(कोरियामा सन् २०१० देखि २०२० सम्म नेपाली कामदारहरूमाझ कामबाट हुने शारीरिक थकान र मानसिक तनाव हटाउन एकमात्र सशक्त माध्यम बनेको थियो नेपाली युवाहरूले खोलेको संस्था ‘एन्प्रिक’ । अर्थात् “नेप्ज् पार्टी रकर्स इन कोरिया” ।
(जसले कोरियन अत्याधुनिक वातानुकूलित हलहरूदेखि डिस्कोथेकहरूमा नेपालबाट नाम चलेका कलाकार र डिजेहरू निम्त्याएर डान्सपार्टी र कन्सर्टहरू आयोजना गर्दथ्यो। साथै चेतनामूलक सर्ट मुभीहरू बनाएर धेरै नेपाली कामदारहरूलाई मनोरन्जन दिलाई मानसिक तनाव र आत्महत्यासम्मका घटनाहरूलाई धेरै हदसम्म कम गर्न सफल बनेको थियो।
तिनै कोरियामा रहेका नेपालीहरूमाझ ब्राण्ड बन्न सफल ‘एन्प्रिक’का प्रमुख संस्थापक एवं मास्टर माइण्ड हुन्, ज्ञानेन्द्र गुरूङ उर्फ सोजु किम्ची।
लमजुङ जिल्ला, दोर्दी गाउँपालिका, बाह्रथर हिले गाउँका गुरूङ आफ्नो दश वर्षे कोरियन बसाई टुंग्याएर हाल नेपालमै गुरूङ भाषाको चलचित्र ‘बारा-पोखरी’को निर्माण गर्नुका साथै यसैको प्रचार प्रसारमा व्यस्त छन्। यसै सेरोफेरोमा साहित्यपोस्टका लागि बाबु साइँलासँग सिर्जनशील युवा कलाकार ज्ञानेन्द्र गुरूङको छोटो जम्काभेट यहाँ प्रस्तुत गरिएको छः)
‘बारा पोखरी’ कस्तो चलचित्र हो? यसबाट कस्तो अपेक्षा गर्नुभएको छ?
यो ७०% गुरुङ भाषा र ३०% नेपाली भाषामा बनेको नेपाली भिडियो फिल्म हो।आफ्नै गाउँ ठाउँको धार्मिक पर्यटकीय ठाउँ बारा-पोखरीको प्रचार प्रसार पनि होस् भनी उक्त पोखरीकै नाममा बनेको यस चलचित्रबाट धेरै अपेक्षा भन्दा पनि अहिलेलाई प्रदर्शनको लागि बढी आतुर छौँ।
तमु (गुरूङ)लगायत अन्य भाषी चलचित्रहरू प्रायः सबै जातीय भेषभूषा,संस्कृति र प्रेमजस्ता पुरानै ढाँचा र परम्परागत शैलीमा बनिरहेका देखिन्छन्। बारा पोखरी पनि यसैको निरन्तरता हो कि नयाँ फरक केही गर्नुभएको छ?
निश्चय नै गुरुङ समुदायमा आधारित यस चलचित्रमा पनि गुरुङ संस्कृति, विकृतिहरुलाई उठान त गरिएको छ नै तर यसमा नयाँपन भनेको नयाँ कथावस्तु नै हो । कोरोनाको कहरबीच सुटिङ भएको यस चलचित्रमा कोरोनाकै कथाहरु पनि छन्, मतलब एकदमै ताजा कथामा बगाउने कोसिस गरिएको छ । अरु चलचित्रमा जस्तो धेरै बनावटी रंगीचंगी पनि बनाएका छैनौं। हामीले छायाँकनदेखि सम्पादनसम्म नेचुरल कलरमा खेल्ने कोसिस गरेका छौँ। रंगीचंगी स्क्रिनमा रमाउने बानी भएका दर्शकहरुलाई हाम्रो स्क्रिनले कतिको भुलाउन सक्छ, ती कुराहरु हेर्न बाँकी नै छ ।

ज्ञानेन्द्र गुरूङ
सम्भवतः तमु(गुरूङ)भाषामा पहिलो र्याप गीत पनि चाँडै सार्वजनिक गर्दै हुनुहुन्छ । यो सोच कसरी आयो ? तमु र्याप गीत र चलचित्रमध्ये कुनबाट बढी आशावादी हुनुहुन्छ?
