कवि जोशना बनर्जी आडवानीको परिचय

कवि जोशना बनर्जी आडवानीको जन्म ३१ दिसम्बर १९८३ मा भरतको आगरा, उत्तरप्रदेशमा भएको हो । विद्यावारिधि उपाधि हासिल गरेकी उनले कत्थकमा प्रभाकर उपाधि पनि हासिल गरेकी छिन् । उनी हाल स्प्रिंगडेल पब्लिक स्कूल, आगरामा प्रधानाचार्याका रूपमा कार्यरत छिन् । समकालीन हिन्दी कवितामा आफ्नो पृथक पहिचान बनाएकी जोशनाको सुधानपूर्णा (कविता सङ्ग्रह) प्रकाशित छ । प्रयोगशील आग्रहका साथ कविता लेख्ने उनका कवितामा बिम्बविधान तथा प्रतीकयोजनाको नवीनता पाइन्छ । भाषान्तर कविताको यस शृङ्खलामा कवि जोशना बनर्जी आडवानीका तीन कविताहरू समावेश गरिएका छन् ।
***

अन्त्येष्टिभन्दा अघि

(अंत्येष्टि से पूर्व)
जोशना बनर्जी आडवानी

हे देव !
मलाई डर लाग्छ
बिजुली, अँध्यारो र सर्पहरूसित
घना जङ्गलको नागरिकता देऊ मलाई
मित्रता गर्नुपर्छ मेरो डरले
आतङ्कसँग
हुनुपर्छ बलियो

हे देव !
एकै ठाउँमा बर्सौँ बसेर
आराम गरेकी छु मैले
बनाइदेऊ हावा मलाई
समर्पण गर्न सकूँ म आफूलाई-
किसानका छोराछोरीका भिजेका गन्जी
र तिनका कोषिकाहरूमा

हे देव !
सकिनँ मैले
आफ्नै बाआमाको सेवा गर्न
शीत बनाइदेऊ मलाई
म झरूँ वृद्धाश्रमको आँगनका
हरिया घाँसहरूमा
उनीहरू राखून् आफ्ना पाउ ममाथि
र राख्न सकूँ म तिनलाई स्वस्थ

हे देव !
मैले खेलिनँ पिङ कुनै साउनमा कहिल्यै
बनाइदेऊ मलाई पिङको बलियो गाँठो
म सुरक्षित राखूँ
ती सबै स्त्री र बालकहरूलाई
जो खित्का छाड्दै मच्चियून् पिङमा
र उत्रियून् तृप्त भएर

हे देव !
केही मानिसले छल गरेका छन् मसित
मलाई बनाइदेऊ वटवृक्ष
मलाई विश्वास गरेर सैकडौँ पक्षी
प्रातमा भरुन् उडान र रातभरि
मेरै हाँगामा गरुन् विश्राम
दिनसकूँ म तिनलाई विश्वासिलो सुरक्षित निद्रा

हे देव !
मेरो धैर्य हो-
एउटा धनी नवजात शिशु
हरेक क्षण रेखदेख गर्नुपर्छ उसलाई
मलाई एक हजार आठ
रुद्राक्षको माला बनाइदेऊ
मेरो धैर्यले अब
बन्नुपर्छ अघोरी

हे देव !
मलाई प्रतीक्षा रहन्छ चिठीहरूको
मलाई बनाइदेऊ
घाटीका प्रहरी-पत्नीहरूको दूत
तिनीहरूमा पनि हुन्छ होला
क्षेमकुशल जान्ने लालसा
सान्त्वना दिएर म तिनलाई
खुसी पार्न सकूँ

हे देव !
मैले प्रश्नहरूको बिउ रोपेँ
कहिल्यै फूल बनेर फुल्न सकेनन् ती
बनाइदेऊ मलाई उब्जाउ रातो माटो
सेकिएर अनि भिजेर म
भरिभराउ पारूँ
सैकडौँ खलाहरू

हे देव !
धरती र ताराहरूका बिच
म निकै पुड्की देखिन्छु
बनाइदेऊ मलाई अग्लो पहाड
बनाएर बादलका झुन्डहरूमा
अनेक आकृतिहरू
म तिनलाई चाहेजस्तो आकारमा ढाल्न सकूँ

