हुन त त्यति बेला उहाँ राष्ट्रकवि घोषित भइसक्नुभएको थिएन, तर पनि नेपाली साहित्यका पाठकको मनमा उच्च कवि हुनुहुन्थ्यो । समय २०४९ को अन्त्यतिरको हो । उहाँलाई खोज्दै म उहाँको घर लैनचौर पुगेको थिएँ । आकाश साहित्यिक परिवारको आयोजनामा हुन लागेको प्रथम राष्ट्रिय गजल गोष्ठिको प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्न ।

कम्पाउन्डको फलामे ढोका ढक्ढक्याउदै भित्र पसेँ , महाकाली आमाले भित्र आउन भन्नुभयो तर चैतको न्यानो दिन भएकोले बाहिरै बस्ने अनुमति मागेँ- “ठिक छ हजुर म बाहिरै बस्छु । “

केही छिनमै कविज्यू बाहिर आउनुभयो । मैले सम्मान पूर्वक अभिवादन गरेँ । नजिकैको कुर्सी देखाउदै बस्न भन्नुभयो,  र आफू पनि बस्नुभयो ।

उहाँ मेरो नामको प्रशंसा गर्दै भन्नु भयो – “गोवर्द्धन पूजा , कस्तो राम्रो नाम है ! साहित्यका पूजारी !”

मैले खिस्स हाँसेँ मात्र । केही कुराकानी भए – आधा घण्टा बसाइमा र कार्यक्रमको प्रमुख अतिथि बन्ने स्वीकृति मिल्यो र फर्किएँ ।

उहाँको घर र कार्यक्रमस्थल समाज कल्याण परिषद्को भवन नजिकै थियो । मैले कार्यक्रमका दिन म आफैँ लिन आउने वचन दिएँ र लिन जादाँ उहाँ तयारी अवस्थामा  बस्नुभएको रहेछ । ढोका बाहिर उभिएँ, मलाई देख्ने बित्तिकै उहाँ आउनुभयो ।

बा. अ. च. ३१९५ नम्बरको मेरो मोटर साइकलमा बसेर मलाई ढाप मार्दै भन्नुभयो – जाऔँ ।

उहाँले मार्नु भएको मायालु ढापसँगै हाम्रो गति अगाडि बढ्यो । मेरो शरीरमा अनौठो अनुभूति भएको थियो । दुई घन्टा लामो कार्यक्रम अवधिभर त्यहि अपनत्वले घुमाइरह्यो । फर्किने बेलामा पनि उहाँले भन्नुभयो – “म त पूजाकै मोटर साइकलमा जान्छु, उहाँले राम्रो चलाउनु हुँदो रहेछ ।”

म खुसीले गद्गद भएँ र उहाँलाई पुर्‍याउन पाएकोमा भाग्यमानी सम्झिएँ ।

###           

गोवर्द्धन पूजा (अमेरिका)

केही दिनपछि उहाँसँग जाउलाखेलको एउटा कार्यक्रममा भेट भयो । उहाँ मन्चमा हुनुहुन्थ्यो । म दर्शकदीर्घाको अग्रपङ्क्तिमा थिएँ । कार्यक्रमको आधाआधीमा उहाँको मन्तव्य पश्चात् हातको इशाराले मलाई बोलाउनुभयो – म अक्क न बक्कमा परेँ र दगुर्दै उहाँ भएको मन्चमा गएँ । उहाँले कानमा खुसुक्क भन्नुभयो – “यहाँ पिसाब फेर्ने ठाउँ कता होला ?”

मैले नजिकैको पुलिस चौकीतिर इसारा गर्दै भनेँ- हजुर, त्यहाँ छ । मैले चिनेका पुलिस पनि छन् , जान दिन्छन् ।

उहाँ जुरुक्क उठनुभयो र मेरो हात समाउनुभयो । हामी पुलिस चौकीतिर लाग्यौँ  र काम फत्ते गर्‍यौँ ।

कार्यक्रमको समापन पश्चात् उहाँले मलाई भन्नुभयो – “मलाई घरसम्म पुर्‍याइदिने तपाईँ त होला नि ?”

मैले कुरा बुझिहालेँ , र खुसीले स्वीकृतिको टाउको हल्लाएँ ।

मोटरसाइकलमा बस्ने बित्तिकै सोचेँ- उहाँलाई आयोजकहरूले गाडीमै पुर्‍याइदिन सक्थे, किन उहाँ मसँग जाने चाहना राख्नुभयो ?

