जन्म-चिन्ह
१
बारूको गन्ध आउने खाली टोटाहरू, च्यांग्राको हाड, रणक्षेत्रको नक्शा , लडाइँको विवरण, घोडाको पसीना गन्हाउने करेली सहितको लगाम र पाउरोटीको एउटा ठूलो टुक्रा। यी सबै कुराहरू टेबुलमाथि पडिरहेका थिए। अनि अश्वारोही सैन्यदलको कम्याण्डर निकोलाइ कोशेभोइ चाहिँ ओसिलो भित्ताले गर्दा चिप्लो लेऊ लागेको एउटा भद्दा बेँचमा बसिरहेको थियो- झ्यालको पेटीको डीलमा बेसरी पिठ्युँ अड्याएर। जाडोले कठ्यांग्रिएका औंलाहरूको बीचमा उसले एउटा शिशाकलम च्यापिराखेको थियो। केही पुराना पोष्टरहरू बिछ्याइएको टेबुलमा आधा जति भरिएको एउटा फाराम पनि थियो। त्यस मोटो कागजको पानाले यत्ति मात्नै बताइरहेको थियो – “निकोलाइ कोशेभोइ। अश्वारोही सैन्यदलको कम्याण्डर । खेतीवाल । तरूण कम्युनिष्ट ।”
“उमेर” भनेर छापिएको ठाउँनेरै चाहि शिशाकलमद्वारा हलुका तवरले लेखिएको थियो- “१८ वर्षे” ।
निकोलाइ फराकिलो छाती भएको हठ्ठाकट्ठा थियो र आफ्नो वास्तविक उमेरभन्दा ज्यादै पाको देखिन्थ्यो । आँखाको कुनानेर चाउरिएको छाला र बूढोको जस्तै अलि कुप्रिएको पिठ्यँले गर्दा उ अधबैँसे जस्तो भान पर्दथ्यो।
सैन्यदलमा ठट्टा गर्दै भन्ने गर्दथे- “फुच्चे केटो। ओठ निचोर्दा दूध चुहिएला जस्तो छ। तर तत्काल उनीहरू थपिहाल्ने गर्दथे- “जे होस्, एक जनालाई पनि नगुमाएर गण्डाहरूको दुई जमातलाई सखाप पार्न सक्ने र जुनसुक अनुभवी कम्याण्डरभन्दा कत्ति पनि पछि नपरेर छ-सात महीनासम्म सैन्यदललाई लडाइँमा डोच्याउन सक्ने अर्को मान्छे कतै भेट्टाउन त गाह्रै छ बा !”
निकोलाइ आफू अठाँर वर्षको मात भएकोमा संकोच मान्दथ्यो। जहिले पनि “उमेर ” भन्ने घुणास्पद शब्द अंकित ठाउँनेर पुग्दा उसको शिशाकलम बिस्तार घिस्रेर रोकिन्थ्यो र निकोलाइको गाला रोषले रन्किएर रातो हुन्थ्यो । निकोलाइका बाब काजाक जातिका थिए र बाबुको तर्फबाट त उ पनि काजाक नै थियो । आफू पाँच-छ वर्षको हुँदाखेरि बाबुले उसलाई आफ्नै रिसल्ला घोडामा चढाउने गरेको पनि सपना पो हो कि भने झैं गरी उसलाई सम्झना भइरहने गर्दछ ।
“यालमा बेसरी समातेर बस् है, छोरा ! ”- बाबुले कराएर भन्ने गर्दथे। आमा चाहिँ भने भान्छाको ढोकैबाट मुस्कुराइदिन्थिन् र कालोनीलो अनुहार पार्दै विस्फारित आँखाले एक टकसित घोडाको चुच्चे ढाडमा तुर्लुँग झुण्डिरहेका निकोलाइका झीना खुट्टाहरूतिर र लगाम समातिराख्ने उसका बाबुतिर हेरिरहेकी हुन्थिन् ।
