प्रिय अश्विनीकुमार,
विद्युतीय सञ्जालको सघन एवं अपार जङ्गलमा कहिले, कहाँ, के प्रकट भई अलप हुन्छ, थाहा पाइनसक्नु छ । तपाईँबाट सप्रेम जानकारी प्राप्त नहुँदो हो त मान्यवर यम घिमिरेद्वारा मउपर व्यक्त दिव्य वाणीहरुको रसास्वादन गरी प्रवोधित हुने सौभाग्यबाट म वञ्चित हुन्थेँ । र, यसबारे धेरैपछि कुनै बेला कुनै सूत्रद्वारा थाहा पाउँदा शायद गहन अवशादको मुद्रामा भारी पश्चाताप गर्न म विवश हुन्थेँ ।
मिति चैत २२ गते २०७७ साल । माध्यम साहित्य पोस्ट डट कम । शीर्षक— ‘विदेशका हामी दुःखी कि स्वदेशका खगेन्द्र संग्रौला दुःखी ?’ आक्रामक प्रतीत हुने यो प्रश्नवाचक शीर्षकका लेखक रहेछन्, श्री यम घिमिरे । पढेर थाहा पाएँ— यो लेख शिलापत्रमा प्रकाशित मेरो लेख ‘ज्यान विदेशमा, मन नेपालमा’माथिको क्षुव्ध, आक्रोशित र उग्र कटाक्षयुक्त प्रतिक्रिया रहेछ । आश्चर्य, यो मूल विषयमा प्रवेश गर्नुअघि श्री यम घिमिरेले ममाथि एक रास शब्दको वर्षा गरेका छन् । यो उदार शब्द वर्षामा यम महोदयका वहुविध एवं छरपस्ट लाञ्छनाहरुको लामबन्दी छ । रोचक कुरा, यो लाञ्छनामालाको प्रारम्भमा ससम्मान कमल थापा उपस्थित हुन्छन् । ट्वीटमा मैले कमल थापालाई ‘कमले मण्डले’ र ‘बाँदर’ भनेकोमा यम महोदयको घोर आपत्ति छ । उनको आपत्ति भाषाको ‘सामाजिक शिष्टता र मर्यादा’ विषयक छ । नोम चोम्स्की अमेरिकाका विश्वसम्राटतुल्य राष्ट्रपतिलाई सार्वजनिक अभिव्यक्तिमा हाकाहाकी ‘हत्यारो’, ‘अपराधी’, ‘बौलाहा’ आदिको संज्ञा दिन्छन् । किन ? नोम चोम्स्की प्रदत्त यी संज्ञाहरु वास्तवमा राष्ट्रपतिको कुर्सीमा आसीन व्यक्तिविशेषप्रति होइन, उक्त व्यक्तिको पदीय शक्ति एवं अहंकारमा प्रतिविम्बित प्रवृत्तिप्रति लक्षित छन् । म निवेदन गरुँ— कमल थापाको हकमा पनि सत्य कुरा यही हो । मिस्टर थापासँग मेरो वैचारिक घर्षणयुक्त सम्बन्धको लामो, जटिल र तिक्ततायुक्त शृङ्खला छ । पहिले शाही निरङ्कुश कालमा सत्ताद्वारा पालित, पोषित एवं संरक्षित मण्डलेको बिगबिगी र जगजगी थियो । यो मण्डले थियो स्वतन्त्रताका पैरवीकारहरुमाथि धावा बोल्ने एउटा क्रूर शासकीय औजार । र, यी कमल थापा थिए उक्त मण्डले जमातका एक जण्ड नाइके । विचारको सतत द्वन्द्वमय मोर्चामा म मण्डले प्रवृत्तिको प्रतिवादी थिएँ । आफ्नो प्रतिवादका कारण मण्डलेतन्त्रद्वारा म अनेक पटक प्रताडित भएँथेँ । अहिले अर्को कालखण्डमा शाहीतन्त्रबाट अकूत लाभ उठाएका मिस्टर कमल थापा अतीतको सुखद् यादमा घुटुक्क थुक निल्दै जब ‘राजतन्त्र’ भन्छन्, ट्वीटमा म उनलाई ‘कमले मण्डले’ भनेर इतिहासको स्मरण गराउँछु । यो ‘कमले मण्डले’ मिस्टर थापाको सटिक प्रवृत्तिगत पहिचान हो । यी थापालाई चिनाउने योभन्दा अचुक अर्को संज्ञा शब्द भण्डारमै छैन । थापाश्रीको विशिष्ट पहिचानको कुरुप रुपलाई किञ्चित् मलुवा तुल्याउन म ‘मान्यवर कमले मण्डले’ भन्छु । एउटा कुरा भन्न म धृष्टता गरुँ, विद्वान् यम घिमिरेको अभिप्राय त्यो नहोला, तर परिबन्दले अभिव्यक्तिको शिष्टता र मर्यादाको बहानामा उनीद्वारा मण्डले प्रवृत्तिको प्रतिरक्षा गरिएको आभाष हुनु मेरालागि किमार्थ प्रीतिकर होइन । लेखक ‘भ्याल्यु न्युट्रल’ भई हर विचारप्रति— शायद मण्डले विचारप्रति समेत— उदार र सहिष्णु हुनुपर्छ भन्ने यम घिमिरेको जिरहको प्रत्युत्तरमा म हवार्ड जीनको कथन सम्झन्छु— ‘यु कान्ट बी न्युट्रल अन अ मुभिङ ट्रेन ।’
आफ्नो सर्वोच्च ज्ञान एवं विद्वतायुक्त शब्दवर्षामा यम घिमिरेले ‘प्रख्यात लेखक र बुद्धिजीवीको सर्वकालीक पगरी गुथेका एकजना मनुवा’ भनी कटाक्षको अर्थमा मेरो चिनारी प्रस्तुत गरेका छन् । घिमिरे महोदयलाई अतिशय अनर्थ तसर्थ अप्रिय लाग्ने यो पगरी वास्तवमा अरु कसैको नभई उनी स्वयंको उर्वर कल्पनाद्वारा कथिएको हो । प्रत्येक लेखकको जीवन–जगत्को बोध र अभिव्यक्तिको आ–आफ्नै दृष्टि र शैली हुन्छ । यम महोदयको निरुपणमा मेरो दृष्टि र शैली केवल ‘गालीगलौज, व्यक्ति हियाइ, समूह हियाइ, नकारात्मक विषाक्त वचन’ आदि हो । यस्तो ‘तुच्छ’ लेखनलाई ‘विचार’को नाम दिएर पाठकलाई पढ्न बाध्य तुल्याउने सम्पादकहरु, तँछाडमछाड गर्दै पढ्ने स्वदेशदेखि विदेशसम्मका पाठकहरु, यस्तो ‘तुच्छ’ लेखकलाई डबली र मिडियामा बोल्न निम्त्याउने आयोजकहरु एवं यस्ता ‘कुपात्र’सँग कुम जोडेर फोटो खिचाउन झुम्मिने आदि सकल मूर्खहरुप्रति यम महोदयमा भयानक धिक्कारको भाव छ । यी सबै मनुष्यलाई उपहास गर्दै यम महोदय कटाक्षयुक्त गुनासो गर्छन्, ‘काठमाडौँ र विदेशको बौद्धिक जमात र सम्पादकहरुले खगेन्द्रलाई हनुमानले काँधमा राम–लक्ष्मणलाई झैँ बोकेर हिँडेको पनि तीसौँ वर्ष भइसक्यो ।’
