‘जानुका, हजुरबा साह्रै बिरामी छन् । बिदा मिलाएर तुरुन्त बाको मुख हेर्न आइज ।’

एकाबिहानै आमाले फोन गर्नुभयो ।

बाँस्काेटा धनञ्जय

‘के भयो हजुरबालाई ?’

‘बूढाबूढी शरीर । निहुँ खोज्छ नि ।’

‘हुन्छ आमा, म मिलाएर आउनेछु ।’

म भोलिपल्टै दमकबाट धनकुटा हुँदै खाँदबारी घर पुगेँ । लामो यात्रा तय गरेर म साँझमा घर पुग्दा बा परलोक भइसकेका थिए । उनी मेरा हजुरबा भएपनि सानैदेखि ‘बा’ भन्ने बानी लागेकोले गर्दा बा भन्ने गरेका हौँ । हाम्रा प्रिय बा आँखामा लगाउँदा नबिझाउने बा थिए ।

उनान्सय वर्षका बा परलोक भए । उनी गाउँकै बा थिए । सबैले ‘बा’ भनेर बोलाउँथे । मेरा पनि बा । बाका पनि बा । आमाका पनि बा । काइँला बाका पनि बा । आमैका पनि बा । कुमारे सार्कीका पनि बा । नैना तामाङका पनि बा । भगीरथे सुब्बाका पनि बा । विकास लामाका पनि बा । अभिषेक राईका पनि बा । गोपाल गुरुङका पनि बा । रत्ने मगरका पनि बा । मङ्गलसिँह सुनारका पनि बा । नारायण चँदाराका पनि बा । श्याम विकका पनि बा । खुविलाल राजवंशीका पनि बा । ऋतेश झाका पनि बा । ज्ञानु श्रेष्ठका पनि बा ।

उनी बा थिए र ती गए ।
०००

टाढाको धानखेती भएको हुनाले सानैदेखि बा गोठमै बस्थे हजुरबासँग । सात वर्षको उमेरमा गोठ बस्न थालेका थिए बा । घरमा भन्दा गोठमा उनको बास बढी हुन्थ्यो । गोठमा सानो याक्सा थियो । त्यसैमा उनले जीवनका महङ्खवपूर्ण दिनहरु गुज्रिए ।

आठ वर्षको उमेरमा उनको बिहे भएको थियो । तर उनको संवाद हजुरआमासँग भन्दा खेतका गराहरुसँग हुन्थ्यो । रुखका घाँसे हाँगाहरुसँग हुन्थ्यो । पर्तिर जङ्गलबाट आएका बाँदरहरुसँग हुन्थ्यो । गोरुका जुवा र हलोका फालीसँग हुन्थ्यो । जोतारासँग हुन्थ्यो । खेतका गरा भत्केर सधैँ पर्खाल लाइरहनु पर्ने ढुङ्गाका पर्खालसँग हुन्थ्यो । धानका गाछी र खेतका आलीसँग हुन्थ्यो । उनी खेतका प्रत्येक गरामा दिनको एक पटक घुम्थे । खेताला खोज्न र तिनलाई काम लगाउन उनी हरपल लागिरहन्थे ।

‘ए बा, यो निर्जन ठाउँमा एक्लै बस्नु ठिक हुँदैन । हामी यसपालिको तिजमा गोठमा नजाने । घरमै बसेर रमाइलो गर्ने ।’

मैले बालाई यसरी मुखै फोरेर गोठ छोडेर घरमा बस्न अनुरोध गरेकी थिएँ ।

तर बा गोठमै बस्थे । हजुरआमाले पठाइदिएको घिउ र बस्तुको मलको खाडीमा उम्रेको रायोको कलकलाउँदो साग मिलाएर एक्लै खान्थे । याक्सा खेतको सिरानमा थियो । खोलापारि र पल्लो डाँडामा मात्र मान्छेका घर थिए । ती लिम्बूका घरका कुखुरा बासेपछि बा उठ्थे खेतका गरामा पानी पटाउन । निर्जन लाग्थ्यो त्यो ठाउँ । कहिलेकाहीँ त बिहानदेखि बेलुकासम्म एकजना पनि मान्छेको अनुहार देख्न पाइँदैनथ्यो, र एक जना मान्छे पनि नदेखी दिन ढल्थ्यो बाको । पारि खयरबोटेमा बेलाबेला मान्छे हिँडेको देखिन्थ्यो ।