हे देव !
चिप्लेर आफ्नै नियन्त्रणबाट म
रच्न सकिरहेकी छैन कुनै दन्त्यकथा
बनाइदेऊ मलाई काँडायुक्त बाटो
मेरा पैतालाहरू चाहन्छन्-
पीडा र पीप जमेका
अनुभव लेख्न

हे देव !
चिल्ला भुइँमा
चिप्लिन्छन् मेरा पाउ
देऊ मलाई रक्तमुच्छेल पैताला
मेरा पैतालाका छापहरूले
सबैलाई दिन सकून्
चौबाटाको सङ्केत
र गरून् तिनको मार्गदर्शन

हे देव !
घुँडा टेकेर मेरा आँसु
हरपल बग्न तम्तयार रहन्छन्
मरुभूमि बनाइदेऊ मलाई
बिरानो र सुख्खा धरतीलाई
यो अधिकार छ-
ऊ मेरा आँसुहरूलाई आफ्नो दास बनाओस्

हे देव !
प्रेम मेरा नाडी छामेर
नाप्ने गर्छ मेरा तरङ्ग
मलाई बनाइदेऊ बोधिसत्वको थुप्रो
त्याग मेरो कर्म बनोस्
मलाई चाहिएको छ स्वतन्त्रता
अस्वीकार गर्ने

दे देव !
अधुरै छन् मेरा केही सपना
बनाइदेऊ मलाई-
सम्भव र असम्भवबिचको दूरी
म बटुवाहरूको शक्ति बनूँ
बनूँ जीवनगाथा
तिनका बाटाहरूको

हे देव !
आजसम्म मैले पुलहरूमा यात्रा गरेकी छु
मलाई बनाइदेऊ पौडीबाज
सहरका हरेक बालकलाई म
सिकाउन सकूँ पौडिन
निकै कमजोर छन्
सहरका पुलहरू

हे देव !
थारो बसेका छन् मेरा धेरै दिवसहरू
गर्भवती बनाइदेऊ मलाई
जन्मियोस् कुनै इस्पात मेरो कोखबाट
जो ढलोस् र गलोस् केवल
संरक्षणका निम्ति
जोडिराखोस् सभ्यताहरूलाई

हे देव !
छपाउन सिकनँ मैले
आफ्ना कविताहरूको किताब
मलाई बनाइदेऊ मसी
म गएर घुल्न सकूँ
समस्त कविहरूका कवितामा
र रचूँ इतिहास ।
***

दुर्गन्ध

(बू)

जोशना बनर्जी आडवानी

मैले एक ठाउँमा रोकिएर डेरा जमाएँ
मैले हेरेँ जून र ताराहरू
मैले स्थान परिवर्तन गरेँ
मैले थाहा पाएँ दिशाहरू
म अब यायावर हुँ
मलाई थाहा छ मरुद्यानहरूको ठेगाना
अब बस्दिनँ म तिर्खाएर
मैले सिकेकी छु- हिँडिरहेको एउटा कमिलाले
जित्न सक्छ उँघिरहेको एउटा गोरुलाई
मलाई गुर्गन्ध आउँछ बन्द पर्खालहरूबाट

म सुतेँ
मैले सपना देखेँ- जीवन एउटा सुगन्धित घाटी हो
म ब्युँझेँ
मैले पाएँ- जीवन काँडाहरूको खेती हो
मैले कर्म गरेँ र पाएँ- तिनै काँडाहरूले
बगाइदिएका छन् मेरो विषाक्त रगत
मैले थाहा पाएँ स्वस्थ रहने रहस्य
मलाई दुर्गन्ध आउँछ आरामदायी सपनाहरूबाट

म दुखी भएँ
मानिसहरूले सान्त्वना दिए र पछि हाँसे
म रोएँ
मानिसहरूले सयौँ कुरा काटे
मैले लेखेँ कविता
मानिसहरूले प्रशंसा गरे
छेलिए मेरा आँसु र दुखहरू
थाहा पाएँ मैले- मानिसलाई आकर्षित गर्छन्
दुखका कलात्मक ढाँचाहरूले
मलाई दुर्गन्ध आउँछ आँसुहरूबाट