कुरो बडो कौतुकमय र रोचक छ । म कथित बोकिनेलाई कसैले कहिल्यै बोकेको थाहा छैन । यम महोदयले आफ्ना विरल एवं सम्यक् दृष्टिले छर्लङ्गै देखिसके । बोकिने सर्बथा बेखबर हुनु र बोकिएको देख्नेले जगत्लाई सुनाउँदै हिँड्नु— मेरो लेखकीय अस्तित्वको यो कति असङ्गत अवस्था ! भनेको कसकसले हो कुन्नि, तिनले मलाई ‘राजनीतिक/सामाजिक अभियन्ता र नागरिक अगुवा’ भनेकोमा क्रोधले यम महोदयका टुप्पीबाट मानौँ धुवाँ छुटेको छ । भन्नेहरु सुन्नेको कपोल कल्पनामा छन्, यम सरको तीरको तारो बित्थामा मतिर ताकिएको छ । म विचार, सिर्जना वा अभियान फाँटको कुनै सर्वाधिकारी एवं दमनकारी प्रभु होइन । मेरा विचार र सिर्जना छाप्ने, पढ्ने वा प्रवाहित गर्ने व्यक्ति र माध्यमहरु मेरो ‘फौजी’ इसारामा नाच्ने मैनका पतुली होइनन् । तर किन हो थाहा छैन, यम सर यी सकल जनलाई बलात् एकै डालोमा कोचेर विवेकहीन, संवेदनाहीन, स्वाभिमानहीन बुख्याँचाका रुपमा चित्रण गर्छन् । यस्तो लाग्छ मानौँ यमश्री मानवीय संवेदना, विवेक र ज्ञानको चरम् चुलीमा खडा भई तल अज्ञानताको फेदीमा धूलीकणहरुलाई हेर्छन् । र, तल लेखक, सम्पादक, पाठक र शब्दानुरागी जिज्ञासु सकल जन धूलीकणतुल्य महामूर्खझैँ देखिन्छन् । यो हेराइ र यो देखाइमा यम महोदयको अहमत्याइँ (megalomania)को आकार हुनुसम्म विराट् गोचर हुन्छ ।
सर्वज्ञताको चरम् चुलीबाट यम सरद्वारा लगाइएका नानाओली फत्तुरहरु मप्रति होइन वास्तवमा सम्पादक, पाठक अन्य जिज्ञासुजन र विविध माध्यमहरुतर्फ लक्षित छन् । यसमा जीवनको फड्के किनारको म अकिञ्चन के भनुँ ? यम सरलाई जवाफ तिनैले दिऊन्, जसप्रति यी लाञ्छना लक्षित छन् । म यसमा धर्मफराक बस्छु ।
अँ, आयो कुरो अब ‘राजनीतिक/सामाजिक अभियन्ता र नागरिक अगुवा’को । म अति सीमित ज्ञान, सीमित क्षमता, सीमित कोशल, सीमित साहस र सीमित उत्सर्गको भावना भएको लेखक वा सडकयात्री हुँ । देख्ने जगत् जान्दछ— स्वतन्त्रता र न्यायप्राप्तिका अभियानकारी मोर्चाहरुमा म कहिल्यै अगुवा भएको छैन । म त केवल अरु थुप्रै सहयात्रीहरुको हाराहारी लुखुरलुखुर हिँडेको छु । यम महोदय म ‘अगुवा’ हुँ भन्ने भ्रमलाई तोड्न यसबारे तिनैलाई केरकार गरुन्, जसले, उनको विचारमा, यो भ्रमको सिर्जना गरेका छन् । म अकिञ्चन यो लफडोबाट पनि धर्मफराक बस्छु ।
‘ज्यान विदेशमा, मन नेपालमा’मा नामक लेखमा मैले विभिन्न कारणले विदेशमा गई विभिन्न हैसियतमा बसिरहेका नेपालीभाषीहरुको भौतिक अवस्थाको लेसमात्र पनि चर्चा गरेको छैन । मैले त केवल तिनको वर्तमान दैहिक अवस्थिति र सुदूर मातृदेशमा छुटेको तिनको स्मृति–शृङ्खलाबीचको मनोवैज्ञानिक द्वन्द्वबाट निःशृत दुःखको पो चर्चा गरेको छु । मेरो यो चर्चा मैले बेलायत र अमेरिकामा सङ्गत गर्न पाएका नेपालीभाषी जनका आन्तरिक भावनाहरुको अनुरागयुक्त अवलोकनमा आधारित छ । अभावग्रस्त र विपन्नको अर्थमा मैले तिनलाई ‘दुःखी’ भनेको किमार्थ होइन । मैले त प्राकृतिक पर्यावरण, भाषा र संस्कृतिको बिरानोपनमाझ पहिचानको संकट झेलिरहेका जनहरुका अन्तरमनको भावलोकमा पो तिनलाई दुःखी देखेको हुँ । मेरो लेखको यो पक्षप्रति सर्वथा आँखा चिम्लेर यम महोदयले मैले उल्लेख गरेको ‘दुःख’लाई भौतिक सुख–सुविधाका सन्दर्भमा हेरेका छन् । यो त पढिएका शब्दहरुको अर्थ होइन, ती शब्दहरुमा आफ्नो पूर्व–कल्पित आग्रह आरोपण गरी आफ्नै सुविधाअनुसारको अर्थ लगाउने काम पो भयो बा ! म गर्छु आग्रा कुरा, ज्ञानवान् पण्डितजी बुझ्नुहुन्छ गाग्रा कुरा भनेजस्तो !
