विश्वका महान् कलाकारहरूको जीवनी नियाल्ने हो भने एकाधबाहेक प्रायःको जीवन बाल्यकालदेखिनै दुःख, अभाव र संघर्षमा बितेको देखिन्छ। भिन्सेन्ट भ्यानगोगले ३७ वर्षकै उमेरमा जीवनदेखि विरक्त भै कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेका थिए। यद्यपि मानसिक तनाव, अभाव र संघर्षका बीच भ्यानगोग लगायत जति पनि कलाकारहरूले कला सिर्जना गरे, उनीहरूको मृत्युपश्चात कालान्तरमा विश्वकै अद्भूत,उत्कृष्ट र अमूल्य सिर्जनाहरूमा दरिन थाले। दुर्भाग्यनै भन्नुपर्छ, धेरै कलाकारहरूको कलाले आफ्नो जीवनकालमा राम्रो मूल्य पाएनन् भने कसैको त एउटै चित्र पनि बिकेन ।

ती कलाकारहरूमध्ये एक थिए, ऊन्नाइसौं शताब्दीका अभिव्यन्जना/अभिव्यक्तिवाद शैलीका विश्वप्रसिध्द कलाकार “एडभार्ड मन्च”(१८६३-१९४४) ।

बाबु साइँला

नर्वेजियन कलाकार मन्च भलै लामो समय बाँचे तर उनको जीवनको उर्वर समय पीडादायी र विषम परिस्थितिबाट गुज्रिएको थियो। उनले ५ वर्षको उमेरमा आमा गुमाएका थिए भने १३ वर्षको हुँदा बहिनीको मृत्यु भएको थियो । आमा र बहिनीको क्षयरोग लागेर मृत्यु भएपछि उग्र र धार्मिक कट्टरपन्थी बुबासँग पनि मन्चको सम्बन्ध राम्रो भएन। यसरी बाल्यकालमै चरम निराशा, अभाव र चिन्ताबाट गुज्रिएका मन्चले पीडाहरूलाई आफ्नो रूचिको क्षेत्र कलामार्फत अभिव्यक्त गर्न थाले। विशेषगरी ब्रसस्ट्रोकमा सशक्त मन्चले जीवन्त रङहरुको प्रभाव कलामा देखाउने गरेका थिए।

“दि स्क्रिम” अर्थात् चिच्याहट उनको अभिव्यन्जनावाद शैलीको विश्व प्रसिध्द पेन्टिङ हो। यो पेन्टिङ मन्चले सन् १८९३ मा बनाएका थिए । त्यसपछि यसैलाई उनले लिथोग्राफ, प्यास्टेलजस्ता चार संस्करणमा बनाएका थिए । तीमध्ये दुई वर्षपछि १८९५ मा बनाएको प्यास्टेल भर्सनको पेन्टिङ सन् २०१२मा अमेरिकाको न्युयोर्कस्थित एक अक्सनमा विश्वकै सर्वाधिक महँगो कलाका रूपमा १२० मिलियन अमेरिकन डलरमा बिक्री भएको थियो।

दि स्क्रिम पेन्टिंगमा खास त्यस्तो के छ?!
यो पेन्टिङमा रङहरूको संयोजनलाई माध्यम बनाएर भावनालाई अभिव्यक्त गर्न खोजिएको छ। मध्याह्नको घाममा नदी या समुद्री किनारको बाटो (पुल) छेउ हुँदै तीन जना मानव आकृति हिँडिरहेको देखिन्छ। तीमध्ये दुई जना अलि पर देखिन्छन् भने अग्रभागमा एक जना हतास र विक्षिप्त मुद्रामा भयभित या अचम्मित अवस्थामा चिच्याइरहेझैं देखिन्छ। मानौँ, ऊभित्र सदियौंदेखिको बोझ लादिएको छ या पीडाहरूले थिचिएको छ। भनिन्छ, कलाकार मन्चले आफ्नो बाल्यकालदेखिको पीडा र भय र उकुसमुकुसपनलाई यसमा कलाको माध्यमद्वारा अभिब्यक्त गरिएको थियो। जुन पेन्टिगं चर्चित हुनुको कारण संसारभरका हरेक व्यक्तिमा कुनै न कुनै बेला तनाव र पीडा अनि चिन्ता हुन्छ नै जसको प्रतिनिधित्व यस “चिच्याहट”ले गरेको छ। अचेल यसै पेन्टिङलाई लिएर सामाजिक सञ्जालमा इमोजी पनि बनेको छ । अनिच्छा, तनाव, चिन्ता, डर र हीनताबोधलाई उच्चतम बिन्दुमा अभिव्यन्जनावाद शैलीमा रङहरूलाई महत्त्व दिई बनाइका कारण पनि यो पेन्टिङ विश्व चर्चित बन्न पुगेको छ।

मन्च लगनशील कलाकार थिए । दिनरात लगातार घण्टौँ कला सिर्जनामा तल्लिन रहन्थे। यसरी लामो समय आराम नगर्दा हुने थकान, अत्यधिक मदिरापान, नराम्रा विगत र असफल प्रेम सम्बन्धका कारण बिस्तारै उनमा मानसिक समस्या देखिन थाल्यो। पछि बिस्तारै लयमा फर्किएर दत्तचित्तभै काममा लाग्न थाले। उनका पछिल्ला कलाहरू आशावादी तर कम गतिशील देखिन थाले। एडभार्ड मन्च अभिव्यन्जनाबाद(आकृति र रंगहरूलाई तोडमोड गरि संबेग र भावनाहरूलाई चित्रित गर्ने)शैलीका अभियन्ता थिए।

Edvard_Munch,_1893,_The_Scream,_oil,_tempera_and_pastel_on_cardboard,_91_x_73_cm,_National_Gallery_of_Norway.jpg (3223×4000) (wikimedia.org)