१. विषय प्रवेश
कथावस्तु वा घटनालाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जनालाई आख्यान भनिन्छ । नेपाली समाजमा आख्यान, उपाख्यान, आहान आदि विविध शब्दको प्रयोग गरिएको पाइन्छ । यी सबैले कुनै न कुनै रूपमा कथात्मक संरचनालाई सङ्केत गरेका छन् । आख्यानात्मक रचनाहरू विश्वका जुनसुकै साहित्यमा पनि सिर्जना भएका पाइन्छन् । ‘आख्यान’ शब्दचाहिँ संस्कृत भाषाबाट नेपालीमा जस्ताको तस्तै आएको तत्सम शब्द हो । ‘आ+ख्या+ल्युट्=आख्यानम्’ संरचनात्मक प्रक्रियाबाट बनेको ‘आख्यान’ शब्दको शाब्दिक अर्थ बोल्नु, घोषणा गर्नु, जानकारी दिनु वा समाचार भन्नु आदि हुन्छ तर ‘आख्यानं पूर्ववृत्तोक्तिः’ यस भनाइबाट आख्यानले कुनै पुरानो कहानीलाई निर्देश गरेको देखिन्छ । यस आधारमा हेर्दा विशेष गरी काल्पनिक वा पौराणिक कथा, कहानी आदिलाई आख्यान शब्दले सङ्केत गरेको देखिन्छ । वर्तमान सन्दर्भमा भने आख्यानको अर्थविस्तार भएर यसले एउटा छोटो सूत्रकथा, त्यसभन्दा अलि लामो लघुकथा, जीवनको एउटा विशिष्ट घटना समेटिएको कथा र जीवनको समग्रतालाई समेटिएको उपन्यास आदि सबैलाई बुझाउन थालेको छ । यस लेखमा आख्यानअन्तर्गत पर्ने सबै विधाका बारेमा परिचयात्मक जानकारी प्रस्तुत गरिएको छ ।
२. आख्यानको सैद्धान्तिक स्वरूप र परम्परा
आख्यान भनेको छोटो कथा, किस्सा वा कहानी हो । यसको चर्चा पूर्वीय जगत्मा व्यापक रूपमा भएको पाइन्छ । पूर्वीय परम्परामा वैदिक आख्यान र लौकिक आख्यान दुवैको व्यापक चर्चा गरिएको छ । वैदिक आख्यानअन्तर्गत विविध कथाहरू पाइन्छन् भने लौकिक आख्यानहरूको चर्चा संस्कृतका लक्षणग्रन्थहरूमा भएको पाइन्छ । आख्यानका विषयमा छैटौँ शताब्दीका भामह, आठौँ शताब्दीका दण्डी र नवौँ शताब्दीका रुद्रटले आफ्ना लक्षणग्रन्थहरूमा विस्तृत चर्चा गरेका छन् । यिनले आख्यान र आख्यायिकाको भेद छुट्याउने सन्दर्भमा अनेकौँ तर्क र प्रमाणहरू प्रस्तुत गरेका छन् । आचार्य दण्डीले आख्यायिकाभित्रै आख्यान, खण्डकथा, परीकथासमेत अन्तर्निहित भएर आउने विचार व्यक्त गरेका छन् । यसरी प्राचीन वैदिक कथाहरूदेखि लिएर पुराण, पञ्चतन्त्र, हितोपदेश आदिसँग सम्बन्धित कथाहरू नै आख्यानअन्तर्गत समेट्ने गरेको पाइन्छ ।