यातायात र सञ्चारको चामत्कारिक जालोले पृथ्वीको पल्लोछेउलाई हरेक मानिसका आँगनको छेवैमा ल्याइपुर्याएको छ । यातायात र सञ्चारको यो अद्भुत सुविधाको उपयोग गर्दै आजको मानिस ज्ञानको खोजीमा वा अपेक्षाकृत सुखमय जीवन जिउने अवसरको खोजीमा देशदेशावरको यात्रामा निस्कन्छ नै । खण्डित भूगोलका चार किल्लामा कोरिएका सिमाना नामका रक्तरञ्जित रेखाहरुले वा ढोँगी प्रकृतिको मौसमी राष्ट्रवादले मानिसको बहिर्गमनको यो यात्रालाई कदापि छेक्न सक्दैन । यो मेरो आजको होइन, निकै अघिदेखिको धारणा हो । यो मलाई विजय मल्लको कविता ‘छोरीलाई मानचित्र पढाउँदा’ले र ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भन्ने कम्निस्ट अन्तर्राष्ट्रिय गानले दिएको उदार शिक्षा हो । तर यम महोदयले फेरि पनि मउपर आफ्नै प्रिय आग्रह आरोपण गरी मलाई सीमित भूगोलको मानसिक बन्दीका रुपमा चित्रण गर्ने चेष्टा गरेछन् । यो त फेरि पनि पढिएका मेरा शब्दहरुको अर्थ होइन, ती शब्दहरुमा आफ्नो पूर्व–कल्पित आग्रह आरोपण गरी आफ्नै सुविधाअनुसारको अर्थ लगाउने काम पो भयो बा ! फेरि पनि उही म गर्छु आग्रा कुरा, ज्ञानवान् पण्डितजी बुझ्नुहुन्छ गाग्रा कुरा भनेजस्तो !
आफ्नो गडगडाहटकारी शब्दवर्षामा श्री यम घिमिरेले विदेशमा गरिखाने नेपालीहरुको भौतिक सम्पन्नता र सुखको बडो रङ्गीन र रुमानी चित्र खिचेका छन् । म सविनय निवेदन गरुँ— प्रवासी जीवनको यो पक्षसँग म परिचित छैन । कारण विदेशमा उच्च स्तरीय ज्ञान र सीप आर्जन गरी कमाउ कर्ममा प्रवृत्त भएर भौतिक मोजमस्ती गर्ने अवसर पाएका नेपालीहरु म चिन्दिनँ । यो मेरो पहुँचको सीमा हो । म त केवल विदेशमा सुखम्–दुःखम् गरिखाने सामान्य जनलाई मात्र चिन्छु, जसको मानसिक दशाको मैले चर्चा गरेको छु । यम महोदयले उल्लेख गरेजस्ता भौतिक दृष्टिले सम्पन्न र मानसिक दृष्टिले सुखी नेपालीभाषीहरु विदेशमा हुनु मेरालागि निश्चयनै खुशीको कुरा हो । यम सरले आपेक्ष लगाएझैँ विदेशमा कसैको उद्यमकारी यत्नद्वारा आर्जित सुखप्रति बित्थामा म किन दुःखी होऊँ ?