‘बा, कहिलेकहीं धनकुटा बजार हेर्न जाऔँ न,’ म बालाई बिन्ती गर्थें ।

‘गइरहन्थेँ नि म त । नेपाल पनि गइरहन्थेँ । राजा भेट्न । राजा भनेको मियो हो । यिनकै पुर्खाहरुले नै लडेर जितेर यो देश बनाएको हो । अब त कसलाई भेट्न जानु र ? यी फ्याउरा नेता त सप् सुकुल गुण्डा हुन् ।’

हजुरबाको राजा प्रेम देखेर अचम्म लाग्थ्यो । हाम्रा काकाबाबुहरु क्रान्तिकारी हौँ, गणतन्त्र ल्याउनु पर्छ भन्थे ।

कुरो मैले बुझ्ने गरिको भए पो !

तर हजुरबाको खेती र काममा समर्पण थियो । निष्ठा थियो । लगाव थियो ।

अनि बा घिउ र कोलाका पारखी थिए । औधी मिठो लाग्ने । अनि तिनै घिउ र कोलासँग भात खान्थे ।

हजुरआमा घरबाट बालाई घिउ, चामल, सब्जी, केरा र अन्य खानेकुरा पठाइदिन्थिन् । बालाई खान्दानीभित्र मिठा खानेकुरा हालेर लग्न बुहारीहरुलाई अÃाउँथिन् ।

‘ल, यो बालाई पुर्‍याइदेऊ ।’

यति भनेर दिँदा हजुर आमाको अनुहारमा चमकता हुन्थ्यो ।

उनी हर्ष र उत्तेजनाले भावविह्वल हुन्थिन् । मैले नै धेरै पटक हजुरआमालाई एक्लै मुस्कुराउ“दै गरेको देखेकी थिएँ । राम्ररी खारेको घिउ जामेर चिनी आकारका डल्लैडल्ला परेपछि त्यो बाको लागि भनेर छुट्याउँथिन् । हामी बासँगै गोठमा गएका बेला मात्र त्यो घिउ चाख्ने मौका पाउथ्यौँ ।

बाका छोराहरुले पनि त्यो खान पाउँदैन थिए ।

एकदिन हामीले बालाई तल खोल्सापारि आउँदै गरेको देख्यौँ र हजुरआमालाई आएर सुनायौँ ।

‘हो र मोरी ?’ हजुरआमा उद्वेलित भएर मुस्कुराइन् ।

हठात् उनको मन तरङ्गित भयो । उनका सुषुप्त अवयवहरु एकैचोटि जुरुक्क उठे । एकैपटक उनका रौँ ठडिएर आए । उनी मैतालु दुलही जस्तै सपना सजाएर भावपूर्ण भइन् ।

‘हो, हजुरआमा । मैले देखेको । तर बा अलिक बिरामी छन् जस्तो लाग्यो । बतासे ढुङ्गामा एक घण्टा जति बसेर धेरै गाह्रो गरी उठे । सन्च छैन जस्तो लाग्यो ।’
मैले त्यति मात्र के भनेकी थिएँ, हजुरआमा तातो जाउलो बनाउन थालिन् । पानी तातो भयो । लोटामा भरी सफा तातो पानी तयार भयो । भैँसीको एक बटुको दूध तयार भयो । बाको लागि न्यानो ओछ्यान तयार भयो । त्यो ओछ्यानमा पन्ध्र दिनदेखि हजुरआमा बाको छा“या र सम्झना सँगालेर पल्टेकी थिइन् । बाको सम्झनाको बिम्बलाई सिरानी लगाएर सुतेको आधा जीवन बितिसकेको थियो । बाको गोडालाई अङ्कमाल गरेर रात नबिताएको कयौँ रात भैसकेको थियो ।

बाको आमाप्रतिको प्रेम पवित्र थियो । रोमियोको जुलियटसँगको प्रेम जस्तै तुलना गर्नेहरु पनि थुप्रै थिए । बाले कसैलाई पनि ठूलो स्वरले आमासँग बोल्न दिएनन् ।
त्यस बेलुका बाले छोराहरुलाई वरिपरि राखेर निर्देशन दिए ।

‘भोलि सबैजना बेँसी झर्नु । धान काट्न थाल्नु पर्छ ।’