कुपन्डोलको ओरालोमा पुगेपछि उहाँले भन्नु भयो – “तपाईँहरूले गजल गोष्ठिमा बोलाएपछि म व्यस्त हुन थालेको छु । सबैले कार्यक्रममा बोलाउन थालेका छन् । “

वास्तवमा यो सत्य पनि थियो । २०४६ को आन्दोलनले उहाँलाई दरवारको नजिकको कविको संज्ञा दिएकाले कार्यक्रमहरूमा उहाँलाई निम्ता दिन आयोजकहरू डराएको अवस्था थियो । मैले उहाँले भन्न खोज्नुभएको कुरा बुझिसकेको थिएँ, त्यसैले टाउको हल्लाएँ मात्र ।

उहाँको घर पुगेपछि चिया नखाई फर्कन दिनुभएन । चियाकै बहानामा भए पनि केही समय उहाँसँग बस्न पाएकोमा गर्व पनि लागेको थियो ।‌‍

###            

२०५४ सालतिर रेडियो सगरमाथाको अजम्बरी गीत सङ्गीत कार्यक्रम खुब हिट थियो । कार्यक्रम प्रस्तोता प्रकाश सायमीको उक्त कार्यक्रमका लागि उहाँलाई स्टुडियोमै बोलाएर कुराकानी गर्ने निधो भएको रहेछ तर रातको ९देखि १०सम्म चल्ने कार्यक्रममा कसले उहाँलाई पुर्‍याउने भन्ने चिन्ता चलेको रहेछ । यस्तैमा प्रकाश सायमिले मेरो नाम लिएर भन्नुभएछ – “कविज्यूलाई लिन गोवर्द्धन पूजा आउँछन् । “मेरो नाम सुने पछि राष्ट्रकविले स्वीकृति दिनुभएछ ।

मलाई पनि एक प्रकारको खुसी लागेको थियो । उहाँलाई लिन गएँ र यात्रा सानेपासम्मको गरियो । कार्यक्रम अवधिभर सँगै स्टुडियोभित्रै बिताइयो र रातको साडे दसबजे उहाँलाई लैनचौर छोडेर मेरो घर सिनामङ्गल फर्किएँ । बाटामा उहाँले भन्नुभएको कुरा मनमा खेलिरह्यो । “सिर्जना एउटा साधना हो , साधनाबिनाको लेखन चिरस्थाई हुँदैन ।”

###             

२०५७ सालमा मेरो पहिलो कविताकृति ” पीडा अवतार “को विमोचनमा उहाँलाई प्रमुख अतिथि बनाउने निर्णय गरियो । म आफैँ लिन गएँ र कार्यक्रम पश्चात् पुर्‍याउन पनि । उही मोटर साइकल बा. अ. च. ३१९५ ।

त्यसपछिका दिनहरूमा अन्य कार्यक्रमहरूमा भेट हुँदा पनि उहाँले मलाई मायालु भावमा सोध्नुहुन्थ्यो – “सन्चै ?”

यस्तो देखेर अरू साथीहरूले कसैको किताब विमोचन गर्ने कुरा चल्यो कि राष्ट्रकविलाई बोलाउने जिम्मा मलाई दिने गर्दथे । एक प्रकारले म राष्ट्रकविको निकट पात्र बनेको थिएँ ।

२०६२ सालमा म अन्नपूर्ण पोस्टको वरिष्ठ उपसम्पादकका रूपमा कार्यरत थिएँ । प्रत्येक साता आइतबार ” अन्नपूर्णसँग खाना” कोलममा एक पेज चर्चित व्यक्तित्वहरूको खानासम्बन्धी आर्टिकल लेख्नुपर्थ्यो ।  कविज्यूलाई अनुरोध गरेँ, लन्चका लागि । स्वीकार गर्नुभयो मेरो अनुरोधलाई । तर यसपटक महाकाली आमा र कविज्यू दुवैलाई निम्तो गरेकाले मैले जिस्किएर भनेँ – “यो पटक हजुरलाई लिन म अफिसको गाडी लिएर आउनेछु, मोटर साइकलमा होइन ।”

उहाँको घरदेखि होटल याक एन्ड यतिसम्मको यात्रामा मैले सोधेँ – “मोटरमा सजिलो कि मोटरसाइकलमा ?”

उहाँले हास्दै भन्नुभयो – “आनन्द त मोटरसाइकलमा पनि हुन्थ्यो । “

करिब ४ घन्टाको खाना- गफ पश्चात् होटलबाट नजिकै रहेको उहाँको छोराको रेस्टुरासम्म हिँडेरै गयौँ र गाडीमा उहाँको घरसम्म छोडेर फर्कँदा एउटा आनन्दको नयाँ अनुभूति मिलेको थियो ।

‌‍### 

म अमेरिका आएपछि तयार पारेको कविता सङ्ग्रह “अनामनगरकी अम्बिका” विमोचनका लागि उहाँलाई बोलाउन भनेर घरसम्म गएको थिएँ, तर उहाँको व्यस्तता बारे पढेका कारण किताबमात्र दिएर फर्किएँ । उहाँलाई मैले गरेको सम्मानका कारण दुःख दिन चाहिनँ ।

आज उहाँका बारेमा सम्झना लेख्दैछु । अब कहिल्यै उहाँ मेरो मोटरसाइकलको पछाडि बस्न आउनु हुनेछैन र, न त मैले अब कहिल्यै गर्व साथ राष्ट्रकविलाई मेरो मोटर साइकलमा बोकिरहेको छु भन्ने अनुभूति गर्न पाउने समय नै फर्केर आउनेछ ।