बिल्कुलै तमु भाषाको पहिलो र्याप गीत नै हो, जुन म आफैँले लेखेँ र गाएको पनि छु । म हिपअप म्युजिक फलो गर्छु । र्याप गर्दिनँ तर हिपअप जिउँछु। नयाँ केही गरौँ भन्ने मानसिकताले मलाई सताइरहेको हुन्छ । त्यसै क्रममा तमु भाषाको र्याप गीत अहिलेसम्म नभएको जानकारी पाएपछि पहिलो तमु र्यापर भनेर चिनिनको लागि फाइदा लिएको मात्र हुँ भन्दा फरक नपर्ला ( हाहा ) । यो गीत मैले रेकर्ड सकाएर सुटिङ पनि सकाइसकेको छु। अब यही वैशाख महिनामा आफ्नै युट्युब च्यानलबाट रिलिज गर्दैछु।
खासमा चलचित्र र म्युजिक भिडियोबीच धेरै नै फरक छ तर चलचित्र धेरैले बनाइसकेको हुनाले र यो र्याप चाहिँ समुदायमा पहिलो हुने भएकोले गीतले अलिकता समुदायमा चिनाउन मद्दत गर्न सक्छ भन्दै गर्दा, यो गीतले चलचित्रको प्रचार प्रसारमा पनि सहयोग मिल्नेछ भन्ने अपेक्षा राखेको छु ।
कोरोना कहरबीच पनि समुदाय लक्षित गीत, चलचित्र बनाउनु भो । जसको दर्शक स्रोता पनि सीमित नै हुन्छन्। प्रतिकूल समयमा गरिएको लगानी जोखिम र अनुत्पादक होला भन्ने लागेको छैन?
लकडाउनकै बेला घरमा थुनिएर बस्नु परेपछि उकुसमुकुस हुँदै गर्दा केही त गर्नुपर्छ भनेर सोच्दै थिएँ, घरमा बसेर गर्ने भनेको लेख्ने काम पनि हो । लेख्छु भनेर कपी कलम साथमा राखेँ । दिमागमा एउटा स्क्रिप्ट लेख्ने सोच आयो । लेख्दै गएँ बीचमा पुगेपछि मात्र यसलाई म एउटा गुरुङ भाषाको पर्दामा उतार्छु भन्ने संकेत मनले गर्न थाल्यो । साँच्ची भन्ने हो भने त्यो बेला दिमाग अचल नै थियो मात्र मनको सुन्दै गएँ । मलाई त्यो बेला लगानी कति जान्छ, कसरी उठाउने भन्ने होमवर्कले भन्दा कति छिटो चलचित्र बनाउँ भन्ने कुराले घच्घच्याइरहेको थियो । तर पनि मेरो सिधा बजार भनेको विदेशमा सो नै थियो । धेरै ठाउँमा धेरै जनासँग डिल पनि भइसकेको थियो तर अहिलेलाई कोरोनाले कहाँ के हुँदैछ भन्ने कुरा सबैलाई थाहा नै छ । आशा गरौँ छिट्टै विदेशमा प्रदर्शनको वातावरण तय हुनेछ ।
नेपालमा सो गर्दा पनि कम्युनिटी बेस्ड चलचित्र भएकाले गर्दा पुस-सेल सो नै जाने हो। जति धेरै आफूले मान्छे चिनेर, बटुलेर टिकट बेच्न सक्यो त्यति नै दर्शकको भिड लाग्ने कुरा छर्लङ्ग छ । यहाँको बजार बुझ्दा चिनेर, बटुलेर सो गर्नु र मान्छे किनेर सो जमाउनु धेरै फरक कुरा हो । भलै मैले चलचित्र बनाउँदा कुनै पनि कुरामा कम्प्रोमाइज गरिनँ होला तर अब सो गर्ने बेलामा साथीभाइ आफन्तहरुलाई विनम्र अनुरोध र सहयोगको याचना अनि निमन्त्रणाहरु त गर्छु नै तर सो जमाउनुकै लागि मान्छे किन्ने काम चाहिँ गर्दिनँ। मलाई जुनसुकै क्षेत्रमा पनि सित्तैमा खान पाएपछि मात्र सहयोग गर्ने खालका बिक्ने मान्छेहरु फिटिक्कै मन पर्दैन । त्यस्ता केही प्रतिष्ठित मकुण्डो लगाएका स्यालहरुलाई मैले चिनिसकेको छु तर हाम्रो समुदाय यस्ता कुराहरुमा धेरै नै सोझा छन् ।
अरू छुटपुटमा भन्न बाँकी केही छ कि ?
अन्तमा जब मैले चलचित्र बनाउने निर्णय गरेँ, त्यो बेलादेखि नै सोचेको थिएँ कि म आफू स्वयम् लगायत सम्पूर्ण टिम नै नयाँ प्रतिभाहरुको चौतारी होस् । त्यसैअनुरुप यस चलिचत्रमा सबै जना नयाँ हुनुहुन्छ भने अनुभवी निर्देशक सोम गुरुङ र कलाकार खेमराज घलेलाइ भने यस चलचित्रमा नाट्यश्वरी माताले जुराइदिनु भएको छ । हतारमा नै बनाइयो भन्नुपर्छ, छोटो समयमा नै निर्माण गरिएको यस चलचित्रमा जति पनि कमी कमजोरीहरु देखिएका छन् ती सबै हतारकै उपज हुन् भन्ने हाम्रो टिमको बुझाई छ । बाँकी राम्रो नराम्रो के कस्तो बनेको रहेछ तपाईहरुको नजिकको हल, बजारमा सो भएको बेला एक पटक अवश्य गएर हेरेर आफ्नो अनेष्ट फिड-ब्याक दिनुहोला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