अन्त्यमा, छाँटले निकै लामो समयदेखि सञ्चित मउपरको आक्रोश, क्रोध र घृणा एकै झमटमा व्यक्त गर्न पाउँदा यम घिमिरे महोदयका चित्तको पीडादापी ताप पोखिएर निजलाई चैनको अनुभूति भएको हुनुपर्छ । यम सरको यो सुखद् अनुभूतिप्रति मान कुनै डाहा छैन ।
अभिवादन ।
प्रवास प्रसङ्गका संग्रौलाका विचारहरु
“ज्यान विदेशमा, मन नेपालमा”
खगेन्द्र संग्रौला
जहाँ जन्म्यो र हुक्र्यो, मानिसको अनुरागपूर्ण र अमिट पहिचान त्यहीँ बन्छ । मानिसको प्रारम्भिक मोरचनाको स्वरुप त्यहीँ बन्छ, उसको व्यक्तित्वको प्रारुप त्यहीँ बन्छ । मानिस र पहिलो पटक उसले स्पर्श गरेको, चलेको र खेलेको ठाउँको दोहोरो नाता हुन्छ । त्यो ठाउँले मानिस चिनिन्छ, मानिसले त्यो ठाउँलाई चिनाउँछ । नाम मानिसहरुको गोलोमाझ मानिसको पृथक् चिनारी बनाउने माध्यम हो । र भाषा हो, मानिसलाई जीवन र जगत्सित जोड्ने जादुगरी सूत्र । भाषामा खास ठाउँको प्रकृतिको रुप र रङ्ग एवं ध्वनि र गतिको प्रत्यक्ष छाप हुन्छ । ठाउँसँग नाम र भाषाको अभिन्न नाता हुन्छ । नाम र भाषामा सभ्यता र संस्कृतिका विशिष्टाताहरु जेलिएर आउँछन् । जहाँ जन्म्यो, मानिसले त्यहीँको हावामा सास फेर्छ र त्यहीँको पानी खान्छ । मानिस त्यहीँको धूलोमा बामे सर्छ र त्यहीको धूलोमा टुकुटुकु हिँड्छ । मानिस त्यहीँका इन्द्रेनी र पुतली हेरेर आनन्दित हुन्छ । मानिस त्यहीँको चट्याङले तर्सिन्छ, त्यहीँको वर्षाले भिज्छ । मानिस त्यहीँको जाडोमा स्यूस्यू काम्छ, त्यहीँको गर्मीमा तर्तरी पसिना काड्छ । मानिस त्यहीँ श्रम गर्छ, त्यहीँ उत्पादन गर्छ, त्यहीँ सिर्जना गर्छ । मानिस त्यहीँ आमाको मायालु बोलीमा कलिलो लोली गाउँछ, त्यहीँ मायापिर्ती लाउँछ, त्यहीँ सन्तान जन्माउँछ । मानिस हर दृष्टिले त्यहीँको मौसममा अभ्यस्त हुन्छ र ऊ त्यहीँको भौतिक एवं सास्कृतिक वातावरणको एक अभिन्न अङ्ग बन्छ ।
ठाउँ विशेषका सांस्कृतिक परम्परामा मानिसको दिनचर्याका अभिन्न अङ्गतुल्य रीति र रुढिहरु हुन्छन्, कर्मकाण्ड र संस्कारहरु हुन्छन् । यी यावत् कुराले— नामले र भाषाले, प्रकृति र परम्पराले, रीति र रुढिले, कर्मकाण्ड र संस्कारले— मानिसको मस्तिष्कमा विराट् स्मृति–शृङ्खलाको निर्माण गर्छ । मेरो विचारमा मानिसको जीवन भन्नु नै यहीँ स्मृति–शृङ्खलाको अर्को नाम त हो । मानिस जहाँसुकै जाओस्, ऊ यो स्मृति–शृङ्खलाको चाङ बोकेरै जान्छ । कसैले मलाई सोधोस्— तेरो घर कहाँ हो ? मेरो घर काठमाडौँको चाबेल हो भन्न मेरो मुख लाग्दैन । मेरो स्मृति–शृङ्खला भन्छ— मेरो घर पाँचथर जिल्लाको सुभाङ, गुरुङछाप हो । गम्नोस्त, ठाउँविशेषले बनाउने मानिसको पहिचान कति प्रबल र चिरस्थायी हुन्छ ?
मानिसको ठाउँसँगको सम्मोहक नाताबारे मैले उतिसाह्रो गम्भीर रुपले कहिल्यै सोचेको थिइनँ । खासमा सोच्नुपर्ने खण्डखातिर मलाई आइलागेको पनि थिएन । बेलायत र अमेरिकामा नेपालीहरुलाई जब भेटेँ, जीवनले जरा गाडेको ठाउँसँग मानिसको कति गहिरो नाता हुँदो रहेछ, मलाई बल्ल थाहा भयो । जो जीवनभरिका आप्mना पदचापबाट निर्मित स्मृति–शृङ्खला बोकेर त्यता गएको छ, ऊ विभाजित मन लिएर जिउँदो रहेछ । ऊ पल–प्रतिपल मानसिक अन्तद्र्वन्द्वले आक्रान्त जीवन जिउँदो रहेछ । उसका खुट्टा छन् बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडामा, मन छ नेपालमा । उसले देखेको, सुनेको, गरेको, जानेको, चिनेको र भोगेको जे जे हो, त्यो सब नेपालमा छ । उसका परिचित चौतारी र देउराली नेपालमा छन् । उसका आफन्त र कुलकुटुम्ब नेपालमा छन् । उसका चाडपर्व र जात्रामेला नेपालमा छन् । उसका घाट र समाधिस्थल नेपालमा छन् । उसका मायापिर्तीका, मिलन वा बिछोडका, कथा र किस्सा नेपालमा छन् । उसले जानेको भाषा र हिँडेको भूगोलका गोरेटा नेपालमा छन् । यसको अर्थ हो, उसको सर्वस्व नेपालमा छ । बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडामा उसको के छ त ? बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडामा केवल उसका खुट्टा छन् । र, उसको चित्तमा अन्तहीन अन्तद्र्वन्द्वको कष्टकर आँधी उठेको छ । रहरले वा बाध्यताले वा संयोगले ऊ बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडा पुग्यो । जब त्यहाँ पुग्यो, ऊ नचिताएको भवसागरमा फँस्यो । अब उतै बसिरहुँ, उसलाई मनमा चैन छैन । नेपाल फर्किऊँ, फर्किने बाटै छैन ।
बेलायत वा अमेरिका वा अष्ट्रेलिया वा क्यानाडा पढ्न गएका विद्यार्थीहरुको मनोदशाको चित्रण यो होइन । विद्यार्थी त पढिसकेर मन लागे अलि वर्ष त्यतै काम गर्लान्, मन नलागे स्वदेश फर्की आउलान् । आउनलाई तिनको बाटो बन्द छैन । यसो देश हेरुँ, मुख फेरुँ, दुई–चार पैसा कमाऊँ, त्यसपछि देखाजाएला भन्ने पेशाकर्मीको मनोदशाको चर्चा पनि यो होइन । ती पनि मन लागे त्यतै बस्लान्, मन नलागे घर फर्कलान् । फर्की आउनलाई तिनको पनि बाटो बन्द छैन । तर जो रहरले, वाध्यताले वा लहडले जोभएको जायजेथो बेचेर, झिटीगुन्टा कसेर त्यता गएका छन्, तिनको भग्न मनोदशाको चित्रण हो यो ।