पाश्चात्य जगत्मा पनि आख्यानको चर्चा गर्दा विभिन्न दन्त्यकथा, लोककथा वा मिथकहरूसँग जोडेर हेर्ने गरिन्छ । यसले घटनाको प्राचीनता वा घटनाको लोकजीवनसँगको सम्बन्धलाई जोडेको देखिन्छ । अङ्ग्रेजीको टेल (Tale) शब्दले कथाको अनिश्चित स्वरूपलाई सङ्केत गर्दछ तर आख्यानको शुद्ध रूपलाई भने प्रामाणिक रूपमा चिनाउन सक्दैन । फ्रान्सेली भाषाको रोमान्ज (Romanz) र अङ्ग्रेजी भाषाको रोमान्स (Romance) शब्दले चाहिँ आख्यान शब्दको अर्थलाई केही मात्रामा वहन गरेको देखिन्छ । यसले कुनै वर्णनात्मक घटना, प्रेमकथा हुँदै गाथासमेतलाई सङ्केत गरेको पाइन्छ ।
नेपाली सन्दर्भमा प्राथमिक कालदेखि नै आख्यानको शाब्दिक तथा सिर्जनात्मक दुवै प्रयोग भएको पाइन्छ । वि.सं. १८७६ तिरको ‘मुन्सीका तीन आहान’, गोपीनाथ लोहनीको ‘नलोपाख्यान’ आदि प्राचीन नेपाली आख्यानहरू मानिन्छन् । यिनमा प्रयोग भएका आहान, उपाख्यान आदि शब्दले आख्यानकै पर्यायवाची शब्दको काम गरेका छन् । यसरी आख्यानको सम्बन्ध पूर्वीय संस्कृत साहित्य, पाश्चात्य विविध भाषाको साहित्य र नेपाली साहित्य आदि सबैसँग जोडिएको पाइन्छ ।
३. आख्यानका विविध रूप
उल्लिखित सन्दर्भहरूलाई हेर्दा आख्यानले नितान्त पुराकथा, दन्त्यकथा, लोककथा आदिलाई मात्र सङ्केत गरेको कुरा स्पष्ट रूपमा थाहा पाइन्छ तर वर्तमानमा आख्यान शब्दले त्यस रुढ अर्थलाई नाघेर अगाडि बढेको देखिन्छ । त्यसैले आख्यानको प्राचीन शास्त्रीय मान्यता र वर्तमानको प्रयोगमा केही भिन्नता पाइन्छ । वर्तमानमा आख्यान शब्दले कथाको एउटा रूपलाई मात्र नसमेटेर त्यसभित्रका विविध आयामहरूलाई पनि समेट्ने गरेको छ ।
साहित्यका विविध विधामध्ये आख्यान एक छुट्टै विधा हो । घटना, पात्र, परिवेश आदिको केन्द्रीयतामा एउटा निश्चित उद्देश्य प्राप्तिका लागि कथानकको तारतम्य मिलाउने काम यसमा हुने गर्दछ । यो श्रव्यकाव्यअन्तर्गतको गद्यविधामा पर्दछ । त्यसैले जब स्रष्टाले आफूले आँखाले देखेको, कतै सुनेको अथवा कल्पना गरेको जुनसुकै घटना वा कथावस्तुलाई शृङ्खलाबद्ध तरिकाले प्रस्तुत गर्न थाल्छ, तब त्यसले आख्यानको एउटा रूप ग्रहण गर्दछ । आख्यानमा पनि कवितामा जस्तै जीवन र जगत् सूक्ष्मदेखि लिएर स्थूलसम्म र आख्यानात्मक प्रवाहको विकास सङ्क्षिप्तदेखि लिएर विस्तृत, विराट र गम्भीर स्तरसम्म पुगेको हुन्छ । त्यसैले कविताका जस्तै आख्यानका पनि लघुतम, लघु र बृहत् गरी तीनओटा रूप देखिन्छन् । यीमध्येमा कथाले लघुतम र लघु रूपको प्रतिनिधित्व गर्दछ भने उपन्यासले बृहत् रूपको प्रतिनिधित्व गर्दछ । जसलाई सङ्क्षेपमा यसरी देखाउन सकिन्छ—
(क) आख्यानको लघुतम संरचनाः सूत्रकथा, केस्राकथा, लघुकथा आदि ।
(ख) आख्यानको लघु संरचनाः कथा, आत्मकथा आदि ।
