करुणाले सरसर्ती आफ्नो वरिपरिका परिवेशलाई नियालेर हेरी र सोची – “आज मलाई आफ्नो वरिपरिको परिवेश किन यतिविध्न रमाइलो लागिरहेछ ?”

भरखरै पानी परेर थामिएकोले आकाश कति स्वच्छ तथा निर्मल देखिएको छ। मखमली दुबोले टम्म ढाकिएको चउर पानीमा नुहाएर गाढा हरियो रङ्ग टल्किएको छ । घरको वरिपरिका अग्ला पर्खाल नाघ्ने गरी अग्लिएको काङ्गियो फूलका रूखहरूमा पहेँलै गरी फूल फुली हावामा झूलिरहेका छन्‌ । वसन्तको आगमनमा वसन्त अझै जवानीमा मुस्कुराइरहेको जस्तो देखिएको छ।

उसलाई दौडेर तल चउरमा गएर हरियो मखमली घाँसमा लटपटिन मन लागेर आयो । त्यति मात्र कहाँ हो र … ? ती काङ्गियो फूलका रुखहरूमा चढेर चउरभरि पहेँला फूलहरू झारेर त्यसमाथि लडिबुडी खेल्न मन लागेर आयो । ‘आज मलाई किन यस्तो बहुलठ्ठिपना छाएको होला … ! मौसम पनि कस्तो कुतकुती लाग्दो … ! मलाई यस्तो अनुभव हुनुमा मौसमकै दोष पो छ कि ! उसले मनमनै गमी – मन पनि आज कि यति साह्रो चञ्चल भएर आएको होला बगैँचालाई छिचोलेर ?!

आज आकाश पनि कस्तो रमाइलो तथा घमाइलो … । आकाशभरि सेता भुवाजस्ता बादलहरू विभिन्न रूप तथा आकारमा यताउति रुमल्लिरहेका देख्दा मनमा कताकता उन्माद छाएर आयो – करुणालाई त्यसै उडूँ-उडूँ लागेर आयो । करुणाले आफ्नो दृष्टिलाई आकाशभरि फैलाई । कति विशाल तथा व्यापक छ आकाश … ? धेरैबेर टोलाएर आकाशको व्यापकता नापिरही ।

करुणाको दृष्टि अब आकाशबाट ओर्लेर बगैँचामा अगाडिको सडकमा गएर अल्झियो ।

सडकमा सधैँझैँ उस्तै चहलपहल छ । सवारी साधनहरूको आवागमन तीव्र गतिमा भइरहेको थियो। सवारी साधनहरू सडकको ढुङ्गेछातीमा आ-आफ्ना गन्तव्यतिर दौडिरहेका थिए भने मानिसहरूको आवत-जावत पनि सदाझैँ जारी थियो ।

यो सडकलाई पनि बिहान सूर्य उदाएदेखि आधारातसम्म एकछिन सुस्ताउने फुर्सद छैन … । सडक पनि कति व्यस्त ?

त्यो के … !! सडकको पल्लो छेउमा अवस्थित एउटा पसलमा अडेस लाएर सधैँ प्लास्टिकका झोलाहरू बटुलेर हिँड्ने त्यो खाते बालक किन त्यसरी अट्टाहास नै गरिरहेको छ ?

करुणाले आँखालाई च्यातेर हेरी – उसको हातमा रक्सीको पाउच थियो । ऊ रक्सी पिउँदै सडकमा आवत-जावत गरिरहेका मान्छेहरूतर्फ हेर्दै अट्टहास गरिरहेको थियो । दश बाह्र वर्षको सडकमै बसोवास गरिरहेको त्यो बालकको क्रियाकलाप देखी करुणा छक्क परी । उसको व्यङ्ग्यात्मक अट्टाहास सुनेर ऊ विचलित भई । “कहाँ होला यस बालकको घर र परिवार … ? कसरी यस सडकमा आएर मिल्कियो ?” करुणा धेरैबेर घोत्लिरही !

