेग्लै पुस्तक बनाएको भए “नेपाल विद्या”को उद्देश्य प्राप्ति अलि कमजोर हुने थियो कि भनेर “नेपाल विद्या” अहिलेको रूपमा आएको हो ।
जहाँसम्म पाठकले किन पढ्ने भन्ने प्रश्न छ त्यो मैले भन्ने होइन अब “नेपाल विद्या”ले नै भन्ने हो । नेपाल विद्या मबाट अब नेपाल र नेपालीको भइसक्यो । म त्यसका के छ भन्ने कुरा भने गर्नसक्छु र पुस्तक पल्टाएर वा म वा अन्य कसैले भनेका आधारमा पाठकहरुले रुचि वा अरुचिको विषय निर्धारण गरेर पढ्ने वा नपढ्ने निर्णय गर्न सक्नुहुन्छ ।
लेखकले मेरो कृति पाठकले पढिदियून् भन्ने जबर्जस्त आग्रह गर्न थाल्नुहुन्न भन्ने मलाई लाग्छ । नेपाल विद्यामा हालसम्म अप्राप्य नेपालका सम्पत्ति मैले दिएको छु । नेपाललाई अन्य देशको अध्ययन परम्पराको तुलनामा विशिष्ट अध्ययनको क्षेत्र व्यापक रहेको देखाइदिएको छु । यसमा नेपालको भूगोल, इतिहास, समाज शास्त्र, मानव शास्त्र, भाषा, व्याकरण, लिपि, संस्कृति, पुरातत्व, राजनीति, षड्यन्त्र, यात्रा, यात्रा विवरण वा साहित्य र अन्य धेरै विषय छन् । समग्रमा तिनले राष्ट्रियतालाई केन्द्रमा राखेर विवाद निरूपणका लागि बहुस्रोतका आधारमा सत्यापन गर्दछन् । अन्य देशीय विद्या जस्तै “नेपाल विद्या” विधा निर्माणको सैद्धान्तिक पर्याधार त्यही सत्यापन रहेको छ । त्यसैले नेपालबारे नयाँ ढङ्गबाट बुझ्ने र अरुलाई पनि बुझाउन चाहने हरेक विषय क्षेत्रका विज्ञ र सर्वसाधारण अध्येताका लागि पनि “नेपाल विद्या” उपयोगी हुनसक्छ । यसलाई विद्यालय शिक्षा र विश्वविद्यालयहरुले अपनत्व लिएर पाठ्यक्रममा राख्न सकिने गरी मैले विधा निर्माण गरिदिएको छु । त्यसका लागि नेपालका सबै विश्वविद्यालयहरुमा अनुरोध पनि गरेको छु ।
अबको साहित्यिक यात्राको योजना के छ ?
मेरो पुस्तक साहित्यका अरु विधा जस्तो अलि छैन । त्यसैले योजनाबारे पनि ठ्याक्कै भनिहाल्न गारो होला । गैरआख्यान खोज अनुसन्धान समय र आर्थिक दुबै हिसाबले धेरै लगानी लाग्ने क्षेत्र हो । संयम र साधना यसका दुई पाङ्ग्रा हुन् तर असाध्यै ढिलो गरी चल्छन् । मेरो रुचि यसैमा रहेको र “नेपाल विद्या” विधा निर्माण गरेको हुनाले यसैलाई मलजल गर्नेमा लाग्नु मेरो कर्तव्य हुनेछ । यसक्रममा तत्कालका लागि “लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन” खण्डलाई बेग्लै पुस्तकका रूपमा र विश्व समुदायले बुझ्ने गरी अङ्ग्रेजी भाषामा निकाल्ने योजना छ ।
२०७८ को पूर्वाद्र्धमा नै त्यो आउने अपेक्षासाथ काम भइरहेको छ । तर सोचेजस्तो नहुने रहेछ भन्ने पाठ पनि मलाई “नेपाल विद्या” लेख्दाका छ वर्षभन्दा बढीका समयका दाँतीले सिकाएका छन् । २०७६ को अन्त्यतिर नेपालमा फैलिएको कोरोनाका कारण दुई पटक निगरानी (क्वारेन्टिन) मा बस्नुपर्दा “नेपाल विद्या” नै निकाल्न नसकी मेरो अर्कै यात्रा पो सुरु हुने हो कि भन्ने चिन्ता हुन्थ्यो । र, कोरोनाको भन्दा पपिन यतिको समय र श्रम कसैले देख्न नपाउने गरी त्यसै विलय पो होला कि भन्ने डर हुन्थ्यो । तर कोरोनाकालले अलि फुर्सद पनि दिएकाले “नेपाल विद्या”ले २०७७ मा पुस्तकाकार ग्रहण गर्न पायो त्यो मेरालागि ‘म नेपालका लागि जन्मेको हुँ’ भन्ने सार्थक भएको क्षण थियो । “नेपाल विद्या” गुणैगुणले युक्त कृति हो भनेर पनि म दावी गर्दिन, त्यसमा थुप्रै कमजोरी छन् तर ती “नेपाल विद्या”का नभएर समय परिस्थितिका र मेरा व्यक्तिगत कमजोरी हुन् । “नेपाल विद्या” लेखनका लागि विभिन्न व्यक्तिबाट मलाई प्रदान गरिएका हौसला र हतोत्साहनसमेत दुबै “नेपाल विद्या”का लागि ऊर्जा बनेका छन् । जे जति छ “नेपाल विद्या”मा नै छ ।
“नेपाल विद्या” लेख्दै गर्दा र अरु बेला पनि नेपाली भाषामा खड्किएको शब्द निर्माणको परम्पराको खाडल पुर्ने अर्को विषयको सैद्धान्तिक अवधारण स्पष्ट भएको छ । त्यही “शब्दशाला”बारे र मुस्ताङको वैभवबारे पनि अध्ययन गर्ने रुचि छ । यसका साथै केही कथा लेखेको छु र केहीका प्लट छन् र कनिकुथी कविता पनि कोरेको छु तर सबैतिर लाग्दा कहिँ न कतैको पो हुन्छु कि भन्ने पनि चिन्ता छ ।
तपाईँको कृतिले “साहित्य पोस्ट उत्तम कृति पुरस्कार” प्राप्त गर्यो भने त्यसबाट प्राप्त पुरस्कार राशि केमा सदुपयोग गर्नुहुन्छ ?