(ग) आख्यानको बृहत् संरचनाः उपन्यास, आत्मोपन्यास, नाट्योपन्यास, निबन्धोपन्यास आदि ।
आख्यानका उपर्युल्लिखित तीनओटा रूपमध्येमा सबैभन्दा सानो एकाइ लघुतम रूप हो भने सबैभन्दा ठुलो एकाइ बृहत् रूप हो । अर्थात् सूत्रकथा, केस्राकथा र लघुकथाले लघुतम रूपको प्रतिनिधित्व गर्दछन्, कथा, आत्मकथा आदिले लघु रूपको प्रतिनिधित्व गर्दछन् भने उपन्यास, आत्मोपन्यास, नाट्योपन्यास, निबन्धोपन्यास आदिले बृहत् रूपको प्रतिनिधित्व गर्दछन् । यी सबैको सैद्धान्तिक स्वरूप, प्रवर्तनको ऐतिहासिकता र उदाहरणसहित रचनाविधानका बारेमा आगामी शृङ्खलामा विस्तृत जानकारी प्रदान गरिने छ । यसका साथै सिर्जना गर्ने तरिकाका बारेमा पनि क्रमशः चर्चा गरिने छ । अहिले भने यिनको अतिसामान्य परिचय मात्र यहाँ प्रस्तुत गरिएको छ—
(क) आख्यानको लघुतम संरचना
आख्यानको सबैभन्दा सानो रूप नै लघुतम संरचना हो । यो दुई, तीन वा चार हरफदेखि लिएर एक पृष्ठसम्मको हुन्छ । घटनाको अप्रत्यासित टिपोट र विद्युतीय समापन यसको मूलभूत चिनारी हो । यसले छोटो घटनाविन्यासबाट पाठकको हृदयमा तत्काल उत्सुकता जगाउने र केन्द्रीय कथ्यले अनौठो तरिकाले च्वास्स घोच्ने काम गर्दछ । यसको संरचना आफैँमा पूर्ण हुन्छ । कथाकारले लामो समयसम्म सोचेर वा विषयवस्तु खोजेर, योजना बनाई बनाई यसको रचना गर्नु पर्दैन, यो कुनै पनि विषय देख्नासाथ, घटना सम्झनासाथ र व्यञ्जनात्मक परिवेशको कल्पना हुनासाथ सिर्जनशील मस्तिष्कमा उत्पन्न हुन सक्छ र त्यति नै बेला यसले जीवन्तता पनि पाउँछ । यो स्रष्टाको तीक्ष्ण मस्तिष्कसँग सम्बन्धित तर रचनाका लागि चाहिँ कसरतविहीन सिर्जना हो । यो तत्काल जन्मिन्छ, तत्काल विकसित हुन्छ र तत्काल अन्त्य पनि हुन्छ । यसमा शब्दको तहमा सरलता देखिए पनि अर्थको तहमा चाहिँ व्यञ्जना शक्ति प्रबल रूपमा देखापर्दछ । आकार र संरचनात्मक आयामका दृष्टिले आख्यानको लघुतम संरचनाअन्तर्गत निम्नलिखित उपविधाहरू पर्दछन्—
(अ) सूत्रकथा (आ) केस्राकथा (इ) लघुकथा
(अ) सूत्रकथा
सूत्रकथा समस्त शब्द हो । सूत्र र कथा दुई शब्द मिलेर सूत्रकथा निर्माण भएको छ । सूत्रको अर्थ कुनै तन्तु, धागो अथवा डोरी हो । यसले कुनै विषयको दफा वा आधारभूत बुँदा भन्ने अर्थ पनि प्रदान गर्दछ । कथा शब्दमा जोडिएको यस सूत्रले घटनाको अतिसङ्क्षिप्त तर प्रभावकारी व्यवस्थापनलाई सङ्केत गरेको छ । यसमा कथाको एउटा सानो डोरी उनिएको हुन्छ । अर्थात् कथ्यलाई सूचित गर्ने एउटा प्रभावकारी बुँदा यसमा हुने गर्दछ । त्यसको