मैले कुरौटेहरूसित समय बिताएँ
मैले सिकेँ शान्त रहन
मैले काँतरहरूसित समय बिताएँ
मैले थाहा पाएँ के केसित पर्दैन डराउन
मैले सङ्गीत सुनेँ
मैले समाहित गरेँ आफू वरपरको अनन्तलाई
म रमाउन सक्छु अब एक्लोपनसँग
मलाई दुर्गन्ध आउँछ आफ्नै भ्रमहरूबाट

मैले आफ्ना नानीहरूलाई सर्कस देखाएँ
मलाई निकै विवश लागे जनावरहरू
मैले नानीहरूसित कुरा गरेँ
निकै अग्लो थियो तिनको महत्त्वाकाङ्क्षाको ज्वाला
मैले तिनलाई सङ्ग्रहालय र पुस्तकालयमा छाडिदिएँ
अब ती मलाई अचम्भित बनाउँछन्
मैले थाहा पाएँ नानीहरूसँगको पहिलो पाइला नै
आधी यात्रा हो
मलाई दुर्गन्ध आउँछ प्रतिस्पर्धाहरूबाट

मलाई रक्सी खुवाए साथीहरूले
मैले आफूमा भरेँ नक्कली भावहरू
मैले उत्सवहरू देखेँ
मैले व्यर्थ गरेँ आफ्नो अनमोल समय
म आफै चढेँ मञ्चमा
मेरा साथीहरू गर्व गर्छन् मप्रति
मैले थाहा पाएँ सम्राट् सदैव पुरुष मात्र हुँदैनन्
मलाई दुर्गन्ध आउँछ आफ्नै बानीहरूदेखि

मैले समस्याहरू भेटेँ
मैले मुन्टो फर्काएँ
मैले अल्छी बनेर सजिलो बाटो रोजेँ
मैले भेटिनँ शान्ति
मैले शासन गरेँ समस्याहरूमाथि
मेरो मेहनत अजरअमर भयो
मैले देखे
अब समस्याहरू दौडिँदैनन् मेरा पछाडि भूत बनेर
मलाई दुर्गन्ध आउँछ बसिरहेका मानिसहरूबाट

मैले प्रेम गरेँ
मैले दारुण दुख भोगेँ
मैले आफ्नो प्रेमीलाई अर्कै आइमाईसित
अन्तरङ्ग कुरा गरिरहेको देखेँ
म छट्पटाइरहेँ रातभरि
मैले विसर्जित गरिदिएँ प्रेमलाई
प्रेम ईश्वरको कारखानाको एउटा मुद्रणकोष हो
प्रेम कुष्ठरोग र क्षयरोगभन्दा पनि भयङ्कर
एउटा मानसिक बिमारी हो
मलाई दुर्गन्ध आउँछ त्यो क्षणबाट
जब मैले प्रेम गरेँ ।
***

केही बिग्रिएका केटीहरू
(कुछ बिगड़ी हुई लड़कियाँ)
जोशना बनर्जी आडवानी

केही बिग्रिएका केटीहरू
स्कुलमा भएका बेला
आफ्नो होमवर्क गराउँछन् छेउछाउमा बस्नेसँग
तिनलाई मन पर्दैन क्याटवाक गर्न
कलेज गएका तिनीहरूका लागि
आफ्नो डिबेटमा बजेको ताली नै
सबैभन्दा मन पर्ने गीत हुन्छ

केही बिग्रिएका केटीहरू
बङ्क गर्छन् कलेज, पढ्दैनन सालभरि
परीक्षाको ठिक अघिल्लो रात
तयारी गरेर फुर्ती लगाउँछन्
बाँधिदैनन् ३६, ३४, ३६ का मानकहरूमा
न त सुत्छन् नरम बिछ्यौनामा
तिनको थकाइ नै बन्ने गर्छ तिनको डनलप

केही बिग्रिएका केटीहरू
लुकाउँछन् आमाबासँग आफ्ना समस्या
बनाएर आफ्नै अदालत
आफै गर्छन् निर्णय पनि
मुट्ठी कसेर सुन्दैनन् समाजले कुरा काटेको
मुखभरिको जवाफ दिएर झङ्कृत बनाइदिन्छन्
बेकामका मान्छेहरूका कान

केही बिग्रिएका केटीहरू
खरानी बन्ने आकाङ्क्षा राख्छन्
तर जल्न दिँदैनन् आफूलाई
कम्मर मर्काएर हिँड्दैनन्
न त प्रेम गर्छन् किनारहरूसित
ती त मच्चाउँछन् हल्ला
छालहरूको खोजीमा