यो धेरै पहिलेको कुरा हो । निकालाइका बाबु जर्मनहरूविरूद्ध लडाइँको बेला लापता भए। मानौं बाढीले बगाएर लगेको होस् उनलाई ! त्यसै बेलादेखि उनको अत्तोपत्तो नै भएन। निकोलाइकी आमा पनि खसिन् । आफ्नो बाबुबाट निकोलाइले घोडा चढ्ने सौख, अतुलनीय साहस र परेवाको फूल जत्रै ठूलो जन्म-चिन्ह मात्र उत्तराधिकारको रूपमा पायो। त्यो जन्म-चिन्ह पनि उसको बाबुकै जस्तो देब्रे गोडामा गोलीगाँठोदेखि केही मात्र माथि रहेको थियो । पन्ध्र वर्षको उमेरसम्म यताउति गएर’ ज्यालामा काम खोज्दै भौंतारियो उ। त्यसपछि आफ्नै गाउँको बाटो गरी अगाडि लम्किरहेको लाल सेनामा उसले आफ्नो नाउँ दर्ता गरायो र एउटा लामो ओभरकोट लगाएर भ्रान्गेलको ( भ्रान्गेल – ह्वाइटगार्ड ( श्वेत प्रहरी) का जनेंल। तेस्रो दशकतिर रूसको दक्षिणमा प्रतिक्रान्तिकारी विद्रोहमा भाग लिने एक जना नेता। अनु ) विरुद्ध लडन भनी रवाना भयो। गएको साल ग्रीष्मऋतुमा निकोलाइ एक जना सैनिक कमिसारको साथमा दोन नदीमा डुबुल्की लगाउँदै थियो। सैनिक कमिसारले निकोलाइको कुप्रिएको र घामले डढेर कालै भएको पिठ्युँमा धाप मार्दै आफ्नो भित्री चोट लागेर जखमी भएको टाउको झट्कार्दै र भकभकाउँदै भन्यो-
“तिमी त… भाग्य… भाग्यमानी छौ! हो, हो! भाग्यमानी ! जन्म-चिन्ह भएको मान्छे भा… ग्यमानी हुन्छ भन्छन्! ”
निकोलाइले ङिच्च हासेर ओफ्नो टल्किने दाँत देखायो, नदीमा डुबुल्की लगायो र पानीबाट बाहिर उभिँदै कराएर भन्यो-
“बकबास हो यो सब, साथी ! सानै उमेरदेखि नै म टुहुरो बनेको छु र जीवनभरि पसीना काढेर काम गर्दा गर्दा कुप्रो समेत भैसकेको छु। यो पनि कुनै भाग्य हो र…! ”
अनि उ दोन नदीलाई अँगालोमा अठ्याइरहेको जस्तो लाग्ने बालुवाको पहेंलो बगरतर्फ पौडिँदै गयो ।
२
कटेरो, जसमा निकोलाइ डेरा गरेर बसेको थियो, दोन नदीको किनारैमा एउटा ढिस्कोमाथि खडा थियो। त्यसको झ्यालबाट नदी पारिको हरियाली र पानीको पालिशदार टलक देख्न सकिन्थ्यो । आँधीबेरी चलेको रातमा त ढिस्कोको पीधसम्म नै छाल उर्लेर छचल्किन्थ्यो , झ्याल र ढोकाका खापाहरू समेत खटखट गर्दै थकिन्थे र निकोलाइलाई के भान पर्ने जान्थ्यो भने मानौं भुईँका छिद्रहरूबाट पानी छिरेर माथि भरिँदै आइरहेको छ र कटेरोलाई जगै समेत हल्लाइरहेको छ।
निकोलाइ कुनै अर्को कटेरो खोज्न चाहन्थ्यो, तर उसले डेरा सार्न पाएन र शरदसम्म नै त्यसै कटेरोमा बस्नु पर्ने भयो । अब त शरद पनि लागिसकेको थियो । एक दिन बिहानको जाडोमा निकोलाइ कटेरोबाट बाहिर निस्कियो , सुन्तली ठोकिएको बूटको टकटक आवाजले शान्ति भंग गर्दै उ मूलढोकाबाट निस्केर तल चेरीको बगैंचातर्फ ओलिंयो र सुकेर खैरो भैसकेको र शीत परेर भिजिरहेको घाँसमा पल्टियो । घरपट्टिनीले गोठमा दुहुनु गाईलाई चूप लागेर उभिनको निम्ति फकाइ-फुलाइ गरिरहेको पनि उ सुन्दै थियो। बाछो चाहिँ आमाका थून चुस्ने आफ्नो हकको माग गर्दै बाँ-बाँ गरेर कराइरहेको थियो। अनि दूधको धारा चाहिँ झ्वारझ्वार गर्दै गबुवाको भित्तामा ठक्कर खाइरहेको पनि सुनिँदै थियो ।