प्रभावकारिता ध्वन्यात्मक वा व्यञ्जनात्मक तहमा हुने गर्दछ । छोटो भएर पनि एउटा घटनाको सपाट सूचना, सरासर कथन वा विषयको जानकारी मात्रले सूत्रकथाको निर्माण हुँदैन । सूत्रकथा प्रायः एउटै वाक्यमा लेखिन्छ तर त्यसमा समेटिएको घटनाचाहिँ निकै उत्तेजक, मनोरञ्जक र ध्वन्यात्मक हुने गर्दछ । यसलाई एक, दुई वा तीन सूत्रमा लेखेको पनि पाइन्छ । यो कथाको परम्परित लेखन होइन, प्रयोगशील वा प्रयोगात्मक सन्दर्भबाट यसको थालनी भएको हो । नेपाली कथामा नयाँपनको खोजी गर्न थालेपछि सूत्रकथाको जन्म भएको हो । यसको प्रभावकारिता मुक्तकको जस्तै चोटिलो हुने गर्दछ ।
(आ) केस्राकथा
केस्राको अर्थ खण्ड वा तह भन्ने हुन्छ । सामान्यतः सुन्तला आदि रसदार फलभित्र रहेको खण्ड खण्डलाई केस्रा भन्ने गरिन्छ । केस्रा र कथा दुई शब्दको मिलनबाट बनेको केस्राकथा समस्त शब्द हो । यसले कथाभित्रको सुन्तले संरचनालाई सङ्केत गरेको छ । छुट्याउँदा अलग अलग पनि हुन सक्ने तर जोड्दा एउटै संरचनामा आबद्ध रहने कथात्मक स्वरूपलाई केस्राकथा भनिएको हुन सक्छ । यसको संरचना पनि सूत्रकथाजस्तै छोटो र चोटिलो हुने गर्दछ तर केस्राकथामा चाहिँ घटनाको कार्यकारण शृङ्खला पनि स्पष्ट रूपमा देख्न सकिन्छ ।
(इ) लघुकथा
लघु र कथा दुइटा शब्द मिलेर लघुकथाको निर्माण भएको छ । लघु भनेको छोटो हो । अर्थात् छोटो कथा नै लघुकथा हो । यो नेपाली कथापरम्परामा सर्वाधिक लोकप्रिय मानिन्छ । वर्तमानमा लघुकथा कथाभन्दा बढी सिर्जना भएका छन् । नेपाली कथाको प्रारम्भ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (१८२७) बाट भएको मानिन्छ । प्राथमिक कालीन ‘मुन्सीका तीन आहान’मा लघुकथाको पूर्वस्वरूप देखिए पनि वि.सं. १९९२ को ‘शारदा’ पत्रिकामा प्रकाशित पूर्णप्रसाद बाह्मणको ‘वरदान’ शीर्षकको लघुकथालाई नेपालीको पहिलो लघुकथा मान्ने गरिन्छ भने ब्राह्मणकै २००७ मा प्रकाशित ‘झिल्का’लाई नेपाली लघुकथाको पहिलो पुस्तकाकार कृति मानिन्छ । लघुकथा आफैँमा एउटा पूर्ण कथा नै हो । यो कथा वा उपन्यासको एउटा खण्ड होइन । यसमा छोटो संरचनाभित्र पनि घटनाको आदि, मध्य र अन्त्यको सुव्यवस्थित रखाइ हुन्छ । यसको विषयवस्तु प्रभावकारी हुन्छ र सन्देश जीवन्त हुन्छ । सूचना, ज्ञान र मनोरञ्जन तीनै कुराको व्यवस्थापन यसमा हुन्छ तर यो चुट्किला वा जोक्सचाहिँ होइन । घटनाको आन्तरिक तारतम्य वा कार्यकारण शृङ्खलाबाट विकसित हुँदै गएर प्रभावकारी निष्कर्षका पुग्नु लघुकथाको संरचनात्मक चिनारी हो ।