केही बिग्रिएका केटीहरू
निर्धक्क भएर चिर्छन् समस्याको छाती
तिनको ‘I can’ तिनको ‘IQ’ भन्दा
निकै ठुलो हुन्छ
निकै जिद्दी हुन्छन् गर्दैनन् सम्झौता
पढ्ने गर्छन्-
बिना बुकमार्कका जिन्दगीका पानाहरू

केही बिग्रिएका केटीहरू
मन पराउँदैनन् तडकभडक
काम न काजका गीत
ती मन पराउँछन् पहाडहरू चढ्न
लड्न र आफ्नै घुँडा फुकाल्न
देवदार बनेर विशालकाय छाता
घेरा बनाउँछन्

केही बिग्रिएका केटीहरू
छोटा छोटा लुगा लगाएर ऐनाअगाडि
नक्कल पार्दैनन्
लगाउँदैनन् हिल्स लगाउँछन् हवाइ चप्पल
आवश्यक पर्दा बिजुलीको बोर्ड,
मिटरका तार र बिग्रिएका धारा
आफै बनाउँछन् उनीहरू

केही बिग्रिएका केटीहरू
हुँदैनन् कमजोर
न गर्छन् उमेर कम भएको नाटक
हुने गर्छन् जङ्गली चौरीगाई
आँखा बचाएर हिँड्नु हैन तिनको स्वभाव
हरेक अन्यायसित जुध्छन्
भिड्छन् तिनीहरू निर्धक्क

केही बिग्रिएका केटीहरू
ओढ्दैनन् मौनता कर्कश ध्वनि सुनेर
न जम्मा गर्छन् जूनको उज्यालो
तिनका आँखाका तीरहरू
दन्किरहेको आगो बनेर पोखिन्छन् बाटाहरूमा
हत्केलामा लिएर ताराहरू
ब्रह्मण्डलाई बुढी औँलो देखाउँछन् तिनीहरू

केही बिग्रिएका केटीहरू
प्रेम गर्दैनन्
ती गर्छन् इब्ने इंशा जस्तो फ्लर्ट
जान्दछन् टिकाउ छैनन् केही पनि
केटापक्षसित मान्दैनन् लाज
तिनका आँखामा आँखा जुधाएर गर्छन् प्रश्न
र भनिन्छन् निर्लज्ज

केही बिग्रिएका केटीहरू
कपाल तल झार्दैनन्
छेउबाट
कलर माथि उचालेर थर्काउँदै
भिडलाई छिचोलेर
पुग्छन् हाउसफुल लेखिएको टिकट काउन्टरमा
र देखाउँछन् आफ्नो सामर्थ्य

केही बिग्रिएका केटीहरू
गान्धारी भएर बन्दैनन्
समाजका लागि उदाहरण
आवश्यक परे चिथोर्छन्
गिद्धहरूका आँखा
बनेर श्रवणकुमार
पाल्छन् आफ्ना बाबुआमा

केही बिग्रिएका केटीहरू
एसिड बनाउँछन् आफ्नै हृदयलाई
तिनलाई चाहिन्न लामो डाँठ भएको गुलाफ
या कुनै चकलेट
ती आफैमा इस्तानबुल सहर हुन्छन्
केटाहरूको जालमा फसेर
सिकार बन्दैनन्

केही बिग्रिएका केटीहरू
आफ्नो अहम्‌लाई माझ्ने गर्छन्
जुठा भाँडाहरूसँगै
सन्त हुने गर्छन्
पढ्छन् मनमौजीपनका सूक्तिहरू
कलुषित काँतरहरूका लागि
हुने गर्छन् शौर्यगाथा

देवतालाई मन पर्ने टापुका
जङ्गली फूल हुन्छन् बिग्रिएका केटीहरू
समाजबाटै पाउँछन् यिनले
बिग्रिएका केटीहरूको छाप
यिनै बिग्रिएका केटीहरू समाजलाई
धकेलेर दाहिने खुट्टाको बुढीऔँलाले
स्थापित गर्छन् नयाँ कीर्तिमान
र आफूले पाएको छापलाई बियो बनाएर
धाकको डन्डीले फुटाउँछन् समाजका आँखा
केही बिग्रिएका केटीहरू ।
***