नेपाल विद्या साहित्य पोस्ट उत्तम कृति पुरस्कारबाट पुरस्कृत भयो भने मैले त्यसलाई पुरस्कार राशिभन्दा पनि सम्मानको रूपमा ग्रहण गर्नेछु । त्यसको केही अंश हाम्रा बुबा उद्धवप्रसाद भट्टराईले स्थापना गरी, स्वीकृति दिलाई अवकाश हुनेबेलासम्म योगदान गर्नुभएको भोजपुरको हालको पौवादुम्मा गाउँपालिकाको बस्तLमा रहेको श्री लक्ष्मीनारायण प्राथमिक विद्यालयका छात्रछात्रालाई हौसला दिन बुबाका नाममा स्थापना गरेको हाम्रो पारिवारिक अक्षय कोषमा लगाई आमाको समेत नाम जोडेर पूर्णता दिनेछु त्यही विद्यालयबाट मेरो विद्याको आरम्भ भएको हो र नेपाल विद्याको वीज पनि त्यसैबाट सिर्जना भएको हो । र, बचेको अरु साहित्यिक क्षेत्रमा नै लगाउने छु ।
२. चाेटदेखि मृत्युसम्म (लघुकथासङ्ग्रह) : लता केसी
तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष दश पुस्तकमा पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?
“चाेटदेखि मृत्युसम्म” नै किन लेख्नुभयो ? पाठकले किन पढ्ने ?
तपाईँको कृतिले “साहित्य पोस्ट उत्तम कृति पुरस्कार” प्राप्त गर्यो भने त्यसबाट प्राप्त पुरस्कार राशि केमा सदुपयोग गर्नुहुन्छ ?
३. रहर (कथासङ्ग्रह) : सुरेश बडाल
तपाईँको पहिलो कृतिले “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष दश पुस्तकमा पर्यो । कस्तो अनुभूत गरिरहनुभएको छ ?
निश्चय नै यो खुसी बनाउने कुरा हो । आफूले गरेको कामको सराहना हुँदा साह्रै हर्षित छु ।
“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”को घोषणाले तपाईँको साहित्यिक यात्रासँग के सम्बन्ध राख्ला ?
म साहित्यलाई प्रेम गरेर यही क्षेत्रमा केही गर्छु भनेर लागिपरेको मान्छे हुँ । यसर्थ कुनै पनि लेखकको पहिलो कृतिलाई प्रदान गरिने यो पुरस्कारको मनोनयनमा पर्दा पक्कै पनि मलाई हौसला मिलेको छ । आफूले असल काम गर्यो भने त्यसको मुल्यांकन हुँदो रहेछ भन्ने महशुस भएको छ । यसले मलाई अझै धेरै सिर्जनाहरु गर्न प्रोत्साहन मिलेको छ ।
कृति तयारीमा लाग्दाको अवस्था बारेमा केही बताइदिनुहोस् न !
कृतिको तयारीका दिनहरु साह्रै रोमान्चक छन् । आफूले कथाहरु लेखिरहँदाका बखत केही गज्जब लेखियो भन्ने लागेका क्षणहरुमा कहिले यो पुस्तक बनेर पाठकहरु समक्ष पुग्ला र आफूलाई झैं कसरी पाठकहरुलाई पनि उद्धेलित बनाउला भन्ने अनुभूति वर्णनातित छ ।
“रहर” नै किन लेख्नु भयो ? पाठकले किन पढ्ने ?
यो कृति मेरा आफ्नै अनुभूति र केही देखेका भोगेका घटनाहरुको कथाको स्वरूप हो । यसर्थ कुनै सुन्दर संसारमा कुनै कालखण्डमा रमण गर्दै कहिँ आफूझैं लाग्ने त केही आफैंले देखेझैं लाग्ने पात्रहरुसँग संगै हाँस्न वा सँगै खिन्न हुन यो कृति पढ्दा हुन्छ । साधारण लाग्ने कुराहरुबाट कुनै गहिरो कुरा भेटिन पनि सक्छ । ‘रहर’मा कुनै गहन दार्शनिक कुरा त छैन, तर कथामै कतै एउटा पात्रले भन्छ, ‘मान्छे त आफ्नै भोगाईले दार्शनिक हुँदो रहेछ’ । यसर्थ साधारण मान्छेहरुका कस्ता कथा हुन्छन् र तिनीहरु कसरी भनिएका छन् भनेर आख्यानको आनन्द लिन ‘रहर’ पढ्दा घाटा लाग्दैन ।
अबको साहित्यिक यात्राको योजना के छ ?
अबको यात्रा एउटा उपन्यासको छ । जुन सम्भव भयो भने यही साल आउन सक्छ ।
तपाईँको कृतिले “साहित्य पोस्ट उत्तम कृति पुरस्कार” प्राप्त गर्यो भने यसबाट प्राप्त नगद के गर्नुहुन्छ ?
त्यस्तो योजना त अहिलेसम्म केही बनाएको छैन । सायद लेखन पठनलाई नै सहयोग हुने ठाउँमा खर्च गर्छु होला
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।