यत्तिकैमा आगनको तगारो खत्य्राक्क खोलिएको आवाज आयो र कुक्कुर पनि भुक्यो।
“कम्याण्डर घरैमा हुनु हुन्छ के ? ”- पल्टनको हवल्दारको स्वर सुनियो ।
कुहिनोले टेकेर भुईँबाट टाउको उठाउँदै निकोलाइले जवाफ फर्कायोफल
“यहीं छु म ! केको खोजखबर हो यति बिहानै ? ”
“गाउँबाट सन्देशवाहक आइपुगेको छ। सालस्क जिल्लाबाट लुटेराहरूको जत्था आएको छ रे ! ग्रुशिनो राजकीय कृषिशालामा समेत त्यसले कब्जा जमाइसके छ…।”
“बोला त्यसलाई यहाँ ! ”
सन्देशवाहकले घोडालाई तबेलातर्फ डोर्याउँदै लग्ने कोशिश गर्यो । घोडा तातो पसीनाले निथुक्कै भिजेको थियो। आगनको बीचैमा त्यो अगिल्लो गोडा खुम्च्याएर बुंग ढल्यो, अनि कोल्टे फर्कियो र सित्रीले – बाँधिराखेको र रीसले त्रुर हुँदै बम्केर भुकिरहेको कुक्कुरतर्फ काँच जस्तै टल्किने आँखाले ताकेर उसले अन्तिम सास पनि फेर्यो।
त्यो घोडा किन मरेको थियो भने सन्देशवाहकले ल्याएको चिट्ठीको खाममा क्रसको तीनवटा चिन्ह लगाइएको थियो र त्यो चिट्ठी बोकेर सन्देशवाहक बीच बाटोमा कतैतिर पनि नअडिईकन सरासर घोडालाई बेतोडसित दौडाउँदै चालीस भेर्स्ता (भेर्स्ता – पुरानो रूसी नाप जुन ३५०० फिटको बराबर हुन्थ्यो । – अनु०) पार गरेर त्यहाँ आइपुगेको थियो ।
ग्राम सोभियतका अध्यक्षले सैनिक टुकडी पठाएर मद्दत गर्ने अनुरोध गरेर लेखेको त्यो चिट्ठी खोलेर निकोलाइले पढ्यो । अनि बैठक कोठामा पसेर तरवार भिर्दै उसले सोच्यो –
“फेरि लुटेराहरूको अर्को जत्था…। म भने कतैतिर पढ्न जाने विचार गर्दै छु… । सैनिक कमिसार पनि मलाई लाज मर्नु पार्दै भन्ने गर्छन् -‘कालो अक्षर भैंसी बराबर छ, अश्वारोही., सैन्यदलको कम्याण्डर रे! ..’ लेखपढ गर्ने नजानेकोमा मेरो दोष नै पोके छ र? बेलामौकामा पादरीको पाठशाला समेत पूरा गर्ने सकिएन । साँच्ची त, सैनिक कमिसार पनि अनौठा मान्छे छन्… । यहाँ फेरि लुटेराहरूको अर्को जत्था आइपुग्यो …। फेरि रगत बग्ने भो…। मलाई भने यसरी जिउनु नै असह्य भैसक्यो…। वाक्कै लागिसक्यो अब त सारा कुरा…।’
निकोलाइ बन्दुकमा गोली भर्दै मूलढोकाबाट बाहिर निस्कियो, तर चल्तीको बाटोमा घोडाले पैयाँ छोड्दै दौडे जस्तै गरी उसको मगजमा विचारहरू तँछाड-मछाड गर्दै थिए। उ सोच्दै थियो- शहरसम्म पुग्न पाइए त… म अवश्य नै पढ्नमा लागिहाल्थेँ…।’