“इन्क्लाब – जिन्दाबाद ! भ्रष्टाचारी मुर्दावाद”

“यो केको जुलुस फेरि ? सधैँ जुलुस, लाठीचार्ज …, चक्काजाम … विद्यार्थी हडताल राजनीतिक बिरोध र सरकारविरोधी नारा … । सडक पनि अब रङ्गमञ्चमा परिवर्तन भएछ कि क्या हो … ? कहिले जात्रा …, कहिले जुलुस …, कहिले पिटापिट …, सांस्कृतिक झलक हो कि राजनीतिक खिचातानी … !

कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ … ।

करुणालाई देशको राजनीतिक परिस्थिति देखेर उदेक लागेर आयो । केही बेरअगाडि परिवेशभरि व्याप्त रमाइलोपन एकाएक उसको मनबाट गायब भयो।

“यो रमाइलो सुन्दर देशमा यतिविघ्न अशान्ति कहाँबाट भित्रियो ?” कोठाका दुवै झ्यालहरू जुन सडकतिर खुल्दछन्‌, ढ्याम्म लगाएर गहिरो निश्वास छोडी करुणाले । अब उसका आँखा आफ्नो कोठा वरिपरि चहार्न थाले ।

“के छन् उसका कोठामा … भौतिक सुविधाका सबै साधनहरू जुटाइदिएका छन्‌ उसका मातापिताले । आखिर उसको संसार भन्नु नै यही कोठा हैन र …?

यस कोठालाई छोडेर ऊ कहीँ जान सक्दिन । उसले एकपल्ट बेमनले आफ्नो अपाङ्ग खुट्टातिर हेरी । उसको मनभ

पद्मावती सिंह

रि कुँजो भई लत्रिएका आफ्ना निर्बल खुट्टाहरूदेखि वितृष्णा भरिएर आयो ।

‘परमात्माले यस्तो सक्रिय मस्तिष्क र चञ्चल मन दिएर मलाई किन अपाङ्ग बनाइदिएका होलान्‌ … ??’ उसले मनमनै परमात्मालाई सरापी ।

ऊ आँखा चिम्लेर बिछ्यौनामा पल्टी । कति शून्य छ उसको जीवन … । के खान, लाउन र यसरी एउटै कोठामा सीमित रहेर नानाभाँतिका कुराहरू मनमा खेलाएर समय खेल फाल्नु पनि जीवन हो र … ?

अब जीवनको परिभाषा मनमनै केलाउन थाली ऊ । “मैसाप, हेरिस्योस्‌ त हजुरलाई मुमाले पठाइबक्सेको … ।” उसको सुसारे जमुनीको आवाजले उसको जीवनप्रतिको चिन्तनमा बाधा पुग्यो । उसलाई आँखा खोल्न मन लागेन ।

“हेरिस्योस्‌ न भन्या … किन त्यसरी पल्टिराखिस्या … ।” जमुनी फेरि कराई । “हत्तेरी । कति कराएर कान खाएकी होली …” करुणाले बिस्तारी आँखा खोलेर जमुनीलाई हेरी । जमुनीको हातमा भित्री चोलो (ब्रा ) तुइ्ग्रुङ्ग झुन्डिएको थियो ।

“ठूलो मैसापले हजुरलाई बिलायतबाट पठाइबक्स्या … हेरिस्योस्‌ त केके सामानहरू पठाइबक्स्या छ … । सामानतिर हेरेर करुणाले सोची – “यी सब महँगा विलासी सामानहरूको मलाई के प्रयोजन ? यी शृङ्गारका सामानहरू प्रयोग गरी कसलाई देखाउनु छ र … ?” “लगाएर हेरिस्योस्‌ न एकपल्ट” जमुनीले जिद्दी गरी । करुणाले चोलो फुकाएर भित्री चोली लगाई ।

“छातीमा कस्तो टम्म मिलेको … हजुरकै नापको रहेछ हगि ? जमुनीले उत्ताउलोपाराले हाँसी करुणाको पुष्ट वक्षलाई निहारी ।