बा भोलिपल्टै खेतीमा फर्किए । यो उनको नित्य कर्म थियो । उनी हिँडेको गोहो हेरेर हजुरआमा बाँकी दिनहरु बिताउँथिन् । गोहो सुम्सुम्याएर बाँकी समय गुज्रिन्थ्यो । यस्तै दिनहरुमा रङ्गीन बनेर हजुरआमाको कोखबाट चार छोरा र दुई छोरी जन्मिए ।

बा निकै दिनपछि मात्र घरमा आउँथे । बा घरमा आउने खबरले सनसनी मच्चिन्थ्यो घरमा । छिमेकीहरु पनि कान ठाडा पारेर ठुलो उत्कण्ठा लिएर उभिन्थे, घरका आँगनमा । घरको आँगन पराई जस्तो हुन्थ्यो उनलाई । सिकुवामा हजुरआमाले लगाएको सुकुल बेलुका सरक्क उठ्थ्यो । हजुरआमा हरेक बेलुका बाका लुगा दराजबाट झिकेर ओल्टाई पल्टाई गर्थिन् । अनि फेरि पट्याएर राख्थिन् । बा पनि आँट्ने गरी ठूलो ओछ्यान लगाई सुत्थिन् ।

‘अँ, भन त नानी, बा के भन्नुहुन्थ्यो?’ आमाको यो प्रश्नले मेरो गलो अवरुद्ध हुन्थ्यो ।

‘आमा सन्चै छे?’ भनेर सोधे बाले भनिदिन्थेँ । हजुरआमा खिसिक्क मुस्कुराउँथिन् ।

बा कहिल्यै पनि अर्काको मुद्धा र मामिलामा सरिक भएनन् । कसैलाई यसो गर, उसो गर भनेर उकास्ने काम गरेनन् । कसैलाई अदालत धाउने दुर्भाग्य नआओस् भन्थे । उनी कहिल्यै अस्पताल गएनन् । कसैसँग झगडा गरेनन् । मान्छेका बिहे हुँदा सबैका जन्ती पनि गएनन् । सानैमा बिहे भएकाले अठार वर्षमात्र कान्छो उनको जेठो छोरो, अर्थात् मेरा बुबाले घरको सबै व्यवहार र घर सञ्चालनको चाँजोपाँजो मिलाउँथे । समाजको सबै जिम्मेवारी मेरा बुबाले पूरा गर्थे । मेरा बुबा पनि गाउँका हुलाकका कर्मचारी भएकाले सबैले औधी विश्वास गर्थे । यसरी बा यी सबै कामबाट मुक्त थिए ।

चुनाव आउँथ्यो ।

‘फलानो पार्टीलाई भोट दिनू’ भनेपछि बाले त्यही पार्टीमा भोट दिन्थे । उनले कुनै नेताको नाम जान्नु परेन । पार्टीको नाम जान्नु परेन । गिरिजाप्रसादको नाम सुनेका थिए । बिपीको नाम पनि थाहा थियो उनलाई । तर उनलाई यिनमा कुनै चासो थिएन ।

बा सधैँ गोरुका थलामा गोरुसँग उन्मादित हुन्थे । उनको विभवता हलोसँग हुन्थ्यो । खेतका आली र भित्तासँग हुन्थ्यो । चिउरीका रुखसँग हुन्थ्यो । चिलाउनेका रुखलाई काटेर हलो बनाउने बसिलासँग हुन्थ्यो । डोका र डोरीसँग हुन्थ्यो । लामिडाँडाको चौतारीसँग हुन्थ्यो । धानको ढुकुटीसँग हुन्थ्यो । कोदालोको बिँडसँग हुन्थ्यो । भैँसीको थलासँग हुन्थ्यो । आफ्नी श्रीमती र परिवारसँग साक्षात्कार हुन हप्तौँ कुर्नु पर्थ्यो । कि त हजुरआमाले पठाइदिएको चामल सकिनु पर्थ्यो ।
पछि हजुरआमा बितेपछि बा ओइलाएको साग भए । बेँसीमा बस्न भने छोडेनन् । अब घर आउन पनि छाडे । हजुर आमा हुँदा पो तान्दो रहेछ छायाले ! अब बालाई तान्ने कुनै डोरी थिएन, केही थिएन ।