मरेर पल्टिरहेको घोडाको बगलबाटै उ सरासर तबेलातर्फ लम्कियो । घोडाको फोहोरी नाकको पोराँबाट निस्केर बगेको रगतको कालो धरो हेर्दै उ फनक्क फकियो ।
३
उबडखाबड कच्ची गोरेटो र पांग्राको डोब परेको ठाउँमा हावाले बढारेर धूलो साफ पारेको चक्रेटोको हाराहारीमा केही झाडीहरू झ्यांगिइरहेका थिए। जताततै बेथे र तीतेपाती झारहरू हलक्क बढेर उम्रिरहेका थिए। यसै चक्रेटोबाट नै कुनै बेला खलाहरूसम्म सुकेको घाँस गाडामा हालेर ओसारिने गरिन्थ्यो । पटमैदानमा रहेका ती खलाहरू पनि यान्तारमणिमा जमिरहेका टाटेपांग्रे बुट्टा जस्तै प्रतीत हुन्थे। अनि मूलबाटोमा चाहिँ ठाउँ ठाउँमा अग्ला ढिस्कुराहरू थिए जुन ठाउँमा टेलिग्राफका खम्बाहरू ठड्याइएका थिए। खोंच र खोल्साहरू पार गर्दै टेलिग्राफका खम्बाहरू क्षितिजसम्मै सेतो शरदीय छ तुँवालोमा बिलाएर गएका देखिन्थे। यिनै खम्बाहरूको हारा-हारीमा टलकदार सडकबाट नै आतामानले (आतामान – नाइके । अनु०) आफ्नो जत्थालाई डोर्याउँदै लगिरहेको थियो। त्यस जत्थामा दोन र कुबान क्षेत्रका ५० जवान जति काजाकहरू थिए जो सोभियत सत्तासित असन्तुष्ट थिए। भेडाहरूको घेरामा परेको ब्वाँसो तीन दिनसम्म उनीहरू स्तपीमैदानमा बाटो कुबाटो केही नभनेर जसरी भए पनि भाग्दै थिए र निकोलाइ कोशेभोइको सैन्यदलले चाहिँ उनीहरूको पीछा गरिरहेको थियो ।
जत्थामा बाह्व ठक्कर तेह्व घुस्सा खाइसकेका मान्छेहरू नै थिए। धेरैजसोले त पुरानो फौजमा काम समेत गरेका थिए र अनुभव पनि पाएका थिए। तैपनि उनीहरूको आतामान ज्यादै चिन्तित थियो। उ रकाबमा गोडाले टेकेर माथि उठ्ने गर्थ्यो, आँखा केही चिम्स्याएर स्तपीमैदानतिर चियाउने गर्थ्यो र निकै टाढा दोन नदीको पारिपट्टि फैलिएको वनजंगलको हरियो किनारासम्म पुग्न अब कति कोस दूरी बाँकी होला भन्ने गिन्ती गर्ने गर्थ्यो ।
यसरी उनीहरू ब्वाँसो झैं नै भागिरहेका थिए र निकोलाइ कोशेभोइको सैन्यदल पनि उनीहरूलाई, लखेट्दै अगाडि बढिरहेको थियो।
ग्रीष्मका खुला दिनहरूमा निर्मल र पारदर्शी नीलो आकाशमुनि दोन क्षेत्रको स्तपीमैदानमा गहूँका सुनौला बालाहरू बयली खेल्छन् र शुद्ध चाँदीको झन्कार निकाल्दै लहराउँछन् । बालीनाली काट्नुभन्दा पहिले यस्तै हुन्छ जुन बेला ठूल्ठूला गेडा लाग्ने गार्नोभ्का भनिने गहूँको झूस सत्रवर्षे केटोको जुंगा जस्तै निक्खर कालो हुन्छ र मकैका बोटहरू चाहिँ मान्छेलाई उछिन्न खोज्दै माथितिर अग्लिंदै गइरहेका हुन्छन् ।