किशोर वा तरुण बयका मानिसहरु नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मौसम, नयाँ भाषा, नयाँ वेषभूषा, नयाँ भोजन र नयाँ चाडपर्वमा रिझ्नभिज्न बेर लाग्दैन । ती यी नानाओली नयाँमा छिटै र सहजै अभ्यस्त हुन सक्छन् । तर मैले चर्चा गरेका मानिसहरु, जो उमेरमा अध्बैँसे भइसके, तिनलाई बडो गाह्रो छ । उमेरका कारण तिनमा यी नयाँहरुमा सहजै ढलान वा अनुकूलित हुने लचकता हुँदैन । जतिसुकै यत्न गरुन्, तिनले रैथाने जनले भैmँ रैथाने भाषा बोल्न जान्दैनन् । किशोर र तरुणका स्मृति–शृङ्खला समयको क्रममा सहजै मेटिन वा विस्मृत हुन सक्छन् । अध्बैँसेको हकमा यो कदापि सम्भव छैन । बरु प्राण जाला, तिनको स्मृति–शृङ्खला न मेटिन्छ, न त्यो विस्मृत नै हुन्छ । त्यसैले आपूm जन्मी–हुर्केको देश र संस्कृतिको न्यास्रो मान्दै बिरानो देशमा बेचैनीसाथ बाँकी जीवन बिताउन ती अभिशप्त छन् ।
कुनै जुक्तिले स्वदेश फर्किने सम्भावनाको द्वार खुले पनि यी अध्बैँसे जन सन्तान र तिनको भविष्यका कारण मरिगए फर्किन सक्दैनन् । सानैमा लिएर गएका सन्तान भए ती नयाँ भाषा र संस्कृतिमा रमिसके होलान् । उतै जन्मेका भए ती त हर दृष्टिले उतैका भइहाले । चैनले होस् वा बेचैनीले, सुखले होस् वा दुःखले, सन्तानको भविष्यको लागि बाँकी जीवन चुपचाप अर्पण गर्नु सिबाय यी अध्बैँसेसँग उपाय केही छैन । बडो असहज जीवन, हकि !
चाडपर्व आउँछ र त्यसले स्वदेश सम्झाउँछ । जात्रा–मेला आउँछ र त्यसले स्वदेश सम्झाउँछ । पितृको श्राद्ध गर्ने तिथि आउँछ र त्यसले स्वदेश सम्झाउँछ । जीवनको कुनै अविस्मरणीय घटनाको याद आउँछ र त्यसले स्वदेशको न्यास्रो लगाउँछ । लाएको प्रेमिल मित, खाएको मीठो भोजन र गाएको सुन्दर गीतको याद आउँछ र स्वदेशको सम्झना बल्झिन्छ । ज्यान बिरानो देशमा, स्वदेशको सम्झना झल्झली आँखामा !
विदेशमा पुगेर फर्किने बाटो हराएको यो दुःखी नेपाली आफैँ आफ्नो दुःखमाथि दुःख थप्छ । यो अतिशय भावुकतायुक्त अन्धराष्ट्रवादबाट पैदा हुने दुःख हो । नालापानी यही दुःखीका चित्तमा दुख्छ, कालापानी यही दुःखीका चित्तमा दुख्छ । ‘अहा मेरो बुद्ध, अहा मेरो सगरमाथा’ भन्दै यो दुःखी रुन खोज्छ । यो भावुकता र यो रोइलो मलाई एकदमै विरोधाभाषी लाग्छ । म अब विदेशमै जीवन बिताउँछु भनी अठोट गरेर गइसकेपछि भुवामय भावुकतामा बहकिँदै किन यसरी रुनु ? मुटु गाँठो पारेर गनुपर्ने त अप्रिय नियतिसँग सम्झौता पो हो । मलाई थाहा छ, मेरो यो विचार यस्ता थुप्रै दुःखीहरुलाई मन पर्दैन । तर जीवनको कठोर वास्तविकता आखिर यही त हो !
कोही कसैको भरिया किन होस् ?
—खगेन्द्र संग्रौला
एकाध वर्षअघि कवि शैलेन्द्र साकारको एउटा संस्मरण पढेको थिए्रँ । त्यो संस्मरणले नबिर्सिइन जिद्दी गर्दै मलाई रातदिन पछ्याइरहेछ । हृदयविदारक त्यो संस्मरणको पेटव्यहोरामा अमेरिकामा आत्महत्या गरेको सारकारका छोराको करुण कथा छ । साकारको छोरो राम्रो जागिरमा थियो । उसले स्वास्थ्य विमाको दुर्लभ सुविधा समेत आर्जन गरिसकेको थियो । तर डिप्रेसनको विमारसामु उसको स्वास्थ विमाले हार खायो । र, साकारपुत्रले जीवनदेखि त्यसैत्यसै वाक्क भएर चरम् हताश मनोदशामा आफ्नै हातले गोली ठोकेर आफ्नो ज्यान लिए ।
हर्ष र बिस्मातका आँसुले लेखिएको साकारको संस्मरणमा अमेरिकामा छोरालाई भेट्दाका सुखद् यादहरुको सुन्दर चित्र एकातिर छ, छोराले आत्महत्या गरेपछिका विह्वल बाबुका मनोदशाको दारुण चित्र अर्कातिर छ ।
संस्मरण भन्छ— छोराले जीवन बिसाएको आठ–दश वर्षपछि होला सायद, शैलेन्द्र साकार बुहारी र नातिनीहरुलाई भेट्न अमेरिका गए । नेपाली बाजेलाई स्वागत गर्न एयरपोर्टमा दुई अमेरिकी नातिनी आएका थिए । अघिल्लो भेटमा ती नातिनीहरु किशोरी थिए, अहिले ती तरुनी भइसकेका थिए । अघिल्लो भेटमा बाजेसँग तिनले नेपालीमा फाटफुट बात मारेका थिए । यो बीचको लामो अन्तरालमा तिनले नेपाली भाषा बोल्न छाडेर भुसुक्कै बिर्सेछन् । एयरपोर्टमा बाजे र नातिनीको भाव सञ्चारमा पर्नु सङ्कट परेछ । उच्चारणको कारण बाजे नातिनीहरुको अंग्रेजी फुट्टी नबुझ्ने, नातिनीहरु बाजेको अंग्रेजी फुट्टी नबुझ्ने । चित्तको भाव आदान–प्रदान गर्ने साझा भाषा नहुँदा बाजे र नातिनीका बीचमा बिरानोपन र दूरी पैदा गर्ने विशाल नदी बग्न थालेछ । अब न्यास्रो लागेर भेट्न गएका बाजे नदीवारि भए, न्यास्रो मेट्न हौसिँदै आएका नातिनीहरु भए नदीपारि । बीचमा बग्यो बिरानोपनको अस्मेल भेल । संस्मरणमा भावसञ्चारको सङ्कटको त्यो क्षण सम्झेर साकारले मानौँ दाह्रा किट्दै लेखेका छन्— ‘नातिनीहरुले त नेपाली भाषा पोलेर खाइसकेछन् !’
