१. विश्रान्ति

(मुकुन्दराज शर्मा)

ऊ मरेको मात्र के थियो—
मलामीहरू तरखर गर्न थालिहाले,

आफैले बनाएको आँगनमा
केही बेर
बाँचुन्जेलको थकाइ त मार्न देऊ !

२. प्रेम

(हरिहर तिमिल्सिना)

जीवनभरि मैले
दुःखलाई प्रेम गरेँ
मलाई पनि दुःखले गर्यो प्रेम

काट्यो, टुक्रायो, पुछ्यो
फाल्यो, बगायो
दुःखले मेरो प्रेमलाई मार्यो !

आँखा चिम्लेर छामेँ सुस्तरी
मेरो प्रेमको मृत अंशलाई

दुःखले मारेको मेरो प्रेम
अमर भएछ !!

३. आमा

(टीका आत्रेय)

छोराले पुर्याएपछि
आमालाई बृद्धाश्रम !

जब फर्किन लाग्यो छोरा,
आमाले पोल्टो छामिन्
र छोरालाई भनिन्—

बाबू !
यो बाटाखर्च लैजाऊ
अभर पर्न सक्छ !

मलाई त अर्को महिना
आउला नि बृद्धभत्ता !

४. अस्तित्व

(हरिहर पौडेल)

तिमी तिमीजस्तै हुनुपर्छ
म मजस्तै रहनुपर्छ,

यदि, तिमी मजस्तो बन्यौ भने
वा म तिमीजस्तो बनेँ भने
व्यक्तिगत सत्ता समाप्त हुनेछ !

त्यसैले यसलाई जीवन्त राख्न
तिमी तिमीजस्तै बनिराख,
मलाई मजस्तै रहन देऊ !!

५. श्रद्धाञ्जली

(राधिका कल्पित)

हेरिरहेछु—
पुष्पगुच्छा चढाउनेहरूको
लामो लाइन छ !

अर्को लाइन
खाली—खाली छ,

म चाहन्छु—
एकै जना भए पनि
कोही होस् त्यो लाइनमा,

जसले फूल होइन,
दुई थोपा आँसु
चढाएर फर्कोस् !!