०००

आज मलामीको दृस्य देखेर म भावविह्वल भएँ । उनी बा थिए, सबैका बा । मलामीको ताँती देख्दा दुनियाँ यहीँ आएछ भन्ने लाग्यो । उनले शताब्दी लगाएर बनाएका आफन्तहरुको त्यो खचाखच भीडले पैदा गरेको तरङ्ग बाटाभरि फैलिएको थियो । हामी पीडाको आहालमा चुर्लुम्म डुबेका थियौँ । आँसुको भेलमा बगिरहेका थियौँ । सबैका नयनहरु रसाइरहेका थिए । यो माहोलमा को को मलामीमा सरिक थिए, को थिएनन् भनेर हिसाबकिताब गर्ने अवस्था पनि थिएन । त्यहाँ सबै मान्छे थिए । विभिन्न दलहरु र राजनैतिक विचारधारा राख्नेहरुको भेला थिए । कांग्रेस थिए । एमाले थिए । माओवादी थिए । अन्य कम्युनिस्टहरु थिए । राजावादी थिए । धर्म सापेक्षतावादीहरु थिए । निरपेक्षतावादीहरु थिए । आतङ्ककारी भनिएकाहरु पनि थिए । युवा थिए । महिला जो विगतमा मलामी जान पाउँदैन थिए, ती पनि थिए ।

बालाई घाटमा पुर्‍याएपछि चिता बनाएर चढाउने बेला भयो । सबै शोकमा थिए । टुहुरो भएझैँ थिए । उनको पवित्र विगतलाई मनभरि रङ्गीन बनाउँदैथिए ।
उसैबेला कम्युनिस्ट पार्टीका गाउँ सचिव भाषण गर्न थाले ।

‘आदरणीय जनसमुदाय, आज हामी यो दुःखद घडीमा निशब्द भएका छौँ । हाम्रो गला अवरुद्ध भएको छ । हाम्रा स्व. क. विष्णुप्रसाद घिमिरेले आज एक शताब्दी लामो जीवनलीला सदाका लागि अन्त्य गर्नुभएको छ । उहाँ चार छोरा र दुई छोरी लगायत बयालिस सन्तानका धनी हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका पनि बा हुनुहुन्थ्यो । अभिभावक हुनुहुन्थ्यो । हामी हाम्रा यी अभिभावक गुमाउँदा टुहुरो भएका छौँ । आज पार्टी पनि टुहुरो भएको छ । झण्डा रोएको छ । माटो शोकाकुल भएको छ । धरती रङ्गबिहीन भएको छ । फूलका गाछीहरु फुस्रा भएका छन् । उहाँले भर्खरै मात्र सफल भएको २०६२/२०६३ को जनआन्दोलनमा हाम्रो पार्टीलाई मार्ग निर्देश गर्नु भएको थियो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता जस्ता उपलव्धिहरु उहाँहरुको सहयोग र आशीर्वादले प्राप्त भएका थिए । अढाइसय वर्षको सामन्ती व्यावस्था फाल्न उहाँको पनि योगदान थियो । उहाँ हाम्रो छहारी हुनुहुन्थ्यो । तर आज उहाँ हामीलाई छोडेर जानुभएको छ । यो हाम्रो दलको अपुरणीय क्षति हो, यसप्रति दुःख प्रकट गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति सहानुभूति प्रकट गर्दै हाम्रो पार्टी उहा“लाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दछ । उहाँको आत्माको चिर शान्तिको लागि सबैजना एक मिनेट मौन धारणा गर्नेछौँ ।

सुरु………….धन्यवाद ।’

सबैजनाले उभिएर एक मिनेट मौन धारण गरी बालाई अन्तिम श्रद्धाञ्जली दिए ।

हामी धेरैबेर रोइरह्यौँ ।

बालाई यसरी श्रद्धाञ्जली दिएको देखेपछि धेरै मान्छेका मुखमा प्रश्नहरु उठे । खासखुस चलिरहेको थियो ।

‘यिनले यो पार्टीको आमसभा सम्झे कि क्या हो ? यी बा कहिले कम्युनिस्ट भए ? छोरो त्यो पार्टीमा छ भन्दैमा मौकाको फाइदा लिने पार्टीको प्रचारप्रचार गरेर ? यहाँ आँसु झरेको कलशमा ढलको पानी मिसाउने ? यिनले कार्यक्रम गर्नै परे यस्तो संवेदनशील ठाँउमा होइन, घरैमा गरेका भए अर्कै कुरा हुन्थ्यो । मरेका मान्छेलाई अनेकथरी बिल्ला लगाई दिने ? बाले कसैलाई भोट दिनु पर्दा त कहाँ र कसरी दिनु भनेर सोध्नुहुन्थ्यो । उहाँ कसरी यो पार्टीको अभिभावक बन्नु भयो ? मानवीय सम्वेदना अब राजनैतिक कुरुपतामा स्खलित भएकै हो ? जलिरहेको पवित्र शुद्ध घिउको दियोमा ढलपानी हाल्ने ?’