यसरी आख्यानको लघुतम रूपमा केही नवीन प्रयोग र केही पूर्वस्थापित स्वरूपहरू पाइन्छन् । लघुकथाले आफूलाई नेपाली कथाजगत्मा स्थापित गरिसकेको छ र लोकप्रियताको चरम शिखर पनि चुमिसकेको छ तर सूत्रकथा र केस्राकथाको चाहिँ लोकप्रियता र भविष्य हेर्न बाँकी नै छ । प्रवर्तन भइसकेपछि ती नेपाली आख्यानका सम्पत्ति नै हुन् । यति हुँदाहुँदै पनि रहरमा प्रयोगमा ल्याउने तर त्यसलाई प्रवर्तकदेखि अर्को व्यक्ति कसैले पनि नबुझ्ने र प्रयोग नै नगर्ने अवस्था सिर्जना भयो भने त्यो प्रयोगका लागि प्रयोग मात्र बन्ने देखिन्छ । सैद्धान्तिक स्पष्टता, संरचनागत पारदर्शिता, पाठकीय लोकप्रियता र सर्जकहरूबाट अनुसरण कुनै पनि विधा वा उपविधाको स्थापनाका लागि अनिवार्य मानिन्छ । उल्लिखित प्रयोगहरूले त्यही स्वरूप प्राप्त गर्न सकेमा नेपाली कथा निकै धनी हुने कुरा निर्विवाद देखिन्छ ।
(ख) आख्यानको लघु संरचना
घटनाले केही फराकिलो क्षेत्र ग्रहण गर्दै गएपछि आख्यानको लघु रूप सिर्जना हुन्छ । यसमा घटनाको उपस्थिति लघुकथामा भन्दा केही तरल र फराकिलो बन्न थाल्छ । अर्थात् लघुतम संरचनाभन्दा ठुलो र बृहत् संरचनाभन्दा सानो मध्यम संरचनालाई आख्यानको लघु रूप भन्ने गरिन्छ । यसको संरचना एक पृष्ठभन्दा माथि हुने गर्दछ । आख्यानको लघु संरचनाअन्तर्गत निम्नलिखित रचनाहरू पर्दछन्—
(अ) कथा र (ख) आत्मकथा
आन्तरिक संरचनागत वा तत्त्वगत पृथकताका आधारमा भिन्न भए पनि आकारका दृष्टिले कथा र आत्मकथालाई एकै ठाउँमा राख्ने गरिएको हो । यिनको संचनागत स्वरूपको सामान्य जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
(अ) कथा
कथा आख्यानको लघु संरचनामा पर्दछ । ‘कथ्’ धातुमा ‘टाप्’ (आ) प्रत्यय जोडिएर बनेको कथा शब्दको अर्थ कथन, भनाइ, कहानी आदि भन्ने हुन्छ । नेपाली सन्दर्भमा कुनै कुरा कथेर भन्नु नै कथा हो । पूर्वीय जगत्मा कथाको सम्बन्ध वैदिक कालसँगै जोडिएको पाइन्छ । वेदमा गरिएका घटनाहरूको वर्णनदेखि लिएर पुराणकाल, साहित्यकाल आदि सबैमा कथाको स्पष्ट उल्लेख र प्रयोग पाइन्छ । पाश्चात्य जगत्मा पनि कथा प्राचीन विधा नै मानिन्छ । अङ्ग्रेजीमा कथालाई Short Story भनिन्छ । यसको शाब्दिक अनुवाद लघुकथा भन्ने हुन्छ तर यो नेपालीमा प्रचलित लघुकथा नभएर कथा नै हो । नेपाली साहित्यमा कथाको प्रारम्भ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (१८२७) बाट भएको मानिन्छ । यस आधारमा हेर्दा नेपाली कथाले २५० वर्षको यात्रा गरिसकेको