“मान्छे त हजुर साह्रै राम्री … त्यसमाथि हजुरको टम्म मिलेको छाती …; हजुरका खुट्टाहरू सग्ला भइदिएका भए हजुर …”

करुणाले उसको कुरालाई बीचैमा काटेर भनी – “ऊ हेर्‌ त पर भित्ताको तस्बिरलाई ।” जमुनीको आँखा उसले औँल्याएको तस्बिरमा गई ठोक्कियो । काखमा नवजात शिशुलाई लाई च्यापेर स्तनपान गराइरहेकी एक नग्न युवतीको तसबिर औँल्याएकी थिई करुणाले । दुवैले त्यस तस्बिरलाई गहिरिएर हेरे।

“हेर, यदि मेरा खुट्टाहरू सग्ला भइदिएका भए मेरो काखमा पनि त्यसरी नै नवजात शिशुले स्तनपान गर्दो हो, हगि ?” गह्रुँगो मनले करुणाले आफ्नो निर्बल कुँजो भई लत्रिएका खुट्टातिर हेरी ।

सजल नेत्रले ओठका दुवै कुनाहरूलाई बङ्ग्याईकन सोधी । जमुनीले झसकिएर करुणालाई हेरी । करुणाको आँखाभरि वेदनाहरू छचल्किरहेका थिए भने ओठभरि मुस्कान … । जमुनी चुपचाप केही नबोली कोठाबाट निस्की । कोठा फेरि शून्य भयो । कोठाको शून्यपनले मन आत्तिएर उसले दुवै झ्यालहरू खोलिदिई । करुणाको आँखा अगाडि सानो संसार ब्युँझियो । अघिल्तिरको काङ्‌गियो फूलको रुखमा परेवा जोडी चुच्चोले एकअर्कालाई ठुँगेर प्रेमालाप गरिरहेका थिए।

“यसरी कूँजो भएर जन्मिनुभन्दा पन्छी भएर जन्मेकी भए पनि स्वतन्त्ररूपले यस्तरी नै प्रेमालाप गर्दै आकाशमा विचरण गर्थेँ होऊँला … ।” ऊ यस्तै कुराहरू मनमा खेलाई सम्भोगरत ती परेवाका जोडीलाई टोलाएर हेरिरही । एकछिनपछि एकले अर्कोलाई पछ्याउँदै ती जोडी आकाशमा कावा खान थाले । “कति सुखी छन्‌ परेवाका यी जोडी … !” हेर्दाहदै कता उडेर गए कता देखिन छोडियो । करुणाको मनभरि यौनइच्छा झाङ्गिन थाल्यो ।

“अब मलाई पनि बाँच्न र यौनभोक शान्त गर्न एउटा पुरुषको आवश्यकता छ ।” उसले जीवनमा पहिलोपल्ट मनमनै एउटा प्रेमीको आवश्यकता गहिरोसित अनुभव गरी । करुणाले काखमा नवजात शिशुलाई च्यापेर स्तनपान गराइरहेकी नग्न युवतीको तस्बिरलाई आँखै नझिम्क्याई धेरैबेर हेरिरही ।

सुन्दर देह भएकी त्यस नग्न युवतीलाई हेर्दाहेर्दा करुणाले स्तनपान गराइरहेकी त्यस युवतीको अनुहारभरि पोतिएको वात्सल्य प्रेम र ओठभरि छरिएको सन्तुष्टि कलाकारिताको एक अनुपम नमुनाझैँ लाग्यो । उसलाई त्यस तस्बिरको कलाकारिताले मन्त्रमुग्ध पार्‍यो ।

“नारी भएर जन्मेपछि मातृत्वको सुखद अनुभव भोग्न नसके नारी भएर जन्मेको के सार भयो ?” उसको मनमा आमा बन्ने रहर पलाएर आयो ।

“किन एक्लै यसरी अँध्यारोमा धुम्धुम्ती बसिराखिबक्सेको ?” अँध्यारो कोठालाई उज्यालो पार्दै जमुनीले खाजा लिएर भित्र पसी । “कतिखेर दिन छिप्पिएर साँझ ओर्लिसकेछ” करुणाले थाहै पाइन ।

