पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले सुरु भएको साहित्यपोस्ट उत्तम कृति पुरस्कारको उत्कृष्ट दश कृतिहरूको नामावली सार्वजनिक भएको छ । पुरस्कारको राशि ५० हजार रुपैँया रहेको छ । यो नामावली वर्षभरिमा नयाँ लेखकहरूले २०७७ सालमा प्रकाशन गरेका २७ पुस्तकबाट छानिएको छ । ती पुस्तकहरूलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले छानेको हो ।
‘हुन त नयाँ लेखकका २७ भन्दा बढी पुस्तक प्रकाशन भए होलान् तर हामीले सबै प्रकाशन गृह, सबै जसो लेखक, देशभित्र र बाहिरबाट धेरैअघिदेखि सोधखोज गर्दा नयाँ लेखकका २७ पुस्तक फेला पार्यौँ ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘यो सूची तिनै नयाँ डेब्यु कृतिहरूबाट छानिएको हो ।’
छानिएका डेब्यु पुस्तकहरूमा सुरेश बडालको कथासङ्ग्रह “रहर”, लक्ष्मण अधिकारीको कथासङ्ग्रह “मर्फिन”, प्रेमबहादुर बोहोराका संस्मरणात्मक कृति “कोग्ले”, पोस्तक श्रेष्ठको कथासङ्ग्रह “मुन्नी”, केदार वाशिष्ठको नेपाली भाषा, लिपि, संस्कृति र संस्कारसँग सम्बन्धित अनुसन्धानात्मक कृति “नेपाल विद्या” रहेका छन् ।
साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि छानिएका अन्य पुस्तकहरूमा लता केसीको लघुकथासङ्ग्रह ‘चोटदेखि मृत्युसम्म’, प्रशान्त शर्माको उपन्यास ‘रूखहरूको मृत्यु’, प्रकाश सुवेदीको उपन्यास ‘आशा छ’, नमिता दवाडीको कवितासङ्ग्रह “जीवन नदीको किनारै किनार” र सरला गौतमको उपन्यास डुमेरा परेका छन् ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षक गरी १५ जनालाई जिम्मा लगाइने छ । उहाँहरूले दिएका नम्बरहरूलाई जोडेर १५ ले भाग गर्दा जुन कृतिले बढी नम्बर प्राप्त गर्छ, त्यही कृतिलाई हामीले वर्षको उत्कृष्ट डेब्यु पुस्तकका रुपमा पुरस्कृत गर्नेछौँ ।’ कोइराला भन्छन्, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी दशवटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति छनोट हुने कुरामा सम्पादकीय टिम विस्वस्त छ ।’
कोइरालाका अनुसार यी दशवटा कृतिले नयाँ लेखकहरू के लेख्दैछन् र नेपाली साहित्य कता जाँदैछ, त्यसको संकेत गरेको छ ।
प्रस्तुत छ, २०७७ सालका उत्कृष्ट १० डेब्यु किताबहरूको सूची ।
१. रहर
फाइन प्रिन्टले यस वर्ष बजारमा ल्याएको सुरेश बडालको कथासङ्ग्रह हो रहर । रहरभित्र सङ्ग्रहित १३ वटा कथाहरूभित्र युवा आँखाले देखेका अनेकन उपकथाहरू भेटिन्छन् ।
सङ्ग्रहित कथाहरूमध्ये केही कथाहरू संस्मरणजस्ता छन् भने आकारका हिसाब कुनै उपन्यासजस्ता पनि लाग्छन् । रहरभित्र सङ्ग्रहित १३ कथाहरूले ४० वर्षअघि देखि हालसम्मको कुनै न कुनै चित्र गहिरोसँग पस्केको छ ।
२. मर्फिन
मञ्जरी पब्लिकेसनले यसै वर्ष बजारमा ल्याएको लक्ष्मण अधिकारीको कथाससङ्ग्रह हो मर्फिन । कुनै समयको बहुचर्चित साधाना मासिकका सम्पादक अधिकारीले यस कथासङ्ग्रहका कथाहरूमार्फत् स्वास्थ्य क्षेत्रभित्र लुकेका पाटाहरूलाई खोदल्ने प्रयास गरेका छन् । स्थापित लेखक–पत्रकार भएकाले पनि अधिकारीको पहिलो एकल किताबले स्थापित लेखनको झल्को दिन्छ । कथाको साहित्यको आनन्दसँगै स्वास्थ्यसम्बन्धी सचेतनाको शिक्षा पनि दिन्छ ।