दाह्वीवाल काजाकहरू नदी किनाराको समथल सोतो र बालुवादार भिरालो पाखोको डिलमा चाहिं जौं रोप्ने गर्दैछन् । त्यहाँ जौंको बाली त उतिसारो सप्रने होइन। एक रोपनी जग्गामा हद भए ३० पाथी जति जौं उब्जाउन सकिएला त्यहाँ । तैपनि जौंको खेती चाहिँ गरिन्छ, किनभने त्यसबाट रक्सी बनाइन्छ जुन कन्याकेटीको आाँसुभन्दा पनि निर्मल हुन्छ। यो त एक किसिमले युगौं पुरानो चलन नै हो, किनभने बाजेबराजुहरू पनि रक्सी पिउने गर्थे। फेरि दोन काजाक फौजको ( दोन काजाक फौजको जिल्ला – काजाक फौजको मातहतमा रहेको क्षेत्र, क्रान्तिपूर्वंको रूसमा एउटा प्रशासकीय इलाका ।-अनु० ) निशानाछापमा पनि त रक्सीको पीपामा थ्याच्च बसिरहेको जँड्याहा काजाकको प्राकृति राखिएको त्यसै होइन होला। शरदताका गाउँहरू र बस्तीहरू नै साराका सारा मात लागेर उत्तेजित भएका हुन्छन् र नरकटको बारमाथि रातो फुर्कावाल टोपीहरू पनि, ढलमल गर्दै चलमलाइरहेका देखिन्छन् ।
यसै कारणले त यस्तो कुनै दिन पनि हुँदैन जब स्वयं आतामान समेत रक्सीको मातले नमात्तेको होस् ! यसैउसले नै त सबका सब कोचवान र तोपचीहरू पनि आफ्ना कमानीदार तोपगाडीहरूमा मात लागेर ढल्मलाइरहेका हुन्छन् ।
सात वर्षे यतादेखि आतामानले आफु जन्मेको गाउँ देख्न पाएको थिएन। शुरूमा उ जर्मनहरूद्वारा बन्दी तुल्याइयो, त्यसपछि भ्रान्गेलको सेवा, अनि सूर्यको प्रचण्ड रापमा भुटिएको कन्स्तान्तिनोपोल (कन्स्तान्तिनोपोल ( इस्ताम्बुल ) – टर्कीको एउटा विशाल बन्दरगाह र शहर । गृहयुद्धका वर्षहरूमा रूसको दक्षिणी भेकमा प्रतिक्रान्तिकारी अभियानमा भाग लिने काजाकहरू पनि ह्वाइटगाडं (श्वेत प्रहरी ) हरूको साथमा भागेर त्यहाँ गएका थिए। अ्नु० ) काँढादार तारले बारिएको बन्दीशिविर, अलकत्रा पोतिएको नूनिलो त्रिपाल हालिएको तुर्की जहाज, कुबान क्षेबको झाडी र आखिरमा – यो लुटेरा जत्था !
यस्तो थियो त्यस आतामानको जीवनपथ, यदि काँध पछाडिबाट पछिल्तिर फर्केर हेर्ने हो भने। उसको मुटु कठोर बनिसकेको थियो , ठीक त्यसरी नै जसरी स्तपीमैदानको धापिलो माटोमा परेको गाईवस्तुको फाटेका खुरहरूको छाप ग्रीष्मको प्रचण्ड गर्मीमा सुकेर ढुंगा जस्तै कडा बन्दछ । नबुझिने किसिमको आन्तरिक पीडाले भित्रभिल्नै चिमोट्ने गर्छ, मस्सल समेत दुखेर आउँछ र उसलाई के लाग्छ भने न यो पीडा बिर्सेर बिर्सनै सकिन्छ, न त रक्सीमा नै त्यसलाई चुर्लुम्म डुबाइदिन सकिन्छ। तैपनि उ रक्सी पिउँछ र उसले रक्सी नघुट्क्याएको त दिनै हुँदैन, किनभने दोन क्षेत्रको स्तपीमैदानमा सूर्यतर्फ पल्टाइएको त्यसको कालो र खन्चुवा पेटबाट अन्नको बालीनाली फुलेको मगमग र मीठो बास्ना आाउँछ। र गहुँगोरो गाला भएका गाउँले आइमाईहरू यस्तो रक्सी पा्र्दछन् जुन मुहानको स्वच्छ पानी जत्तिकै पारदशेक हुन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।