धेरै मानिसको आम प्रतिक्रिया थिए यी ।

सबैले मट्टी दिए, अन्तिम श्रद्धाञ्जली दिए ।

यतिकैमा लास जल्न थाल्यो । बा आगोमा रङ्गीन हुन थाले ।

हजुरआमा बित्दा बाले घाटमा कसैलाई पनि शव छुन र घोच्न दिएका थिएनन् ।

महिलाहरुलाई घाटमा जान अनुमति थिएन उसबेला ।

‘जानुकी, तँ चाहिँ मेरो मलामी जानू है,’ बाले एक दिन भावुक भएर भनेका थिए ।

‘बा, यस्तो नबोल्नु न । तपाईं कहिल्यै पनि मर्नुहुन्न ।’

बाले हजुरआमाको लास जल्दा आफ्नै भतिजालाई भनेका थिए, ‘नघोच्नू है केटा लासलाई, दाउरा र मुढा मात्रै थप्नू ।’

बालाई लाग्यो सायद, हजुरआमालाई दुख्छ ।

उनले जीवनभर हजुरआमालाई दुखेको देखेनन् । मन भित्रभित्रै सुकेको देखेनन् । मन भुक्क फुलेर कयौँ रात लाटोकोसेरोझैँ छटपटिएको मन देखेनन् । उसबेला शवलाई दुखेको दखे ।

तर आज बाको लाशलाई ‘नघोच्नू है’ भनिदिने कोही थिएन । गाउँका मान्छे घर फिर्ने हतारोमा चारतिरबाट भाटाले लगातार घोचिरहका थिए बाको जलिरहेको लाशलाई ।

म उनको अन्तिम पार्थिव चोला हेरेर फर्किंदै थिएँ गहभरि आँसु पारेर । अब बा मेरो नोस्टाल्जियामा मात्र अमर रहने भए । मेरो बासँगको सामीप्यता आगोमा जलेर खाक बन्दै थियो । धुवाँमा उडेर प्रकृतिमा विलय हुँदै थियो । पानीमा बगेर पवित्र बन्दै थियो । लाग्यो, यो पानीको दियो बल्दै थियो । त्यो बाको थियो । त्यो बाको विरासत थियो । त्यो सबै इतिहास भयो आज ।

मलामीलाई खाजा बाँड्ने ठाउँमा आइपुग्दा ती झण्डा ओढाउनेहरु बिस्कुट चुर्मुर्‍याउँदै थिए ।

‘जानुका, कहिले आइस् ?’ कसैले प्रश्न गर्‍यो मलाई ।तर म कसैसँग बोल्ने मुडमा थिइनँ ।

‘आजै आएकी ।’

‘के छ त बिराटनगरको खबर ? संविधानसभाको चुनावमा कसले जित्छ भन्छन् ?’

‘यी सब फाल्तु कुरामा मेरो चासो छैन, काका ।’

‘तिमीहरु पढेलेखेका मान्छेहरुले यसो भनेर हुन्छ ? अग्रगामी परिवर्तनका संवाहकलाई भोट दिनु पर्छ भनेनौ ?’

‘यो नाराले बाँचेको देश हो । तपाईंहरु त झन् नारामै बाँच्नुहुन्छ, नारामै खानुहुन्छ, नारामै सुत्नुहुन्छ । तपार्इंहरुकै समय हो यो । अहिले यो राजनीति गफ गर्ने समय, स्थान र सन्दर्भ पनि होइन । बन्द गर्नुस् ढलपानीको दियो बाल्न । अति भो है, काका ।’

म क्रमशः अघि बढिरहेँ ।

बाको अन्तिम श्रद्धाञ्जली गरेँ । मनले बिदा गरेँ । उनको शरीर जल्दै थियो ।

एउटा इतिहासको पातो बन्द हुँदै थियो ।

दमक, झापा