स्वास्थलाई मात्र केन्द्रमा राखेर लेखिएको यो सङ्ग्रहभित्र मझौला आकारका २१ कथाहरू सङ्ग्रहित छन् । यसमा सङ्ग्रहित २१ वटै कथाले कुनै न कुनै रूपमा स्वास्थ्य क्षेत्रसँग सम्बन्ध राख्छन्, र सचेतनामूलक शिक्षा पनि सम्प्रेषण गर्दछन् ।
३. कोग्लेः
साङ्ग्रिला पब्लिकेशनले बजारमा ल्याएको प्रेमबहादुर बोहोराको संस्मरणात्मक कृति हो, कोग्ले । पुस्तकले नेपालको दुर्गम जिल्ला डोल्पाको कथाव्यथालाई आफ्नो विषय बनाएको छ । यस कृतिभित्र लेखकले आफ्नो बाल्यकालका रमाइला तथा विस्मातकारी किस्सा, स्कुल पढ्नका लागि गर्नुपरेको संघर्ष, एसएलसीपछि सहरमा रुमलिनु परेको व्यथा तथा सहरबाट कर्णालीलाई हेर्दा देखिने चित्रलगायत विविध पक्षलाई समेटेका छन् । लेखक आफैँले भोगेको जीवनलाई पुस्ताकाकार दिएका हुनाले काग्ले खुसी, आक्रोश, हर्ष, विस्मातलगायत संवेदनाहरूले भरिएको छ ।
यस कृतिका लेखक बाहोरा शिक्षा नेपालका संस्थापक हुन भने एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्तासमेत रहेका छन् ।
४. मुन्नीः
लिपि बुक्सले बजारमा ल्याएको पोस्तक श्रेष्ठको कथासङ्ग्रह हो “मुन्नी” । सङ्ग्रहमा २२ शीर्षकका सामाजिक कथाहरू समेटिएका छन् । नब्बेको दशक र त्यसपछिको समाज, परिवेश र घटनाहरू समेटिएका छन् यस कथासङ्ग्रहमा । कथामा कतै अमेरिकी परिवेश छन्, कतै द्वन्द्वकालका प्रसंगहरू । कुनै कथाले प्रेम बोल्छन् त कुनै कथाले छुवाछुत, लैङ्गिक विभेद, समाजिक विसङ्गतीका व्यथाहरू बोल्दछन् ।
सौराहा, चितवनका पोस्तक १६ वर्षदेखि अमेरिका बस्दै आएका छन् । पहिलो पुस्तक भए पनि उनको लेखनमा पाकोपन भेटिन्छ ।
५. नेपाल विद्याः
विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशनमा आएको केदार वाशिष्ठ (भट्टराई) को पुस्तक हो, नेपाल विद्या । अनुसन्धानात्मक यस गैरआख्यान विधाको पुस्तकमा लेखकले प्राचीन सिद्धान्त र त्यसको प्रयोग सम्बन्धी खोज समेटेका छन् । वाशिष्ठले यस पुस्तकमा तथ्यमा आधारित भएर प्राचीन लुम्बिनी र कपिलवस्तुको राजनीतिक तथा भाषिक उत्खनन् गरेका छन् ।
गोरखापत्र दैनिकका पत्रकार वाशिष्ठले आफ्नो विद्यावारिधिलाई त्यागेर नेपाल विद्याको खोज तथा अनुसन्धानमा लागेको पुस्तकमा उल्लेख गरेका छन् । वाशिष्ठका नेपाल विद्या, नेपाली भाषा, भाषामा प्रविधि, साहित्य, संस्कृति, इतिहास, पत्रकारितालगायत विविध विषयमा अनुसन्धानात्मक लेख रचनाहरू वर्षौदेखि छापिएपछि पुस्तककरुपमा उनको पहिलो कृति भएका कारण उनलाई पनि डेब्यु लेखकका रुपमा समेटिएको हो ।
६. चोटदेखि मृत्युसम्मः
शिखा बुक्सले बजारमा ल्याएको लता केसीको लघुकथासङ्ग्रह हो “चोटदेखि मृत्युसम्म” । यस लघुकथासङ्ग्रहमा जम्मा ६१ वटा लघुकथाहरू सङ्ग्रहित छन्, जसमा पहिलो लघुकथाको शीर्षक “चोट” छ भने अन्तिमको शीर्षक “मृत्यु” ।