“आज मलाई खाजा खान मन छैन … जा लैजा”

“आज हजुरलाई के भो … ?” जमुनीले एकाएक प्रश्न गरी । “जमुनी हेर, त्यो आइमाईलेझैँ बच्चालाई काखमा राखेर स्तनपान गराउन मन लाग्यो” करुणाले लाजै नमानी
निर्धक्क भनी ।

“धत्‌ हजुरको त बिहे नै भएको छैन … ।”

“बिहे नगरी बच्चा जन्माउन सकिन्न र … ।” जमुनीले जिल्ल परेर मालिक्नीलाई हेरी ।

“छ्या … बिहे नगरी कसरी बच्चा जन्मिन्छ … ? के कुरा गरिस्या होला … ।”
ऊ खितितिति हाँसी । “बच्चा जन्माउन बिहे नै गर्नुपर्छ भन्ने छैन, बुझिस्‌ ?”

“के बच्चाजस्तो कुरा गरिस्या होला बिहे नगरी बच्चा कसरी जन्मिन्छ ?” जमुनीले प्रश्न गरी । “मैले जन्माएर देखाएँ भने नि?”

“बच्चा जन्माउन लोग्नेमान्छेसित सहवास हुनु जरुरी छ।” जमुनीले सम्झाएझैँ गरी भनी ।

लोग्नेमान्छेसित सहवासका लागि बिहे नै गर्नुपर्छ भन्ने छैन । हेर, अपाङ्गताको कारण मेरो बिहे हुनु असम्भव छ यी अपाङ्ग खुट्टाहरूकै कारण के मातृत्वबाट वञ्चित होऊँ ? ममा पनि प्रजनन क्षमता छ । त्यस क्षमताको प्रदर्शन गर्न चाहन्छु म करुणाले निर्धक्क भएर आफ्नो मनोकाङ्क्षा व्यक्त गरिरही ।

आज मालिक्नीले कस्तो कुरा गरिरहेकी छिन्‌ … के भो यिनलाई ? जमुनीले करुणातिर विस्मयले हेरी ।

“के हेरेकी मोरी … ? के बच्चा जन्माउन सक्दिन भनी ठानेर त्यसरी हेरेकी मलाई ?”

करुणाले ठूला आँखा पारेर जमुनीलाई हप्काई ।
“हैन हजुर, म गएँ । उता भान्छामा काम बितिसक्यो ।”

जमुनीलाई जतिसक्दो त्यति चाँडो त्यहाँबाट फुत्किन पाए हुन्थ्योजस्तो भयो। जमुनी कोठाबाट फुत्त निस्केर जान लागी । “एई, हेर त एकपल्ट रामेलाई पठाई दे त ।”
करुणाले आदेशात्मक खरमा भनी । “हस्‌, हजुर … ।” जमुनी कोठाबाट निस्की ।

जमुनीलाई आफ्नो आँखाबाट ओभेल नहुञ्जेल करुणाले हेरिरही । ऊ दृष्टिबाट ओझेल भएपछि उसको आँखा कोठा यताउति यताउति कुद्न थाले । उसको आँखा दलिनमा अवस्थित गौँथलीको गुँडतिर अड्किए “ओहो !” विस्मयले उसका आँखाहरू तन्किए । गुँडबाट स-साना बचेराहरू टाउको निकालेर च्याँच्याँ गरेर कराइरहेका … ! देखेर ।

केही दिनअघि गौँथली भालेपोथीले कला ऊ परिश्रमका साथ चुच्चोमा माटो, पराल केके बोकेर गुँड बनाएका थिए । कति चाँडो फूल पारी ओथारो बसी बच्चा कोरलिसकेका … ऊ छक्क परी । “दैवको लीला अपरम्पार … !’ ऊ यस्तै सोचेर गुँडतिर हेरिरही । गाँथलीले चुच्चोमा आहार च्यापी बचेराहरूलाई खुवाइरहेकी दृश्य देखी करुणाको मनमा आमा बन्ने इच्छा झन्‌ प्रबल भएर आयो ।

