साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

पुरस्कार जिताउने मिथक

बेलायतको प्रतिष्ठित पुरस्कारमध्ये एक कोस्टा अवार्ड सन् २०२० का लागि द मेरमेड अफ ब्लाक कन्च नामक उपन्यासलाइ दिने घोषणा हुँदा लेखिका मोनिक रोफीलाइ विश्वासै लागेन । लागोस् पनि कसरी ? उनले साहित्यमा कलम चलाउन थालेकै २० वर्षभन्दा बढी भइसक्यो । उमेरले उनी ५५ टेकिसकिन् । यसअघि उनका पाँच उपन्यासले बजारमा अनुहार देखाइसकेका थिए तर कतैबाट पनि उनले खासै प्रशंसा पाइरहेकी थिइनन् । यस्तोमा फ्याट्ट चर्चित पुरस्कार पाउनु उनका लागि कम खुसीको कुरा थिएन ।

हुन पनि ३० हजार पाउन्डको यो पुरस्कार हात पार्ने उनको सपना पनि थिएन । क्यारेबियन राष्ट्रका साहित्य बजारमा ल्याउने ध्येयका साथ स्थापना भएको पिपल बुक्सले यो उपन्यास बजारमा ल्याएको थियो । कुनै किताब निकाल्नु पर्यो भने दुःख गरेर निकाल्ने अनि पुरस्कारका लागि पैरवी गर्नुपर्यो भने जनतासँग पैसा उठाएर प्रचार प्रसारमा जुट्ने यस्तो कम्पनीमा किताब छपाउनु मोनिकको बाध्यता पनि थियो । ठूला प्रकाशकले पत्याउँदैनन्, साना प्रकाशकका आफ्नै दुःख छन् ।

सन् २०१३ ताका क्यारेबियन द्वीप समूहमा घुम्न निस्केका बेला मोनिक एउटा माछा मार्ने प्रतियोगिता हेर्न महोत्सवको थलोमा पुगेकी थिइन् । एउटा ठूलो माछा मार्ने समूहले पुरस्कार जितेपछि माछालाइ प्रदर्शनीमा राखिएको थियो । जब उनले ठूलो माछो मान्छेको मनोरञ्जनको माध्यम बनिरहेको उनले देखिन्, उनलाइ माछासँग संवाद गर्न थालेको महसुस गरिन् ।

माछालाइ उनले उसको कथा सोधिन् । उनलाइ यस्तो लाग्यो, सोधेका सबै प्रश्नको जवाफ माछाले दिइरहेको छ । यात्राबाट फर्केपछि भने उनले यसै विषयलाइ लिएर उपन्यास लेख्न थालिन् र त्यहाँको स्थानीय लोककथालाइ आधुनिक रङ दिएर नयाँ कलेवरमा उजिल्याइन् ।

यो उपन्यास २०२० मा निस्कनेबित्तिकै केही समीक्षकले क्लासिकको दर्जा दिइसकेका थिए ।

प्रतिक्रिया
Loading...