देखिन्छ । देवकोटाले यसलाई संसार चिहाउने एउटा सानो झ्यालका रूपमा परिभाषित गरेका छन् । यो लघुकथाभन्दा ठुलो र उपन्यासभन्दा सानो हुन्छ तर यो आफैँमा पूर्ण संरचना हो । लघुकथालाई तन्काउँदा र उपन्यासलाई खुम्च्याउँदा कथा बन्न सक्दैन । यसमा तत्त्वगत व्यवस्थापन र आदि, मध्य र अन्त्यको संरचना स्वाभाविक रूपमा भएको हुनुपर्छ । कथा नेपाली साहित्यको अत्यन्त लोकप्रिय विधा हो ।
(आ) आत्मकथा
आत्म र कथा दुइटा शब्द मिलेर आत्मकथा बन्दछ । आत्मको अर्थ आफ्नो हो । कुनै पनि व्यक्तिले प्रथम पुरुषात्मक दृष्टिविन्दुको प्रयोग गरेर आफ्नै जीवनका घटनाहरूलाई प्रस्तुत गर्दै जानु आत्मकथा रचना हो । यसमा स्रष्टाले जीवनका प्रभावकारी घटनाहरूलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछ । यसको कथावस्तु स्रष्टाको जीवनकथा हुन्छ, यसको प्रमुख पात्र स्रष्टा स्वयं हुन्छ र यसको परिवेश स्रष्टाले बाँचेको युग, स्थान र पर्यावरण हुने गर्दछ । यसमा संस्मरणात्मक वा वर्णनात्मक तथा विश्लेषणात्मक शैलीको प्रयोग गरिएको छ भने त्यो निबन्धात्मक रचना हुन्छ तर कथात्मक शैलीमा घटनाको विस्तार गरिएको छ भने आत्मकथा हुने गर्दछ ।
यसरी आख्यानको लघु संरचनाले एउटा विशिष्ट घटनाको आद्योपान्त स्वरूप प्रस्तुत गर्ने गर्दछ । आकारका दृष्टिले यी एक पृष्ठभन्दा लामा हुने गर्दछन् तर नेपाली कथा परम्परामा ३० पृष्ठसम्मका कथाहरू पनि पाइन्छन् । तिनमा बाहिरी आयामलाई भन्दा पनि आन्तरिक विषयवस्तु वा घटनाले ओगटेको क्षेत्र वा परिधिलाई हेर्नुपर्ने हुन्छ ।
(ग) आख्यानको बृहत् संरचना
आख्यानको लघु संरचनाभन्दा विस्तृत रूपलाई बृहत् संरचना भनिन्छ । घटनाको उत्तरोत्तर वृद्धि तथा विकास हुँदै जाँदा जब कथाले जीवन र जगत्को समग्रता वा विशालतालाई समेट्न थाल्छ तब त्यसले बृहत् स्वरूप प्राप्त गर्दछ । आकार–प्रकार, कथावस्तुको आयाम, आख्यानको परिधि र संरचनाले गर्दा आख्यानको बृहत् रूपलाई लघु रूपदेखि अलग्याउन सकिन्छ । आख्यानको बृहत् रूपमा निम्नलिखित कुराहरू पर्दछन्—
(अ) उपन्यास (आ) आत्मोपन्यास (इ) नाट्योपन्यास (ई) निबन्धोपन्यास
(अ) उपन्यास
