१. देशको कथा

(विक्रम पवन परियार)

जजसाब,
म त्यही पीडित कवि हुँ,
पढ्न गएको एउटा बालक—
त्यो मेरो भाइ थियो !

पाठशालाबाट ऊ
शिर नभएको शरीर लिएर आयो !
झोला बाको हातमा थमाइदियो र ढल्यो !
भाइको हत्यारा खोज्न हिँडेका मेरा बा
केही दिनदेखि बेपत्ता छन् !

जजसाब,
म यस्तो देशमा कविता लेख्दै छु,
जहाँ हत्याराहरू
हातमा तरबार बोकेर
न्यायालयको पेटीमा हिँड्छन् !

भन्नोस् त—
दोषी को हो ?

 

२. कोभिड—१९

(सुको साइबर)

हात उठाऊ
र तुरुन्तै
आफ्नो घर जाऊ !

तिमी
पटक पटक साबुनपानीले
हात धुँदै गरेका
मान्छेहरूको घेराभित्र छौ,

कृपया
भनेको मान !

अन्यथा,
यो संसारमा
तिम्रो घर रहने छैन !

 

३. उस्तै उस्तै

(पेशल आचार्य)

तिमी
सन्तान र बाँसका तामालाई
उस्तै उस्तै ठान !

जति बढछ्न्,
जति पढ्छन्,
आफूबाट परपर हुँदै जान्छन् ।

४. डेथ जोन

(बिकेश कविन)

ऊ आफ्नो जीवनको
डेथ जोनमा उभिएको छ !

तर ऊ भयमुक्त छ,

उसको मुस्कानमा
जीवनमा फूलहरू फुलिरहेछन्
उसका आँखाहरूमा
आशाका दीपहरू बलिरहेछन्,

ऊ मृत्युहीन मृत्यु बाँचिरहेछ !

उसलाई देखेर
मृत्यु पनि आत्महत्या गर्ने सोचमा छ !

५. बाढी

(शेखर विकल्प)

बाटो बगायो
खेत बगायो
बगायो घरगोठ पनि,

तर केही बगेजस्तो लागेन ।

सबथोक बगाएर पनि बाढीले
बगाउन सकेन—
बाको अस्कोटको
खल्तीमा रहेको
रिनको कपाली तमसुक !