अबोध नातिनीहरुका नाउँमा बाजे साकारको यो कठोर भनाइ मेरो मनमा च्वास्स बिझायो । र, त्यो चस्कोले जति बिर्सूँ भने पनि पन्छिन नमानी मलाई नित्य लखेटिरहेछ । साकारले नातिनीहरुलाई लगाएको ‘नेपाली भाषा पोलेर खाएको’ आरोपमा मैले एक बाजेको संवेदनाहीन अबुझपना वा त्रूmरता देखेँ । नातिनीहरुले आवश्यकताले नेपाली सिकेका थिए, अनावश्यकताले नेपाली बिर्सिदिए । मैले जानेको सोझो कुरो यो हो । दैनिक कामकाजका विविध नाका र सन्दर्भहरुमा नेपाली भाषा काम लाग्न छाडेपछि त्यसलाई त्याग्नु के नातिनीहरुको अपराध हो र ? चस्को पसेको मेरो चित्तले मसँग सुटुक्क प्रश्न गर्यो— भाइ, संवेदनशील कविको अभिनय गर्ने यस्तो क्रूर बाजे केको संवेदनशील कवि ? संवेदनशील कवि कसरी बगरे हुनसक्छ ?
भाषा बोकाइ र छोडाइको प्रसङ्गमा मलाई आफ्नो नातिको याद आयो । ऊ अमेरिकामा जन्मेको खाँट्टी अमेरिकी नागरिक हो । आमाबाले सानोमा उसलाई घरमा नेपाली मात्र बोल्न सिकाए । जब ऊ नर्सरी जान थाल्यो, अंग्रेजी नजान्दा उसलाई भाषाको पर्नु संकट पर्यो । नर्सरीमा आवश्यकताले ऊ अंग्रेजी सिक्दैगयो, अनावश्यकताले ऊ नेपाली छाड्दै गयो । ऊ अहिले चौध वर्षको भयो । अहिले ऊ ‘ठीक छ’ बाहेक नेपाली फुट्टी बोल्दैन । कहिले त ऊ ‘बेठीक छ’ भन्नुपर्ने ठाउँमा पनि ‘ठीक छ’ ठोकिदिन्छ । छोराले नेपाली बिर्सेकोमा आमाबालाई चिन्ता छ । तर म भन्छु— मेरो नातिले नेपाली भाषा बिर्सनु वा बोल्न छाड्नु न हर्षको कुरा हो न विस्मतको । यो त केवल आवश्यकता र अनावश्यकताको कुरा पो हो ।
घरमा नेपाली आवश्यक थियो, नातिले नेपाली सिक्यो । नर्सरीमा नेपाली आवश्यक हुन छाड्यो, नातिले नेपाली छाडिदियो । नातिलाई नेपाली भाषा घरबाहिर कतै काम लागेन । त्यो नर्सरीमा काम लागेन । त्यो चिडियाखानामा काम लागेन । त्यो बाल–बाटिकामा काम लागेन । त्यो खाद्यान्न पसलमा काम लागेन । त्यो मलमा काम लागेन । त्यो रेष्टुरामा काम लागेन । त्यो सिनेमा हलमा काम लागेन । त्यो पुस्तकालयमा काम लागेन । त्यो अमेरिकी साथीको घरमा काम लागेन । त्यो बर्थ डे पार्टीमा काम लागेन । त्यो क्रिस्मस पार्टीमा काम लागेन । नयाँ वर्षको जमघटमा त्यो काम लागेन । हलोवीनको रमझममा त्यो काम लागेन । फुटबल ग्राउन्डमा त्यो काम लागेन । पढाइमा त्यो काम लागेन । आपूmलाई कतै काम नलाग्ने भाषा नातिले छाडिदिँदा ‘नेपाली भाषा पोलेर खाइसकेछ’ भनी म बाजेले उसलाई फत्तुर लगाउन सुहाउँछ र ? मेरो आग्रहको तुष्टिका लागि मेरो नातिले आफ्नो दैनिक जीवन–व्यवहारमा कहीँ कतै काम नलाग्ने भाषाको बोझ किन बोकिहिँडोस् ? ऊ व्यर्थमा मेरो भाषाको भरिया किन बनिरहोस् ?
बेलायत र अमेरिकावासी थुप्रै नेपालीभाषी आमाबाका मुखबाट मैले यो गनगन सुनेको छु । छोराछोरीले नेपाली बोल्न छाडेर बर्बाद भो ! अब यिनले हाम्रो संस्कार–संकृति पनि चटक्कै बिर्सने भए ! यी आमाबासँग मैले उही तर्क गरेँ, उही जिरह गरेँ । आमाबाको आफूलाई काम नलाग्ने भाषा सन्तानले बोल्दिनैपर्ने किन ? जेको उपयोगिता छ, आवश्यताले त्यो सिकिन्छ र त्यसको प्रयोग गरिन्छ । जेको उपयोगिता निख्रिन्छ, अनावश्यकताले त्यो बिर्सिइन्छ र छाडिन्छ । बेलायत, अमेरिका, क्यानाडा वा अष्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपालीभाषीहरु त्यो–त्यो देशका नागरिक हुन् । तिनले बाँकी जीवन जिउने त्यतै हो, आखिरमा तिनले जीवन बिसाउने त्यतै हो । नेपाली तिनको मातृभाषा होला, नेपाल तिनको भूतपूर्व देश हो । तिनका सन्तानका लागि नेपाली भाषा आमाबाको भाषा हो, अंग्रेजी हो आफ्नो भाषा । तिनका सन्तानका लागि नेपाल आमाबाको देश हो, आफू जहाँ बसेको छ, त्यो आप्mनो देश हो । आमाबाको संस्कार–संस्कृति जोगाइदिने नाममा आपूmलाई कतै काम नलाग्ने नेपाली भाषाको भारी तिनका सन्ततिले किन बोकिरहनुपर्यो ?