“गौँथलीले त बच्चा कोरल्न सक्छे भने म त पूर्ण नारी … । मैले पनि सन्तान जन्माई मातृत्व सुख प्राप्त गरेर छोड्छु ।” उसले मनमनै अठोट गरी ।

“हजुर मलाई बोलाइस्या हो !” रामेले कोठामा प्रवेश गरेपछि करुणाको चिन्तनमा बाधा पुग्छ । आफ्नै आँखाअगाडि हुर्केर बढेको रामेमा करुणाको दृष्टि धेरैबेर अड्किरह्यो ! “मेरो सन्तानको पिता के रामे हुन सक्दैन र ?” करुणाको दिमागमा बिजुली चम्क्यो । उसका आँखाहरू अँध्यारोमा टर्च बलेझैँ टिलिक्क टल्कियो । उसको ओठमा मुस्कान छरियो । “रामे, आ त एकपल्ट निधार थिचिदे” करुणाले ममतामयी स्वरमा अनुरोध गरी । “हस्‌”, रामे आज्ञाकारी बालकझैँ करुणाको अगाडि उभियो ।

ढोकातिर इसारा गर्दै करुणाले रामेलाई ढोका थुन्न आदेश दिई । रामेले मालिक्नीको आदेशलाई शिरोपर गर्‍यो । लोलाएका आँखाले करुणाले जमुनीको छोरो, जो उसकै सामु जन्मेर र तन्नेरी भएको थियो, रामेलाई शिरदेखि पाउँसम्म सरसर्ती हेरिरही ।

“रामे त एक स्वस्थ युवकमा परिवर्तन भैसकेछ !” करुणालाई यस्तो भान भयो मानौँ रामेले उसलाई दुवै हात फैलाएर आलिङ्गनमा आबद्ध गर्न इसारा गरिरहेको छ । उसको शरीरमा प्वाँख पलाएझैँ उसलाई उड्न मन लागेर आयो । शरीर फूलको थुँगाझैँ हलुङ्गो भएर आयो । मुटुको रक्तसञ्चार तीव्र भएर आयो ।

“रामे, तँ मलाई साह्रै मनपर्छ । तँ साह्रै राम्रो छस्‌ ।” करुणाले ओठभरि गुलाफ फुलाई रामेलाई लोलुप नजरले हेर्दै भनी । करुणाको हेराइमा स्वार्थको आभास पाएर हो कि रामेलाई मालिक्नीको व्यवहार तथा चालढाल निको लागेन । ऊ चूपचाप आँखा निहुर्‍याएर मालिक्नीको निधार थिचिरह्यो । एक अज्ञात त्रासले उसको मनमा डेरा जमायो ।

“रामे, अलि दरो हातले थिच्‌ त …, तँ त अब जवान भइसकिस्‌ ।”

करुणा बिस्तारै उठी बिछ्यौनाबाट । अब रामेको निधारमा चिटचिट पसिना आयो । उसलाई त्यहाँबाट फुत्केर भाग्न मन लाग्यो । उसको कण्ठ सुकेर आयो । जसै रामेले निधारमा थिच्ने क्रममा आफ्नो हातको चाप बढायो । उसको शरीरले करुणाको शरीरमा क्रमिक रूपमा स्पर्श गर्न थाल्यो । एक विधुतीय तरङ्गको अनुभव गरी करुणाले रामेको हात समाउन पुगी । ऊ भित्रको सहवासको इच्छा जो यतिञ्जेल अचेत तथा सुषुप्त थिए मानौँ मेघ गर्जेझैँ ब्यूँझिए ।