संस्कृत व्याकरणअनुसार ‘उप+नि+अस्+घञ्’ व्युत्पत्तिबाट ‘उपन्यास’ शब्दको निर्माण हुन्छ । यसलाई ‘उप+न्यास’ यस्तो व्युत्पत्तिबाट पनि निर्माण गर्न सकिन्छ । यहाँको ‘उप’ उपसर्ग हो जसले समीपता, आरम्भ, गौणता आदि अर्थ प्रदान गर्दछ भने ‘न्यास’को अर्थ स्थापित गर्नु भन्ने हुन्छ । समग्रमा उपन्यास शब्दको व्युत्पत्तिलभ्य अर्थ समीपमा स्थापना गर्नु भन्ने हुन्छ भने स्थापित अर्थ आख्यानको बृहत् संरचना हो । यसलाई अङ्ग्रेजीमा ‘नोबेल’ भनिन्छ । यसलाई ‘टेल’, ‘रोमान्स’ आदि शब्दले पनि चिनाएको पाइन्छ । नेपाली साहित्यमा कथा र उपन्यासको प्रारम्भ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (१८२७) एउटै कृतिबाट भएको मानिन्छ । यस आधारमा हेर्दा नेपाली उपन्यासले पनि २५० वर्षको यात्रा गरिसकेको देखिन्छ । यसलाई विभिन्न विद्वान्हरूको जीवन र जगत्को व्यापकतालाई समेट्न सक्ने कथाका रूपमा परिभाषित गरेका छन् । कथावस्तु, कथानक, चरित्र, परिवेश, उद्देश्य, दृष्टिविन्दु, संवाद वा कथोपकथन, भाषाशैली आदि जस्ता तत्त्वहरूलाई स्वाभाविक रूपमा उन्दै जाँदा उपन्यासको निर्माण हुन्छ । पद्यात्मक संरचनामा महाकाव्यका लागि आवश्यक कुराहरू उपन्यासका लागि पनि अनिवार्य मानिन्छन् । महाकाव्य पद्यात्मक हुन्छ भने उपन्यास गद्यात्मक हुन्छ । यसमा पनि कथाको विकास बीज, विन्दु, पताका, प्रकरी र कार्यको शृङ्खलाबद्ध गतिशीलताबाट हुनुपर्छ भन्ने मान्यता स्थापित भइसकेको छ । यिनै बाह्य तथा आन्तरिक तत्त्वहरूका आधारमा उपन्यासको आकार निर्धारण हुने गर्दछ । त्यसैले उपन्यासलाई पनि आकारका आधारमा लघुउपन्यास र बृहत् उपन्यास भनी वर्गीकरण गरिएको पाइन्छ ।
(ख) आत्मोपन्यास
आत्मकथाको बृहत् रूप नै ‘आत्मोपन्यास’ हो । ‘आत्म’ र ‘उपन्यास’ दुई शब्द मिलेर बनेको ‘आत्मोपन्यास’ शब्दले औपन्यासिक शैलीमा लेखिएको आत्मकथा भन्ने अर्थ प्रदान गर्दछ । स्रष्टाले आफ्नो जीवनको एउटा विशिष्ट कालखण्डलाई मात्र प्रस्तुत गर्दा त्यो आत्मकथा हुन्छ भने जीवनको समग्रतालाई समेटेर प्रस्तुत गर्दा आत्मोपन्यास बन्दछ । अहिले नेपाली साहित्यमा व्यक्तिको जीवनवृत्तलाई लिखित रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले व्यापकता पाएको छ । त्यस जीवनवृत्तलाई वर्णनात्मक वा विवरणात्मक शैलीमा सरासर वर्णन गर्दै जाँदा त्यो जीवनी बन्दछ भने त्यसलाई आख्यात्मक स्वरूप प्रदान गरेर लेख्दा आत्मोपन्यास बन्दछ । यसमा प्रथम पुरुषात्मक दृष्टिविन्दुको प्रयोग र स्रष्टाको नितान्त निजी जीवन कहानी समेटिनु अनिवार्य मानिन्छ । सत्यताका लागि जीवनको यथार्थ घटना र मनोरञ्जनका लागि आंशिक काल्पनिकताको मिश्रण आत्मोपन्यासमा हुने गर्दछ ।
(ग) नाट्योपन्यास
