फ्रान्समा तेस्रो क्रान्ति उत्कर्षमा थियो । यस्तो अवस्थामा अवस्था साम्य पार्नका लागि जुन सरकार बनाइएको थियो, त्यो सरकारले चाहेजस्तो शान्ति सुव्यवस्था कायम गर्न सकेन । नेसनल कन्भेन्सनबाट निर्मित सरकारको कार्यकाललाइ ‘आतंकको शासन’ का रूपमा समेत चिनिने गरिन्छ । यस्तो अवस्थामा जँ पल मराटको अतिवादी सोच र व्यवहारका कारण धेरैले मराटको विरोधी बनाएको थियो ।

सन् १७९३ जुलाइ १३ का दिन चार्लोटी कोर्डे नामक महिलाले पत्रकार तथा फ्रान्सेली क्रान्तिका नेतामध्ये एक मराटको हत्या गरिदिइन् । सो हत्याले यति ठूलो हलचल मच्चायो कि आन्दोलनलाइ चरम अवस्थामा पुर्याइदियो ।

‘द डेथ अफ मराट’ नामक कलाकृतिले सोही अवस्थालाइ चित्रित गरेको छ । उनको हत्या प्रयास भएपछि बाथटबमा छटपटाइरहेका मराटको अवस्था यहाँ झल्काइएको छ।

चित्रकारिताको इतिहासमा केही व्यक्ति केसम्म दाबी गर्छन् भने यो जत्तिको सफल राजनीतिक प्रपोगन्डा अहिलेसम्म कसैले पनि उत्पादन गर्न सकेको छैन ।

यो चित्रका सर्जक ज्याक्स लुइस डेभिड तिनै हत्या गरिएका मराटका नजिकका साथी थिए । उनलाइ हत्याको एक दिनपछि डाकियो र सतगतपछि उनको सुन्दर चित्रकला बनाउन आग्रह गरियो । नोभेम्बरभित्रै उनको यो चित्र तयार भयो ।

यो चित्रलाइ केहीले जिसस क्राइस्टको अवस्थासँग तुलना गरेका छन् । खासगरी जिसस क्राइस्टलाइ जब क्रुसबाट निकालिन्छ र जस्तो टाउकोको अवस्था देखिन्छ, (अन्य पेन्टिङ र मूर्तिहरूमा) ठीक त्यस्तै अवस्था यहाँ देखाउने प्रयास गरिएको छ ।

एउटा राजनीतिक नेताको हत्याको दृश्यलाइ यति महत्व दिइएको भन्दै पछिका शासकले यो तस्बिरलाइ उति महत्त्व दिएनन् । सन् १७९५ ताका यो चित्र चित्रकारलाइ नै फिर्ता दिइयो ।

त्यसपछि यो चित्र कहिल्यै प्रदर्शनीमा लाग्न पाएन । सन् १८४६ ताका डेभिडको मृत्युको २१ वर्षपछि एक जना कवि तथा कलासमीक्षक चार्ल्स बौडलायरले सुन्दर समीक्षात्मक कविता लेखेपछि भने यो चित्रको शक्ति सर्वसाधारणले पनि बुझे । यसपछि भने यो बेल्जियमको एक म्युजियममा राखिएको छ ।

को हुन् डेभिड ?
युरोपमा नवशास्त्रीय चित्रकारका रूपमा चर्चित ज्याक्स लुइस डेभिड फ्रान्सेली क्रान्तिताका उदाएका उम्दा सर्जक हुन् ।

उनी फ्रान्सको पेरिसमा जन्मिएका थिए । उनका चित्रकारिताका गुरू जोसेफ मरी भेन थिए । १७७४ मा उनले प्रिक्स डि रोम जस्तो पुरस्कार जितेका थिए । यो पुरस्कारले उनलाइ इटालीमा उच्च शिक्षा लिनका लागि भूमिका खेलेको थियो । त्यहाँ उनले पाँच वर्ष लगाएर प्राचीन शास्त्रीय कला पढेका थिए ।

अध्ययनपछि उनी जब पेरिस फर्किए, उनले प्राचीनता र आधुनिक मिसाएर चित्र बनाउन थाले । उनले ग्रिसेली र रोमन इतिहासबाट लिइएका कथा, घटना र अवस्थालाइ चित्रमार्फत प्रस्तुत गर्दा सर्वथा नौलो मात्र भएन, त्यसैका कारण उनले प्रख्याति पनि बटुले ।

