जब धनको बारेमा लेख्न थालियो, संसारमा सबैभन्दा बढी धन कोसँग थियो भन्ने लेखाजोखा इतिहासमा पनि पाइन्छ तर संसारकै सबैभन्दा धनी कलाकार को थियो होला ?
इतिहासमा त्यसको पनि रेकर्ड दर्ज भएको छ । चर्चित चित्रकार तथा मूर्तिकार माइकेलेन्जेलो संसारकै सबैभन्दा धनी चित्रकार तथा मूर्तिकार थिए । त्यसो त सम्पत्तिलाइ हेर्ने एउटा दृष्टिकोण हुन्छ । कसैले यसलाइ आफूसँग भएको रूचाउँछन्, कसैले भने यसलाइ बाँडिदिँदा आनन्द मान्छन् ।
माइकेलेन्जोले भने त्यस्तो मान्दैन थिए । उनले कहिले पनि दान दिएनन् । बरू उनले बहुक्षेत्रमा लगानी गरे र भएको आम्दानीलाइ सधैँ बढाइरहे । उनी मर्दा पनि त्यो बेलाको लखपतिका रूपमा मरेका थिए । उनले लामो जीवन पाए र कमाएको सम्पत्तिको आफ्नै लागि खर्च गरे ।
त्यसो त पैसा कमाउने चित्रकारहरू अरू पनि थिए । त्यो बेलाका डोनाटेलो, लियोनार्डो र राफेलजस्ता त्यस बखतका चर्चित कलाकारहरूले कुस्त कमाएका थिए । तर उनीहरूले भने पैसालाइ आफूसँग राख्नुभन्दा पनि अरूलाइ बाँडिदिनुमा नै सुख देखे ।
त्यस्तै रोसो फियोरिन्टो सम्पत्तिकै कारण विपतमा परे । एन्ड्रिया डेल सार्टो भने कमाएको सम्पत्ति अपव्यय गरेरै कंगालीमा जीवन बिताए । अमेरिकी अध्येता रब हटफिल्डको एउटा अध्ययनअनुसार माइकेलेन्जेलोले अहिलेको ५० लाख पाउन्ड बराबरको रकम वचत गरेका थिए । त्यसका लागि उनले फ्लोरेन्सको एउटा अस्पताल सान्तामारिया नुओभा (त्यो बेला अस्पतालले बैंकको काम पनि गर्थे)मा उनले वचत गरेका थिए । तर त्यो वचत रकम भने गोप्य रूपमा अन्तै स्थानान्तरण हुने गर्थ्यो ।
उनले आफ्नो रकमलाइ विभिन्न वस्तु, घरजग्गा, खेतीमा लगानी गरेका थिए । बाँकी रकमलाइ वचत गरेका थिए । खासगरी उनको दोस्ती बैंकर काल्डुसीसँग पनि थियो । तिनसँग यी माइकेलेन्जेलोको समलैंगिक सम्बन्ध रहेको अध्येताहरूको निष्कर्ष छ ।
माइकेलेन्जेलो त्यस बेलाका बहुचर्चित लियोनार्दो दा भिन्सीभन्दा पाँच गुणा बढी धनी थिए । त्यसो त त्यो बेला टाइटियन र राफेल पनि उस्तै धनी चित्रकारका रूपमा चिनिएका थिए तर माइकेलेन्जेलोका अगाडि ती केही पनि थिएनन् ।
रोचक कुरा त के भने जीवनभर उनले आफू गरिब भएको र गतिलो जीवन बाँच्न नपाएको भन्दै सधैँ अरूसँग गनगन र कचकच गरिरहन्थे । यसको मुख्य कारण भने उनको धनको बारेमा अरूले भेउ नपाऊन् भन्ने नै थियो ।
उनले जीवनमा आफ्ना बुवा र दाइहरूलाइ १०० डुकाट (त्यस बेलाको रकम) दिँदै लेखेका थिए, यो पैसा मैले खाइनखाइ गरेर बचाएको हो र त्यही पठाउँदैछु । तिमीहरूलाइ यो रकम पठाउनु पर्दा मैले मेरो मुटु निचोरेर पठाएको महसुस गरिरहेको छु । अब योभन्दा बढी आशा गर्नु भनेको अत्ति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।