पछिल्लो समय लघुकथा लेखनमा धेरै सर्जकहरू सक्रिय रहेको अवस्थामा तीमध्येको एक सर्जक हुन् लता केसी । सङ्ग्रहमा समावेश भएका लघुकथाहरू बनोट र बुनोटका हिसाबले आकर्षक छन्, साथै भाषाका हिसाबले सरल । उनका ६१ वटै लघुकथाले पाठकको मनमा पैदा गराउने झंकार र सन्देश उत्कृष्ट छ ।
७. रूखहरूको मृत्युः
प्रशान्त शर्माको उपन्यास हो रूखहरूको मृत्यु, जसलाई बुलबुल पब्लिकेसनले बजारमा ल्याएको छ । शर्मा आफ्नो उपन्यास “रूखहरूको मृत्यु”मा प्रेमलाई फरक दृष्टिकोणबाट हेर्ने र प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
उपन्यासकार शर्मा कैलासकुट बहुमुखी क्याम्पसमा अध्ययनरत छन् । उमेरकै हिसाबमा पनि कच्चा नै छन्, तर उनको उपन्यासले बोकेको विषय, भाषा र शैली भने पक्का लाग्छ । उनले उपन्यासको विषय प्रेम भए पनि यसलाई पछिल्लो समय प्रेम उपन्यास वा कथाको नाममा प्रयोग गरिने शरीरिक वर्णन र कामुकताको बखानभन्दा टाढा राखेका छन् । यो नै शर्माको सबल पक्ष हो ।
८. आशा छः
वीरिडले प्रकाशनमा ल्याएको प्रकाश सुवेदीको उपन्यास हो, आशा छ । यस उपन्यासमा लेखकले एक प्राध्यपकको सङ्घर्षमय जीवनकथा प्रस्तुत गरेका छन् । उपन्यासका नायक प्राध्यापकको माध्यमबाट शिक्षा क्षेत्रमा राजनीतिले पारेको असर र त्यसले शिक्षामा ल्याएको ह्रासलाई चित्रण गर्न लेखक सक्षम भएका छन् ।
उपन्यासमा काठमाडौँको ५० वर्ष लामो सामाजिक परिवेश, देशको राजनीतिक, आर्थिक तथा शैक्षिक क्षेत्रको चित्रण गरिएको छ । बेथिति तथा विसङ्गतिलाई कथाको माध्यकबाट उजागर गरिएको छ ।
९. जीवन नदीको किनारै किनारः
साहित्यपोस्टले प्रकाशनमा ल्याएको नमिता दवाडीको काव्यकृति हो, जीवन नदीको किनारै किनार । यस कवितासङ्ग्रहमा ७५ वटा कविताहरू सङ्ग्रहित छन् । कोमल भाव, तीक्ष्ण विचार र स्वच्छन्दवादी कविता यो सङ्ग्रहको मुख्य आकर्षण हो । गोरखा घर भएकी नमिता दवाडी लामो समयदेखि न्युजिल्याण्ड बस्दै आएकी छन् । सामाजिक सञ्चालमार्फत कविका रुपमा लोकप्रिय भएपछि उनले २०७७ सालमा पहिलो पुस्तक प्रकाशन गरेकी हुन् ।
१०. डुमेरोः
नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको सरला गौतमको उपन्यास हो डुमेरो । यस उपन्यासमा सानो सहरमा हुर्किएकी एक किशोरीले ठूलो संसारमा प्रवेश गर्ने क्रममा पहिचान खोज्दाको कथाव्यथा छ ।
पत्रकारिताबाट लेखनयात्रा सुरु गरेकी गौतम सामाजिक सरोकारका विषयमा आलोचनात्मक टिप्पणीकारका रुपमा स्थापित छिन् । पत्रपत्रिकामा छापिने स्तम्भमा उनी सामाजिक तथा राजनीतिक मुद्धाहरूमाथि केन्द्रित हुन्छिन् ।
प्रस्तुत १० पुस्तकबाहेक उपेन्द्र भुसालको सुहाना (उपन्यास), राजुअधिकारीको लावण्य देश (कथासङ्ग्रह), अज्ञात युवकको मायालय (उपन्यास), केशवराज भट्टको प्रेमसागर (मुक्तकसङ्ग्रह), सोम निरौलाको सिसिफस (कवितासङ्ग्रह), पवित्रा अधिकारीको देह उत्सव (कथासङ्ग्रह), गिरि श्रीस मगरको एकलव्यको देव्रे हात (कवितासङ्ग्रह), ऋतु पनेरुको आँशु (उपन्यास) लगायत नवोदित लेखकका कृतिहरूले पनि निर्णायकहरूबाट राम्रो अंक पाएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।