नाटकीय शैलीमा उपन्यासको रचना गर्नु नै ‘नाट्योपन्यास’ हो । ‘नाट्य’ र ‘उपन्यास’ दुई शब्द मिलेर बनेको ‘नाट्योपन्यास’ शब्दले औपन्यासिक शैली र नाटकीय प्रस्तुति दुवै कुरालाई सङ्केत गर्दछ । यसमा परिवेशको निर्माण, पात्रको सूचना र संवाद वा कथोपकथनमा नाटकीय ढाँचा निर्माण गरिएको हुन्छ । यो नाटक र उपन्यासको मिश्रण हो । यसको रचनाविधानमा प्रयोगवादी शैलीको प्रभाव देखिन्छ । कविताराम श्रेष्ठद्वारा लिखित ‘अतृप्त गर्भाधान’ उपन्यासलाई नाट्योपन्यास नाम दिइएको छ । परम्परित लेखनभन्दा केही भिन्न स्वरूपको खोजी गर्ने क्रममा नाट्योपन्यासको जन्म भएको हो । यो भिन्न विधा नभएर उपन्यासकै प्रयोगशील संरचना हो ।
(घ) निबन्धोपन्यास
निबन्धात्मक शैलीमा उपन्यासको रचना गर्नु नै ‘निबन्धोपन्यास’ हो । ‘निबन्ध’ र ‘उपन्यास’ दुई शब्द मिलेर बनेको ‘निबन्धोपन्यास’ शब्दले औपन्यासिक शैली र निबन्धात्मक प्रस्तुति दुवै कुरालाई सङ्केत गर्दछ । यो पनि प्रयोगवादी उपन्यास लेखनको प्राप्ति हो । विषयवस्तुप्रतिको तार्किक दृष्टिकोण निबन्धको चिनारी हो भने घटनाको कार्यकारण शृङ्खलाबद्ध प्रस्तुति उपन्यासको चिनारी हो । यसमा यी दुवै कुराको मिश्रण हुन्छ । विषयवस्तुलाई वर्णनात्मक एवं विवरणात्मक रूपमा प्रस्तुत गर्दै गएर तार्किक निष्कर्षमा पुग्नु र औपन्यासिक कथालाई परिपाक अवस्था प्रदान गर्नु यसको रचनात्मक चिनारी हो । राजेन्द्र सुवेदीद्वारा लिखित ‘धितोकोख’ उपन्यासलाई निबन्धोपन्यास भनिएको छ । घटना र तार्किक जीवनदृष्टिको उत्तरोत्तर विकासले यसको संरचनात्मक स्वरूप निर्धारण हुने गर्दछ । यो पनि भिन्न विधा नभएर प्रयोगशील औपन्यासिक स्वरूप हो ।
४. निष्कर्ष
निष्कर्षमा भन्नुपर्दा आख्यान घटना प्रधान विधा हो । त्यसैले घटनाको स्वरूप जति पातलिँदै जान्छ, त्यति आख्यानको आयाम पनि फैलिँदै जान्छ भने जति साँघुरिँदै जान्छ त्यति आयाम पनि घट्दै जान्छ । कथावस्तु पातलिनु भनेको आख्यानतत्त्व फैलिँदै जानु हो । त्यसैले एउटा लघुकथामा जति कथात्मकता खाँदिएको हुन्छ, त्यति एउटा कथामा हुँदैन । यसरी नै घटनाको सुगठन, भावको प्रबलता र कथात्मक शक्तिका दृष्टिले क्रमशः लघुकथाभन्दा कथा र कथाभन्दा उपन्यास केही कमजोर बन्दै जान्छन् कि भन्ने लाग्ने गर्दछ तर सिद्धहस्त आख्यानकारका लागि भने यी कुनै पनि स्वरूपले एकअर्कामा प्रभाव पार्न सक्दैनन् । यसरी ‘आख्यान’ शब्दकै विविध रूप भए पनि यिनीहरू प्रत्येकले आ–आफ्नो छुट्टै अस्तित्व बनाइसकेको यथार्थतालाई भने नकार्न सकिँदैन ।
क्रमशः अर्को हप्ता…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।