मानिसलाई कतै पुर्याउने आफ्नो सामर्थ्यमा भाषाको उपयोगितामा निहित छ । जुन भाषाले मानिसलाई जहाँसम्म पुर्याउँछ, त्यसको उपयोगिता त्यही सीमारेखामा तुरिन्छ । जुन भाषाको उपयोगिता जहाँ तुरिन्छ, त्यहाँ त्यो भाषा छाडिन्छ र त्यसको सट्टा अर्को उपयोगी भाषा बोकिन्छ । पान्थर वा इलामको लिम्बू इलाम भगेको माइखोलाको किनारमा लिम्बू भाषा छाडेर नेपाली भाषा बोकेर झापातिर लाग्छ । किन ? किनभने त्यसयता लिम्बू भाषाद्वारा क्षणक्षणको बोलीचालीको निर्वाह चल्दैन । काठमाडौँको नेवार उपत्यकाबाहिर जाँदा थानकोटमा नेपाल भाषा बिसाएर नेपाली भाषा बोकेर बाहिर जान्छ । किन ? किनभने त्यसउता नेपाल भाषाद्वारा छिनछिनको बोलीचालीको निर्वाह चल्दैन । मधेशबासी नेपाली ढल्केबरमा मैथिली भाषा बिसाएर नेपाली भाषा बोकेर बर्दिबासतिर लाग्छ । किन ? किनभने त्यसउता मैथिली भाषाद्वारा क्षणक्षणको बोलीचालीको निर्वाह चल्दैन । कोही नेपाली भारत जाँदा दरभङ्गामा नेपाली भाषा बिसाएर हिन्दी भाषा बोकेर लुखुर–लुखुर अघि बढ्छ । किन ? किनभने भारतमा नेपाली भाषाले गरिखाँदैन । भारतभन्दा पर कतै जानुपर्दा कोही नेपाली हिन्दी भाषा बिसाएर अंग्रेजी भाषा बोकेर अघि बढ्छ । किन ? किनभने त्यसउता हिन्दी भाषाको उपयोगिता रहँदैन । त्यसउता कनिकुथी भए पनि अंग्रेजी बोल्नैपर्छ, नबोले भोकले मरिन्छ ।
बेलायत, क्यानाडा, अमेरिका वा अष्ट्रलियावासी नेपालीभाषी आमाबाका रैथाने सन्तानले गर्ने पनि आखिर यही नै हो । तिनले काम लागुन्जेले आमाबाको भाषा बोल्छन्, काम लाग्न छाडेपछि त्यसलाई थपक्क बिसाउँछन् । न यो बोक्नु कुनै गौरवको कुरा हो न यो बिसाउनु कुनै ग्लानिको कुरा हो । भनिसकेँ, यो त केवल आवश्यकता र अनावश्यकताको कुरा हो । छोराछोरी आमाबाका रुचि, आग्रह, विश्वास, अन्धविश्वास वा अहंकारका भारी बोकिदिने निजी रुचि, निजी रोजाइ र निजी जीवनविनाका अन्धमति भरिया किमार्थ होइनन् । त्यसैले तिनको जीवनमा जे अनावश्यक छ, आमाबाका ‘राष्ट्रवादी’ इच्छाका नाउँमा तिनले त्यो बोझ बित्थामा किन बोकिदिऊँन् ?
मेरा केही प्रति–टिप्पणीहरु
—खगेन्द्र संग्रौला
हाल अष्ट्रेलियावासी प्रिय सुरेन्द्र खरेल,
खुशी लाग्यो, यसै ‘शिलापत्र’मा प्रकाशित मेरो लेख ‘ज्यान विदेशमा, मन नेपालमा’ तपाईँका तीक्ष्ण र संवेदनशील दृष्टिमा परेछ । परेछमात्र होइन, यसले विमितियुक्त र नजाँनिदो गरी क्षुव्द एवं सन्तापमय प्रतिक्रिया प्रकट गर्न तपाईँलाई झकझक्याएछ पनि । यो लेखले ‘सम्पूर्ण विदेशवासी नेपालीलाई झकझक्याएको’ होला भन्ने तपाईँको ‘ठम्याइ’ले मलाई किञ्चित् उत्साहित तुल्यायो यद्यपि मेरो मामुली कलमद्वारा सिर्जित मामुली लेखमा विदेशवासी सारा नेपालीलाई झकझक्याउने त्यत्रो सामथ्र्य होला भनी म कल्पना गर्दिनँ । कदाचित् यसले त्यो बृहत् आयाममा लेसमात्र पनि प्रभाव पारेको भए मेरालागि यो निश्चय नै हर्षको विषय हो । जीवन्त विचार र आवेगयुक्त जीवन्त शब्दहरुमा पाठकहरुका हृदयलाई हल्लाउने दम हुन्छ भन्ने तथ्यको एउटा प्रतीकात्म सङ्केत हो यो । आफ्ना शब्दमा निहित यस प्रकारको दम यदाकदा लेखकका दृष्टिमा नपर्दो हो त लेखन–कर्ममा ऊ किन निरन्तर प्रतिबद्ध र कटिबद्ध हुँदो हो र ?