उनका चित्रहरूमा नैतिकता, साहस र आत्महन्ता प्रवृत्ति देखिन्छन् ।

सन् १७८९ ताका उनी राजनीतिमा तानिए । उनले लुइ सोह्रौँको हत्याका लागि सहमति दिनेमध्येमा उनी पनि एक थिए ।

उनको राजनीतिक संलग्नताको उनले पछि निकै ठूलो मूल्य चुकाउनु पर्यो । तर उनी जेल पर्नबाट भने जोगिए । पछि उनी नेपोलियनको शासनताका पुनः चित्रकारका रूपमा स्थापित भए र आधिकारिक चित्रकारका रूपमा जागिरसमेत पाए । नेपोलियनको अन्त्यपछि भने उनी बेल्जियम बसाइँ सरे । त्यसपछि उनी मृत्यु नहुञ्जेल राजधानी ब्रसेल्समा बिताए ।

यो चित्रमा के हेर्ने ?
क) मराट
क्रान्तिताका जँ पल मराट फ्रान्सका शक्तिशाली व्यक्तिमध्ये एक थिए । उनले पत्रकारका रूपमा निकै ख्याति बटुलेका थिए । उनले फ्रेन्ड अफ द पिपल नामक पत्रिका चलाउँथे र राज्यका दुस्मनविरूद्ध धावा बोलेका थिए । यो चित्रलाइ धेरैले चित्रभन्दा पनि प्रोपोगन्डाका रूपमा देख्नेहरू बढी छन् । मराटको चित्रलाइ उनले एउटा सहिदका रूपमा यहाँ व्याख्या गर्ने प्रयास गरेका छन् । ५० वर्षे मराटलाइ उनले कलिलो अनुहार देखाएका छन् ।

ख) रगतका धब्बा
मराटको हत्या भएको थियो तर रगतको छ्यालब्याल देखाउने कुरामा उनको रूचि थिएन । त्यसैले उनले थोरै रगतमार्फत त्यो बेलाको सबैभन्दा खतरनाक हत्यालाइ प्रस्ट्याउने प्रयास गरेका छन् ।

ग) चक्कु
मराटको हत्या भएको थियो र चक्कुले निर्मम तरिकाले हत्या गरिएको थियो । चक्कु त्यहीँ छाडेर हत्यारा भागेकी थिइन् । केहीले भने चक्कु छातीमै घोपिएको अवस्थामा लाश फेला परेको थियो । तर यहाँ चित्रकारले छातीमा चक्कु घोपिएको अवस्था देखाउन चाहेनन् । त्यसो गर्नु नायकत्वविपरीत हुन जान्थ्यो । डेभिडले त्यसो गर्न चाहेनन् ।

घ) तन्ना
मराटको हत्या भएको केही समयपछि नै डेभिड लाश हेर्न पुगेका थिए । उनले बाथटब, कोठा लगायत सही चित्रण गरेको भए पनि केही कुरालाइ उनले बढाइचढाइ बनाएको केहीको तर्क छ । खासगरी रगतले लत्पतिएको तन्ना त्यो बेला थिएन भन्ने केहीको धारणा थियो ।

ङ) लेखिएका सामग्री
बाथटब छेउमा रहेको एउटा टुलमा केही कुरा लेखेर राखिएको छ । हत्या हुनु केही अघि उनी लेखपढमा मस्त थिए भन्ने कुरा यसले जनाउँछ । मराट नुहाउन बढीभन्दा बढी समय लगाउँथे । त्यो समय उनी लेखपढमा दिन्थे । खासमा उनी आधाजसो अफिसियल काम यही बाथटबमा गर्थे ।
यहाँ उनले एउटा चिठ्ठी र केही पैसा राखेका छन् । यो रकम र चिठ्ठी युद्धमा विधवा भएका महिलाहरूका लागि सहयोगस्वरूप छुट्याएका थिए । उनको हातमा एउटा प्वाँखयुक्त कलम अझै पनि लत्रिरहेको देख्न सकिन्छ ।

च) हातको चिठ्ठी
हत्या गरिएका मराटको अर्को हातमा चिठ्ठी देखिन्छ । छेउछाउमा रगतका दागहरू देखिन्छन् । यसमा केही लेखिएको छ, जसमा मेरो बेखुसी र मलाइ चाहिँदोभन्दा बढी करूणा देखाएको भन्दै गुनासो गरिएको छ ।

आउनुस्, एक पटक पुनः यसलाइ गहिरिएर हेरौँः

https://cdna.artstation.com/p/media_assets/images/images/000/630/886/large/final_02.jpg?1594736879