एकै पलमा करुणाले रामेलाई बिछ्यौनातिर तानी गङ्गटाले जस्तो गरी अघिल्लो करौटीजस्तो धारे हातले कैर्याप्प गरी रामेलाई बेस्सरी अठ्याई । बाङ्गिएका लुला दुवै खुट्टाले पछिल्तिरबाट च्यापेर हलनचल तुल्याइदिई । विधुतीय झट्का लागेझैँ गरी रामे आमाजस्ती मालिक्नीको अँगालोबाट फुत्किन खोज्यो तर अँगालो यतिविध्न कस्सिएको थियो कि उसको प्रयास निस्फल भयो । करुणालाई कहाँबाट यस्तो साहस र शक्ति पैदा भयो कुन्नि ! रामेलाई बल्छीको माछाझैँ आफूभित्र उन्न थाली । रामेको कोमल र त्रसित युवा मनमा पनि यौनलालसाले बिस्तारै शिर उठाउन थाल्यो । शरीर अब युवा रामे मालिक्नीका सामु समर्पित भई यौनक्रियामा सम्मिलित हुनथाल्यो ।

प्यासी सावनझैँ बर्सेर करुणाले रामेलाई आफूसितै सागरको गहिराइसम्म तानेर सागरको उर्लदो लहरसित लहर भई उर्लिरही । लहरसित लहर भई उर्लिरहँदा एक असीम सुखको अनुभूति गर्दै करुणाले यस सुखद क्षणको परिणति गर्भाधान भइदिए आजको उसको साहसिक प्रयास सफल तथा अझ सुखद हुने थियो भन्ने मनमनै कल्पिरही ।

केहीबेरपछि तुफानपछिको सम्यक्‌ वातावरणझैँ करुणाको मन शान्त र स्थिर भयो । तुफानी छालहरूबाट किनारमा फ्याँकिएझैँ रामे शान्त र स्थिर भई मालिक्नीको छेउमा पल्टिरह्यो । रामेलाई “जा” भनेर आदेश दिई करुणाले । आफ्नो बन्धनबाट मुक्त गरिदिनासाथ असिनपसिन भई एक आज्ञाकारी बालकझैँ नजर झुकाएर सुस्तरी कोठाबाट चालमार्दै ऊ बाहिर निस्कियो । अजिङ्गरको आहार दैवले पुर्‍याउँछ भनेको हो रै’छ ! करुणा मनमनै मुस्कुराई ।

रामे बाहिर निस्केपछि करूणाले स्तनपान गराइरहेकी युवतीतर्फ दृष्टि फ्याँकी आफूभित्र एक अनौठो अनुभूति गरी । उसलाई यस्तो अनुभूति भयो मानौँ उसको गर्भाशयमा डिम्ब निसेचन प्रक्रिया सुरु हुँदैछ । उसले प्रसन्नता तथा उल्लास भरेर भित्ताको सजीवझैँ ऊतिरै हेरी स्निग्ध मुस्कान छरी मुस्कुराइरहेकी युवतीतर्फ आँखै नझिम्क्याई धेरैबेर हेरिरही । उसले बिस्तारै आफ्नो पेटलाई छामी तस्बिरको काखको बच्चालाई हेरिरही । अनायास करुणाको आँखा तस्बिरको युवतीको आँखासित जुधे ।

यो के… ! हेर्दाहर्दै त्यस तस्बिरकी युवतीले उसलाई आँखा झिम्क्याई । तिनको ओठमा मौन स्वीकृति छचल्किएर आएको उसले स्पष्ट देखी ।

कस्तो सुखद आश्चर्य ! करुणाले बिस्तारै आँखा चिम्ली ।

बाहिर मेघ गर्जनसहित पानी वर्षिरहेको थियो । चट्याङ्गको परवाह नगरी ऊ भविष्यको सुखद कल्पनामा डुबुल्की मार्न थाली ।

कतिखेर आँखा लाग्यो करुणाले चालै पाइन ।

=====

२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ ।  पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली ‘यौन कथा भाग २’ निकै चर्चित कृति हो । यो कथा त्यसै सङ्ग्रहमा सङ्ग्रहित छ ।
लक्ष्मणप्रसाद गौतम
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)