खरेलजी, आफ्नो प्रतिक्रयामा तपाईँको मलाई ठाडो प्रश्न छ, ‘तपाईँले चाबहिलमा बसेर पाँचथरको चिन्ता गर्न हुने, हामीले विदेशबाट नेपालको चिन्ता गर्न किन नहुने ?’ सँगसँगै ममाथि तपाईँको आक्षेप छ, ‘तपाईँले इङ्गित गर्न खोज्नुभएका ढुकढुकीहरु सबै रहरले विदेश बसेका हुनुपर्छ ।’ तपाईँका यी र अन्य कतिपय प्रतिक्रिया पढ्दा मलाई लाग्यो, तपाईँले सायद मेरा लेखमा आफ्ना पूर्व–कल्पित धारणाहरु पढ्नुभयो, मेरो लेखमा निहित विचारहरु पढ्नुभएन । मेरो लेखमा किटानीसाथ नभनिएका तर थोरै गम खाँदा हरफहरुबीच सहजै बुझिने एउटा कुरा गरुँ । चाबहिलमा बसेर पाँचथरको चिन्ता गर्दा म केवल पाँचथरका डाँडाकाँडा, वनजङ्गल, चौतारी–देउराली, लहरा–पहरा–छहरा आदिको चिन्ता गर्दिनँ । म त्यो भूगोल र त्यो प्राकृतिक पर्यावरणमा बसोबास गर्ने मानिसहरुको जीवन, तिनमाथि थोपरिएको उत्पीडन, तिनका आकांक्षा, तिनका संघर्ष र समग्रमा तिनको नियतिउपर चिन्ता गर्छु । तपाईँको कालापानी, नालापानी, सगरमाथा आदिको स्मरण र आराधनामा म केवल नेपालभित्र र बाहिरका केही निर्जीव पत्थरहरुको स्मरण र आराधना देख्छु । यो स्मरण र आराधनामा मानिस कतै छैन । मेरो विचारमा यो हाम्रा मस्तिष्कमा परम्परा र शासकीय स्वार्थद्वारा लादिएको जीवन निरपेक्ष, संवेदनाशून्य, मौसमी, ढोँगी र खोक्रो राष्ट्रवाद हो । यस्तो खोक्रो राष्ट्रवादको छलकारी र भुलभुलैयायुक्त धन्दा चलाएर नेपाल र नोपालीहरुलाई ठग्ने छटेल र धूर्त शासकहरुको यो देशमा पहिलेदेखि अहिलेसम्म बिगबिगी छ । खरेलजी, तपाईँले हामी विदेशवासीले बुद्धलाई सम्झिन किन नपाउने भनी मलाई सोध्नुभएको छ । सुदूर अतीत अर्थात् अढाइ शताब्दीभन्दा अघिका महात्मा बुद्धलाई लोकस्मृतिमा जीवन्त राख्न कसैले सम्झिइरहनु पर्दैन । आफ्नो कठोर सधाना र सिद्धिद्वारा बुद्धले स्वतः अमरत्व प्राप्त गरेका छन् । समकालका स्वदेशका वा विदेशका विवेकशील एवं संवेदनशील मनुष्यले सम्झिनुपर्ने त फगत प्रेम गरेको कसुरमा हत्या गरिएका नवराज विक, लकडाउनको नाउँमा इलम हरण गरी भोकै मारिएका मलर सदा र बलात्कारपछि जघन्य हत्या गरिएका बहुविध नारीहरुलाई पो हो ! आफ्नो बुताले कहिल्यै फर्काउन नसकिने र कब्जाकारीले कृपा गरी कहिल्यै नफर्काइदिने भीर–पहराहरुको भावुकतायुक्त रटना गर्दै विदेशमा यसै पनि दुःखमय भएको जीवनमा अरु दुःख किन थप्नु ? मैले आप्mनो लेखमा उठाएको प्रश्न यो हो । जुनसुकै कारणले होस्, विदेशमा गएका नेपालीहरुले ढाँटी खानु वा ठगी खानुको सट्टा कष्टसाध्य यत्नद्वारा आर्जित ज्ञान र सीपको आधारमा आत्मनिर्भर, इमान र स्वाभिमानयुक्त जीवन जिउनु नै नेपाल र नेपाली गौरव राख्नु हो । मेरो विचारमा चीसा भीर–पहराहरुको फोस्रो भजन गायनभन्दा तिनको यो कताको कता सार्थक र गरिमामय कर्म हो ।
खरेलजी, ‘तपाईँले इङ्गित गर्न खोज्नुभएका ढुकढुकीहरु सबै रहरले विदेश बसेका हुनुपर्छ’ भन्ने तपाईँको कथनले त मलाई चकित र विस्मित तुल्यायो । भिन्नभिन्न कारण वा उद्देश्यले विदेश जाने सबै नेपालीलाई एउटै डालोमा राखेर थोक दृष्टिले हेर्ने मूर्खता मेरो लेखमा मैले गरेको छैन । मैले त अनेक कारण र अनेक उद्देश्यले रहरले, लहडले, बाध्यताले संयोगले वा दुर्घटनाले विदेश जाने पृथक् नेपालीहरुका प्थक् अवस्था र मनोदशाको वर्णन र चित्रण गर्ने चेष्टा पो गरेको छु । खुट्टा बाहिर टेकेर मन नेपालमा बरालिएको तिनको विभाजित मनोदशाग्रस्त कारुणिक अस्तित्वप्रति स्पष्ट समभाव र सहानुभूति प्रकट गर्न आफ्नो लेखमा मैले कन्जुसी गरको छु जस्तो लाग्दैन ।
अन्त्यमा, खरेलजी, तपाईँको भिन्न मत र आपत्तिसँग सहमत हुन सक्ने आधार र तर्क फेला नपरे पनि पृथक् भावनाहरु प्रकट गर्ने तपाईँको हक र जाँगरप्रति मेरो सम्मानभाव छ । मेरा यी कोरा टिप्पणीहरु तपाईँका यिनै भावनाहरुको प्रेरणाका प्रतिफल हुन् ।
अभिवादन ।
६ चैत २०७७
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।